नेपालकै सेवा गर्न चाहन्छन् बिदेशका नेपाली वालवालिका

सन्तोष न्यौपाने / बेल्जियम 

‘शिक्षकले विध्यार्थीलाई पिटन पाउँदैनन्। पिट्यो भने प्रहरीले तत्काल कारबाही गर्छ,’ १५ वर्षे आशिक तिवारीले नेपालको होइन बेल्जियमको कुरा सुनाउँदै थिए। चितवनको टाँडी घर भएका उनी डेढ वर्ष अघि परिवारसँग बेल्जियमको ब्रुज सहरमा आइपुगे। बेल्जियम पस्दा उनले ७ कक्षामात्र पास गरेका थिए। सुरुको वर्ष उनले यहाँ डच भाषा सिके। अहिले खेल विषयलाई प्रमुख बनाएर यहीँ अध्ययन गरिरहेका छन्। ‘हाम्रो देशको भन्दा त धेरै फरक लाग्यो,’ उनले नेपाल सम्झँदै भने, ‘यहाँ घोकाएर पढाइँदैन।’

बेल्जियममा १२ वर्षमाथि र मुनिका लागि भिन्दा-भिन्दै तरिकाले पढाइन्छ। १२ वर्षसम्मलाई भाषा तथा अतिरिक्त क्रियाकलापमा दक्ष बनाइन्छ। त्यसपछिका वर्ष विध्यार्थीको रुचि र क्षमतालाई हेरेर विषय छानेर पढ्न लगाइन्छ । छ कक्षासम्म एक तरिकाले पढाइन्छ । त्यसपछि दस जोड दुईसम्म रुचि अनुसारका कक्षा र विषय हुन्छन्। यसमध्ये सबैभन्दा गाह्रो एएजओ समूह हो। पढाइमा यस्ता अन्य दुई समूह पनि हुन्छन्। एएजओअन्तर्गत विज्ञान, गणित र खेल विषय पर्छन्। तिवारी यही समूहका विध्यार्थी हुन्।

यसैगरी दोस्रो समूहमा टेक्निकल र तेस्रो अफिसियल तथा व्यापारका विषय छन्। आशिक भविष्यमा फुटबलर बन्न चाहन्छन्। त्यसैले उनी त्यहाँको ब्रुज क्लबमा फुटबल पनि सिकिरहेका छन्। बेल्जियममा युरोपका संग्रहालय पनि छन्। यो ऐतिहासिक पनि छ। यहाँका मानिसले वातावरण सफा राख्न निक्कै मेहनत गर्छन्। बिहान ८ देखि साँझ ४ बजेसम्म विध्यालयमा पुग्नु। अध्ययनमा मन लगाउनु नेपाली भाइबहिनीको दैनिकीजस्तै छ। शनिबार र आइतबार भने बिदा हुन्छ। बुधबार १२ बजेसम्म कक्षा हुन्छ।

आफ्नो छोराले उत्सुकतासाथ धेरै कुरा सिकिरहेकामा उनकी आमा राधिका निक्कै खुसी छिन्। ‘यहाँ हरेक कुरालाई अभ्यास गराएर सिकाइन्छ,’ राधिका भन्छिन्, ‘त्यही भएर पनि केटाकेटीले छिटो सिक्छन्।’ छोराले यहीँ पढे पनि भविष्यमा देशमै गएर काम गरोस् भन्ने उनलाई लाग्छ । आशिकका साथी कुशल श्रेष्ठ पनि बेल्जियममा निक्कै रमाएका छन्। १५ वर्षे उनी यहाँ आएको जम्मा ९ महिना भयो। उनी भविष्यमा अफिसर बन्न चाहन्छन् । ‘त्यसैले त म तेस्रो समूहको विषय लिएर पढ्दैछु,’ उनले भने।

नेपाल छँदा नेपाली र अंग्रेजी दुई भाषामा उनले किताब रट्थे। यहाँ भने ४ वटा भाषामा फरक-फरक विषय अध्ययन गर्छन्। हुन त यसले अल्लि अफ्ठेरो परेको उनले बताए। ‘डच, फ्रेन्च, स्पानिस र अंग्रेजी भाषा जान्न पर्छ,’ उनले भने, ‘गाह्रो त भै हाल्छ नि।’

कुशलको घर बाग्लुङ जिल्लामा पर्छ। उनलाई घरको सँगसँगै यहाँ बस्दा भक्तपुरको पनि निक्कै याद आउँछ रे। किन? ‘यहाँ १४ औं शताब्दीदेखिका ऐतिहासिक र पुरातात्विक वस्तुहरू छन्,’ उनी हाँसे। उनका ११ वर्षे भाइ सन्दिप पनि यहाँ निक्कै रमाएका छन्। नरमाऊन् पनि कसरी नेपाल छँदा उनले शिक्षकको पिटाइ खाएर एक हप्तासम्म स्कुल गएनन्। यहाँ तीन कक्षामा पढ्ने उनले कम्प्युटरमा धेरै कुरा सिक्न र पढ्न पाएका छन्।

‘नेपालमा धेरै दिन स्कुल गएन भने पनि वास्ता गर्थेनन्,’ उनका बाबा कृष्णले भने, ‘यहाँ १ दिन गयल भयो भने घरमा पत्र आउँछ।’ बिरामी भयो भनेर टार्न पनि पाइँदैन रे। डाक्टरको पत्र लिएर स्कुल जानुपर्छ। जेजस्तो भएपनि आफ्नो देशको भने निक्कै माया लाग्ने कृष्ण बताउँछन्। ‘आफ्नो देश भनेको आफ्नै हो, तर राम्रो भइदियोस् भन्ने लाग्छ,’ उनले भने।

तीन महिना अघिमात्र यहाँ आएका १३ वर्षे अनिल न्यौपाने सुरुमा त निक्कै दुखी भए। साथी, टोल र रूपन्देहीको रमाइलो सेरोफेरो उनले धेरै दिनसम्म भुल्न सकेनन्। नवप्रभात बोर्डिङ स्कुलबाट ८ पास गरेका उनले यहाँ स्कुलमा डच भाषा सिकिरहेका छन्। ‘डच भाषा अंग्रेजी भाषाकै लवज हुँदोरहेछ,’ पिपरा कपिलवस्तु घर भएका अनिलले भने, ‘यहाँको जस्तै नपिटी बुझाएर पढाए आफ्नै देशमा धेरैले राम्रो पढ्न पाउने थिए।’

उनलाई इन्जिनियर बन्ने रहर छ। बेल्जियममा जताततै बज्ने संगीत उनलाई रमाइलो लाग्छ रे। ‘यहाँको पढाउने तरिका पनि राम्रो छ,’ उनका बाबा पदमले भने। कसैले डाक्टर त कसैलाई इन्जिनियर तर कास्की हंसपुर घर भएकी अन्जना सुवेदीलाई भने फ्लोरेन्स नाइटिङ्गल बन्न मन रहेछ। कक्षा आठमा पढिरहेकी १४ वर्षे उनी नेपालमा समाजसेवा गर्न मन रहेको बताउँछिन्।

चारैतिरबाट पानी र पार्कले घेरिएको सुन्दर भएकाले बु्रुज सहर अन्जनालाई राम्रो लाग्छ। तर त्यहाँकाले नेपाली नागरिक त्यत्ति मन पराउँदैनन् कि भन्ने डर पनि उनलाई छ। भाषा नबुझ्ने गाली गरेका हुन् कि माया गरेका हुन् कहिलेकाहीँ त छुट्टाउनै गाह्रो पर्छ रे उनलाई।
अन्जनाका बुबा दुर्गा पनि भाषा नै यहाँको मुख्य समस्या भएको बताउँछन्। ‘भाषामात्र राम्ररी जान्ने हो भने छोराछोरीले धेरै कुरा सिक्न पाउने थिए,’ दुर्गाले भने।

ललितपुर घर भएकी निकिता थापा नेपाल छँदा कापीमा लेखेर होमवर्क बुझाउँथिन्। बेल्जियममा त कम्प्युटरमा लेखेर शिक्षकलाई बुझाउनुपर्ने। १५ वर्षे निकिता डाक्टर बन्नका लागि धम्मरधुस लगाएर आठ कक्षामा पढ्दैछिन्। १२ कक्षापछि आफू विश्वविध्यालय जाने उनले बताइन्।

बेल्जियममा विद्यार्थीलाई यातायात, बजार र अन्य कुरामा विशेष प्रमुखता दिने मन परेको रहेछ। जुलाइ र अगस्त बिदाको महिनामा सरकारले नै विद्यार्थीलाई काम दिने गर्छ। उनी त्यो समयमा फाल्तु बस्दिनन्। केही न केही काम गरिहाल्छिन्।

निकितालाई यहाँको पढाउने शैली निक्कै मन परेको छ। ‘नबुझीकन पाठ अगाडि बढाउँदैनन्,’ निकिताले भनिन्, ‘त्यसैले धेरै कुरा प्रष्ट रूपमा जान्न मद्दत पुगेको छ।’ उनका बुवा नरेन्द्र थापा पनि छोरीको पढाइ नेपालमा भन्दा यहाँ राम्रो भएकोमा खुसी छन्। उनी भन्छन्, ‘हामी नेपालीले पनि यहाँको शिक्षापद्दतिबाट केही सिक्नुपर्छ।’

बेल्जियममा रहेका ७ वर्षीय प्रथा पन्थी हुन् या ६ कक्षाकी सदिक्षा सापकोटा। दुवैलाई आफ्नो घर धेरै याद आउँछ। उनीहरू दुवै डच भाषामा स्कुलका पुस्तक पढ्छन्। उनीहरूले नेपाली भाषा नै भुल्छन् कि भन्ने चिन्ता उनका परिवारलाई लाग्दो रहेछ। चितवन घर भएकी सदिक्षाकी आमा गीता भन्छिन्, ‘भुल्लान् भनेर घरैमा नेपाली पनि पढाइरहेकी छु।’ प्रथाकी आमा कविता पनि गीताको कुरामा सहमत थिइन्।

यहाँ उनीहरूले धेरै विदेशी साथी बनाएका छन्। अनिलको पाकिस्तानी साथी नदिमले नेपाली साथी निक्कै रमाइला र सहयोगी भएको बताए। कुशलको साथी जाविद पनि नदिमको कुरामा सहमति जनाउँछन्। अरू विद्यार्थीको तुलनामा नेपालीहरू निकै तेज रहेको स्थानीय शिक्षक डेनोल्फ इजाबेलको अनुभव छ। ‘सुरुमा भाषा सिकाउन गाह्रो हुन्छ तर पछि दक्ष भएर निस्कन्छन्,’ उनले भने।

शिक्षक आन्द्रे कारेनले नेपाली विद्यार्थी अरूभन्दा सहनशील र समान व्यवहार गर्ने सहयोगी भएको बताइन्। उनी भन्छिन्, ‘अतिरिक्त क्रियाकलापमा पनि नेपाली नै अगाडि छन्।’

तपाइँको प्रतिक्रिया