सम्झना र विर्सनामा क. मनमोहन अधिकारी
● सरोजदिलु विश्वकर्मा
जीवन–मृत्यु उन्मुक्तताको आवश्यकता र अनिवार्यता हो,
अनि श्रृजना र प्रष्फुटन जीवनकै लक्ष र कर्तब्य,
भाँचिन्छन्, कुचिन्छन् र हराउँछन्– घमण्डी र पाखण्डीहरु त,
मृत्युपछि हाँसो फुत्कन्छ, तिनकै नाउमा,
त्यो त सत्य हो ।
तर वाँच्दछ जो, लाखौ जुनीहरु उ नै संसार जित्दछ,
अनि परिश्रमकै फल मीठो हुन्छ,
त्यो त सत्य हो ।।
सत्य आखिर सत्य नै हो, जो एउटै हुन्छ । त्यो एउटै सत्य हो– क.मनमोहन अधिकारी अवफेरि कहिल्यै बिउँझिने छैनन् । तरपनि उनी भौतिकरुपमा हामीवीचमा नभएता पनि उनको पहिचान हामीवीच बाँचिरहेको छ, बाँचिरहने छ, अजर–अमर भएर । यो पनि अर्को सत्य नै हो । अतः क. मनमोहनको सास्वतः सत्यको अनुशरण र अनुग्रहबाट नै जीवन धन्य हुन्छ, लक्ष सार्थक हुन्छ । जुन दर्शन उहाँले हामीलाई छोडेर जानु भएको छ ।
२०५६ साल वैशाख १० गते, पहिलोपल्ट करीव दुई मिटरको दुरीबाट ती श्रद्धय नेतालाई चीरसयन अवस्थामा हेर्ने मौका पाएँ । लाग्थ्यो– उनी घोर ध्यानमग्नमा छन् र निर्निमेष उभिएर अमुक शब्दहरुमा हामीलाई भनिरहेका छन्– ‘आउनोस् कम्रेड् हो ! अव एउटै मोर्चामा, यो मुलुकको मुहार बदल्नु छ । आफ्ना अहम्ता र वादलाई एकक्षण बिसाउँदै हामी नयाँ युगको थालनी गरौं । यो मुलुकको समृद्धि, शान्ति र सर्वहाराजनको मुक्तिका खातिर ठोस खाकाहरुको परिकल्पना गरौं…….।’ सायद उहाँ यही भनिरहनु भएको थियो– ‘हामी सवैका अनुहारमा तन्किने र खुम्चिने रेखाहरु र क्षण–प्रतिक्षण बदलीरहने रंग–विरंगहरुलाई एकैक्षण थन्क्याएर साझा रंगको निर्माण गरौं ।’ त्यसरी शैयामा मृत्युलाई पर्खिरहँदा सिंगो एमाले कार्यकर्ता भने क.मनमोहनलाई आफ्नो जीवन–आयु काटेर दिन अत्तुर नभएका होईनन् । मैले पनि भिक्षा मागेँ, रातभर–रातभर किः मेरो एकचौथाई जीवन यी महान नेतालाई थपिदेऊ । तथापि, जसले मनमोहनलाई हामी माझबाट चुढेर लग्यो, त्यसले तानाशाही हिट्लर झैं हाम्रा माग र आब्हानमा कुनै चासो राखेन ।
सामाजिक विज्ञानको नियम नै होला– दर्जनौ लास जलाईसकेको मानिस पनि त्यसैगरी जल्छ कुनैदिन, सयौंका अस्तुहरुलाई पखाल्नेहरुका अस्तु पनि त्यसैगरी खोलामा बग्छन्, कुनैदिन । तथापि, केही स्मृतिहरु नच्यातिने र सुनौला पाना भएर युगौंयुग रहिरहन्छन् त कति समयको प्रभावसंगै ओझेल परिजान्छन् । अर्थात धेरै सपनाहरुमध्ये केही मात्रै विपनी भईदिँदा रहेछन् भने कतिपय विपनीहरु नै सपना बनि हराईदिँदा रहेछन् । अनि, वैशाख १३ गते…..। हामी सवैलाई सपना झै लाग्छ आजपनि । तर यो सास्वत् सत्य हो र विपना नै थियो, जो अन्ततः सपना बनि हराईगयो । आर्यघाटको दोश्रो चित्तामा उहाँको पार्थिव शरीरले अनन्तः विश्राम लिईरहँदा गोधुलीमा बिलाउनै लागेको घामको अन्तिम किरणले पनि मनमोहनलाई ‘लालसलाम्’ भन्दै अलविदा गर्यो । मनमोहनका अवशेषहरु सो दिन त्यसैगरी किनारातिर बग्दै थिए, उहाँको चित्ता उसैगरी हुरहुर्ती जलिरहेको थियो । वारीपारीबाट हामी जति भक्कानिन्थ्यौ, हाम्रा गहहरु जतिजति रसिन्थे, आगोमा लप्काहरु यी कालजयी ब्यक्तित्वका अस्थिपञ्जरमाथि उतिउति उद्धैलित हुँदैथिए । अनि, हेर्दाहेर्दै हज्जारौ–हजारकावीचमा रहनु भएन उहाँ, रह्यो त केवल दुई मुठी खरानी ।
ओफ्…..! हिजो नै झैं लाग्छ, तर १२ वर्ष पो बितिसकेछ । र, क्रमशः ब्यतित ती दिनहरु आज खाली स्मृतिमा मात्रै सीमित भएका छन् । जवकि धेरै मृत शरीरहरु देखिए, बोकिए, उठाइए, तर ८।८ दिनसम्म विज्ञान र प्रविधिसंग सहारा मागीरहेका हाम्रा आदरणीय नेतालाई न हामीले उठ्नोस् कम्रेड् भनेर उठाउन सक्यौँ न कुनै दैवीशक्तिले नै हाम्रा लागि चमत्कार देखाउन सक्यो । जतिवेला उहाँ मौनतामा भीमकाय पहाड बोकेर बिसाईरहेझैं लाग्थ्यो । हिड्दाहिड्दै थलिएर अलपत्र परेको बटुवाझैँ लाग्थ्यो । अनि लाग्थ्यो– त्यो वृद्ध मान्छे एमाले नेता र मनमोहन मात्र होईन, मेरो आफ्नै परिवारको, आफ्नै घरको मसंगै साँझविहान, हररोज खेलेको नजिकको आफन्त हो । मेरै आमा पट्टिको वा बाबुपट्टिको कोही हो । आज पनि उहाँका तश्वीर र शिलाहरु देख्दा लाग्छ– उहाँ हाम्रो गलतपथमा अभिभावक बनेर अझपनि खवरदारी गरिरहनु भएको छ, उहाँले भोगेका, देखेका र सहेका आरोह–अवरोहहरु यो नयाँपंत्तिलाई सुनाईरहनु भएको छ ।
मनमोहन अशान्त संसारमा जन्मनु भो, हुर्किनु भो र सारा जीवनलाई मुक्ति संग्राममा होमि श्रृजना फुलाउँदै अन्तध्र्यान हुनभयो । तर माधुर्यरातमा प्रमत्त हुने लाटीकोशेराहरु झैं जो आज मदन भण्डारी र मनमोहनलाई सम्झन चाहदैनन्, जो आँखै नझिम्केर फेरीपनि पद र सुविधाको प्रतिष्पर्धामा लीन छन्, तिनीहरु विपना उधार्दैछन्, सपना बुन्दैछन् अनि यथार्थतालाई धुजाधुजा पारीदिँदैछन् । यस्तै भएको छ, मनमोहन, पुष्पलाल र विपी–गणेशमानहरुले सपना देखेको यो मुलुक, अहिले । यहाँ, तिनै शिखर ब्यक्तित्वहरुको अनुपस्थितीमा धेरैले स्वैत–आतंक मच्याईरहेका छन् । यी छलकपटीहरु छरपष्ट छरिएका अधमरो जीवनहरु र तिनका रातविरातका रहरहरु, छ्याल्लब्याल्ल पोखिएका अनन्त उमङ्गहरु पाल्दै राजनीतिक भट्टीहरुमा बज्ने बोतल र आतङ्कित सिम्फोनीहरुसंगै मस्त छन् । र, फेरिपनि तिनले मनमोहनलाई जवर्जस्त दाग भिराएर बिर्सन खोजिरहेका छन् ।
हुन त, पुष्पलाल, विपीलाई गद्दार अनि केशरजंग रायमाझी र तुलसी गिरीलाई ईमान्दार भन्ने कांग्रेस–कम्युनिष्टहरु समेत हामीवीच नभएका होईनन् । ती मान्छेहरु ऐना हेरेर आफ्नो नाम कहाँनिर छ भनि तर्सदैंछन्, अरुको निर्देशनमा निर्दिष्ट हुन पाउँदा गौरव गर्दैछन्, जो आफैं अवसरवादी थिए, तिनले पुष्पलाल र मनमोहनका साना गल्तिलाई पहाड बनाउँदै दरवार परस्त, गद्दार र अवसरवादीको आरोपसम्म लगाए । र, तिनैले कम्युनिष्ट पार्टीलाई सधै धुजाधुजा बनाई बाहुनहरुको जजमानी गर्ने धन्दा बनाइदिए, बनाउँदै ल्याएका छन् । तर मनमोहनले त छरिएका, टुटेका, फुटेका र छुटेका कम्युनिष्टहरुलाई जोड्ने काम गर्नुभयो, माला बनाएर नेपाल आमालाई पहिर्याउने कोशिष गर्नुभयो । गरागरामा पोखिएका शितविन्दूहरुलाई टिप्दै एउटै धागोमा उन्ने एक्लो अभियानमा लागीपर्नु भयो । तर मेरो गोरुको बाह्रैटक्का, म वाहेक अर्को कम्युनिष्ट हुनैसक्दैन भन्ने मानसिकताका पुच्छरवादीहरुले मनमोहनका यी सपनाहरुलाई कहिल्यै पुराहुन दिएनन् । फलतः एमालेको वहुमतको एकल सरकार बनाएर यो मुलुकको कायापलट गरीदिने उहाँको अठोट् पनि पुराहुन पाएन । तिनै गद्दार भन्नेहरु नै हुन्, जसका चेला–चोईटा र हाँगाविँङ्गाहरु आज एकएकवटा कुवामा अड्डा जमाई ‘ट्वार्रट्वार्र’ टर्टराईरहेका छन् भने मनमोहन र पुष्पलालहरु जो गद्दार भनिए, तिनी र तिनका पुस्तौनीहरु आज फेरिपनि जनतामाझ लोकप्रीय बनि बाघ झैं गर्जिरहेका छन् ।
तर…., तर विडम्वना ! फेरि पनि यिनै जजमानी धर्म भएका हाम्रै केही पुरैत–पण्डितहरुले उहाँको सदिच्छालाई मृत्यु पर्यन्तपनि पुराहुन दिईरहेका छैनन् । जवकि, मान्छे नै हो गल्ति गर्ने र त्यसलाई सच्याउने । र, गल्तिलाई सच्च्याउने नै महान हुँदारहेछन् । त्यसैले करीव ७७ वर्षको जीवनकालमा मनमोहनले पनि एकादुयक गल्ति गरेकै भएपनि त्यसलाई उहाँ आफैंले सच्च्याउँदै त्यो स्तरको कम्युनिष्ट पार्टी निर्माण गर्न सफल हुनुभयो ।
भनिन्छ वालप्रेमीहरु अपराधी हुँदैनन् रे । मनमोहन पनि वालप्रेमी हुनुहुन्थ्यो, जोसंग कलिला मानव मुनाहरु घन्टौं रुमलिन मनपराउँथे । तिनका लागि पनि मनमोहन अव स्मृतिमा मात्र बाँकी होलान् । ती लालावालाहरुलाई उहाँ लोरीसंगै सुनाउँदै भन्नुहुन्थ्यो– “नानी हो ! देशको प्रधानमन्त्री हुन जति सजिलो छ, एउटा इमान्दार नागरिक भएर बाँच्न साह्रै कठिन छ, त्यसैले मलाई एउटा इमान्दार मानिस भनेर सम्झिदिए पुग्छ ।” यसैगरी उहाँ हौसला दिनुहुन्थ्यो ती सान्नानीहरुलाई– “जीवन त एउटा अनुभूति मात्रै हो, आत्मसम्मानको, आत्मगौरवको । र, गतिहिनता जीवनको अन्त्य हो । अतः जीउनुमा मात्र जीवनको कुनै अर्थ रहँदैन….।”
आखिर जीवन भन्नु त्यहीरहेछ, जो सच्चाईमा बाँच्छ, सत्यतालाई अंगाल्छ र अनि इतिहास भएर मर्छ । र, हामी तिनै युगपुरुषलाई आजपनि मन मस्तिकमा, आत्मामा र दर्शनमा पढीरहेका छौं, पढ्ने अहोभाग्य पाईरहेका छौं । त्यसैले, जस्ले जेसुकै भनुन्– क.मनमोहन अधिकारी नेपाली आकाशमा कहिले नअस्ताउने तारा हुनुहुन्थ्यो भने यो कञ्चन नाम अधिकांश नेपालीको मनमस्तिकमा कहिल्यै नच्यातिने नमासिने अक्षरहरु हुन् । त्यसैले त हामीवीच उहाँका सम्झनाहरु दुई नयनको तरेलीमा टल्पलिएर बाँचीरहेकै छन् । जसलाई धेरै नेपालीहरुले परेलीमा छोपेर साँचीराखेकै छन्, उनकै नेतृत्वको नौ महिने स्वर्णिम काल…., अनि उनको समर्पण, यादगार सम्झना र विर्सनाहरुलाई– लालसलाम !!





