पहिलो पटक अन्नपूर्ण चढ्दा संसारभरि हल्ली खल्ली
मोरिस हेर्जोग / प्रथम अन्नपूर्ण आरोही
मैले हिमाल चढेको बेला पश्चिमी मुलुकका कोहि पनि मानिस नेपाल गएका थिएनन् । नेपालीले पश्चिमि मुलुकका गोरा मानिस देखेकै हामीलाई हो । गाउँलेहरू हामीलाई हेर्न आउँथे । यि कसरि सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरिर छाम्थे । हामी कस्ता मानिस हौं भन्ने उनीहरूमा कौतुहल देखिन्थ्यो । हामी जहाँ पुगे पनि ‘लौ गोरो छाला भएका मानिसहरू आएका छन रे, हेर्न जानु पर्छ’ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो । कोहि चाहिँ अलि परैबाट लुकेर हेर्थे । जुन गाउँमा पुग्दा पनि गाउँलेहरू स्वागत गर्न आउँथे र दुबै हात जोडेर नमस्कार टक्र्याउँथे । बच्चाहरू चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे ।
त्यो बेला नेपाल पस्नै गाह्रो थियो तर पसेपछि जहाँबाट छिरेर जता गए पनि हुन्थ्यो, भिसा चाहिँदैनथ्यो । हिमालका लागि भनेर छुट्टै नियम र कानुन थिएन । हर्ताकर्ता राजा थिएनन्; महाराजा थिए । तिनै महाराजा मोहनशमशेर जंगबहादुर राणाले हामीलाई हिमाल चढ्ने अनुमति दिएका थिए । त्यो बेला हामी नेपालका कुनै पनि हिमाल आरोहण गर्न जान सक्थ्यौं । नेपाल प्रवेश गर्ने अनुमति पाएपछि हिमाल आरोहण गर्ने अर्को अनुमति लिनै पर्दैनथ्यो । त्यसैले हामीलाई नेपालका हिमाल छान्ने अवसर थियो । हामीले पनि सगरमाथा नै ताक्यौं । तर, कुरो के रहेछ भने बेलायतीहरूले सगरमाथा उक्लने १२ पटक प्रयास गर्दै रहेछन्, सगरमाथा चढ्न धेरै नै तालिम गरिरहेका थिए । बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलारी पनि मेरा साथी नै थिए । उनीहरुले भने– हामीले तिब्बती मोहडाबाट पनि पटकपटक कोसिस ग¥यौं, अहिलेसम्म सकेनौं, अब एक पटक हाम्रा लागि छोडिदिनोस् ।
त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईहरूलाई मौका भयो, तपाईहरूले नसके अर्को पटक हामी चढ्छौं’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं । हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिएको जस्तो हुन्थ्यो । अन्ततः हामीले सन् १९५० मा ८ हजार ७५ मिटरको अन्नपूर्ण जेठो चढ्यौं; तिनले तीन वर्षपछि १९५३ मा सगरमाथा चढे ।
संसारभरि हल्लीखल्ली
अन्नपूर्ण र धौलागिरिमध्ये कुन हिमाल चढ्ने भन्ने सल्लाह हुँदा हामीले अन्नपूर्ण छान्यौं । आरोहण गर्न कठिन भएकोले पनि हामीले अन्नपूर्ण नै छानेका थियौं । सगरमाथा सबैभन्दा अग्लो भए पनि अन्नपूर्ण जस्तो कठिन हिमाल होइन । सगरमाथा धेरै सजिलो हिमाल हो । अन्नपूर्ण त धेरै ठाडो र खतरापूर्ण पनि छ । हिमपहिरो धेरै आउँछ । जे होस्, त्यो एउटा ज्यादै ठूलो साहसिक आरोहण थियो ।
हामीले अन्नपूर्ण आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार भन्दा अग्ला हिमालमा गए; हिमालमा फ्रान्सेली झण्डा फहराए; ती त्यत्रो हिमाल कसरि चढे; को हुन् भनेर संसारभरि हल्लीखल्ली मच्चियो । नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसहरूको आँखा खुल्यो ।
पण्डित जवाहरलाल नेहरूसँग मेरो चिनजान थियो । उनी भन्थे– भारत सबैको जननी हो । त्यतिबेला टुव्रिmन चाहेको पाकिस्तान र भारतबिच संघर्षहरू भईरहेका थिए । त्यसले गर्दापनि उनीहरू पश्चिमाहरुलाई बढि चियो चर्चो र कडाई गर्थे । त्यस्तो बेलामा नेपाल पस्न पहिलो ईजाजत पाउने पश्चिमी मानिस हुनु हाम्रो पनि भाग्यकै कुरा थियो ।
हाम्रो समूहका नौ जनामध्ये मसँगै चुचुरोमा गएका लास्नाल र म घाईते भयौं । मलाई बोकेर ल्याइयो । त्यो आरोहणले ज्यानै त लिएन तर जिवनभर अपांग बनायो । हिउँले खाएर मेरा दुबै गोडा गुमे । कुर्कुच्चाको अलिकति भागबाहेक सबै हिउँले खायो । तलुवा खाली भएको कृत्रिम जुत्ता लगाउँछु । दुबै हातका औंला पनि हिउँले बाँकि राखेन । त्यसपछि लामो समयसम्म बिरामी परें । सँगै गएका डाक्टरले सक्दो उपचार गरे । फर्किदा दिल्लीमा उपचार गरियो । नेपाल र भारतमा त्यतिबेला त्यति राम्रो उपचार नभएकोले फ्रान्स आएर लामो समयसम्म अमेरिकि अस्पतालमा उपचार गराएँ ।
महाराजको सम्मान
हिमाल चढिसकेपछि हामी दिल्ली फर्किनेवाला थियौ । बाटैमा महाराज मोहनसमशेरले भेट्न निम्ता पठाएको खबर आयो । अधिकांश साथीहरू उही बाटो भएर दिल्लीतर्फ लागे । म चाहिँ महाराजालाई भेट्न भनेर डाक्टर हुदो मार्सेल स्याकसहित काठमाडौं लागे । महाराजासँग त्यो भेट हुँदा हामीले हिमाल चढेको महिना दिन जति भएको हुँदो हो । हातखुट्टा हिउँले खाएकोले म हिँड्न सक्ने अवस्थामा थिईनँ । त्यसैले मलाई बोकेर लगिएको थियो काठमाडौं । अरु साथीहरूले चाहिँ मलाई दिल्लीमा पर्खेर बसे । मलाई आफुले हिमाल चढेको देशको महाराजले सम्मान गर्नु ठूलो कुरा हो भन्ने लाग्यो । महाराजा मोहनशमशेरले दरबारमा एउटा समारोह नै आयोजना गरे । उनका न्यायाधिशहरू पनि वरिपरि थिए । उनीपछिका दोस्रो तेस्रो दर्जाका महाराजाहरू पनि सँगै थिए । त्यो एउटा ज्यादै रमाईलो उत्सव थियो । सरकारि उच्च अधिकारिहरू पनि उपस्थित थिए ।
महाराजाले फ्रान्सेली र अंग्रेजी दुबै नजान्ने । हामी गोर्खा भाषा र हिन्दी नजान्ने । त्यसैले दोभाषेमार्फत मोहन शमशेरले हामीलाई सम्मान गरे । उनले भने, “तपाईहरूले नेपालका लागि ठूलो काम गर्नुभयो । यो ठूलो बहादूरि हो । तपाईहरू साहसि हुनुहुँदोरहेछ । विश्वभरि नेपालको नाम फैलाईदिनुभयो । तपाईहरूलाई धेरै धेरै स्यावास !” उनले मलाई गोर्खा व्रmस (ला ख्वा द ला गेर्) पदक पनि दिए । आजसम्म त्यो पदक पाउने म एक मात्र विदेशि हुन पाउँदा मलाई अझै पनि गर्वको अनुभूति हुन्छ ।
(नेपालमा वर्षौं वर्षदेखि विविध अध्ययन, अनुसन्धान र अनुभव लिएका विशिष्ठ फ्रान्सेलीहरुको नेपाल अनुभव बारे मेरो प्रकाशोन्मुख पुस्तकको एक भाग । विनोद ढुंगेलले सम्पादन गरेको यो पुस्तक जगदम्बा प्रकाशनले प्रकाशित गर्न लागेको हो) ।





