अस्ताए भट्टराई !!!

नेपालको प्रजातान्त्रिक इतिहासका खम्बा, नेपाली कांग्रेसका एक मात्र संस्थापक नेता क्रिष्ण प्रसाद भट्टराई अस्ताए । नेपालले एउटा इतिहास गुमायो । लामो समयदेखि विभिन्न खाले रोगसँग संघर्षरत उनी यसपटक हारे । लाखौं लाख शुभचिन्तक, समर्थक, आफन्त र उनका चिन्तनशिललाई छोडेर उनी एक्लै बिदा भए । राजनेता न हुन्, जिवनमा गल्ति कमजोरी पक्कै गरे उनले पनि । तर देश लुटेर, समाजलाई चुसेर, आफूले मस्ति लुटेर जनतालाई निचोर्ने काम गरेनन् अहिलेका नेताले झैं । उनीबाट सिक्न सकिने कुरा धेरै छन् ।

उनी पटक पटक शक्तिशाली पदमा पुगे । प्रतिनिधी सभाकै पहिलो सभामुख बन्ने अवसर उनैले पाए । नेपाल पत्रकार महासंघको पहिलो सभापतीपनि उनै हुन् । लगातार १४ वर्षसम्म त उनी कांग्रेसको कार्यवाहक सभापतीनै बने । २०४८ सालमा कांग्रेसको झापा महाधिवेशनबाट सभापती चुनिए  ।

२०४६ सालमा जन आन्दोलन भयो । उनले अन्तरिम कालको प्रधानमन्त्री पद सम्हाले । यति धेरै पदमा पुग्दा पैसा कमाउँ, मोजमस्ति लुटौं भन्ने सोचेको भए उनीसित निजि सुविधा, धन र सम्पत्ती जोड्ने प्रशस्त मौका थिए । तर उनले आफ्नालागि केहि गरेनन् । मर्ने बेलासम्मपनि राज्यले तोकेर दिएको खर्च र निवासमा बिताएर त्याग गरे । उदाहरण् देखाए- जनताको सेवा हो राजनिति, निजि स्वार्थका लागि होइन ।

तेस्रो जन आन्दोलन भयो । राज्यले उनको साथ मागेको थियो नेत्रित्वकालागि । तर उनले यति बेला राजतन्त्रको पक्ष लिएर जनतालाई निराश बनाएकै हुन् । वंश मासेर आफैं राजा घोषणा गर्ने अपराधी दरबारको राज्य जोगाउन उनी लाग्न हुँदैनथ्यो । हुनत यसमा उनलाई नेपाली कांग्रेसबाट एक्ल्याउने गूटबन्दिका नायक, लोभी, भ्रष्टाचारी,पदका लागि मरिहत्ते गर्नेहरुको क्रियाकलापलेपनि काम गरेको छ । नेपाली कांग्रेसको हालत सायद देश हाँक्न सक्ने नदेखेरै उनले राजाको भूमिका चाहिन्छ भन्न खोजेका हुँदाहुन् । तरपनि उनले विदेशी दूतावासका अँध्यारा कोठीमा बैठक गर्दै हिँडेनन् । विदेशीको ईशारामा अहिले झैं चलखेल गर्न दिएनन् । जे देखे हाकै भने । आफ्ना अडान उनले अन्तिम अवस्थासम्मपनि जनताका अगाडि सिधा राखे । जनतालाई न्याय गरिराखे ।  

नेपाली कांग्रेसलाइ जे जति गरे, स्थापनानै गरेपनि उनलाई कांग्रेसले चित्त दुखाइ राख्यो । अहिले उनको दुखद बिदाइका बेला गोहीका आँशु चुहाएपनि उनलाई साथ नदिने, प्रताडित गर्ने, गूटबन्दि गरेर एक्ल्याउने कांग्रेसी नेता निकै छन् अहिलेपनि। पद, प्रतिस्ठा, पैसा, शक्ति र कुर्सीका लागि ति दौडिरहेकै छन् । चाकरी गरिरहेकै छन् । हिजो भट्टराइलाई कमजोर, नेत्रित्व क्षमता नभएको देख्नेहरुले अहिले गुणगान गएर नाटक गरिरहेका छन् ।

नेपाली कांग्रेसका यस्तै लोभी पापी नेताले यति सम्म प्रताडित गरे उनलाई कि उनी नेपाली कांग्रेसमा अटाउनै सकेनन् । र आफूले स्थापना गरेर लाखौं कार्यकर्ता बनाएको पार्टी छोडे । उनी एक्लिए । नेपाली कांग्रेसको जुन भूमिका, काम र नेत्रित्व होस् भन्ने उनको सपना थियो त्यो नदेखेपछि उनले बाध्य भएर कांग्रेस छोड्नुपर्‍यो । उनलाई बाँचुन्जेल कांग्रेसमा अट्न नसक्ने बनाउनेले भट्टराईलाई कांग्रेस नेता भन्नुको कुनै तुक छैन । किनभने उनले नेपाली कांग्रेस त्यागेका हुन् । उनलाई जबर्जस्ति कांग्रेस बनाउनु अन्तिम घडीमा पनि उनको भवनालाई लत्याउनु हो ।

उनी सारा नेपालीका एक प्रजातान्त्रिक योद्दा हुन् । सारा नेपालीले उनको निस्वार्थी भावना र त्यागबाट केहि सिकुन् । उनलाई सम्झिरहुन् उनको देनको कदर गर्दै । नेपालप्लस उनलाई उच्च सम्मान ट्क्याउँदै उनको आत्म शान्तिको कामना र योगदानको उच्च मूल्यांकन गर्छ ।

तपाइँको प्रतिक्रिया