किन घोषणा गरेँ १० हजारको पुरस्कार ?

 धैर्यताको पनि सिमा हुन्छ । त्यो नाघेपछि के हुन्छ सबैलाई थाह छ । देश कठिन अवस्थाबाट गुज्रिरहेको अहिले मात्र होइन । धेरै नेपाली यसबारे जानकार छन् देश बाहिर हुन् वा भित्रका । यत्रो समयसम्म नेपाली साराले धैर्य गरेकै हुन् । नेताले भनेको मानेकै हुन् । नेताका कुरा सुनेर मर्न र मार्न पनि तम्तयार भएकै हुन् । २००६ / २०३६ / २०४६ कुन आन्दोलनमा जनता सडकमा आएनन् ? कुन चाहिँ क्रान्ति परिवर्तन जनताबिना भयो त नेपालमा ?

तर परिवर्तित राजनीतिक माहौलपछि जनताले के उपलब्धि पाए त ? जनताले गरेको आकांक्षा कति पुरा भयो त ? हाम्रा राजनीतिक दल र कुनैपनि पार्टीका नेताले गरेको बाचा र बचन कति सम्म पुरा भयो त ? कतिसम्म पुरा भयो छाती थापेर मर्न तयार रहने जनताको आकांक्षा ?

जनताले के पाए ? के पाइरहेका छन् ? छातीमा हात राखेर भन्नु पर्दा भ्रष्टाचार, महँगी, घूसखोरी । नारा र जुलुस । सधैँ पदको लागि मारामार । सधैँ सत्ताको हानाहान ।

जन आन्दोलनपछि खुल्ला मञ्चबाट सामूहिकरूपमा माफी मागेको कुरा यी नेताहरूले किन बिर्सिए ? भ्रष्टाचार दिनानुदिन झन् किन बढ्दै छ ? खाली पदको लागि हलो अड्काएर देश र जनतालाई बन्दगी राखेर किन खेल्दै छन् नेताहरू ?

किन यीनले देश र जनताको लागि कहिल्यै सोच्न सकेनन् ? तोकेको म्याद गुज्रिएर फेरी थपिएको संविधान सभामा कति पल्ट बैठक बसे यो ६ महिनामा नेताहरू ? जनताले दिएको यो म्याण्डेट संविधान बनाएर नयाँ चुनाव गराउने अनि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने किन बुझेका छैनन् ? किन खाली कुर्सीको लागि मात्रै हलो अड्काउने काम भइरहेको छ ?

संविधानको लागि यसरी मरिमेटेको भए २ साल पछि थपेको अर्को सालपनि गुज्रने बेलासम्म यही हालत हुन्थ्यो होला र ? जनतामा कति त्रास र रिस छ भन्ने कुरा बल्ल यीनले बुझ्ने बेला आएको छ । २५० वर्षदेखि जरा गाडेर बसेको राज संस्थालाई पनि उखेलेर फाल्ने नेपाली जनतानै हुन् भन्ने कुरा यी नेताले बिर्सनु हुन्न ।

देशको कठिन परिस्थिति र नेताको काम गराईमा देश भित्र र बाहिर सबै ठाउँमा रहेका नेपाली संयम र जानकार छन् । सबैलाई उत्तिकै चिन्ता छ । देश, जनता र राष्ट्रप्रति संविधान सभाको म्याद गुज्रेको दिनमा रात रात भरि टिभी र रेडियोको अगाडि सारा नेपाली कुरेर बस्छन् सहमति हुन्छ या हुन्न भन्ने डर र त्रासले ।

राजनीतिक दल र नेताले गुहारेर नगुहारिने हुँदै छन् अब नेपाली जनताहरू । यी बेइमानी, स्वार्थी, भ्रष्ट नेताबाट सचेत हुँदै छन् अब नेपाली जनता । सावधान ! अब आउने दिनमा यसैगरी पद र कुर्सीको लागि मारामार मात्रै गर्न थाले अब घरघरै आएर थुन्न बेर मान्ने छैनन् नेपाली जनताले किनकी अब त्यही मात्रै गर्न बाँकी छ । छातीमा हात राखेर भन्नु पर्दा कुनचाहिँ नेता पायौं हामीले अहिले सम्म देश, जनता राष्ट्रप्रति उत्तरदायी र महत्वाकांक्षी ? यो कुरा अब नेपाली जनताले राम्रोसित बुझ्दैछन् ।

म एउटा सभ्य समाजको परिकल्पना गर्ने मान्छे हुँ । सभ्य समाजमै बाँच्न चाहन्छु । तर आज एक पटक देवी प्रसाद जस्तो असभ्य र आक्रोशित काम गर्ने नागरिकप्रति आज संसारभर रहेका नेपालीको समर्थन बढ्दो छ । किनकी यो नेपाली राजनीतिक पार्टी र नेताले गरेको कामको उपज हो ।

मैले बढि भएर धनको पोज देखाउन होइन । न गलत काम गरेको पैसान हो भन्ने सस्तो ठानेर । म स्वच्छ काम र मेहनतले बाँच्नुपर्छ,  थितिको राज्य चल्नु पर्छ भन्ने मान्यता राख्छु । देश सप्रियोस । नेपालीका आँखाबाट अब सधैं आँसु नबगुन् । देशको आर्थिक उन्नती होस् । नेताले एकै चोटे बिजुली चम्केझैं देश विकास गर्न सक्दैनन् । तर जति सकिन्छ जनताको भावना र आफूले खाएको कसम अनुसार काम गरुन् भन्ने आसा राख्छु म अन्य धेरै नेपालीले झैं ।

हामी दुखि नेपाली संसार भरी अर्काको मुलुकमा बधुवा झैं कामको खोजिमा भौंतारिनु नपरोस् । बास मैले चाहेको यत्ति हो । हरेक दिन म देश सम्झेर दुखि हुन्छु । मन पाक्छ । पेट पोल्छ । त्यहि अन्तस्करणको मेरो प्रतिक्रिया हो । मैले गलत कामलाई प्रश्रय दिन खोजेको पनि होइन । तर हाम्रा नेताले जनताको संयमलाई पटक्कै ध्यान नदिएकाले अन्य नेपाली सरह तिनलाई कुनै न कुनै पाठ सिकाउनुपर्छ भन्ने सोचको उपज हो मेरो पुरस्कार । त्यही कारण मैले आफ्नो  सियतले भ्याएको नेपाली १० हजार रुपियाँको पुरस्कार देवी प्रसादलाई ससम्मान दिने घोषणा गरेको । पक्कैपनि देवी प्रसादबाट भएको यो साहसिक कामले यी नेताहरूको दिमागमा सचेतता ल्याउने छ । सावधान गराउने छ ।

झलनाथ खनालले यदि साँच्चिकै ऐतिहासिक काम गर्नुहुन्छ भने देवी प्रसादको अगाडि गएर पहिले भएका गल्तीहरूलाई स्विकार्दै सबै नेताहरूको तर्फबाट माफी मागेर ससम्मान घर जाने अनुमति दिनुहोस् (हिजो रिहाई भइसकेको छ, लेख उनी रिहाइ हुनुअघि लेखिएको हो) । यो देवी प्रसाद एक्लो देवी प्रसाद होइन । सारा संसार भरि छरिएका देवी प्रसादहरूको पात्र हो । सारा नेपालीहरूमा अहिले त्यही रिस र क्रोध छ जो तपाइहरू सारा नेताले दिएको उपज हो सारालाई ।

भोलि टोल टोलमा, गाउँ र सारा शहरमा सयौं लाखौँ अर्का देवी प्रसाद अवस्यै जन्मिने छन् । तपाइ नेताहरूको पारा नसुध्रिने हो भने त्यो बेला झन् प्रहरी प्रशासन लगाएर पक्रिन असंभव हुने छ ।

तपाइँको प्रतिक्रिया