बेल्जियममा नेपाली व्यापार : संभावना कति कति

-युवराज गुरुङ / बेल्जियम

पछिल्लो समयमा हामीले एन आर एन मार्फत नेपाल महोत्सव गर्छौं । तेस्रो महोत्सव गरियो । त्यो पर्वमा नेपाली खाना खुवाउँदा सबैले एकदम मन पराएर जान्छन् । नेपालको चिया, कफी आदिको स्वाद सँग सँगै बजार छ । तर जुन रूपमा हामीले गर्न सक्नुपर्ने हो त्यो रूपमा गर्न सकिएको छैन । पर्व र इन्टरनेटको स्रोतहरू मार्फत बिस्तारै फैलिँदै जान्छ ।

नेपाली खाना र नेपाली हस्तकलाका सामानको चासो र चाख हरेक पटकको मेलामा बढेको देखिएको छ । हुन त त्यसमा ६० प्रतिशत नेपालीनै आउँछन् । यहाँका स्थानीय ४० प्रतिशत आउनु भनेकोपनि धेरै ठूलो कुरो हो । किनभने उनीहरूले नेपालको सानो नमुना देख्छन् । पहिलो चोटे एन्तरपेन, दोस्रो चोटी ब्रसेल्स र तेस्रो लुभेन शहरमा गर्‍यौं । सहभागिता बढिराखेको छ ।

टिमुर हामीले बेल्जियममा सकेसम्म परिचित गराइरहेका छौं । यो स्वास्थ्यका लागि उत्तिकै राम्रो । पेटलाई सफापनि गर्छ । यो जरीबुटी हो । यतातिर पाइँदैनपनि । उतैबाट आउने चीज हो । ल्याउनपनि सजिलो । सानो पोको ल्याएर राखिदिए भो अलिकति धूलो । अहिले हामी यसलाई परिचित गराइरहेका छौं ।

जिम्बु हामीले चखाउने गरेका छौं । नेपालीहरुले मन पराइहाल्छन् । तर बेल्जिकहरुको उति मेसो पाइएको छैन । गुन्द्रुकमा चाहिँ हाम्रो यूनिक भन्ने मात्रै हो । त्यस्तो खासै हुन सक्याछैन । फेरी बजारे गुन्द्रुक अमिलो हुन्न । गाउँको सिन्कीसँगै बनाएको गुन्द्रुकको स्वाद अर्कै हुन्छ । काठमाडौंमा गुन्द्रुक भनेर बेच्नेलाइनै थाह हुन्न गुन्द्रुक के हो ? तोरीको गुन्द्रुकको स्वाद अर्कै हुन्छ । बजारबाट ल्यायो स्वादै छैन । ढुंगै ढुंगा, माटैमाटो, धुँदा धुँदा हैरानै हैरान । फेरि औद्योगिक रूपमा उत्पादन भएकोपनि छैन । खानेकुरा ल्याउनपनि गाह्रो ।

सुकुटीको बजार राम्रो छ यहाँ । नेपाल गएर खाइसकेका गोरेपनि यहाँ खान आउँछन् । यहाँपनि बनाउन त सकिन्छ । तर यहाँ बनाउँदा महँगो पर्छ । सेकुवाको मासुलाइ सुकुटी बनाउने हो । त्यसको मात्रा एकदमै कम हुन्छ । त्यसको मूल्य महँगो हुन्छ । नेपालबाट राँगाको सुकुटी ल्याउँदा सस्तो पर्छ । हामीले नेपालबाट ल्याएर बेच्थ्यौं । तर यो विभिन्न रोग व्याधको कारणले गर्दा अति कडा भयो । बरु विमानस्थलबाट मान्छे छिर्न सजिलो सुकुटी छिर्न गाह्रो भयो ।

साथीहरू सुकुटी माग्दै आउँछन् । सुकुटी छैन । नेपालबाट त्यो सुकुटी निकासी गर्ने गुणस्तर र मात्रामा उत्पादन गर्न सके आम्दानी हुने संभावना प्रशस्त छ । आयात गर्ने गुणस्तर भैदिएको भए यो सुकुटीनै हो भनेर कम्पनी मार्फतनै ल्याउन सकिन्थ्यो विमानस्थल भन्सारबाट । अहिले त लुकाएर ल्याउने हो । घरको लागि यता उता भन्ने हो । उनीहरूलाई शंका लाग्यो भने फाल्दिहाल्छन् । नेपालबाट ल्याउन दिँदैन । चिया र कफीनै प्रतिस्पर्धा गर्न सकिएन । एक जना कफीका निर्देशक आएका थिए । यहाँको भन्दा धेरै महँगो हुने भयो नेपालको कफी । यहाँ आएर प्रतिस्पर्धा गर्नै नसक्ने भयो । यहाँ चाहिँ एकदम ठूलो मात्रामा उत्पादन गरेका हुन्छन् । थोरै नाफा धेरै आपूर्ति गर्छन् । हाम्रो त्यो छैन । नेपालको कफी भनेर सहानुभूतिले खाइदिने हो । अनि यो एकदम अर्गानिक हो भनेर गफसफ लाएर मात्रै हुने हो ।

प्रशोधन गरेको पनि भने जस्तो हुँदैन । सबै प्रविधिको कुरो त हो ! यिनीहरुसित जति प्रसिद्ध प्रविधि छ त्यति त हामीसित छैन । यहाँ ५०० ग्राम कफीको दानालाई ३ साँढे तिन यूरोमा उच्च गुणस्तरको पाइन्छ । नेपालकोलाई ६, ७ यूरो परेपछि सकिँदैन ।

जतिपनि भएको छ अहिले निजिस्तरबाटै गैरहेको छ । सरकारीस्तरबाट गर्न सकिए हुन्थ्यो । एक पटक के कुराकानीपनि चल्यो भने यो एन आर एन र दूतावास लगायत हाम्रो बीचमा अनौपचारिक रूपमा नेपाली पहाडे कागजलाई यहाँ खपत गराउन सकिए भन्ने ! त्यो पहल भनेको व्यक्तिले गरेर संभव हुँदैन । सरकारी स्तरबाट हुनुपर्छ । जस्तो यहाँ युरोपेली परिषदबाट त्यो कुरो मिलाएर यहाँको चलनचल्तीमा त्यो कागजलाई हामीले प्रयोग गर्न सकियो भने नेपालीले कहीँ कतै जानै पर्दैन । युरोपमा आपूर्ति गर्दै पुग्छ ।

पहिलो कुरो त चिनाउनै सकिएको छैन । त्यो चिनाउन कुनै एउटा व्यक्तिले गरेर त हुँदैन ।  सरकारीस्तरबाटै गर्नुपर्ने हुन्छ । उच्च निकायबाट गर्नुपर्ने हुन्छ । त्यो गर्न सके एउटा संभावना छ । लोक्ताबाट बनाएको कागज चिनाउन र व्यापारिक चाँजो मिलाउन सके यसको बजार छ । युरोपेली परिषदबाट केही प्रतिशत तोकेर मात्रै भित्र्याउन सके युरोपभरि जान्छ । परिषदमा तेस्रो देशको उत्पादनलाई कतिसम्म भित्रिन दिने भने प्रावधान हुने रहेछ । कुन स्तरको, के के लाइ कति दिने ? भन्ने हुने रहेछ । हामी त बुझ्दापनि बुझिँदैन । दोस्रो कुरो जो बुझ्नको लागि भनेर खटिएका छन् दूतावास, बेला बेलामा आउने मन्त्रीहरू तिनिहरूको चाहिँ क्षमता नभएको हो की ? नचाहेको हो की ? ईच्क्षाशक्ती नभएको हो की ? त्यो खालको आत्मविश्वास नभएको हो की ? त्यत्तिकै लरबराइरहेको छ ।

यार्सागुम्बाकै कुरो गरौं न । कम्सेकम हामीले बेच्न नसकेपनि, बजार बनाउन नसकेपनि दूतावास जस्तो निकायले दुई चार पिस देखाउनको लागि नमुनाको लागि त राख्न सक्छ नि । छैन । कम्सेकम हामीले नेपाली मेलामा देखाउन कम्तीमा ल बेच्न त सकिएन । किलोकै एक डेढ लाख कति पर्छ । त्यो कसैले ल्याउने कुरोपनि भएन गैह्र कानुनी हुन्छ । कम्सेकम सरकारी निकायबाट एक डेढ सय ग्राम ल्याएर यो यस्तो हो, जिवनचक्र यस्तो हुन्छ, यहाँ पाइन्छ भनेर चिनाउन, यति उचाइमा पाइन्छ भनेर चिनाउने, एउटा डकुमेन्ट्री देखाउन सकियो भनेपनि आकर्षण हुन सक्छ ।

त्यसो गरौं न भनेको । हा त्यो कहाँ संभव हुन्छ ? किलोको त्यत्रो पर्छ भनेर प्रवेशै गर्न चाहेनन् । दूतावासमै हामीले बैठक बसेका हौं । हामीमा पहिल्यै सकिन्न भन्ने दबिएको मानसिकता छ । नेपालको सामान्य दलाली गर्नेले नमुना गोजीमा लिएर हिँडेको हुन्छ । नेपाली दूतावासले चाह्यो भने ५०० ग्राम ल्याएर देखाउन सक्दैन ?

(गुरुङ एन आर एन बेल्जियमका प्रथम निर्वाचित अध्यक्ष र त्यहाँका व्यापारी हुन् । यो लेख केही महिना अघि मेरो बेल्जियम भ्रमणका क्रममा गुरुङसित भएको कुराकानीमा आधारित छ । यसको बाँकी भागपनि प्रकाशित हुने छ प्रतिक्षा गर्नुहोला – नेपालप्लस)

तपाइँको प्रतिक्रिया