नेपालीको तलव खाएर नेपालीलाई हेप्ने को हो त्यो दूतावासकी गोरेनी ?
म बेल्जियम भ्रमणबाट फर्के लगत्तैपनि बेल्जियममा देखे भोगेका विषयमा जनआस्था साप्ताहिक र नेपालप्लस डट कममा लेख समाचार बनाउन खोजेँ । केही विषयमा नेपाल सरकारको आधिकारिकता लिनुपर्ने भयो । बेल्जियमको ब्रसेल्स स्थित दूतावासमा सम्पर्क गर्थें । आफ्नो दूतावासमा नेपाली भाषा बोल्न पाउनु अधिकार हो सबै नेपालीको । तर मैले भने कष्ट गरेपछि मात्रै पाएको थिएँ । फोन एकजना फ्रान्सेली लवजको महिलाले उठाउँथिन । क्रिपया, एकछिन, म हेरौंला, म बुझौंला, के कति कामको लागि होला भन्ने उनमा कुनै नम्र हुँदैनथ्यो । म कहिल्यै पत्रकार, लेखकको रूपमा प्रस्तुत हुँदैनथे । काम सोधेको भए भन्नै पर्दो हो । नत्र किन भन्ने ? त्यसपछि पनि मैले केही पटक फोन गरेँ । तीनै महिलाले उठाउथिन् । उही टर्रो बोली । हप्काएझैँ बोल्ने । कहिले झर्किने गरिरहिन् । मैले कुनै वास्ता गरिन ।
तिन, चार दिन अघि फोन गरेको थिएँ त्यस्तै एउटा आधिकारिक धारणा लीन । राजदूत प्रमेश कुमार हमाल बेल्जियम बाहिर रहेछन् । उनलाइ मैले ‘कति समयमा आउलान् ? कुनै यस्सो अनुमान छ की ‘भन्दै नम्र भएरै सोधेँ । ‘छैन भनेसि छैन, मलाई के थाह ?’ भन्दै झर्किइन उनी । हिजो तिन चार बजेतिर फेरी फोन गरेँ । नौ बजे फोन गर्दा दूतावासमा कर्मचारी नहुने । १० बजे तिर गर्दा राजदूत आइपुगेका नहुने । १ बजे गर्यो लञ्चमा । २ बजे फोन गर्दा तीनै विदेशी महिलाले उठाइन् । उनमा फोन उठाउँदा गरिने कुनै सामान्य सम्बोधन पनि थिएन । मैले जब ‘नौ बजे कोही हुन्न, १०, ११ सम्म राजदूत हुँदैनन् । १२ बजेपछि लञ्च, २ बजे अहिले बैठक । कतिखेर सम्पर्क गरौं त ? मिटिङ कतिखेर तिर सकिएला कुनै अनुमान छ?’ भनेर सोधेँ ।
कतिखेर तिर गरौं त ? के थाह मलाई भन्दै च्याँठ्ठिएर जवाफ दिइन । म शान्त नै रहे । किनभने पत्रकार लेखकको प्रयास सकेसम्म सूचना लीन सफल हुनु हो । रिसाएर चल्दैन । नेपाली कोही कर्मचारीसित बोल्न पाइन्छ कि भनेर जिज्ञासा राखेँ । ‘सबै मिटिङमा छन्’ भन्दै झर्किइन् । सामान्य हो- राजदूत जतिखेरपनि उपलब्ध नहुन सक्छन् । तर के कुनै जानकारीनै नभएपनि हामीलाई केही नभनी जानु भयो जानकारी छैन भनेर अलि मिठै बोलेर टार्न सकिन्न र ?
प्रश्न सोध्दा उनलाई जवाफ दिन खुब गाह्रो महसुस भैरहेथ्यो । च्याँठ्ठिएपछि अति भो । मैले दूतावासमा बस्नेले बोल्ने तरिका त्यही हो ? भनेर सोधेँ । ‘मैले त्यत्तिकै फोन गरेको होइन । सूचना लिनका लागि हो भनेर परिचय दिएपछि उनी हच्किइन् र भनिन् -तपाइ नम्र हुनुहुन्थेन । मैले जवाफ दिएँ- तपाइ पटकै नम्र नभएकोले र पटक पटक नराम्रोसित बोलेपछि म बाध्य भएँ, तपाइलाई चुप लाग्नुस् भन्न ।
पछि दूतावासकी नेपाली कर्मचारी महिलासित सम्पर्क भयो । यो स्वरपनि मैले चिनिरहेकै हो नाम थाह नभएपनि । तर उनी सधैँ मीठो बोल्ने, जाने देखेको, पाएसम्म राम्रै जानकारी दिने गर्थिन् । राजदूत प्रमेश हमाल त समग्रमा सहयोगी, सौम्य र मिलनसार छन् भन्ने सुन्दै आएको हो । हिजै साँझ नेपाल सरकारको एउटा आधिकारिक धारणा लिने क्रममै हमाल चाहिएको भन्दापनि बढि सहयोगी र मिलनसार भएर प्रस्तुत भए । आरोप मिथ्यामा लगाउने भए जसलाईपनि लगाइँदो हो । म बेल्जियम हुँदैपनि मैले त्यो बिदेशी च्याँठ्ठिने गरेको यदाकदा सुनेको थिएँ ।
उनको नाम रहेछ मिसेलिन डेप्सी । अझ रिसेप्सनमा काम गर्ने रे । पहिलो सम्पर्क नै रिसेप्सनमार्फत हुन्छ । उसको भाषा, उसले गर्ने व्यवहार र उसको ज्ञानले धेरैलाई दूतावासप्रतिको धारणा बुझ्न बुझाउन सहयोग पुग्छ । दूतावासका कर्मचारीले मिठो बचन गरिदिए हसिलो अनुहार बनाएर फर्किन्छन् आगन्तुक । त्यसले कर्मचारीलै क्षती गर्दैन । मान र शान घटाउँदैन । दूतावास त झन् यसैपनि कूटनीतिक थलो । अझ बढि सौम्य, निर्मल, म्रिदुभाषी, सहनशील, अनुभवी, खुला, सहयोगी हुनु जरुरी हुन्छ । एउटा राजदूतसित सम्पर्क गर्न खोज्ने सित तात्तिने कर्मचारीको नेपाली दूतावासमा बस्ने के अधिकार ? के योग्यता ?
ठूलै जटिल काम गरिदेउ भनेको होइन । कुनै करकाप लगाएको थिइन। कुनै छद्म नाम र गोप्य नम्बरबाट नभएर ल्याण्डलाईन फोनबाट आफ्नो नाम शुरुमै भनेर गरेको हो । तैपनि एउटा राजदूत सित सम्पर्क गराउने हुती नहुने यस्ता असक्षम कर्मचारीबाट नेपालले के फाइदा लिने ? नेपालको कस्तो प्रचार हुने ? नेपाली कसरि खुशि हुने ? डेलिसीको बोली संझदा अहिलेपनि त्यहिँ आएर गल्हत्त्याउन मन लाग्छ ।
पछि संपर्क भएकि नेपाली कर्मचारीलाई योपनि भनें- यदि नजिक हुन्थ्यो भने अहिलेनै बस चढेर आउँथे त्यो डेलीसीलाइ झ्याँको झार्न । नेपाली महिलाले आफुले ति कर्मचारीलाइ बरु सम्झाउने तर समाचारनै लेख्न भने एक पटक सोचिदिने हो की ! भनिन् । बेठिक भनिन् भन्ने होइन । तर समस्याको समाधान कर्मचारी सहि हुनुमा छ समाचार नलेख्नुमा छैन । समाचार त त्यसै गरे झन तस्विर सहित राख्ने दिन आउँछन् ।
उनको नियत किनपनि बेठीक थियो भने जब मैले राजदूतलाई खोज्नुको कारण बताएँ तब उनी ‘पत्रकार हो भन्ने बुझेर’ ठन्डा भइन् । भाषा बदलिन्, चुरीफुरी बदलिन् । नेपालको कानुनले सार्वजनिक सूचना पाउने अधिकार सबै नागरिकलाई समान तरिकाले सुनिश्चित गरेको छ । गोरेनी डेप्सीलाई आफ्नै देशको कानुन थाह छैन भने बुझे हुन्छ – सूचनाको हकको सुनिश्चित बेल्जियमको कानुनलेपनि गरेको छ ।
सार्वजनिक सूचना लीन म प्रधानमन्त्रीको भतिज, म लेखक, म पत्रकार, म फलानो पार्टीको फलानो पद भनिरहनु जरुरी छैन । दूतावासका कर्मचारीले कहाँबाट भनेर सोध्नु जायज हो । तर अहँ उनले त्यसमा कुनै चासो राखिनन् । मैले उनको नाम सोधेँ- नाम भनिनन् । त्यसबाट पनि बुझिन्छ उनी गलत छिन् । किनभने दूतावासमा बसेका कर्मचारीले आफू को हुँ भन्नुपर्छ । चोर, डाँका, फटाहा, लुटेरा, अपराधीले झैँ नाम लुकाउन पाइँदैन । ती गोरेनीको नाम मैले पछि तिनै नेपाली महिला कर्मचारीसित सोधेर लिएको थिएँ ।
हाम्रो देश आर्थिक रूपमा जतिसुकै कमजोर होस्, नेपाल सरकारले अहिलेसम्म कुनैपनि कर्मचारीको तलब मारेको सुनिएको छैन् । नेपालीको पसिनाको थोपा थोपाबाट दूतावासका कर्मचारीले तलब पाउँछन् । गोरेनी डेप्सीको तलबपनि त्यसैगरी तिर्छन् नेपालीले । त्यो मध्ये अधिकांश रकम झन् विदेशमै नेपालीले दुखजिलो गरेर कमाएको रेमिटेन्सले तिरिन्छ । अनि जसले उनको रोजीरोटीको व्यवस्था गर्छ उसैलाई हेप्ने ? यो अधिकार कसले दियो डेप्सीलाई ?
दूतावासमा बसेर दूतावासको मर्यादा, नीति, कूटनीतिक मान्यता अनुसार काम गर्न सकिन्न भने डेप्सी ले तत्कालै छोडे हुन्छ । नेपाली दूतावासमा बसेर नेपालीकै गुनासा सुन्न सकिन्न भने तुरुन्तै त्यो कुर्सी छोडे हुन्छ । नेपालको दूतावासमा काम गर्न अब नेपालको बदलिँदो परिस्थिति र आम नेपालीलाई चित्त बुझ्ने ढंगले काम गर्नुपर्छ । दरबारिया चाकरी र त्यही बेलाको जस्तो फाइँफुट्टी देखाएर अबका नेपालीले टेर्दैनन् । अति भयो भने दूतावास घेरेरैपनि तिमी जस्तालाई लघार्ने अधिकार नेपालीले सुरक्षित राखेका छन् । आफ्नो आवश्यकता अनुसारको एउटा कर्मचारी फेर्ने सक्ने हैसियत नेपालीसित छ । मिसेलिन डेप्सी जस्ता कर्मचारीले हेक्का राखे हुन्छ ।
साथीहरू तपाईहरुलाई यस्ता समस्या झन् बढि परेका होलान् । युरोपका कन्सुलर कार्यालय र दूतावासहरूबाट । यस्ता समस्या भोग्नु भएको छ भने घटना विवरण उल्लेख गरेर बिस्तारमा पठाउनुहोला । तर सामग्री भरपर्दो हुनुपर्ने छ । सत्य घटना हो र नाम दिन असमर्थ हुने अवस्थामा कम्तीमा मैले सम्पर्क गर्न संभव भने हुनुपर्ने छ । तपाइको चाहना अनुसार परिचय गोप्य राखिदिएरै त्यस्ता सूचनालाई यहाँ स्थान दिइने छ । सूचना यो मेलमा पठाउन सक्नुहुने छ-





