पिलपिल गर्ने जूनकीरीका सयौं पोथी वरिपरि
जब सम्म जूनकीरी झिलिक मिलिक गर्दैनन् र जूनकीरीका गीत सुनिँदैन तबसम्म गर्मी याम लागेको अनुभव गर्दैनन् गाउँघरका थुप्रै मान्छे । अर्थात् जूनकीरीहरूले गर्मीयाम संकेतको पिलपिले आगो बोकेर आउँछन् घर आँगन, करेसाबारी र चौरतिर । मसिना होउन् की तिनले अँध्यारो नै रुचाउन्, तिनमाथी धेरैको ध्यान भने केन्द्रित हुने गर्छ । तिनको हरियो र पहेँलो प्रकाशका बारेमा धेरै गीत लेखिएका छन् । कथाहरू बुनिएका छन् । ध्यान तानिएका छन् । बच्चाहरू त झन् जूनकीरी खोज्ने भन्दै घाँसतिर दगुरादगुर नै गर्छन् । तर त्यही पहेँलो प्रकाशले भाले जूनकीरीलाई भने जीवनको अन्त्यतिर डोर्याउँछ भन्ने चाख लाग्दो तथ्य भने कतिलाई थाह होला ?
जाडोयाम सकिएर जब गर्मी महिना शुरु हुन्छ तब साँझको गरम वातावरणमा जूनकीरीका भालेहरू घाँस र झाडीतिर सलबलाउन थाल्छन् । ती प्राय: सम्म फाँट र नजिकै जंगल भएको छेउछाउमा बढि सलबलाउन रुचाउँछन् । पाका भालेहरूले घाँसबाट माथि उडेर पहेँलो र हरियो रंग निकाल्दै पोथीहरूलाई यौनाकांक्षाको संकेत गर्छन् । पोथीहरूपनि के कम ? भालेका प्रकाशहरूको तिनले वरिपरिबाट अवलोकन गर्छन् । पोथीहरूलाई चाख लागेमा तिनले पनि बत्ती बालेरै सकारात्मक संकेत दिन्छन् । अध्ययनहरूले के देखाएका छन् भने धेरै चम्किलो र छिटो बत्ती बाल्न सक्ने भालेहरू पोथीका छनौटमा पर्छन् ।
हामीलाई उस्तै लागेपनि जूनकीरीका थुप्रै प्रजाति हुन्छन् । त्यसैले भालेहरूले आफ्नै प्रजातिको कुन पोथीले संभोगको स्वाद लिएकी छैन भनेर ढुकेर बस्छन् । त्यस्तै पोथीको खोजीमा लाग्छन् । किन संभोगको अनुभव नभएका पोथी कुर्छन् त भालेहरूले ?
यसको चाख लाग्दो तथ्य के छ भने संभोग गरिसकेका पोथीहरूले शरीरको रसायन बदलेर संभोग गर्न आउने भालेलाईनै खाइदिन्छन् । त्यो तथ्यको जानकारी भालेहरूलाई हुन्छ । पहिले भालेलाई संभोगका लागि संकेत दिने त्यही प्रकाश त्यसता पोथीहरूले एक पटक संभोगको स्वाद लिइसकेपछि भने भालेलाई आहारको रूपमा खान हतियारको रूपमा प्रयोग गर्न थाल्छन् । कतिपय पोथी त यति बाठा हुन्छन् कि तिनले शंका नगर्ने र अनुभव नभएका भालेहरू जति सक्दो धेरैलाई आकर्षण गर्ने र छक्याएर आहारा बनाइदिने गर्छन् ।
जति छिटो बत्ती बाल्यो उति पोथीले रुचाउने हुँदा भालेहरूपनि आहारा बनाउने पोथीका धरापमा पर्छन् । किनभने तिनले पोथीहरूले रुचाउलान् भन्ने आशाले झन् छिटो छिटो बत्ती बाल्ने कोसिस गर्छन् । त्यसैले हरेक साँझ भालेहरूले बाल्ने बत्तीमा ‘सेक्सको आनन्द की जीवनको समाप्ती’ भन्ने जोखिम रहन्छ । केही वैज्ञानिकहरूले भने छिटो र चम्किलो बत्ती बाल्न सक्ने भालेहरूले धेरै पोथी ओगट्ने बताएका छन् । तिनको भनाईमा कहिलेकहीँ त कुनै भालेले सयौं पोथी खेलाउँछ ।
(पछिल्लो तस्विरमा दाहिनेतिर संभोग गरिरहेका भाले पोथी जूनकिरी र देब्रे तस्बिर चाहिँ भालेले संभोग गरेपछि छोड्ने वस्तु । पहिलो तस्विर नेशनल ज्योग्राफिकको हो । दोस्रो नेटबाट तानिएको हो ।)।
![fireflies-zoom[1]](http://www.nepalplus.com/wp-content/fireflies-zoom1.jpg)





