घुम्ने हैन त तिलिचो ताल ?

-अर्जुन थेबे

तिलिचो ताल समुद्री सतहबाट ४९१९ मिटरको उचाईमा रहेको छ, जुन विश्वकै अग्लो ठाउँमा रहेको ताल हो । मनाङ जिल्लाको डिश्यांग गा.पा.९ मा अवस्थित तिलिचो हिमताल एक पटक अवलोकन गर्नैपर्ने ठाउँ मानिन्छ | यो यात्रा लम्जुंगको बेशीसहरबाट सुरु हुन्छ । बेशी शहरको प्रथम बास पश्चात सवारी साधनबाट करिब ८०, ८५ की.मि. पहाडी कच्ची सडक, ७ घण्टा लामो जोखिमपूर्ण र कष्टकर यात्रा पार गर्दै सवारी साधनको अन्तिम गन्तब्य मनाङको खांगसारसम्म गएर अन्त्य हुन्छ | खान्सारसम्म मोटरसाइकलमा पनि जान सकिन्छ | ७, ८ घन्टाको लामो यात्राले शरीर आधा गलीसकेको महशुस हुन्छ । तर प्राक्रितिक द्रिष्य र हिम छटाले भने निरन्तर लोभ्याईरहन्छ । अझ अगाडि बढ्दै जाँदा कस्ता द्रिष्यहरु देखिएलान् भन्ने खुल्दुलीले मनलाई तानिरहन्छ । 

यात्रा अवधि : ७ दिन (प्रशस्त)

आवश्यक बजेट : २०००० देखि २५००० प्रति व्यक्ति (मध्यम)

सवारी भाडा : २५०० देखि ३००० एक तर्फी आपसी छलफल |

तापक्रम : -१ देखि -७ डिग्री आधार शिबिर क्षेत्र

-१६ डिग्री तिलिचो ताल

पैदल बाटोको स्थिति :

हल्का उकालो, धेरै बाटो तेर्सो तर केही ठाउँ जोखिमपूर्ण |

कसरि जाने ?

पैदल, निजि मोटरसाइकल, भाडाको सवारी | प्रथम बास बेशीसहरमा बस्ने | भोलि पल्टको दोस्रो बास मनांगको सदरमुकाम चामे, ढिकुर पोखरी, खान्सार ईच्छानुसार बस्न सकिन्छ | खान्सारसम्मको लागि बासस्थानको व्यवस्था सन्तोषजनक मान्न सकिन्छ | दोस्रो दिनको यात्रा यहाँ भन्दा अघि बढ्न सक्दैन | बासस्थानको मूल्य भन्दा खाना धेरै महँगो पाइयो ।

पर्यटकलाई सुझाव

यो यात्रामा अलि बढिनै लेक लाग्ने सम्भावना भएको हुँदा त्यहाँको हावापानीसित आफ्नो शरीरलाई घुलमिल गराउन आवश्यक हुन्छ | जसका लागि माथि भनिएका ठाउँमा बास बस्दै जाँदा लेक लाग्ने जोखिम न्युन हुन्छ । र प्राय सबै पर्यटकहरुले त्यसै गर्छन | छोटो समयमा छिट्टै माथि पुग्ने कोसिस गर्नु ज्यानको जोखिम मोल्नु हो ।

खान्सारबाट पैदल यात्रा गर्दै आधार शिबिर (४१५० मि।) सम्म पुग्न सकिन्छ | प्रथम पटक जाने जोकोहीलाई आधार शिबिर बसे क्याम्प पुग्न, स्थानीयलाई बढिमा ३ घण्टा लाग्छ । तर हामीलाई ८ घण्टा लागेको थियो | खान्सारबाट आधार शिबिर पुग्न नसके श्रीखर्कमा तेस्रो बास बस्न सकिन्छ । तर आधार शिबिर पुगेर बास बस्नु उत्तम मानिन्छ |

तेस्रो दिन बिहानै करिब ३, ४ घण्टा एकतर्फी हिँडे पुगिन्छ, अन्तिम गन्तब्य तिलिचो ताल । चौथो बास ईच्छा अनुसार या स्वास्थ्यको अवस्था अनुसार अधार शिविरमै बस्न सकिन्छ | नत्र श्रीखर्क वा खान्सारमा बस्दा फर्किनको लागि सरल र सहज हुनेछ |

आधार शिबिरको अवस्था

आधार शिविरमा बास्सस्थान्को व्यवस्था पर्याप्त छैन | त्यहाँको बास बसाइ अत्यन्तै कष्टप्रद हुन्सक्छ ! समयमा पुगेर कोठा बन्दोबस्त गर्न पाउनु भयो भने  भाग्यमानी ठाने हुन्छ । कोठा पाउन सकिएन भने खुल्ला आकाश मुनि टेन्टमा या खाना खाने डाईनिङ हलमा ३०, ४० जना कैदी सुते झैँ सुत्नु पर्ने अवस्था हुन्छ । यो अनुभव रु १०० तिरेर लिन पाइन्छ । हामीलाइ पनि त्यो अवसर जुर्‍यो । एक रातको मात्र रु १००, त्यो पनि ४१५० मि. अग्लो स्थानमा ।

महँगी कति छ ?

बासस्थान खासै महँगो मान्नु पर्दैन । प्रति कोठा १५०० देखि २००० मा तिन जनासम्म बस्न सकिन्छ | तर खाने कुराको मुल्य सुन्दा तपाइको कान ठाडा र निधार खुम्चिन सक्छ | पहिलो चोटी त हामीलाई पनि त्यस्तै भयो । तर पछी आफैं बुझक्की बन्यौं । मन बुझायौं !

साधा दालभात = रु ६१० |

तातो पानि प्रति थर्मस = रु २३० सानो / रु ३४० मध्यम / रु ४५० ठुलो | चिसो पानि पिउने हिम्मत नगर्नु होला !

पकाएको वाई वाई = रु १५०

उसिनेको अण्डा = रु ५०

मिनरल पानी = रु१००

यात्रा जोखिम !

आपतकालीन अवस्थामा उद्धार गर्न कठिनाइ | संचारको राम्रो व्यवस्थापन नभएको । केही दिन, समयका लागि सम्पर्कबिहिन हुनुपर्ने | साँघुरो सवारी बाटो, भिर पहरा कोपेर सडक निर्माण गरिएको । अगाडिको सवारी बिग्रिएमा त्यसको सजाय त्यस पछिका सबै मानिसले भोग्नुपर्ने ।

दृश्यावलोकन !

बाटा भरि बिदेशी पर्यटक । सफा,सुन्दर मनोरम मर्स्याङ्दी खोला । झरना, चट्टाने पहाड, ससाना सुन्दर गाउँबस्ती । भेडा च्यांग्रा, चौरी चरेको हेर्न पाइने । स्याउबारी, स्याउ चिस्यान केन्द्र, हिमालको स्वाद लिन पाइने । सबै दृश्य क्यामेरामा नअट्ने हुँदा आँखाले खिचेर मन मस्तिष्कमा संचय गर्नुपर्ने हुन्छ ।

तपाइँको प्रतिक्रिया