धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन
–लोर ल फ्लक
हुन त मैले नेपालमा काम गरिन । पतीको हाँगो समातेर गएकि हुँ नेपाल । नेपालको जम्माजम्मी बसाई भने मेरो उत्क्रिष्ठ रह्यो । हिमाल पहाड देखियो । निषेधित क्षेत्रपनि हामीले पानी पधेंरो झैं घुम्यौं । संसार प्रसिद्द हिम हिम चुचुराहरु धित मारेर हेरियो । एउटा फरक संसार देखियो भन्नु पर्यो । खुशिको सिमानै रहेन । आँखाले ब्रह्माण्ड नाघे । गोडाले आकाश छोएका थिए । धेरै मानिसकालागि कौतुहल र रहस्यमय लाग्ने राजपरिवारका थुप्रै क्रियाकलापपनि हामीले अनुभव गर्न पाइयो । एक पटक राजा वीरेन्द्रसँगको घटना मलाई झल्झली याद आइरहन्छ । एकदिन फ्रान्सेली राजदूतले राजा वीरेन्द्रलाई खाना खान मेरो निवासमा आउन मन गर्छन कि भनेर निम्तो पठाएछन दरबारमा । संभवत आउलान नै भनेर चाहिँ त्यति आशा गरेका थिएनन । तर दरबारबाट खबर आयो, राजा आउन मन गरेका छन खुशिसाथ भनेर ।
उनी आउने भनेपछि खानाको सूचि ९मेनु० पठाइयो । वीरेन्द्रले मन पर्ने खानापनि छानेर पठाए । दरबारका लागि भनेर विशेष मेनु पठाईएको थियो । विशेष कारणले राजदूत बुढाबुढी त्यहि बेला फ्रान्स नआइनहुने भएछ । लौ निम्ता गरिसकिएको छ के गर्ने त रु कार्यवाहक राजदूतले मलाई खाना बनाएर राजा र रुसी राजदूतलाई स्वागत गर्न सक्नुहोला भनेर सोधे । हामीले अस्विकार गर्ने कुरा भएन ।
टेवल सेवल मिलाइयो । मैले खाना तयार पारें । खाना खाने बेलामा कस्तो संयोग पर्यो भने म वीरेन्द्रको आडैमा परें । उनले शंखे किरा बडो स्वादले खाए । मलाई आपत पर्यो । शंखेकिरा खान भनेपछि मलाई एकदम घ्रिणा लाग्ने । खाना आफैंले बनाएकि छु । उनको आडमा बसेर अन्य खाना लिनपनि त्यति सुहाएन । आपत पर्यो । लौ जे पर्ला पर्ला भनेर आफुलाईपनि पस्कें शंखेकिरा । मन नपरि नपरि बडो मुश्किलले केहि खाएँ । किलकिल लागिलागि निलेको सकभर थाह नदिन खोजिरहें । धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन । आफैंले दिएको मेनुबाट उनले छानेकालेपनि उनको रुचिको खाना खानुपर्ने भयो । मेनुमा भएपनि शंखेकिरा रोज्लान भनेर त मैले एकरत्ति सोचेकि थिइन । उनी त शंखेकिरा भनेपछि भुतुक्कै पो हुने रहेछन । खुब स्वाद लिई लिई खाए बा १
हुनत वीरेन्द्रसँग धेरै पटक भेटघाट भएको हो । मेरो श्रीमानले काम गरुन्जेल उनीसित भेट भ इरहने नै भयो । उनीसँग धेरै छलफल गरियो । वीरेन्द्र थिए एकदम सजिला र दयालुपनि थिए । रानीपनि गज्जबले अंग्रेजी बोल्थिन । भेट त दरबारका अरुसँगपनि नभएको होईन । तर ति त्यति फरासिला थिएनन । कतिलाई त चिनिएन पनि । राजपरिवारका सदस्यहरु महिलानै भएपनि उनीहरुसँग बोल्न अलि असहज हुन्थ्यो । वीरेन्द्र चाहिँ अरु भन्दा भिन्न थिए । राजकाजको घेराबाट स्वतन्त्र हुन खोज्थे । निकै सहज भएर प्रस्तुत हुन्थे उनी । ब्यवहार गर्न अप्ठेरा थिएनन ।
यताउति घुम्न गएका बेलापनि उनी अचम्मै गर्थे । कूटनितिक सिमा नाघेर एक्लै घुम्न रुचाउँथे । उनी स्कर्टिङ अंगरक्षक बिनानै एक्लै गाडी हाँकेर बारम्बार बाहिर निस्किरहन्थे । हिमाली क्षेत्रको भ्रमणमा गएको बेलापनि क्याम्प छोडेर उनी फुत्त फुत्त एक्लै निस्कने गर्थे । कहाँ जान्थे,कसलाई भेट्थे कसैलाई नभनि एक्लै निस्किएका उनी स्थानिय मानिसको घरमा गएर चिया खाएर बसिरहेकापनि हुन्थे कहिलेकाहिँ त । गज्जबको पारा थियो उनको ।
त्यसो त, उनी राजकुमार भएको बेला फ्रान्सको नोरमदी क्षेत्र आएका थिए । तर त्यतिबेला भने उनीसित हाम्रो भेट हुन पाएन । दीपेन्द्र चाहिँ हामीले चिन्दा फुच्चे थिए । उनलाई नचिन्ने कुरा भएन । फुच्चे देपेन्द्र हेलिकोप्टरका खुट्किला उक्लिन नसक्दा च्याप्प समातेर सिटमा राखिदिन्थे मेरो लोग्नेले । राजदरबार हत्याकाण्ड सुनेपछि हामी असाध्यै मर्माहत भयौं । के भएको हो बुझ्न कठिन भयो । राजा विरेन्द्रसँगका क्षण आँखाभरि घुमिरहे । कसैले दीपेन्द्रलेनै हो भन्थे । कसैले उनैका भाइले आफु राजा हुन त्यसो गरे भन्थे । हामीलाई असाध्यै दुखि बनायो त्यो घटनाले ।
यतिका वर्ष भयो नेपाल जान त मन लाग्छ नै । तैपनि नजाने विचार गरेका छौं । किनभने हामीमा नेपालको ज्यादै गहिरो संझना छ । त्यहि बेलाको नेपालको गहिरो छाप बसेको छ । हामीले सन १९७० देखि १९७५ मा नेपाल गएका र पछिल्ला वर्षमा फेरि नेपाल पुगेका फ्रान्सेलीसँग भेट्यौं । तिसँग त्यो बेला र अहिलेको नेपालबारे छलफल हुँदा सबै दुखी भएको बताउँथे । सबै मर्माहत बन्थे १९७० को दशकमा देखेको कुरा गुमेको पाउँदा । पहिलेको नेपालको छाप उनीहरुमा उल्टिएछ । हामीपनि अब नेपाल गयौं भने त्यसैगरि चोट पर्ला जस्तो लाग्छ । त्यस्तै मर्माहत हुन नपरोस । पुरानै संझना, पुरानै छाप रहिरहोस भनेर नेपाल नजाने सोच बनाएका हौं । मलाई त्यहि बेलाको नेपाल नै संझना राखिरहौं भन्ने छ ।
नेपालमा धेरै चिज बदलियो । आफुले देखे भेटेका प्रियहरुपनि कोहि दरबार हत्याकाण्डमा मारिए । कोहि लाखापाखा लागे । नेपालका कुना काप्चामा पुगेका हामी । लामो समयका लागि अब जाने पाइने होइन । त्यत्रो समय बसेर नेपाल हेरे भोगेका हामी दुइ तिन दिन पर्यटक बनेर के पो हेर्न जानु र । (ददिराम सापकोटा र अनुराधा पौडेलको प्रकाशोन्मुख पुस्तकको एक भाग । पुस्तकको नाम दर्ता भ ईनसकेकाले गोप्य राखिएको छ । दशैंको लगत्तै सार्वजनिक गरिएको छ। नाम दशैं पछाडि सार्वजनिक गरिनेछ। फोटो-ददि सापकोटा-नेपालप्लस) ।