प्रवासमा जन्मे हुर्केको युवा पुस्ता कतातिर ?

-युवराज गुरुङ, बेल्जियम

वेल्जियममा नेपाली समुदायको स्थायीत्व सँगसँगै ‘जुनीयर’ एनआरएनको पनि संख्या ह्वात्तै बढेको छ । त्यसो त एनआरएनको परिभाषामा १८ वर्ष मुनिका वालवालीका एनआरएन मानिदैन तथापी तिनीहरु आजका ‘जुनीयर’ र भोलीका सबल एनआरएन भने पक्का हुन् । आज भोलि केही कार्यक्रमहरुमा ‘जुनीयर’ एनआरएनको उपस्थिति बाक्लो देखिन्छ । वेल्जियमको नेपाली आकाशमा तिनको संख्याले नेपालीत्वको भावी दिनहरु आशा लाग्दो त देखाउँछन् नै, अर्कातिर तिनका चालचलन र भाव भंगीले  निराशा तिर पनि त्यतिकै संकेत गर्दछ ।

केहि वर्षको अवधिमा परिवार संयोजनको आधारमा नेपालबाट आएका वालवालीकाहरु वेल्जियम र नेपालको संस्कृतिको दोधारमा रुमल्लीईरहेका छन् । आर्थिक र भौतिक विकाशको चरमचूलीमा पुगेको पाश्चात्य समाज र संस्कृतिको छहारीमा स्वच्छन्द प्राकृतिक नेपाली रितिरिवाजले ओतप्रोत वाल यौवनाहरु न त यहाँका न त्यहाँका ठेट परिचय दिने हैसियतमा दोधार देखिन्छन् । आफ्ना दमौलेहरुको अस्तित्व जोगाउन समूह क्लब बनाएर जुट्ने प्रयत्नहरु पनि गरेका देखिन्छन् । उनीहरु खुल्ला परिवेश, प्रतिस्पर्धी समाज, विज्ञान र सभ्यताको उत्कर्ष मन्चमा संघर्ष गर्न लागी परेका त छन् । तर मिश्रति मनोविज्ञान, कमजोर घरायसी वातावरण र सही अभिभावकीय निर्देशनको अभाव तथा ‘एडल्ट’ एनआरएनहरुको संगठनात्मक गतिविधिहरुबाट अनुकरणीय शैलीहरु ग्रहण गर्न नपाएकामा अन्यौल समेत देखिन्छन् । पहिलो पुस्ताले अपेक्षा गरेको सपना दोश्रो पुस्ताले पूरा गर्नेमा प्रायश  अभिभावकहरु ढुक्क देखिएका छैनन । र तिनका कारणहरुको खोजीका लागि समाज रुपान्तरणका अभिन्यताहरु माझ सामूहिक बहसले पनि प्रवेश पाउन सकिरहेको छैन ।

भाषागत कठिनाइका कारण पठनपाठनमा देखिने अवरोध मुख्य समस्या हो भने पाश्चात्य खुला संस्कृतिको नकारात्मक प्रभाव, अभिभावकहरूको मजदुरीमा व्यस्तताका कारणले पनि बालबालिकाहरूले अपेक्षाकृत सफलता हासिल गर्न सकिरहेका छैनन् । एकाध देखिने झै झगडा, दव्र्यसनीको छिटपुट घटनाले त झन् बेलैमा सजग हुनु पर्ने देखिन्छ । यही जायजन्म भएका बालबालिकाहरू प्रतिको सामाजिक सांस्कृतिक उत्तरदायित्व हामीमा अझ चुनौती पूर्ण त छँदैछ । त्यो भन्दा पनि अर्को संवेदनशील विषय हो, अधिकांश बालबालिकाले तिनका अभिभावकहरू ले के कति संघर्ष गरेर यहाँसम्म आई पुगेका हुन भन्ने विषयमा तिनलाई कम हेक्का दिलाइन्छन् । आफूले जे जति दुख गरे पनि तिनलाई दुख नहोस भन्ने अभिभावकको पवित्र भावनालाई उपयोग गर्दै कुलत तिर चासो राख्नेहरुको जमात पनि बढ्न थालेको छ । यसले गंभिर दुखद भविस्य तिर संकेत गर्दछ ।

‘जुनीयर’ एनआरएनहरु एनआरएनको गतिविधिमा खासै चासो राख्दैनन् । करबलले एकाध कार्यक्रमहरुमा सरिक गराईन्छन् । त्यसमा पनि तिनको भूमिका नाचगानकै सेरोफेरोमा बढि केन्द्रित देखिन्छन् । सामाजिक संगठनको नाममा खुलेका दलीय राजनितिक संस्थाहरुले त तिनीहरुका बारेमा सोच्न पनि भ्याएका छैनन् भन्दा अतिशयोक्ति नहोला । बरु केही अन्य सामाजिक संगठनहरुले तिनीहरुलाई लक्षीत गरेर कार्यक्रम संचालन गरेका छन् र त्यस्ता कार्यक्रमहरुमा तिनीहरुले अपार सहभागिता र भूमिका प्रदर्शन गरेका छन् । त्यसरी आयोजित कार्यक्रमहरुमा दिर्घकालीन र गुणात्मक फड्को मार्दै जाने क्रम भने कम देखिएका छन् । उदाहरणार्थ ‘ट्यालेण्ट’ शो, नृत्य, हाजिरी जवाफ प्रतियोगिता, भाषा पठन पाठन कक्षा संचालन जस्ता प्रशंसनीय गतिविधिहरुले ‘जुनीयर’ एनआरएनहरुको निश्चित विधामा गहिरो रुची र संलग्नता राखेको पाईन्छ । खेलकूद, शैक्षिक, विज्ञान, वातावरण र नेपाली जगतका यावत विषयहरूसँग संवन्धित रहेर गरिने अतिरिक्त क्रियाकलापहरुले नवयौवनाहरुमा समाज प्रति सकारात्मक र उत्तरदायी भावनाको विकाश त गराउँछ नै, उनमा उब्जने विकृत सोच र स्वभावलाई पनि निरुत्साहित गराउँदै लैजान्छ ।

‘जुनीयर’ एनआरएनका कुरा गरिरहँदा ‘एडल्ट’ एनआरएनहरुका संगठित संस्थाले तिनका बारेमा ठोस निति तथा कार्यक्रमहरु ढिलै भए पनि अगाडि ल्याई तिनिहरूलाई क्रमशः एनआरएन अभियान तिर आकषिर्त गराउँदै लैजान पर्दछ । समय सापेक्ष तिनका रुची र तिनमा अन्तर्निहित प्रतिभाहरुको प्रस्फुटनका लागि अवसर र सहभागितामा ध्यान दिईनु पर्दछ । उनीहरु प्रति लक्षित छलफल अन्तक्रियात्मक कार्यक्रमहरु संघ संस्थाको कार्यतालिकाभित्रपनि पर्नु पर्दछ । एनआरएनको सांगठनिक संरचनामा ‘जुनीयर’ एनआरएनलाई स्थान दिएर तिनका लागि छुट्टै कार्यक्रमहरु तय गरिनु पर्दछ भन्ने लाग्दछ । १८ वर्ष माथिका एनआरएनलाई मुलुक प्रतिको माया जगाई रहनु नै पर्दैन, उनीहरुलाई त मातृभूमी प्रतिको सामूहिक कर्तव्यवोध गराए पुग्छ । तर १८ वर्ष मुनिका र यहिं जन्मी हुर्केकालाई भने नेपालप्रतिको लगाव जिवित राख्न, सामाजिक सांस्कृतिक महत्ताको हस्तान्तरण र निरन्तरता दिन एनआरएनले चुनौतिका साथ निकै मेहनत गर्नु पर्दछ ।

समृद्ध नेपालको प्रचुर संभावनालाई असफल राजनितिले थिलथिलो पारे पछि बाध्य भएर पलायन भएका हामी नेपाली फेरि तिनै संकीर्ण राजनितिले यहाँको सानो समाजलाई पनि प्रदुषित गरेको जानी नजानी हेरीरहेका छौं । पवित्र भावनाले ओतप्रोत भएको एनआरएन पनि दलीय राजनितिको फोहोंरी प्रतिस्पर्धाले आक्रान्त त छ नै । यद्यपी आसन्न दिनहरुमा समाज र संघ संस्थाको शुद्धिकरण हुँदै जानेमा आशा पनि त्याग्न हुन्न । प्रवाशको हिजोका अत्यन्तै प्रतिकुल दिनहरुमा पनि जोर बलले संघर्ष गरी सिर्जेको यो सानो नेपाली समुदायलाई झन् सुसंस्कृत र सुसभ्य बनाउन हामी सबै एक जुट हुनै पर्दछ । कतै ति ‘जुनीयर’ एनआरएनहरुले हाम्रा अस्वस्थ प्रतिस्पर्धाको नक्कल त गरिरहेका छैनन् भनेर सोच्ने र सच्चिने बेला पनि आईसकेको हैन र ? 

(बेल्जियमको आन्तर्पेन निवासी युवराज नेपाली ब्यापारी मात्रै नभएर एनआरएन बेल्जियमका पूर्व अध्यक्ष पनि हुन्) ।

 [email protected]

तपाइँको प्रतिक्रिया