सगरमाथा चढेको ‘हिउँमा बस्ने मान्छे’
लिस्बोन आउनु अघि नै थाह थियो- जोआओ गार्सिया विश्व प्रसिद्द आरोही हुन । विश्वका एक हिरो । आठ हजार मिटर अग्ला विश्वका १४ सर्बोच्च शिखर चढेका । त्यस्तो विश्व प्रसिद्द ब्यक्तिसित भेट्न, गफ गर्न अनि मिले अन्तर्वार्ता गर्न कसलाई मन लाग्दैन ? सहज थिएन । फ्रान्सबाटै मिलाउन मुस्किल भो । अनि पोर्चुगलमा रहेका सञ्चारकर्मी मित्र भिम कमल केसीजीलाई लगाएँ सम्पर्क गर्न सकिन्छ कि भनेर । उनले गार्सियासम्म पुग्ने लहरो फेला पारेछन् । पत्र पठाए तर दुई दिन सम्म जवाफ आएन । लिस्बोन शहर आइपुगेको दोस्रो दिन एक्कासि फोनमा केसीजीले भने- ददिजी लौ सफल भइयो, गार्सियाले भोली पाँच बजे एक घण्टाको समय दिए । दंग परें म ।
भोली पल्ट भिमजी, अर्का पत्रकार मित्र बाबुराम भुसाल र म सँगै हिँड्यौ । बाटोमा भेट भए अर्का रेडियोकर्मी कमल गुरुङ । पोर्चुगलको नेपाली समाजमा चिनिएका । फरासिला । सहयोगिपनि उत्तिकै रहेछन् उनी । पाँच बजे अघिनै पुगियो गन्तब्यमा । पाँच मिनेट बाँकी हुँदै टुप्लुक्क उदाए गार्सिया गाला भरि हाँसो लिएर । हिउँले औंला खाएका ठुटे हातले नमस्कार ट्क्र्याउँदै । सामान्य चिनापर्चिपछि अन्तर्वार्ता लिन थालियो । बिचमा अन्य एकाध एक घण्टाको समय भनिएको छ । नेपालीपनि थपिए गार्सियसितको अन्तर्वार्ता सुन्ने ।
मनमा रहेका जिज्ञासा मेट्न पाइने हो कि होइन ! हुटहुटी भयो । करिब एक घण्टा सकिन लागेपछि बीचमा सोधेँ- तपाई हतारमा हुनुहुन्छ ? उनले ‘होइन समय दिन्छु’ भने । मन ढुक्क भयो । असाध्यै सामान्य रूपमा प्रस्तुत भए उनी । ३२ पटक नेपाल पुगेछन् । ३२ सै पटक हिमाल चढ्न भनेर गएका । हिमाल सबै भन्दा ठूलो आकर्षण उनको । १६ वर्षकै उमेरमा केही फ्रान्सेली र अन्य देशका पाका आरोहीसित मिलेर युरोपको सबै भन्दा अग्लो हिमा मों ब्लँ चढेपछि उनले आफैँलाई फुच्चे देख्न छोडेछन् । त्यत्रो फुच्चेले मोँ ब्लँ सफलतापूर्वक चढेपछि पाकाहरुलेपनि फुच्चेको व्यवहार गर्न छोडे । उमेर नपुग्दै अनुभव र सफलताले पाका बने उनी ।
मो ब्लँ चढेपछि अब कुन हिमाल चढ्ने ? त्यो भन्दा अग्ला चढ्नुपर्यो । ति कहाँ पर्छन् ? अग्ला हिमालको खोजि गर्दै जाँदा नेपाल सुनेछन् बल्ल । पाकाहरुसित हिमाल चढ्दा नेपालका अग्ला हिमालबारे अर्थ्याएछन् । अब बन्ने भए उनी हिमाल आरोही । शुरु गरेछन् नेपालका अलि होचा हिमालबाट । हुँदा हुँदा सगरमाथा चढे प्राणवायु (अक्सिजन) बिना नै । सबै १४ वटै हिमाल प्राणवायु बिनानै चढे । नेपालका हिमाल मध्ये सगरमाथा, पुमोरी, मकालु, कञ्चनजंघा, धौलागिरी लगायतका धेरै नै आरोहण गरिसकेका रहेछन् । कैयौँ पटक असफल भए । फेरी गए ।
ती १४ वटै हिमाल चढ्न त साँच्चै निकै गाह्रो काम पो रहेछ त । चन्द्रमा जान कति गाह्रो छ ? त्यो भन्दापनि निकै कठिन काम पो रहेछ । अहिलेसम्म चन्द्रमामा १२ जना गएका रहेछन् । तर विश्वका ८००० मिटर अग्ला १४ हिमाल चढ्ने त जम्मा १० जना । सबै भन्दा पछिल्ला रहेछन् उनी । त्यसमा गर्व गरे उनले । विश्व प्रसिद्ध आरोही बनेपछि चर्चा नहुने कुरै भएन । विश्व भरिनै भयो । पोर्चुगलमा उनलाई नचिन्ने कोही रहेनछ । उनको नाम र लोकप्रियता चुलिएको छ । टिभी, रेडियो र पत्रपत्रीमा एक छत्र छन् उनी । फिल्म बनाउनेले उनैलाई खोज्छन् । हिउँ, हिमाल र जोआओ रहेछन् पर्यायबाची । साईकलमा हिँड्दा होस् कि कतै पार्कमा सुस्ताउँदा । टिभीमा देखेको भरमा उनलाई सबैले चिन्ने । गाडीबाट देखे बाहिर भनेपनि हत्त न पत्त गाडी रोकेर हात मिलाउन, बधाई दिन आइहाल्ने ।
उनको बारेमा चर्चा नगर्ने कुनै सञ्चार माध्यम रहेनछ । पटक पटक चर्चा गरेका । उनको तस्बिर छाप्न पाउनु त पत्रपत्रीकालागि ‘ब्रेकिङ’ हुने । उनी पाका, बुढादेखि केटाकेटीसम्म उत्तिकै लोकप्रिय । नेपालका विविध विषय, पोर्चुगलमा नेपाललाई कसरि प्रवर्धन गर्ने, उनको हिमाली अनुभव लगायतका विषयमा मैले उनलाई तिन घण्टा अल्झाएँ उनले एक घण्टा भनेपनि । अन्तर्वार्ता सकिनासाथ उनी हतारिए । संयुक्त फोटो खिचौं भनेर रेस्टुरेन्ट बाहिर निस्किनासाथ उनलाइ घेराबन्दि गर्न आइपुगे पोर्चुगालीहरु । कोही सडक पेटीमा हिँडिरहेका फर्किफर्की आउँथे । कोहि गाडी भित्रबाट उनलाई हात उठाएर अभिवादन गर्थे ।
गल्ली साँघुरो थियो । उनलाई हेर्ने र उनीसित हात मिलाउन गाडी रोक्न थालेपछि सडक त तत्कालै जाममा परिहाल्यो । गाडी भित्र एक अर्ध बैसी पोर्चुगाली आफ्नी फुच्ची छोरीसित रहेछन् । गाडी रोकेर ति जोआओसित हात मिलाउन निस्किएका थिए । बाबुको हात समातेर गाडीबाट बाहिर निस्किएकी फुच्चीले चिनिहालिछ । गार्सियालाई देखाएर फुच्चीले भनिहालि- बाबा यो हिउँमा बस्ने मान्छे होइन ? विश्वभरीका हिमाल चहार्ने । सधैँ हिउँका डल्लासित लुकामारी खेल्ने । हिउँमै पुरिने र पल्टिने । हिउँमै साना त्रिपाल टाँगेर बस्ने गर्दा गर्दै उनलाई पोर्चुगलका बच्चा बच्चीहरु हिउँमै बस्ने मान्छेका रुपमा चिन्दा रहेछन् ।





