नेपाल र नेपाली भनेपछि हुरुक्कै

हिजो कार्यक्रम थियो- विश्वका आठ हजार मिटर अग्ला सबै १४ वटै हिमाल आरोहण गरेका पोर्चुगियाली नागरिक ग्रासियासित अन्तर्वार्ता गर्ने । त्यो सकिएर हामी बाहिर के निस्किएका थियौं मेरो पोर्चुगल यात्राका मुख्य सहयोगी मेडियाकर्मी साथी भिम कमल केसी जीको मोबाईलले एउटा निम्तोको घण्टी बजायो।  एन आर एन पोर्चुगलका अध्यक्ष मकर हमालले सँगै खाना खाउँ, गफ गरौं भन्ने प्रस्ताब रहेछ । नेपाली रेस्टुरेन्टमा गएर मम, सुकुटी र भटमास खाने योजना थाती रयो । बसेको ठाउँमा लिन आइपुगे । मकर हमाल यूरोपका नेपाली बिच चिनाउनु पर्ने नाम नै होइन । पोर्चुगलमा धेरै नेपालीलाई प्रत्यक्ष अप्रत्यक्ष स्थापित गराउने श्रेय उनलाई जान्छ । त्यसको बारेमा पछि चर्चा गर्दै गरौंला । बरु उनले चिनाउनुपर्ने एक जना पोर्चुगालीलाई प्रस्तुत गरे । रहेछन् जों टुडेला । नेपाल र नेपाली भनेपछि हुरुक्कै हुने । जहाँ जे पर्छ दगुरिहाल्ने । नाई भन्दै नभन्ने । सक्दिन भन्ने जान्दै नजानेका ।

‘हामी त भरे भोली कुरा गरम्ला आनन्दले बसेर, आज उहाँसित कुरा गर्नुस्’ भन्दै फराकिलो पारिदिए मकर हमालले । मकरजी एकदम भद्र, हेर्दा सामान्य, शालिन र नरम मान्छे रहेछन् ।

वरिपरि युवा युवती थिए आफ्नै संसारमा मग्न । हाँस्ने, उल्लिने, जिस्किने र ठट्टिने गरिरहेका । हल्लाले बेला बेला म टुडेलाका कुरा सुन्न टेबलबाट कान तन्काउँथें उनीतिर । असाध्यै बौद्यीक रहेछन् उनी । भाषाका विषयमा असाध्यै चासो रहेछ । जर्मन, स्पेनियाली, ईटालियाली, पोर्चुगाली, अङ्रेजी भाषा खरर बोल्ने उनी अब नेपाली र जापानी भाषा सिक्ने बिचार छ भन्दै थिए ।

डिनरकालागि गइयो । उनले म केहि जापानी भाषा जान्दछु भन्ने बुझेपछि उनले भनिहाले-आरिगातो (धन्यावाद ) । त्यो आरिगातो भन्ने शब्द पोर्चुगाली भाषाको आब्रिगादोबाट जापानीले भित्र्याएका रहेछन् । तपाईलाई त खुर्सानी मन पर्छ हैन र सर ? भने आडैमा बसेका बाबुराम भुसालले । हो भनेपछि खुर्सानीको लेदो मगाए मकर हमालले । पिरो भन्ने शब्द सुन्नासाथ जों टुडेलाले भनिहाले- फायर (Fire) । अर्थात पिरोको अर्थ रहेछ आगो ल्याटिन भाषामा । कस्तो गज्जबको ल्याटिनी शब्दबाट भित्रिएको रहेछ पिरो भन्ने शब्द नेपालीमा । हो नी हुनपनि, खुर्सानीको पिरोले आगो त बाल्छ नी मुखमा । बढि भयो भने जिब्रो, आन्द्रा सारामा आगो बालेर भष्मै पार्छ त । पोर्चुगालीहरु संसार जित्न हिँडेका थिए । त्यहि बेला मेक्सीकोबाट पोर्चुगालीहरुले खुर्सानी भारत पुर्‍याएका रहेछन् । देश देश खुर्सानी ओसारेर फैलाउने पोर्चुगालीहरु आफैंले झन किन खाँदैनथे ?

हाम्रो समाजमा ४५ कटेपछि ‘लौ बाबु नानी हो बुढो भइयो आफु त, जे गर्छौ तिमारले गर’ भन्ने संस्कार वा लत्तु छोड्ने पारा संझेर उनको पारा देख्दा लोभ लाग्ने । कम्तिमा उनी ६५ का भए । तर अझै जापानी, नेपाली र अरु के के भाषा सिक्छु पो भन्छन् बा ! सरकारी जागिरबाट उमेरका आधारमा हात धोएर निस्किएपछिपनि अझै के के न निकै गर्छु भन्ने साहस, उत्साह, आँट ।

मकर हमाल र बाबुरामजीले नेपाली समाचार साईटका कुरा गर्दै थिए । प्रसंग निस्कियो परदेशी डट कमको । परदेशी शब्द सुन्नसाथ उनले भनिहाले- डु यु नो व्ह्याट परदेशी मिन्स (परदेशी भनेको के हो थाह छ तपाईलाई) ? मुखामुख गर्‍यौं हामी नेपालीले । उनले आफैं जवाफ दिए- लस्ट (Lost)। हो नी त । स्वदेशी मान्छे आफ्नो देशबाट हराउने त हो नी परदेशी भनेको । यो शब्दमा पीडा हुन्छ । अनेक कारणले मान्छे पर्देशिन्छ । आफ्नो देश, संस्क्रिति, संस्कार, साथी भाइ र परिवारबाट हराउँछ । त्यसको पीडा गाह्रो हुन्छ सहन भनेरपनि सुनाए उनले । नेपाली भाषा बोल्नै नआउने उनलाई कतिपय शब्दको कत्रो गहिरो ज्ञान रहेछ ।

नेपाल पोर्चुगाल मैत्री संघका महासचिव रहेछन् उनी । मैत्री संघमा अरुपनि पोर्चुगाली छन् । सर सहयोग गर्छन् । नेपालको हित हेर्छन् । नेपालीलाई माया गर्छन् । तर उनी अन्य भन्दा विशेष रहेछन् । नेपालीलाई यस्तो गर्नु पर्‍यो भन्दा उनी सदा हलुको शरिर लिएर जुरुक्क उठ्ने रहेछन् । हामी गाडीमा जाँदापनि मकर हमाललाई ‘मकर यू ह्याब टु डु लाइक दिस, दिस इज टु प्रोमोट योर बिजनेश’ भनेर अर्थ्याउँदै थिए । खाना खाने बेला ल्याएको आँप र खुर्सानीको अचारको स्वाद लिँदै गर्दा ‘नेपालिज मस्ट सेल दिस अचार हियर्’ भनेर ब्यापारिक संभावना खोतल्दै थिए । अनि म चरा र जिवजन्तुका बारेमा काम गर्ने, चासो र चिन्ता भएको देखेर भनिहाले- डाडी (ददि) वी मस्ट फाईण्ड अ वे टु डु समथिङ टुगेदर फर नेपाल, आर यु इन्ट्रेस्टेड ? मैले चासो देखाएपछि भनिहाले- ओके वि विल थिन्क टुगेदर ओके ?

सँगै बितेका ति साँढे दुइ घण्टामा उनले नेपाल र नेपाली प्रति यति चासो देखाए कि अचम्म लाग्थ्यो । उनी कुनैपनि नेपालीको रेस्टुरेन्ट, अन्य ब्यवसाय घाटामा जान्छ कि ? होस् पुर्‍याउँदैनन् कि ? ढंग पुग्दैन की भनेर चिन्तित हुने रहेछन् । नेपालीहरुलाई सुझाव दिने रहेछन् । पोर्चुगालीका मन जित्न, आकर्षण गर्न यसो यसो गर्नुपर्छ भनेर सिकाउने रहेछन् । 

१५, २० जना त नेपालीलाई पोर्चुगलका बिभिन्न ठाउँमा जागिर नै लगाइदिइसकेछन् खोजि खोजि । यहँको बसाईकालागि बैधानिकता प्रदान गर्न सरकारी कार्यालयका काम गरिदिने देखि कागजपत्र मिलाइदिने सम्म गर्ने रहेछन् । पत्नीपनि कति जुरेकी उनकालागि त ! ठ्याक्कै लोग्नेकै जस्तो मन भएकी । यहाँको अपाङ्ग संबन्धि संस्थाकी प्रमुख रे । नेपालीका लागि भनेपछि आफु सँगै लोग्नेलाई हुटहुटी लगाउने खालकी । अनेक तरिकाले सहयोग गर्ने । अहिले उनीहरु नेपाली खाना संबन्धि पुस्तक तयार पार्दै रहेछन् पोर्चुगलका नेपाली मित्रहरुसित मिलेर । त्यो बनेपछि पोर्चुगालीका जिब्रोमा झन धेरै गड्छ नेपाली खाना भन्दै थिए भिमकमल केसी ।

त्यस्तै ११ बजेतिर हामी गाडीमा फर्किँदै थियौं । बाटोमा पोर्चुगालीहरुले एकदम आत्मिय र नेपालीलाई झन अत्मिय तरिकाले स्वागत गरेको, स्विकार गरेको सुनाए । सोच है सोच नेपालकालागि कसरि के गर्न सकिन्छ भनेर संझाउँदैपनि थिए । मसित उनको पहिलो भेट न हो । त्यहिपनि मकर हमालको कारणले सँगै परेका । केहि बेर गफ गर्‍यो सकियो हुँदो हो प्राय अरु देशका नागरिकसित हुँदो हो त । तर उनले केहि बेरकै भेटलाई आत्मियरुपमा लिइसकेछन् । गाडिबाट ओर्लिने बेला म सितको भेटले असाध्यै हौसिएको बताए । उनले ओर्लिँदै भनेपनि- ददि तपाईलाई म सित, मेरो परिवारसित भेट्न, गफ गर्न, बस्न मन लाग्यो भने जुनसुकै बेलापनि सम्पर्क गर्नु । धक नमानी गर्नु । तपाईलाई स्वागत छ । यहाँपनि उनले नेपाली प्रतिको माया र प्रेम देखाइहाले ।

तपाइँको प्रतिक्रिया