पत्रकारको शक्ति: कलम की आन्दोलन ?
(देब्रेबाट नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, नेपाल प्रेस यूनियनका अध्यक्ष समिरजंग शाह र आफैं)
राती ११ बजे । नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले फोनमा भने- ददिजी भोलि पेरिस घुमाउन पर्यो । तपाइहरूमाथि त मेरो अधिकारै लाग्छ नि ! असाध्यै खुशि भएँ म । हो त, नेपाली पत्रकारको नेता । सर्वोच्च पदमा उनै छन् अनि किन नलाग्ने ? हाम्रो जिम्मेवारीपनि त उनैले लिन्छन् । छोटो कुराकानी भयो फोनमा । भोलि पल्ट पेरिसको एउटा मेट्रो स्टेशनमा भेट गरौं भन्ने सल्लाह गरियो । झा सँगै रहेछन् नेपाल प्रेस युनियनका अध्यक्ष समिरजंग शाह । एउटै पेशा भएपछि धेरै कुरा मिल्छन् । निकै विषयमा साझेदारी गर्न सकिन्छ । पत्रकारिता भित्रका गुदी मात्रै होइन सञ्चार माध्यममा आउन नसकेका राजनीतिक गतिविधिपनि बुझ्न पाइने । झन् अध्यक्ष नै भएपछि त अझ बढि सहज हुने भो । चिनाजानी नहुने कुरो भएन । तर प्रत्यक्ष अनुभव साटासाट भने हामीले कहिल्यै नगरेका ।
एउटा सग्लो दिन भरीमा कहाँ कहाँ लैजाने ? फ्रान्सेली राजा लुइस लाई जनताले पक्रेर जिलेटिनमा राख्नु पहिले पुर्याइएको प्लास द ला बास्तीइमा गइयो । समिरले खोइ के हो सोध्दै थिए । म अक्मकाएको के थिएँ धर्मेन्द्रले खुरुरु बताउन थालीहाले । म लाजले पानी पानी भएँ भित्र भित्रै । उनलाई त सबै कण्ठै रहेछ । फ्रान्सेली राज्यक्रान्ति र राजतन्त्रका कथा त उनले त्यही सारा खोल्न थाले । अनि जाँदै नगएको त्यो फ्रान्सेली स्वतन्त्रताको प्रतिकको बारेमापनि कहन थाले ।
लाजै भो कसो गर्ने ? मैले घुमाउन लगेको तर बेलिबिस्तार लाउने चाहिँ अध्यक्ष भए । अनि म लागेँ चुपचाप । समिरजंग चाहिँ ए ए भन्थे । यत्रा वर्ष यहाँ बसेको ददि सापकोटा ढुसै रैछ भन्ने ठाने होलान् सायद उनलेपनि । कसो गर्ने ? अनि बचेँ- “लौ मलाई त इतिहासमा उति चासो छैन । त्यति जान्दिन । यस्सो यो ठाउँ यो हो सम्म भन्ने हो” भन्दै । ढाडस दिए समिरजंगले- हो त, इतिहासमा गहिरो चाख नभए त आउँदैन नी !
नेपालभरि बाहुन र क्षेत्री, गुरुङ र मगर, राई र लिम्बू, मधेशी र पहाडी भनेर जात र जाती अनि क्षेत्रीय आधारमा फुटिरहेका बेला झा अध्यक्षमा चुनिए । क्षेत्रीय र जातीय बिखण्डन मच्चाउनेहरु सलबलाइरहेका बेला नेपालका करिब १० हजार पत्रकारले तराई मूलका झा लाई अध्यक्षमा जिताउँदा म कम्ती रमाएको थिईन । त्यतिखेर नेपालका पत्रकारहरू बुझक्कि रहेछन् जस्तो लाग्यो । तराई मूलका झालाई अध्यक्षमा छानेर देशभरि उनीहरूले जातीय र क्षेत्रीय विखण्डनका विरुद्ध सन्देश छरे ।
अरू पत्रकार साथीहरूसित कुरा गर्दा सुनाउँथे- धर्मेन्द्रको कार्यकाल जमेन भन्दै । सोध्थें, किन जमेन ? साथीहरू भन्थे- पत्रकारहरू मारिएका छन् । कुटिएका छन् । धम्की र तर्साउने क्रम उत्तिकै छ । कार्यक्षेत्रबाट बिस्थापित गराइने क्रमपनि जारीनै छ । ठूला मिडिया हाउसले मनलागी निकाल्छन् । महासंघ केही गर्न सक्दैन । तर धर्मेन्द्र झाले त्यसको लागि गतिलो आन्दोलन गर्न सकेनन् । प्रजातान्त्रिक आन्दोलनमा गतिलो भूमिका खेल सकेनन् । यस पटकको नेत्रित्व लोसे पर्यो, लुते भयो । त्यही कुरा सुनाएँ झालाई । प्रतिक्षा गरेँ उनले के जवाफ देलान् ।
गज्जवको तर्क गरे उनले । पत्रकारहरूको शक्ति के हो ? कलम की तरबार ? सञ्चारकर्मीहरूको दम्भ कलम र कागजमा ओकलिनु पर्छ कि सडकमा ? हामीले रोष प्रकट गर्ने लेखेर हो की आन्दोलन गरेर ? हामीले अड्डा जमाउने रेडियो, पत्रपत्रिका र टिभी हुन् की नारा र जुलुस गरेर सडक पेटी ? जब पत्रकार ले सडकमा ओर्लेर आन्दोलन गर्छ तब राजनीतिक पार्टीले गर्छन् के ? ब्यवसायिक संघ संस्था र अन्य समूहको, जनताको असन्तुष्टि पोख्ने थलो कुन ?
उनले सुनाउँदै गए- पत्रकारहरूको दम्भ नै कलम हो । हामीले गर्ने आन्दोलन होइन । जब सडकमा आन्दोलनलाई प्रमुखता दिईन्छ तब हाम्रो कलम, हाम्रा शब्दका भाउ र वजन घट्न सक्छन् । कलमको शक्ति होइन सडक आन्दोलनले प्राथमिकता पाउन सक्छ । सञ्चारकर्मीले त लेखेर, व्यक्त गरेर गाउँघर, सारा जनता, नीति निर्माता, राजनीतिक पार्टी र सरकारलाई आफ्ना तर्कमा आश्वस्त तुल्याउन सक्नुपर्छ । झुकाउने शक्ति हुनुपर्छ पत्रकारको कलममा । पत्रकारले लेखेरै आफ्ना मागहरू पुरा गराउन संबन्धित निकायलाई बाध्य गराउन सक्नुपर्छ । किनभने पत्रकारको मुख्य माध्यम भनेकै कलम हो । कलमलाई भन्दा सडक आन्दोलनलाई प्रमुख ठान्ने हो भने पत्रकारले कलमनै किन बोक्नुपर्यो ?
पत्रकारले साँच्चै आन्दोलन गर्नै नहुने हो कि होइन ? गर्नै परे कुन तहको, कुन हदसम्म गर्नुपर्ने हो ? त्यसको मापदण्ड के ? मापन कसरी गर्ने ? तर उनका तर्क मलाई चित्त बुझ्दा लागे । किनभने पत्रकारको कलमले सारा जगतलाई उठाउन सक्छ । ब्युँझाउन सक्छ सिंगो बस्ती र शहर । झुकाउन सक्छ, बाध्य गराउन सक्छ सिंगै सरकारलाई । उल्ट्याउने क्षमता राख्छ गलत नीतिहरूलाई पत्रकारका कलमले । सहमत गराउन सक्छ । सक्नुपर्छ । आखिर तिनका कलमले जनतालाई जगाउन सके जनता आफैँ उत्रन्छन् नि आन्दोलनमा । किन कब्जा गर्नुपर्यो पत्रकारले सडक ?
चरा त नछोड्नुस् है ?
समीरजी रेडियो नेपालका पत्रकार । रेडियो संबन्धि कुरा भए । झा अन्नपूर्ण पोष्ट दैनिकका । सबै जसो मेडियाका सर्सर्ती छलफल हुने नै भयो । मेरो नेपाल जाने बुझेका विशिष्ट व्यक्तिहरू बारेको प्रकाशोन्मुख पुस्तकबारे कुराकानी भयो । धर्मेन्द्र झाले मैले कतै चराको क्षेत्र छोडेर बाटो बिराउँछु कि भन्ने चासो देखाए । नेपालमा चराबारे तपाई जे लेख्नुहुन्छ त्यो आधिकारिक जस्तो मानिन्छ । तपाईले चराबारे लेखिसकेपछि मान्छेहरू भर पर्छन् । नेपालमा त्यसरी लेख्ने कोही निस्केन । अझै निस्किने छाँट छैन । तपाइको पहिचानपनि त्यसैगरी बनेको छ । फ्रान्सेली संबन्धि पुस्तकले अवस्यै चर्चा पाउने छ । तर तपाईले चराका विषयलाई छोड्नु भएन । चराकै विषयमा लेख्नुस् किताब । अरू विषयमा त अन्य ब्यक्तिलेनै लेख्छन् नी । चराका विषय लेख्न सक्दैनन् । त्यसैले आफ्नो पहिचान र कोही नभएको त्यो क्षेत्रबाट अर्कै गोरेटोतिर नलाग्नुस् । म अब एकाध पुस्तकको तयारीमा लागेको र त्यसपछि सधैँ प्रक्रिति, जीवजन्तुकै बारेमा अध्ययन गर्ने, भविष्यमा अन्य पुस्तकपनि त्यही क्षेत्रमा लेख्छु भनेर आश्वस्त पारेँ । खुशि भए झा ।
यो बाहुनवाद ले गर्दा………….
उनी पोर्चुगल र स्पेन लगायत कता कता घुमफिर गर्दै आइपुगेका थिए फ्रान्स । ‘युरोपको सांस्क्रितिक र ऐतिहासिक संगम हेर्ने बुझ्ने हो भने त फ्रान्स नै हो नी’ भन्थे झा । जहाँ पुगे त्यहाँका नेपाली समूदायबारेपनि यस्सो जिज्ञासा राख्थें म । आइफल टावर पुगेका के थियौं समिरजंगले पोर्चुगलको प्रसंग निकाले । एउटा नेपाली कार्यक्रममा भाग लिएछन् त्यहाँ । नेपालीहरू पालै पालो भाषणमा उत्रिए । कोही शेर्पा समाज । कोही थारू कल्याणकारी समूह । गुरुङ समाज र थकाली समाज, चितवनवासी र वागलुंङे समाज । सयौं संस्था बिदेशमा पनि नेपालीका । नेपालीलाई प्रिथक बनाउने अनेक जातपात र आफ्नै समूहका संस्था । भाषणको पारापनि उही नेपाली पाराको रे ।
भाषणका क्रममा एक जना आएर माईक समाउँदै चर्चरिएछन्- साथीहरू, दाजुभाइ तथा दिदी बहिनीहरू ! आज हामीलाई सदियौं देखि थिचोमिचो गरेर हेपिएको छ । यो शामन्ती संस्थाले हामीलाई दबाएको छ । यो बाहुनवाद ले गर्दा………….वाँ परेछन् समिरजंग । लागेछ, ए रात्तै युरोपको यस्तो देशमा बसेका यी नेपालीलाई कहाँ कुन बाहुनबादले सताएछ हँ । कसले कुन जातजातीलाई थिचोमिचो गरेर माथि उठ्न दिएनछ ? बिदेशमापनि नेपालीले गतिलो संस्क्रिति, राम्रो संस्कार नसिकेकोमा दुख मनाउ गर्दै थिए शाह । उनी यो युरोपमा अथाह ज्ञान, संस्क्रिति, प्रविधि छन् । तिनलाई सिकेर आफू अगाडि बढ्ने अनि स्वदेशमापनि भित्र्याउने कोसिस गर्नुपर्ने हो नेपालीले भन्थे ।




