एन आर एन युरोपेली भेला: सुने लागेका कुरा

एन आर एनको युरोप स्तरीय भेला सकियो । युरोप स्तरीय भएकालेपनि यसको चर्चा, परिचर्चा, गुनासा र बहस हुनु स्वभाविकै हो । कार्यक्रममा फ्रान्स निवासी नेपालीहरूको खासै सहभागिता देखिएन । त्यसले कार्यक्रम स्थानीय स्तरमा सफल भयो कि भएन लेखाजोखा गर्ने काम एन आर एन र तपाई पाठकहरूको हो । म आफू चाहिँ कार्यक्रममा पुरै सहभागी हुन सकिन स्वास्थ्यका कारणले । त्यसैले कार्यक्रममा भएका सबै पक्षलाई मैले समेट्न सक्ने कुरो भएन । तरपनि विभिन्न देशका साथीभाईसित भेट गरियो । स्थानीय साथीहरूका गुनासा र जवाफहरु  सुनियो । तीनै देखे सुनेका पक्षहरूलाई समेटेर युरोपेली भेला बारे यो लेख तयार पारिएको हो । साथीहरूले मेरो प्रत्यक्ष भोगाई भन्दा पनि मलाई सुनाएका, मसित सहभागीहरूले साझेदार गरेका अनुभवहरूको रूपमा बुझिदिनु हुन अनुरोध छ ।

 व्यवस्थापनको कमजोर पाटो

मूलतः यस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम सबैलाई पायक पर्ने ढंगले राजधानी शहरमा राखिन्छ । तर अहिले भएको कार्यक्रम पेरिसबाट बाहिर लाकुर्नभ भन्ने ठाउँमा थियो । जसले गर्दा केही साथीहरू रेल स्टेसन र अन्त्रबाट कार्यक्रम स्थल पुग्दा दुख पाए । त्यसरी त्यति टाढा किन राखियो त कार्यक्रम ? सभा हल सस्तो परेको भन्ने तर्क गरिएको छ । हल दुइ दिन प्रयोग गरेबापत १५ सय यूरो लागेछ । तर फ्रान्सवासी साथीहरू त्यति पैसामा त्यो भन्दा अझ स्तरीय हल पेरिसभित्रै पाइन्थ्यो । त्यति रकम लागेकै छैन, लाग्दै लाग्दैन भन्छन् । त्यसको अर्थ यहाँका नेपालीहरूले आर्थिक गन्धको महसुस गरेका छन् । आयोजकले मेयर कार्यालयले रकम तोकेर पठाएको बिल एन आर एनका सदस्यहरू माझ पुर्‍याएर देखाउन सके त्यस्तो भ्रम मेटिन्छ । त्यसो गर्न नसकेको अवस्थामा भ्रष्टाचारै हो भनेर पत्याउनुपर्ने हुन्छ ।

आयोजक संस्थाले मन, मस्तिष्क,बिचार र छाती फराकिलो बनाउन सक्नुपर्छ । त्यस्ता कार्यक्रम आफ्नो ल्याकत हेरेर गर्ने हो । आर्थिक, सांगठनिक, वैचारिक सबै ढंगले सबल हुनुपर्छ आयोजक संस्था । त्यसमा सहभागी हुन जति आए ती सबै एन आर एन फ्रान्सले बोलाएरै आएका हुन् । घरमा आएका पाहुनालाई सत्कार गर्नु, तिनका सुविधा हेर्नु आफ्नो कर्तव्य हो । तर कार्यक्रम सकिने दिन आयोजकले खाना खुवाएको १५ सय यूरो लाग्यो, कोही छ सहयोग गर्ने ? भन्दै बिल तेर्स्याए ।

त्यसले सहभागीलाई कस्तो बनायो भने हेर बिचरा हामीले त ऋण लगाई लगाई यो खाना खाइरहेका रहेछौं । हरेक सहभागीलाई प्रति व्यक्ति ५० यूरो त तोकिएकै थियो प्रवेश शुल्कका रूपमा । खानाको पैसापनि तिर्न नसक्ने हो भने त्यो प्रवेश शुल्क केका लागि हो त भन्ने प्रश्नपनि उठेको छ । प्रवेश शुल्क लिएरपनि खाना खुवाउन नसक्ने भए कार्यक्रम किन आयोजना गरेको त भन्नेपनि छन् ।

व्यवस्थापनको कुरो गर्दा पोख्त दला भिलेत भन्ने ठाउँमा बुक गरिएको रहेछ होटेलहरू । हाम्रा अध्यक्ष सहित थुप्रै मित्रहरू बसेको होटेल वरिपरि पहिलो साँझ मारपिट चलेछ । होटेलवालाले ‘व्यवस्थापनले अर्को निर्देशन नदिएसम्म कसैलेपनि झ्याल नखोल्नुहोला’ भन्ने निर्देशन दिएछन् । सहभागिहरुलाई त्यो हा हु गर्ने,  हुलदंगा भैराख्ने, चोरी बढि हुने, मारपिट चल्ने ठाउँ हो भन्ने जानकारी हुने कुरो भएन । होटेलवालाले त्यस्तो निर्देशन दिएपछि भने भोलि पल्ट ‘यो त चोर डाँका लाग्ने ठाउँ रैछ’ भनेर डराउँदै थिए ।

कोषको प्रसंग चल्नासाथ तै चुप मैं चुप

एन आर एनको केन्द्रीय कार्यालय चलाउनको लागि एउटा कोषको निर्माण हुँदै रहेछ । उद्देश्य १ लाख डलरको कोष बनाउने र त्यसको ब्याजबाट खर्च चलाउने । कोषका लागि चन्दा कसले कति दिने भन्ने प्रस्ताव गरियो । लौ जापानबाट यति । रसियाको फलानोले यति । बेल्जियमको फलानोबाट, जर्मनीको तर्फबाट । नाम भकाभक आए । करिब ४१ हजार डलर जम्मा हुन्जेलसम्म पनि फ्रान्सको नाम आएन । अनि मैले गएर समीतिका केही युवा साथीहरूलाई भनेँ – के हो यस्तो बेइज्जत ? कार्यक्रम आयोजना गर्नेले त बरु झन् अलि बढि राखेर उदारता देखाउनुपर्ने मा १ हजार डलर पनि नदिने ? के भन्लान अरू देशकाले ? ‘

मैले यो पनि भनेको थिएँ- सके अध्यक्ष, आइसिसी सदस्य लगायतका हस्तीले तिर्नु । नसक्ने अवस्थामा पनि समितिका ११ जना सदस्यले दामासाहीले उठाउँदा एक हजार डलर भनेको प्रति व्यक्ति ७० यूरो पनि पर्दैन ।

त्यही त हेर्नु न । गर्नुपर्ने । खोइ टाउकोहरूले सोच्दैनन् हामीले के गर्ने ? हामी त ठिटा परियो । नयाँ छौं । पुरानाले गर्नुपर्ने हो ।’ भने ती साथीहरूले । उनीहरू गएर सल्लाह पनि गरेछन् । तरपनि त्यो कोषमा एन आर एन फ्रान्सको तर्फबाट एक सुको झरेन ।

अरू देशबाट साथीहरू विमान चढेर आएका छन् । यहाँ दुई दिनको लागि आउँदा कसैको एक हप्ता लागेको छ । मध्यपूर्व, जापान, अमेरिका लगायतबाट आउ, होटेल, यात्रा अनेक नाममा निकै खर्च गरेका छन् । त्यत्रो खर्च गरेर आउनेले पनि मन फराकिलो बनाएर एन आर एनको केन्द्रीय कार्यालय त चलाउनै पर्छ भन्ने सोचेर दिए । तर भेला आयोजना गर्ने एन आर एन फ्रान्सले नै सुको दिएन । यसलाई एन आर एन फ्रान्सको महानता भन्ने हो कि बेइज्जती ?

पुरस्कारको दुरुपयोग

अब नेपालमा शहीद घोषणा गरे जस्तै हुँदै छ पुरस्कार । कार्यक्रम आफैँले आयोजना गर्ने । अनि आफैँले पुरस्कार बाँड्ने । पुरस्कार भन्ने कुरो विशेष योगदान गरेका व्यक्तिलाई उसको कामको कदर गर्न दिईने चीज हो । त्यो पाउँदा पाउनेको कद माथि उठ्छ । पुरस्कार सहजै पाइने सस्तो होइन । तर यो कार्यक्रममा लगभग ३० वटा पुरस्कार बाँडियो । पाउनु पर्ने नपर्ने सबैले पाए । पुरस्कार बाँडेर लिए जस्तो देखियो । स्थानीय सहभागिता जम्माजम्मी ३०, ३५ जना । अनि पुरस्कार पाउनेपनि झण्डै त्यतिनै संख्यामा ? लाम लागेर पाएको पुरस्कारले मान्छेको शिर कति ठाडो बनाउला ? जन्ती भोज खाँदा टपरी बाँडे जसरी बाँडेको पुरस्कारको मूल्य कति होला ? त्यति धेरैले पुरस्कार पाउने गरि उदाहरणीय काम गरेको भए एन आर एन फ्रान्सको सहभागिता किन त्यस्तो लज्जाजनक त ? भन्ने प्रश्न निकैले उठाएका छन् ।

विदेश बसेका । प्रजातान्त्रिक संस्कार जानेका बुझेका । टाढा बाठा । बुझकी । ज्ञान र सीप धेरै लिएका नेपालीले के यस्तै संस्कार हो र सिक्ने अनि सिकाउने ? हामी बसेका मुलुकमा के त्यसैगरी पुरस्कार पालै पालो एकले अर्कोलाई पैँचो तिरेझैं बाँड्ने गरिन्छ ?

खोइ त स्थानिय सहभागिता ?

बाहिरबाट आउने सहभागीहरूले कार्यक्रममा स्थानीय सहभागिता देखिएन । आयोजक देशले आफ्नै देशका नेपालीलाई चित्त बुझाउन सकेको देखिएन भनेर बुझे । कार्यक्रममा जति नेपाली थिए ती मध्येपनि अधिकांश केही सीमित परिवारकै सदस्यहरू थिए । बेल्जियमबाट आउने सहभागी र आयोजक फ्रान्सको नेपाली सहभागिता झण्डै बराबरी जस्तो थियो ।

कार्यक्रमको उद्घाटनमा प्राय स्थानीय सहभागितालाई प्राथमिकता दिन निःशुल्क गरिन्छ । तर आयोजकले त्यसो गर्न सकेनन् । त्यसो किन गरिए होला ? स्थानीय सहभागिता धेरै भयो भने एन आर एन फ्रान्स प्रति भएका गुनासा, त्यहाँको बेथिति, सीमित व्यक्तिको हालीमुहाली बारे त्यहाँ प्रश्नहरू गरिएलान् भन्ने डरले हो भनेर धेरै साथीहरूले सुनाए । अरू नेपालीलाई प्रवेश शुल्क लिएपनि एउटै परिवारका थुप्रै सदस्य निःशुल्क प्रवेश गरेका रहेछन् ।

गाना बजाना कसको स्वार्थमा ?

सहभागीहरूको मनोरञ्जनका लागि सांस्क्रितिक कार्यक्रम आयोजना गरिएको थियो । अन्य कार्यक्रमहरुमा सधैँ स्थानीय कलाकारहरूले नै देखाउने गर्थे । स्थानीय कलाकार भनेपनि नेपालका रक्तिम सांस्क्रितिक परिवार, हिउँचुली सांस्क्रितिक समूह लगायत चर्चित सांस्क्रितिक समूहका थुप्रै कलाकार यहीँ थिए । सहभागीलाई भात खुवाएको पैसो सम्म भीख माग्नुपर्ने अवस्था आर्थिक रूपमा थियो भने नेपालबाट ती कलाकार ल्याउनु किन ? स्थानिय कलाकारमै सिमित राखेको भए के फरक पर्थ्यो ? र कलाकारपनि एन आर एन फ्रान्सको समितिमा भएका एक व्यक्ति विशेषको गीत रेकर्ड गराएकालाई नै किन ल्याइयो भन्ने प्रश्न उठेको छ । स्थानिय कलाकारहरूले ‘साना तिना कार्यक्रम पर्दा, पैसा खर्च नगर्दा चाही हामीलाई सित्तैँमा लगाउने । तर ठूलो कार्यक्रम र पैसा खर्च गर्नु पर्दा चाहिँ नेपालबाट ल्याउनुपर्ने ?’ भनेर चित्त दुखाएका छन् ।

समय अभाव थियो भने सांस्क्रितिक कार्यक्रम नराखेको भए के बिग्रिन्थ्यो ? बरु सांस्क्रितिक कार्यक्रम नराखेको भए खर्च घट्ने थियो । फ्रान्सवासी नेपालीका साझा समस्याबारे छलफल चलाउन सकिने थियो । बाहिरबाट आएका नेपालीका अनुभवहरू मन फुकाएर सुन्न पाइने थियो । आखिर सांस्क्रितिक कार्यक्रम राखेर पो भयो के ? अधिकांश सहभागी दोस्रो दिनको सांस्क्रितिक कार्यक्रम नहेरी बाटो लागे । नेपालबाट व्यक्ति विशेषको चाख र प्रभावमा नल्याएको भए प्रवेश शुल्क कम राख्न सकिन्थ्यो । त्यो गर्दा स्थानिय नेपालीको सहभागिता पनि बढ्ने थियो ।

कार्यक्रमको औचित्य के ?

करिब १८ देशका प्रतिनिधिले भाग लिएछन् यो भेलामा । आर्थिक हिसाबले भन्नुपर्दा जम्मा जम्मी एक लाख यूरो खर्च भएको अनुमान रहेछ । सबै सहभागीको बस्ने, खाने, यात्रा खर्च गर्दा । त्यो भनेको नेपाली झण्डै एक करोड रुपियाँ हो । समयको कुरा त भिन्नै छ । कार्यक्रममा खासै ठोस एजेन्डा उठेनन् । यत्रो पैसा खर्च गरेर ठोस उपलब्धि के हासिल भयो ? उही द्वैध नागरिकता । उही सय मिलियनको लगानी कोष । सधै उठिरहेका उनै बासी कुरा । त्यत्ति छलफल त नेटबाट पनि गर्न सकिन्थ्यो । पेरिसमा प्रत्यक्ष भेला राख्नुकै उपलब्धि चाहिँ के त ? यो चाहिँ थुप्रै मुलुकका सहभागीहरूले उठाएका थिए ।

हामी साना तिमीहरू ठूला ?

कार्यक्रम दुई दिन भनेर स्पष्ठै पारेका थिए आयोजकले । त्यसैले सहभागी हुने भएपछि दुई दिनको समय लिएर आउनुपर्ने हो । तर भयो के भने कतिपय व्यक्तिहरू पहिलो दिन सहभागी भए । दोस्रो दिन यस्सो देखा परे । आफ्ना कुरा भटाभट राखे । उपदेश दिन आए झैँ गरे । अनि अर्को दिन हाम्रो फुर्सद छैन भन्दै कार्यक्रम नै नसकि बाटो लागे । यसले के देखाउँछ भने ठूला भनिनेहरुसित स्थानिय स्तरका गुनासा, अनुभव, दुख, पिर, पीडा र समस्या बुझ्ने चासो छैन । तिनका लागि ताली पिट्न मात्रै आउने हुन् अरू सहभागीहरू । एन आर एन भनेको ठूला ठूला व्यापारीका गफ सुन्ने, तिनले भाषण गर्दा ताली पिट्ने हुन् सानो तिनो पेशा गरेर, थोरै कमाएर, दुखले बस्नेहरु । यो विषय निकै सहभागीले उठाए र जापानका प्रतिनिधिले त माईकबाटै दुखेसो पोखेका थिए ।

आयोजक संस्था भएकोले एन आर एन फ्रान्सले आफ्नो तर्फबाट कम्तीमा एकाध घण्टा आफ्ना समस्या, सफलता असफलता, अनुभव, यहाँका नेपालीका दुख र सुखबारे अनुभवहरू साझेदारी गर्ने, सुनाउने मौका पाउनु पर्ने थियो । तर सायद संस्थामा भएका कमी कमजोरीबारे आवाज उठाउँछन्, यहाँका बेथितिहरू सबै सहभागीले थाह पाउँछन् र नेत्रित्वको कमजोरी छताछुल्ल हुन्छ भनेर होला त्यतातिर पहल नै गरेनन् । जति सहभागी भए ती मध्येकाले पनि भने- हामीलाई के जोकर फाल्टू बनाउन बोलाएको पैसा तिराइ तिराई ? हाम्रा कुरा कसैले नसुन्ने भए तिनको लागि ताली बजाउने साधन मात्रै हामी ?

एन आर एन फ्रान्समा २ हजार भन्दा बढि नेपाली छन् । यति ठूलो कार्यक्रममा २ हजारबाट ५० जन नेपालीपनि नआउने । यदि साँच्चिनै ती सबैलाई समेट्ने हो भने के नेत्रित्वले सोच्नु पर्दैन ? छलफल गर्नु पर्दैन कहाँ रह्यो कमजोरी भनेर ? एक जना व्यापारी र केही युवाहरूले म सँग यस्तै गुनासो गरेका थिए । तर यो विषयमा अध्यक्ष देवमान हिराचनको भने प्रशंसा गर्नुपर्छ । उनी कार्यक्रममापनि फरक फरक टेबलमा गएर कुरा सुन्दै थिए । यहाँ समस्याहरू सुन्नको लागि फेरी फेरी कार्यक्रम आयोजना गरिए खुशिसाथ आउने बचन दिँदै थिए ।

 

तपाइँको प्रतिक्रिया