लेसोथो को प्रयोगशालामा गरियो एड्स परिक्षण

-पुष्कर शाह,

लेसोथो, दक्षिण अफ्रीका

nepali-world-cyclist-pushkar-shah-in-africa.jpg

यो दैनिकीपनि उहि अँधेरो महादेश अफ्रीकाकै हो । लेसोथो भन्ने एउटा देश छ सानो । दक्षिण अफ्रीकाको बिच भागमा पर्ने । जम्मा २० लाख जनसंख्या भएको । एउटा हिमाली देश जहाँ संसारकै सबैभन्दा होचो अग्लो ठाउँ छ । लेसोथोलाई माउन्टेन किंगडम (हिमाली अधिराज्य) पनि भन्छन । हिमाली राज्य भएर के गर्नु ! त्यहाँका मान्छेलाई सगरमाथाबारे थाहै छैन । यूरोपतिर जाडो हुँदा दक्षिण अफ्रीकातिर गर्मी हुन्छ । म त्यहि गर्मीयामक बेला दक्षिण अफ्रीका पुगेको थिएँ । २० लाख जनसंख्यामा हरेक तिनमा एक जनालाई एड्स रोग लागेको छ । लेसोथोको गाउँमा पुरुषहरु भेट्टाउन निकै गाह्रो हो । किनकि लोग्ने मानिसहरु प्राय: खानीमा काम गर्न जान्छन दक्षिण अफ्रीकाको । उनीहरु वर्षमा एक पटक मात्रै आफ्ना श्रीमती र बालबच्चालाई भेट्न आउँछन । त्यहि भयानक भाइरसको कारण लेसोथोका ३३ प्रतिशत जनसंख्यामा एड्सको संक्रमण छ । यूवाहरु देख्नपनि निकै कठिन छ यहाँ । त्यहि रोगका कारणले यूवा अवस्थामै मर्छन । अनि केटाकेटीहरु बाजेबज्यैसँग हुर्किराखेका हुन्छन । यहाँ भोका मान्छे खोज्न कतै टाढा जानु पर्दैन । जतापनि हात र मुख जोडेर खान मागिरहेका मानिस भेटिन्छन ।

एकदिन म डा. एलिजावेथको क्लिनिकमा गएँ । उसको क्लिनिक एकदम दूर्गम गाउँ मेङ्खोआनेङमा छ । त्यहाँ पुग्नै पहाडको बाटो तिन घण्टा उकाली ओराली गर्नुपर्छ । त्यो क्लिनिक अमेरिकि पिसकोर्प अन्तर्गत सञ्चालित छ । त्यसले यहाँका मान्छेहरुको एचआइभि परिक्षण गर्ने र एड्सको उचार गर्ने गर्छ । हामी पुग्दा त गाउँका मानिसहरु अगाडिनै त्यो क्लिनिकमा आइसकेका रहेछन । तर उनीहरुको संख्या हामीले सोचेभन्दा थोरै थियो । लोग्ने मानिस त झन एक जनापनि थिएनन । एचआइभी परिक्षण गरेपछि सकारात्मक (पोजेटिभ) देखियो भने समाजले तिरष्कार गर्छ भनेर यहाँका मानिस परिक्षण गर्न आउँनै डराउँछन ।

रगत परिक्षण गर्नुपूर्व त्यहाँका मानिसले आफ्ना लोक भाका र न्रित्य देखाए हामीलाई । कति मिठो भाका, कति स्वाद लाग्ने गीत, कति सुन्दर नाच ! मनै छुने । म सोच्छु-तिनै मिठो गीत गाउने र नाच्ने सुन्दर तरुनी कालीहरुमध्ये कतिलाई एचआइभीले छोएको होला ?  बिचरा ! कति निर्दोष र मिठाससँग हामीलाई स्वागत गरिरहेछन ।

मैलेपनि एउटा नेपाली गीत सुनाएँ-

तिमीले सुनेको कुरा हो,

मैले सुनेको कुरा हो

गाउँघरमा तिम्रो मेरो हल्ला चलेको कुरा हो

झ्याम्म ! झ्याम्म !!

ओहो ! उनीहरुले गीतको अर्थ नबुझेपनि झ्याम्म झ्याम्म क्या कण्ठै पारे । स्कूलको कोठामा रगत जाँच्ने काम शुरु भयो । मपनि परिक्षण कोठामा सहयोगिको रुपमा थिएँ । एक जना महिला आएर रगत दिइ । परिक्षण गर्ने तरिकापनि एकदम सजिलो रैछ । अलिकति रगत हातको औंलाबाट लियो अनि दुइटा परिक्षण गर्ने स्ट्रीपमा राख्यो । तिन मेनेटपछि त परिणाम निस्किहाल्ने । त्यसपछि रगत दिनेलाई सोधिन्छ ” के तपाई आफ्नो परिणाम थाह पाउन तयार हुनुहुन्छ ? ” रगतको परिणाम चाहिँ परिक्षण गर्ने स्ट्रीपमा एक लाइन मात्रै भयो भने नकारात्मक (नेगेटिभ) र दुई लाइन भयो भने सकारात्मक (पोजेटिभ) हुन्छ । दिनभरिमा त्यहाँ ४० जना महिलाहरुको रगत परिक्षण भयो ।

जसमध्ये १२ जनाको रगतमा दुई लाइन आयो । उनीहरुलाई  एचआइभी एड्स लागेको भेटियो । अन्तिममा डा एलिजावेथले मेरोपनि रगत झिकेर स्ट्राईपमा राखिन् । तिन मिनेटमा मेरोपनि परिणाम आयो । उनले मलाईपनि त्यस्तै प्रश्न सोधिन ” के तपाई आफ्नो रगतको,परिणाम जान्न चाहनुहुन्छ ? ” मैले चाहन्छु भनें । तर मैले त पहिलेनै मेरो परिणाम देखिसकेको थिएँ । स्ट्राइपमा एक लाइन मात्रै थियो । अर्थात नकारात्मक (नेगेटिभ) । हिँड्ने बेलामा हामीले सबैलाई कण्डम बाँड्यौं । कतिले प्रयोग गर्लान । कतीले त केटाकेटीलाई खेलौना बनाउन देलान ।

तिमीले सुनेको कुरा हो,

मैले सुनेको कुरा हो,

गाउँ घरमा तिम्रो मेरो हल्ला चलेको कुरा हो

झ्याम्म झ्याम्म !!

त्यसपछि हामी ओरालो झर्‍यौं

तपाइँको प्रतिक्रिया