हिराचनका मोती जस्ता कुरा

चार दिन अघि नाकको अपरेशन गरेको दुखाई छँदै थियो । त्यही बेला शनिवार एन आर एनको युरोपेली भेला पेरिसमा पर्‍यो । साथीभाई आए अरू देशका । विमानस्थल जाउ, कार्यक्रम स्थल पुर्‍याउ, फेरी लीन जाउ साँझ । पेन किलर खाँदै भएपनि गरियो । फेरि यो नाकको अपरेसन मुख भित्रबाट गर्ने रहेछ । नाक, मुख र टाउको सबै दुख्ने । केही निल्न नहुने । जति बोल्यो उति बढि दुख्ने । शनिवार कार्यक्रम सकिएपछि फेरी साथीहरू लीन जाने क्रममा साँझ झ्वाट्ट भेट भए एन आर एन का केन्द्रीय अध्यक्ष देवमान हिराचन । एन आर एन डेनमार्कका अध्यक्ष सोम सापकोटा सँग हामी गफ गरेर बसेको ठाउँमा मिसिन आएका थिए उनी टेवलमा ‘तपाईहरुसित गफ गर्न मन छ’ भन्दै । डा उपेन्द्र महतोका कुरा त केही पटक सुनिएकै हो । चर्चा परिचर्चा अनि उनको नेत्रित्व क्षमता पनि भोगिएकै हो । तर नयाँ अध्यक्ष देवमान हिराचन होलान् कस्ता ? जिज्ञासा मलाईपनि थियो । थालियो गफ सुन्न । अति सरल रूपमा प्रस्तुत भए उनी ।

शुरुमै उनले युरोप, अमेरिका, जापान, अष्ट्रेलियातिर बस्ने साथीहरूले दुख गर्नु पर्‍यो भनेर गुनासो गर्न नहुने भनाई राख्न थाले । सारै सुस्तरी प्रस्तुत भएका उनले बुझाउन खोजे- यहाँ अलिकति गर्मी भए एयर कन्डिसन छ, कुलर छ । अलिकति जाडो भए हिटर छ । बिजुली बत्ती कहिल्यै जान्न । फ्रिज चौबिसै घण्टा चल्छ । जे झिकेर खाएपनि भएको छ । खोकी लागेपनि तुरुन्त उपचारको सुविधा छ । काम गर्‍यो, कुनै कारणले छोड्नुपरे बेरोजगार भत्ता पाइन्छ, तालिम पाइन्छ अर्को पेशा गर्न । गर्मीमा बियर, हुस्की वा कोक के खाने ? फ्रिजमा सबै छ । तर सारा अफ्रिकी, एसियातिर हेर्दा मानिसहरू खानै नपाएर मरेका छन् । ४० डिग्री तापक्रममा पसिना चुहाउँदै गह्रुँगो भारी बोक्छन् । घर नभएर सडकमा सुत्नुपर्नेहरु सडकमै किचिन्छन् । हामी यस्तो सुख सुविधाले बस्न पाउँदापनि दुखी बन्ने ? प्रश्न गर्थे । भन्थे- यो त हाम्रो भाग्गे हो भाग्गे । यस्तो सुख सुविधामा बस्न पाउनु ।

                मान्छेको सोचाई बीउ, मन चाहिँ खेत

त्यति हुँदापनि किन दुखि त मान्छे ? ती सब राम्रो र नराम्रो, सकारात्मक नकारात्मक कस्तो सोचाई राख्ने भन्ने कुरा हुन् । उनी भावनात्मक बने । मान्छेको सोचाई बीउ हो भने मन चाहिँ खेत । मान्छेले खेतमा जस्तो बाली लगाउँछ त्यस्तै फल्छ । राम्रो धान फलाउनु छ भने धानको बीउ राम्रो लगेर खेतमा  रोप्नुपर्‍यो । मकै रोपेर कहिँ धान फल्छ ? धान फलाउन त राम्रो धानको बिउ रोप्नुपर्छ । त्यसैले मनमा राम्रा कुरा सोचे राम्रै कुरा फल्छन् भने उनले । उनका कुराले हामी वरिपरि बस्नेलाई झ्याम्म लागे झैँ बनायो ।

तर के मान्छेका मनमा सधैँ सकारात्मक सोच मात्रै आउँछन् त ? हरेक मान्छेका मनमा गलत  कुराहरू आउँछन् । समस्या नै समस्याको भारी र तनावले घेरेका बेला  को खित्का छोडेर हाँस्न सक्छ ? हरेक मान्छेको मनमा आउँछ । पुल बाट हामफालौं की ! सडकमा गुडिरहेको ट्रक भित्र छिरेर मरौं की ? उनले आफूलाई समेत जीवनमा निकै पटक त्यस्तो सोच आएको सुनाउँदै भने- होकी होइन ल भन्नुस् त ? आउँदैन नभन्नुस् है ? सबैको मनमा आउँछ । समस्या कसलाई आउँदैन ? जसलाईपनि आउँछ । ति समस्या हल गर्ने सामर्थ्यपनि हामीसितै छ । तर हामीले ति समस्यासित नजुधेर आफैंलाई अभागी ठान्ने हो भने हामीले आफैंले आफुलाई अभागी बनाउनु हो ।

जीवनलाई गाँठो पार्न आउने समस्याहरूलाई नै गाँठो पारेर थन्क्याउन सिपालु रहेछन् उनी । समस्या आउँछन् । ताँती लागेर आउँछन् एकैचोटी । आफ्नो क्षमताले ती समस्या टार्न सकिन्न । अनि तिनले झन् घेर्छन्, अत्यास लाग्छ, हुटहुटी बढाउँछ । जति हुटहुटियो जित्दै जाने त्यही समस्याले । उ अझ थपिन्छ । कसो गर्ने ? जापानीले झैँ सुस्तरी बोल्ने उनले सुनाए- आत्तिनु हुन्न । आए पो एकैचोटि त ती समस्या । तिनलाई एकैचोटी सँगसँगै समाधान गर्नु पर्छ भन्ने छैन नि ! उनले सुझाए- ती समस्यालाई मनमा लगेर थुपुक्क गाँठो पारेर राख्ने । निक्लिन नदिने । अनि ती मध्ये एउटालाई फुकाएर समाधान गर्ने । पालैपालो मनबाट झिक्दै हल गर्दै जाने ।

            त्यसै बनेको हो र आजको हिराचन ?

आजको पैसावाल देवमान हिराचन त्यसै बनेको हो र ? अब भने उनले भावुक बनाउन चाहे झैं गरे । यो ३८ वर्षको जापानी वसाईमा मैले के भोगिन ? मैले कति दुख गरेँ । कति भौँतारिएँ ? दुखका कति पानाहरू छन् । वेदना र कति छटपटीहरू काटेँ ती कि त मलाई थाह छ कि त अद्रिष्य भगवानलाई । कि त मेरो परिवार र निकट एकाध मित्रलाई । जीवनमा समस्या नभोग्ने कोही हुँदैन । हौस्याए उनले- समस्याबाट भाग्ने होइन तह लगाउने तिनलाई । जीवन र जगत भनेकै यस्तै हो । आत्तिनु हुन्न ।

उनी सकारात्मक सोचको विकास गर्न सल्लाह दिइरहन्थे । बारम्बार त्यही दोहोर्‍याईरहे । एउटा नेपालीको कथा सुनाउनपनि भ्याइहाले- एक पटक एउटा नेपाली केटो मेरो पसलमा आयो । उसले भन्यो-दाई मैले जापानी केटीसित बिहे गरेको । उ त हिजो मलाई छोडेर हिँडी । अब मेरो बिजोक हुने भो । मैले सुझाव दिएँ- भाई आत्तिनुहुन्न । यदि तिमीले गल्ती गरेको छ केटीलाई भने तिमीले माफी माग । होइन  भने उ फर्केर आउँछ । केटो खुशि हुँदै गएको थियो । नभन्दै एक दुई दिनमा त त्यो केटी फर्केर आइछ । नेपाली केटो फेरी पसलमा भेट्न आएर भन्यो- दाई मेरो श्रीमती त आइ नि फर्केर ! हिराचन सकारात्मक सोच राख्दा सकारात्मक परिणामनै दिन्छ भन्छन् ।

             जापानी लठ्याउने हिराचनका जुक्ति

करिब एक घण्टाको त्यो बसाईमा उनले साँच्चै एकाग्र बनाए । उनले भाषण मात्रै गरेनन् । बरु दिए उनले व्यापारका केही सुझाव । सुनाए जापानमा आफू कसरी सफल भएँ भन्ने पनि । भारतबाट प्रकाशित हुने कुनै एक आयुर्वेदिक पत्रिकामा पढेछन्- मान्छेको आफ्नो ग्रह अनुसार शरीरमा नौ तत्व हुन्छन् । ति ९ तत्व भए शरीरमा यस्तो यस्तो हुने भनेर लेखिएको रहेछ । कुनै चिजको शरिरमा कमी हुँदा ति मध्ये कुनै एकको अभाव खट्केको हुन्छ । गुरुहरूले मान्छेको शरीरमा देखिएका ति ९ मध्ये जुन अभाव हुन्छ त्यसैलाई माला वा केही बनाएर शरिरमा लगाउने गर्छन् । यसैलाई गज्जबको ब्यापार गर्ने सोचमा ढाले हिराचनले- ति नौ वटै तत्व भएको माला वा घण्टि बनाउने । नौ वटै तत्व एउटै मालामा राखिदिएपछि सबैलाई एउटा न एउटा त मिल्ने भयो । त्यो घण्टी भित्र अझ बुद्धको जन्मस्थलको माटोनै राखिदिएपछि ? बुद्ध जन्मे हुर्केको, उनको पैतालाले छोएको, उनले स्पर्श गरेकै धरती त्यसमा मिसाइदिएपछि बौद्दमार्गी जापानी किन भुतुक्कै नहोउन् ? त्यसले जापानमा राम्रो बजार पाएछ ।

जापानीहरू काठमाडौं बौद्दनाथको गुम्बा भनेपछि हुरुक्कै हुन्छन् । बौद्ध मन्दिरमा घुमेको, त्यहाँ गएर घुमाएका मानेहरू जापान पुग्दासम्म संझना दिलाउँछ । काठमाडौं भनेपछि बुद्धका आँखा अगाडि तीनै माने घुमाएको संझना दोहोरिन्छ । जापानीहरूको यो भावनालाई कसरी अँठ्याएर फाइदा लिने ? फुर्‍यो बिचार उनलाई- त्यसैको आकारमा गहना बनाइदिने । अक्किल त कति जुराए जुराए उनले ।

नेपालमा ट्रेकिङ गरेको सम्झना दिलाउन ट्रेकिङका गोरेटोभरि टार्लाङ टुर्लुङ बज्ने खच्चडको घण्टीलाई झोलामा झुण्ड्याउने साना साना घण्टि बनाइदिए । झोलाका घण्टि बज्दै जाँदा हिमालको हाँसो र छहरा छाँगाका गुनगुन पनि संझिने भए । नेपालको समग्र भावनाले साथसाथै घण्टी बजाएझैं बनाउँछ । माछापूच्छ्रे हिमाल हेर्दै क्याम्प बनाएर पालमा बसेको द्रिष्य मानसपटलमा उत्रिन्छ । त्यसले ब्यापार मात्रै दिलायो र ? नेपाल र नेपालीलाईपनि जापानमा अझ चिनाउने भयो । ७००० मिटर माथिको चौंरीका भुत्लाबाट दिनौं हिँडेर बेशीमा ओराली स्थानिय हातले उँधेका राडी कुन जापानी आँखामा नभिज्ला ? त्यसको मागलाई त उनले धान्नै नसक्ने गरि फैलाए ।

              नेपाल हाँसे पो नेपाली हाँस्ने !

सकारात्मक सोच लिएर काम गरे नयाँ नयाँ बिचार र अक्किल आउँदै जान्छन् । ब्यापारकालागि नौलो सोच र अक्किल चाहिन्छ भन्छन् उनी । वर्षौं बसेर जाने बुझेका,विदेशको रहन सहनमा पारंगत भैसकेका र अक्किल अनि सिप जान्नेले नयाँ र नजान्ने अनि युवाहरूलाई सिकाउनुपर्छ भन्नेमा जोड दिँदै थिए उनी । आफूले जानेको कुरा सिकाएर कहिल्यै पछि परिँदैन । उसलाई आफ्ना बिचार ज्ञान साझेदारी गरिदिनु पर्छ । त्यसो गरे मात्रै साथी भाई, वरपरका ईष्ट मित्र सबै खुशि बन्छन् । अरुपनि सम्पन्न बन्छन् । म मात्रै धनी बनौं अरू गरिवै रहून् भन्ने धारणा राख्नुहुन्न । अरुलाई गरिव राखेर आफू मात्रै धनी हुनुको के मजा ? केको सन्तुष्टि ? उ धनी भए माग्न त पाइन्छ । आफू जस्तै गरिव भए के माग्ने ?

धनी हुँदैमा मैले के दश थान चस्मा लगाउने हो र ? पाँच वटा कोट लगाउने हो र ?  खाने उही हो । लगाउने उत्तिकै हो । त्यसैले सारा नेपाली हाँस्नु पर्छ । हामीले अरू नेपालीलाइपनि कसरि हसाउने भन्ने सोच राख्नुपर्छ । हामी समग्र नेपाली नै धनी भए, सबै मिलेर हाँसे पो देशै समग्ररुपमा हाँस्छ र हामी सबै खुशि हुन्छौं । सबैका आँखामा सन्तुष्टि र आत्ममा हाँसो भरिए पो सँगै मिलेर हाँस्न पाइन्छ त ! साथीभाई धनी भए लौ न भन्न पाइन्छ खाँचो पर्दा ? ‘तपाईहरु १० जनाको बीचमा म एक्लै हाँसे भने तपाईहरुले यो हिराचन कस्तो पागल रहेछ भन्नुहुन्न ? सँगै हाँस्न पाइयो भने पो बल्ल आनन्द आउँछ होइन ?’ बेला बेला भावनात्मक हुँदै प्रश्नपनि राख्थे उनी ।

(साथीहरु प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । अन्यथा मेट्नुको बिकल्प छैन । लेखसित संबन्धित प्रतिक्रिया दिनुहोला । धन्यावाद-नेपालप्लस)

 

तपाइँको प्रतिक्रिया