हेर्दा हेर्दै फुलबाट आकाशसम्म
-एस् बी छन्त्याल / बेल्जियम
(मैले एक दिन यी दुई जोडी लाई आकाशमा यसरि स्वच्छन्द उड्दै गर्दा क्यामरामा छोपेको थिएँ)
जीव जन्तुको आनीबानी र तिनका क्रियाकलापलाई नियाल्न सहज हुन्न । झन् मानव बस्तीदेखि टाढा बस्न रुचाउने चराहरुको जिवनचक्रलाई सींगै क्यामरामा कैद गर्नु त अझ मुस्किलको पक्ष हो । तर लगनशीलता र चाख भए असम्भव केही छैन जस्तो मलाई लाग्छ । हामी नेपालीहरूमा यस्ता विषयहरू उति चर्चा र प्रशंसाका विषय नबनेपनि वैज्ञानिक जगतमा प्रशंसनीय मानिन्छन् । तैपनि मैले झण्डै वर्ष दिनसम्म एउटै परिवारका एक जोडी चराका पछि लागेर चराको जिवनचक्रलाई फूलदेखि उडेर स्वच्छन्द आकाश रमाउन पुगुन्जेल सम्मका तस्विर कैद गरें । तिनलाई नेपालप्लसका पाठक सामु पस्किए चाखलाग्दो होला भन्ने ठानेको छु ।
अलि पछि मैले हेर्दा ति दुई जोडी मध्ये यि एक जोडी आफ्नै प्रेम र मायामा डुबेको पाएँ । ति जतिखेर’नी सँगै हुन्थे । सँगै नाच्थे, गाउँथे, चर्थे, रमाउँथे र टहलाउँथे । पछि मलाई थाह भयो- यीनलाई अंग्रेजीमा क्यानेडियन गुज भनिने रहेछ । क्यानडामा पाइने हुनाले त्यसो भनिने गरेपनि केहि वर्ष अघिदेखि यीनलाई यूरोपमा प्रतिस्थापन गरिएको रहेछ ।
केहि समयको माया प्रिती, रमाईलो र रमझमपछि यी परिवार बनाउने ध्याउन्नमा बिभिन्न ठाउँ चहार्दै रहेछन् गूँड बनाउने सुरक्षित स्थलको खोजिमा । यी कहिले तालमा देखिन्थे, कहिले ढकमक्क फूलेको फाँटमा ।
सुरक्षित स्थल फेला पारेपछि पोथीले लगातार केहि फुल पारिछे ।
एकदिन भने पोथी म्रिततुल्य देखिन्थी किनभने उ एक्लै फुललाई छोपेर चलमल नगरि बसेकि थिई । दशौं घण्टा फुल तताउन छोपेर बस्दा भोकाएकि पोथीलाइ आहारा लिन भाले नजिकै कतै गएको थियो ।
केहि सातामा पोथीका फुलबाट दुई बचेरा निस्किएको देखें । भाले नजिकै बसेर आफ्ना सन्तानको रेखदेख गर्थ्यो । उ पोथीलाई साथ दिईरहेको थियो बाँकी सन्तान सुरक्षित जन्माउन ।
हेर्दा हेर्दै तिनले निकै कोरले बचेरा । तुरुन्तै हिँड्न सक्ने हुने रहेछन् ती ।
पछि मैले देखें- पहिले आकाशमा देखिएका दुबै जोडीले सँगसँगै बचेरा हुर्काएका रहेछन् । अनि ति सँग सँगै थिए । एउटै संसारमा रमाईरहेका थिए । आफ्ना बचेरालाई संसार चिनाइरहेका थिए ।
आफ्ना सन्तानलाई कसैले दागा धर्न नपाउन् भनेर भाले र पोथीमध्ये एक अगाडि र अर्को पछाडि लागेर छेकेर, बचाएर राख्थे ।
न माटो, न पानीनै कहाँ पो भर हुन्छ र शत्रुको । त्यसैले ति पौडी खेल्न सिकाउनपनि अगाडि पछाडीनै लाग्थे ।
खान, बस्न, बास खोज्न, पानीमा, पाखामा सबैतिरबाट बच्न र जिउन सिकाइसकेपछि तिनले आकाशमा उड्न पनि सिकाए । अनि सारा जिवनका बाँच्ने आधार सिकाएर तिनले आफ्नै जिवन जिउन स्वच्छन्द छोडिदिए ।
















