प्रचण्डको जन्मस्थल घुमेर हेर्दा

                         प्रचण्ड संझेर रोए उनका पिता

 prachandas_dhai_aama.jpg

(बायाँ प्रचण्डका काका, बिचमा उनकि धाइ आमा देवकि र दहाल परिवारकै एक महिला चिन्द्राग्रस्त मुद्रामा । फाइल तस्बिर-ददि सापकोटा) ।

२०५८ सालको तेस्रो हप्ता । कसैले सुनायो-प्रचण्डकि आमा बितिन तर उनकि धाई आमा छन । धाइ आमालेनै हुर्काएकि हुन प्रचण्डलाई । यो सुनेपछि मलाई लाग्यो-वाह ! उनलाई हुर्काउने धाइ आमा ! रिपोर्टिङ गर्न पाए गज्जबै हुन्थ्यो । गैसकेपछि उनका नाता, वाल्यकालका साथी, आफन्त, स्कूले र गोठाले साथी आदि आदि भेटिएलान । प्रचण्डसँगको तिनको क्षण र संझनाबारे रिपोर्टिङ गर्न पाए चाख लाग्दो हुन्छ भन्ने ठानियो । प्रस्ताब राखेँ लेखनाथ अधिकारीलाई । उनले खुब खुशि भएर स्विकार गरे । त्यो बेला माओवादीहरुबारे स्थलमै गएर सोध्खोज गर्न सरकारी सुरक्षाकर्मीबाट अलि असुरक्षित भएको महसुस हुन्थ्यो । गाउँमा गएर माओवादीका नेताबारे सोधखोज गर्दा त झन दुबै तर्फबाट गाह्रो । माओवादीहरुले सुराकि, प्रतिक्रियावादी, हाम्रा बिरोधी आदि आदि आरोप लगाउँथे । त्यस्तो हुनेपनि गरेको थियो थुप्रैबाट । दुइ जना गयौं हामी । कहिँ, कतै, कसैलाई संपर्क गरिएन । त्यो दिन गएर पोखरा बसियो होटेलमा । अनि  ढिकुरपोखरी जाने बस बारे बुझियो । भोलिपल्ट बिहानै त्यता जाने बस चढ्यौं । खुब कौतुहलत थियो । खस खस लागिरह्यो । प्रचण्डकै परिवारले सुराकिको आरोप लगाएर गाली गर्ने पो हुन कि । सिधै हस हजुर भनेर हामीलाई जानकारी त दिँदैनन । किनभने हामी जस्ता थुप्रै गएका होलान त्यहाँ उनीहरुलाई भेट्न । कोही त सुराकी र सुरक्षा अधिकारीपनि होलान । कठिन पर्‍यो भने कसरि जानकारी फुत्काउने त ? रित्तै हात जानु पर्‍यो भनेत बेइज्ज्तै हुन्छ। यस्तै सोचियो।

यसो यता उति आँखा लगाउँला भनेको त बस भित्र हुँदा बेस्सरी पानी दर्कियो । असारको अन्तिम न थियो । यता उति केहि देखिएन । स्थानिय ठाउँमा चल्ने बस भएकोले प्राय: कोही नयाँ मानिस चढ्नासाथ मानिसहरुले पत्तो पाउने रहेछन । हामी त्यो बसमा नितान्त नयाँ मानिस हौं भन्ने कुरा बसभित्रकाले पत्ता लगाइहाले । पल्याकपुलुक गर्न थाले । उनीहरुले राम्रै सोचेका हुँदा हुन तर हामीलाई नौलो आँखाले हेर्नासाथ असहयोग गर्नकालागि हो कि भन्ने शंकाले पिरोल्थ्यो । एक जना २८, ३० वर्षे यूवक नजिक आएर सोधे-तपाइँहरु को हुनुहुन्छ ? कहाँ, के, कताबाट, कति समय दुनियाँ । हेर्दा इमान्दार देखिए । अलि अप्ठ्यारो जस्तो मान्दै हामीले रिपोर्टिङ गर्न जान लागेको कुरा हाकै बतायौं । संयोग, उनीपनि दहाल नै रहेछन । प्रचण्ड उनका काका पर्ने रहेछन । उतै पोखरा बगरमा कुनै स्कूलमा पढाउने रे । उनले थुप्रै जानकरी दिए ।
 
पहिलो रोचक जानकारीनै उनले हामीलाई के दिए भने, प्रचण्डका एक जना मामा रहेछन । समान उमेरका । प्रचण्ड चितवन झरेपछिपनि भेट भइरहने रहेछ लगातार उनीहरुबिच । उनी नेकपा (एमाले) का समर्थक रहेछन त्यो बेला । अहिले त्यहिँ ढिकुर पोखरी गाविस बाट करिब एक घण्टाको पैदल बाटोमा एउटा स्कूलको प्रधानाध्यापक रहेछन । उनको र प्रचण्डको भेट हुनासाथ वादविवाद हुने रहेछ । प्रचण्ड नेपालमा सशष्त्र युद्द गर्नु पर्छ भन्ने तर मामा होइन, शान्तिपूर्णरुपबाटै सत्ता कब्जा गर्न सकिन्छ, एमालेको बाटो ठिक छ भन्ने । जनयुद्द शुरु गर्ने बेलासम्म पनि मामा भान्जा दुबै आ आफ्नै अडानमा रहेछन ।  अनि हेर्नुहोला मामा एक दिन मैले भनेको कुरा मिलेरै छोड्छ भनेका रहेछन प्रचण्डले ।

राजतन्त्र समाप्त हुने त्यति बेलाको तर्क

उनले अर्को के रोचक प्रसंगपनि सुनाए भने, त्यहि क्षेत्रमा कतै एकजना ज्योतिष रहेछन । उनले त्यो बेलामै अब राजतन्त्रको अन्त्य हुन्छ भनेका रहेछन । अर्थात ज्ञानेन्द्र अन्तिम राजा हुनेछन भनेर । तर्क कस्तो गरेका रहेछन भने, नेपालको पहिलो शाह वंशिय राजा कुलमण्डन शाह हुन । त्यो नेपाली वर्णमालाको पहिलो अक्षर क बाट शुरु भयो । अहिले ज्ञानेन्द्र राजा छन। उनको नाम नेपाली वर्णमालाको अन्तिम अक्षरबाट शुरु भएको छ । त्यसैले, अब नेपालमा राजा हुने ठाउँनै छैन, क देखि ज्ञ सम्मै सकिएकोले अब राजतन्त्रकोपनि अन्त्य हुन्छ । नभन्दै इतिहासमा त्यहि भयो । अहिले संझिँदा अचम्म लाग्छ ।

जेहोस, बसबाट हामी ओर्लियौं। ओर्लिँदा पानी परिरहेको थियो । वालवालिकाहरु हामीलाई देखेर अचम्म माने । प्लास्टिक ओडेर स्कूल जाँदै रहेछन । टक्क अडिए, हेराहेर गरे । सोधे-दाईहरु कहाँ जान लाग्नुभएको ?  वालवालिका जानकारी लिने सजिलो र सहज माध्यम हुन नै । प्रचण्डको पहिलाको घर कहाँ हो नानी ? अहिले उहाँका आफन्तहरु कता हुनुहुन्छ नी ? यस्तै यस्तै । छाता साता नलिइ गएको लाहुरे पल्टिँदै पानीले भिजाइहाल्यो । अनि तिनै वालवालीकाले देखाएको घरमा गयौं खुब कौतुहलताका साथ । घरमा दुइ जना मानिस थिए । मकै खोल्स्याइरहेका रहेछन । सानो थियो घर । भैंसी थिए गोठमा । हजुर नमस्कार भन्दै छिर्‍यौं । शुरुमा अप्ठेरो माने उनीहरुले । दुख खेप्ने बानी लागेको हामीपनि कोही दुख दिने पर्‍यौ कि भन्ने लाग्यो होला सायद । कम बोले । सोधेको प्रश्नको उत्तर मुश्किलले दिने । हामीले सिधै भन्यौं किन आएको हो भनेर ।

prachandas_father_muktinath.jpg

 (प्रचण्डका पिता मुक्तिराम दहाल उनकै चितवन भरतपुरको क्रिष्णपुरस्थित घर अगाडि । फाइल फोटो-ददि सापकोटा) ।

आँखा चिम्लेर चण्डी पढ्थे प्रचण्ड

नाम त बिर्सिइयो, दुइजना थिए उनका काका पर्नेहरु । कुरागर्न थाले हामीले खुला तरिकाले कुरा गर्न थालेपछि । प्रचण्डले सानै उमेरमै वा ढिकुर पोखरीमै हुँदा चण्डी खरर पढ्ने रहेछन । उनलाई कण्ठै थियो रे चण्डी । प्रचण्डका बुवा चितवन झरेपछि एक्लो जस्तो महसुस गरेछन त्यहा भएका दाजुभाइले । चितवन गएपछिपनि प्रचण्ड तारन्तार गइरहने रहेछन जन्म थलो । गएपिच्छे साँझ जमघट बोलाउने रहेछन प्रचण्डले र राजनीतिक छलफल चलाउने रहेछन । जनयुद्द शुरु गर्ने निर्णय भइसकेकोले होला सायद, शुरुहुनु केही समयअघि उनी फेरी गएछन र राती छलफल चलाएछन थुप्रै पटक । उनका आफन्त कोही एमाले त कोही नेपाली कांग्रेसमा रहेछन । पछिल्लो पटकको जमघटमा भने उनी निकै भावुक रुपमा प्रस्तुत भएका थिए रे । हामी सबै दाजुभाई एक ठाउँमा आउनुपर्छ, एउटै बिचार राख्नुपर्छ र मलाई सहयोग गर्नुपर्छ, हाम्रो पार्टीलाई सहयोग गर्नु पर्छ भनेका रहेछन । अब म सायद पटक पटक आइरहन पाउँदिन, तपाइहरुले सहयोग गर्नुहोला भन्दै जनयुद्द शुरु हुने संकेत गरेर हिँडेका रहेछन उनी ।

जनयुद्द शुरु भएपछि भने झन आफन्तहरु फुटेछन । किनभने त्यहाँ सुरक्षा अधिकारीहरुले धम्क्याउने, सुराकी गर्ने, तिमीहरु को हौ भन्ने गरेर । गाउँमा नेपाली कांग्रेसले निकै छुल्कि लगाएको संकेत गर्दै थिए । एमालेहरु अब हाम्रो पार्टीमा लाग भन्ने रहेछन । अनि प्रचण्डलाई सहयोग गर्छौ भन्ने पनि लाखापाखा लागेछन अन्य पार्टीका हौ भन्दै । सुरक्षाको डरले गर्दा । गाउँमा प्रहरीले निकै पटक दुख दिएछ । अति भएपछि एक दिन उनका काकाले प्रहरी समक्ष भनिदिएछन-राजनीतिमा लागेको उहि हो, हामी होइनौं, हामी किसान, गरिखाने आफ्नो दुखजिलो गरेर । जनयुद्द शुरु गर्‍यो त उसले गर्‍यो, हामीलाई सधै किन ध्म्क्याउनु हुन्छ ? प्रचण्डका आफन्त भएकाले अति दुख पाएको पटक पटक सुनाए उनीहरुले हामीलाई ।

ढुकुरपोखरीको जग्गा जमिनले राम्ररी नपुगेपछि प्रचण्डका बुवा उनका एक जना आफन्तको सुझावमा चितवन झरेका रहेछन । त्यो बेला उनका बाबु आमाले गाइ गोरु सबै धापाउँदै सात दिन लगाएर पैदलमा गएका रहेछन । फुच्चे छबीलाललाई भने डोकोमा बोकेर लगिएको रहेछ । उनीहरु ढिकुरपोखरी छोडेर जाँदा निकै रुवावासी चलेको रहेछ । त्यही बेलामै प्रचण्डले आफ्नी धाई आमालाई भनेका रहेछन-काकी तपाइँ नरुनु है ? म तपाइलाई लिन आउँछु । तर बिचरा त्यो संयोग कहिल्यै परेनछ । जनयुद्द शुरु हुनु अघि पुगेको बेलापनि उनले आफ्नी धाइ आमा देवकीलाई केही समयपछि आएर चितवनै लैजान्छु भनेका रहेछन ।

ढिकुरपोखरीमा सुरक्षा अधिकारीले दुख दिन थालेपछि शुरुतिर दहाल परिवारलाई मानसिक पिँडापनि पर्‍यो । थुप्रै मानिसहरुले “तिमिहरु हत्याराका परिवार, तिम्रो भतिजो, तिम्रो आफन्तले गर्दा हामीलेपनि दुख पायौं” भनेर मानसिक पिँडा दिने धेरै भएछन ।
चार पाँच वर्षमै जनयुद्दले तगडा गती लियो । अनि मानिसको स्वार्थी जिव न हो, म पनि प्रचण्डको साथी, मसित सँगत खुब मिल्थ्यो छवीलालको, हामी सँगै पढेको, हामी त यसरि यसरि नाता पर्छौ नी भन्दै चाकरी गर्न जानेहरु थुप्रै भएछन । चित्रमा हाफ पाइन्ट लगाएर बसेका उनका काकाले त्यस्ता गुनासा खुब सुनाएका थिए ।
muktinath_dahal_prachandas_father.jpg

(संभवत: पहिलो वार्तकालमा नारायणघाट क्याम्पाचौरमा  माओवादीले आयोजना गरेको जन सभा हेर्न आफन्तका साथ पुगेका प्रचण्डपिता मुक्तिराम दहाल । फाइल फोटो-ददि सापकोटा) ।
 

कुराकानीक क्रममा उनीहरुले बिचबिचमा सोधिरहन्थे-कुन पत्रिकामा रे तपाइहरु ? साप्ताहिक र अन्य पत्र पत्रिकाभन्दा दैनिक पत्रिका प्रतिको हेराई उनीहरुको धेरै नै सकारात्मक रहेछ । अनि समाचारपत्रको लागि हो भनेपछि पनि उनीहरुले बढि विश्वास गरे ।
स्कूले वालवालीकहरुमा चाहिँ डर भन्दा गौरवको भावना बढि देखिन्थ्यो प्रचण्डको नाम लिँदा । हामीले प्रचण्डबारे जान्न आएको बताएपछि उनीहरुले “प्रचण्ड हाम्रै काका हुनुहुन्छ, मामा हुनुहुन्छ” यस्तै यस्तै भन्थे । तर हामीले भेटेका वालवालिकाले भने प्रत्यक्षरुपमा चिनेकै रहेनछन प्रचण्ड । हामीले देवकीलाई सोध्यौं- यत्रा मानिस मरिरहेका छन, उनि सफल होलान कि नहोलान, कहिले आउलान  यस्तै यस्तै । उ सफल भएरै छोड्छ भन्थिन धाइ आमा । एक दिन सफल हुन्छ, देशको ठुलो मान्छे बन्छ र मलाई लिन आउँछ भन्थिन उनी । साँच्चिनै उनले भनेको मिलेन त अहिले ?
 

प्रचण्ड संझेर रोए उनका पिता

पछि सायद पहिलो वार्ताकालमा होला मैले प्रचण्डका बाबु मुक्तिराम दहाललाई भेटेँ । त्यो दिन चितवन नारायणघाटको क्याम्पाचौरमा  माओवादीहरुले सभा गरेका थिए । अघिल्लो दिन भरतपुरमा गएर उनलाई चिन्ने ब्यक्ति खोजे धुइँपत्ताल लगाएर । संयोग कस्तो पर्‍यो भने चितवन क्रिष्ण नगरको उनको घरमा मैले चिनेकै एकजना आफन्तले डेरा लिएर बसेका रहेछन । त्यो बेलासम्म प्रचण्डका पिता बारे एक पटकमात्रै थोरै जानकारी जनादेश साप्ताहिकमा आएको रहेछ । प्रचण्डका पितासँगको भेटघाटबारे दैनिक पत्रिकामा ! गज्जबै हुन्छ । तर उनको परिवार सकभर धेरै सार्वजनिक नभइ बसेको रहेछ । सार्वजनिक हुनपनि नचाहेको । त्यो सभा हुने दिन आफन्तलाई भेटेर जे पायो त्यहि लेखिँदैन, अप्ठेरो पार्दिन भन्ने हिसाबले कुरा गर्न लगाएँ । स्विकार गरेछन । दिउँसो उनी त्यहि क्याम्पाचौरको कार्यक्रममा जान्छन रे भन्ने थाह पाएपछि उनको खोजी गर्न गएँ । फेरि अरुलाई थाह दिनुपनि भएको छैन । एक त अरुले पनि थाह पाएर लेख्लान र अर्को कुरा उनलाई किन सार्वजनिक गराउने सभामा भनेर ।

 सभामा करिब तिन घण्टा धुइँपत्ताल लगाएर खोजेपछि भेटिए । थाह नपाउने गरि नजिक गएँ सामान्य दर्शकका रुपमा । क्यामरा लुकाएँ । झुक्क्याएर दुइ तिन वटा फोटो खिचेँ र टाप कसेँ । भोली पल्ट बिहानै गएँ उनको घरमा । कान्छो छोरो सरकारी कोटामा बेलायत पढ्न गएको बेला परेको रहेछ । वन संबन्धि अध्ययन रहेछ । कुराकानी गरियो । गाउँमा सानै देखि झगडा पर्दा लौ छवीलालले मिलाउँछ रे भन्दै प्रचण्डलाई बोलाउन आउने गरेको बताउँथे । त्यो दशैंको बेला थियो । मैले चाडका बेला पर्‍यो, छोरो भूमिगत छ, कस्तो लाग्छ त तपाइँलाई भनेर सोधेको उनी निकै भावुक बने । आँखाभरि आँशु  बनाएर उनले जवफ दिए-हेर्नुस, उसकि आमा छैन, अर्को छोरोपनि बिदेशमा छ, जेठो जाने बुझेको उही हो तर कहाँ छ, जिउँदो छ कि छैन, कहाँ बस्छ, के खान्छ, बुहारी र नातिको खबर के छ केही थाह छैन । चाड आयो, सबैका घर संझेर आउँछन तर आफ्नो चालाभने यस्तो छ ” ।

 प्रचण्डका बाबुपनि तिन पटक गिरफ्तार

त्यति बेला उनले नभेटेको आठ वर्ष भइसकेको रहेछ । प्रचण्डको बाबु भएकैले उनलाई प्रहरीले तिन पटक समातेर हल्का शारिरिक र मानसिक यातना दिएको रहेछ  । एक पटक त ७२ घण्टासम्म राखेछ । मुक्तिराम अधिकांश समय क्रिष्णपुरकै शिवालय मन्दिरमा गएर पुराण सुनेर बिताउने रहेछन । मन्दिरमा जाने स्थानियहरुले प्रचण्डका बाबु बनेर खुब सम्मान गर्ने रहेछन उनलाई त्यतिबेलै । एउटा भैंसी थियो गोठमा । यसो यता उति त्यही भैंसी डुलाउने, आहाल बसाउने र कान्छो छोरा तर्फका नाति नातिना खेलाउने गरेर दिन काटेका रहेछन । प्रचण्डकि आमा वीर अस्पत्तालमा बितेकि रहिछन । आमा बित्दापनि मुख हेर्न आउन सकेन भनेर गुनासो गर्दै थिए मुक्तिराम । “बुवा, तपाइँहरुले जे गर्नु पर्छ गर्नुहोला, मलाई अनुकूल भएन, आमालाई म जसरि संझनुपर्छ संझौला” भन्ने जवाफ प्रचण्डले दिएका रहेछन । छोरो एक दिन देशको प्रधानमन्त्रि वा राष्ट्रपति केही त पक्कै हुन्छ भन्ने निश्चिन्त जस्तै थिए उनका बाबुपनि ।

तपाइँको प्रतिक्रिया