छोरी दिने सौतामाथि, ज्वाइँलाई हाल्ने मुद्दा

 (सचेत-यो एक दिनको भ्रमणबारे जोकै जोकले भरिएको नीजि ब्लग हो । यसमा नितान्त नीजि प्रसंगहरुबारे मात्रै वर्णन गरिएको छ । ए जोक रहेछन भनेर खुरु खुरु पढ्ने, दाँत फट्टाएर मज्जाले हाँस्ने अनि पछि यस्तो नीजि कुरा किन लेखेको भनेर आलोचना नगर्नुहोला-नेपालप्लस) ।

dscf1937.jpg

गएको हप्ता लौ घुम जाउँ भन्दै फोन गरे चितौने साथी रबिनले । घुम्न कहाँ जाने ? फाउन्टेन ब्लु, टन्न फूलबारी छ, ताल छ, पारीपट्टी जंगलै जंगल छ । त्यहि बसौंला, खानपिन गरौंला, नाचगान जमाएपनि भो । जंगल वरिपरि हिँडेपनि भो । खाना म टन्न ल्याउँछु, तपाइँहरु टाढाबाट आउने भएपछि रित्तै आउनुहोला । प्रक्रितिको यस्तो काखमा बसेर त्यस्तरि दिन बिताउन पाए के चाहियो ? फेरि त्यस्ता मिल्ने साथीहरुसित ! निकै ब्यस्तताका बिचपनि आज जे पर्ला पर्ला भनेर स्विकार गरियो । हामी नजिकका १२/१५ जना साथीहरु हुन्छौं । धेरैजसो चितौने । धेरै जसोको नाम लिए-कमल, राम दाई (बर्तौला), महेन्द्र भट्टराई र मुना, सपना, वाग्लेजी, मार्क, राजु, उज्जवल खनाल जि यस्तै यस्तै । लौ त भनेर गइयो। लौ चितौने चितौने भेट हुने भो भन्ने लाग्यो । क्रिष्णजि (अधिकारी) लाई भनेको उहाँ नभ्याउने हुनु भएछ भने रबीनले । 
 
dscf1914.jpg

यि साथीहरु असाध्यै रमाइलो गर्छन । एक अर्कामा अनावश्यक प्रतिष्पर्धा, छेडाछड, कसैले कसैप्रति तुस राख्दैनन । भेट भएको समय खुब रमाइलो गरेर बिताउँछन । नेपालका बिभिन्न घटना र प्रब्रित्तिबारे गफगाफ गर्छन । सहयोगीपनि उत्तिकै छन । ठट्टा र जोक भने औधि जान्छ यिनिहरु भेट भएपछि ।  फाउन्टेन ब्लु त पुगियो तर यस्सो बाहिर निस्कियो पानी पर्छ, ओत लाग्यो घाम लाग्छ । लौ-प्रक्रितिले देखि सहेन भनियो । फूलबारी यसो हेरेपछि अब कहिँ न कहिँ गएर त मनाउनै पर्‍यो । महेन्द्र भट्टराईजीको डेरा त्यहाबाट नजिक पर्छ, लौ त्यहि मनाउने भनेर हानियो । रबीन जिआइएफ हेर्दै हाँके गाडी । गाडी भित्रै एउटा बोरामा चिसो पेय पदार्थ र रोटीसोटी टन्न रहेछ । मासु खोज्दा खोज्दा हैरान परियो । उज्जवलजिले हाँसो गरिहाले-मासु त छुटेका साथीहरुले बाटै हमला गरेछन के छोड्थे भनेर । आधा घण्टा जतिमा त पुगियो महेन्द्र र मुनाको घरमा । ओ हो हो, हामी त्यहाँ पुग्दा त साथीहरु खुब जमेर बसिरहेका रहेछन । एक बज्यो । जानासाथ तात्तातो म म आइपुग्यो । ओहो, ममपनि कत्रा भने ! पहिलो पटक देखेको थिए त्यत्रा मम । टाउकोमा हान्यो भने टुटिल्को उठ्नेजत्रा । सिंगै पाठो कर्‍याककुरुक पारेर पिठोले बेरे जस्तो ।
 

dscf1948.jpg

 (देब्रेबाट कमल, राम दाइ (वर्तौला),वाग्ले र राजु) ।

रातो वाइन र बियर । साथीहरु त पहिल्यै दुइ चार बोत्तल झामझुम पारी सकेका तैपनि घाँटी त सुख्खा जस्तो पारा हेर्दा  । कसैले चाखेको जस्तोपनि नदेखिने । अनि, सबै जना भेट भएपछि शुरु भो जोक भन्न । रबीन त माहिर नै भइहाले जोकमा । उनले जोकमै एउटा प्रश्न सोधे-

“प्रश्न यस प्रकार छ, उत्तर के हो ?” मलाई त दोहोर्‍याएर सुन्नु पर्‍यो । बुझ्नै सकिन । उत्तर रहेछ-दिशा । त्यस्तो अल्ठ्यांग्रे प्रश्नको उत्तर के जान्नु । त्यहाँ जोक भन्ने त हानथाप जस्तै चल्यो । उनका भाइ कमल ओली तम्सिए । शुरु गरिहाले-

जंगलमा एउटा सिंह रहेछ । उसले -ओ ए , ल भन त यो जंगलको सबैभन्दा बलवान को ? यो जंगलको राजा को ? उसले भालु, जरायो, खरायो जो जो भेट्यो सबैलाई सोध्दै गएछ ।उसका अगाडि कसले चाइँचुइँ गर्ने ? सबैले कुप्री परेर हजुर नै हो, हजुर नै राजा, हजुर नै सर्वशक्तिमान भन्ने रहेछन । जाँदा जाँदा उसले एउटा नदी किनारमा बडेमानको हात्ती भेटेछ । र त्यो हातीको अगाडिपनि उ बडो शानले उभिएर सोधेछ- ए ल भन त, यो जंगलको सबैभन्दा शक्तिशाली को, राजा को हो ? हात्तीलाई झोंक चलेछ त्यत्रो फिस्टेले शान देखाउँछ भनेर । र उसले सुँडले करप्प समातेर नोमोठ्दै नदीको पारीपट्टि हुत्याइदिएछ । पारीपट्टि मिल्किएपछि सिह जुरुक्क उठेर भनेछ-मैले सोधेको प्रश्नको उत्तर थाहा नभए थाह छैन भने त भइहाल्थ्यो नी ! हातै छोडिहाल्नु पर्छ र अर्कालाई ?
 
केहिबेर पेरिसको नेपाली समूदाय बारे सुनाए रबीन र महेन्द्रले । उनीहरुलाई यहाँको नेपाली समूदायबारे धेरै नै जानकरी रहेछ । बिच बिचमा सरकार कसले बनाउने भो रे ? भन्थे । माओवादीको सरकार हेर्ने चाहना धेरैको रहेछ । अनि उनै कमल फेरि अघि सरे जोक सुनाउन-

जंगलमा दुइ वटा कमिला भोकले छट्पटिएका रहेछन । आहारा खोज्दै भौंतारिएर हिँड्दा अर्को तिरबाट एउटा बडेमानको हात्ती लस्कँदै आएको देखेछन । र तिनले सल्लाह गरेछन-यो हात्तीलाई झ्याप पार्नु पर्‍यो । कसरि ढाल्ने त ? दुइवटा मध्ये एउटाले भनेछ- म पछाडीपट्टिबाट चढ्छु, तँ अगाडिबाट चढ । किन होला ? खुब टाउको तताइयो उत्तर भन्न सकिन्छ कि भनेर । तर सकिएन । अन्तिममा कमल आफैंले जवाफ दिए-एकै तिरबाट दुइ वटै कमिला चढ्दा उल्लर (एकातिर मात्रै बढि गह्रुँगो भएर हात्तीसँगै आफुपनि पल्टिइन्छ) हुन्छ भनेर रे ! जोकपनि कस्ता, दुइ वटा कमिला चढ्दा हात्ती पल्टिने रे !


खाना र पेय पदार्थको घानले जोक भन्न हौसियाएकै छ । झन रबीनजिको रेस्टुरेन्टमा तयार भएको । पकाउने देखि सबै समाग्रीको सेवा र सुबिधा सम्पन्न । पकाउने हात राम दाई (राम बर्तौला) का । मासु र रक्सी खाँदा राम दाई र कमल बिच बिचमा खुब छ्ड्के बोल्थे। शरिर मोटाउँछ भनेर सन्तुलनमा राखेको रे राम दाइले-कमल सुनाउँथे । राम दाईको शरिर यसो हेर्दा अब धेरै बढ्नुपर्ने नै नभए जस्तो ड्याम्म देखिन्थ्यो  । अनि कमलले त्यसो भन्ने रहेछन । कमलको शरिर उस्तै । अनि उनी चाहिँ शरिर घटाउनुपर्छ भन्ने रे सधैं । खाना रुच्दैन, पेट दुख्छ भन्दै खाने रहेछन । अनि खाना रुच्दैन भन्दै उनले थालमा राखेको भातले पल्लो पट्टि बसेको मान्छे नै छेकिने रे । नाघ्नपनि नसकिने रे ।  त्यति चुलि हुने रहेछ खाना । त्यो भन्ने चाहि फेरि उनैका दाजु हुन रबीन । यि दाजु भाइ भएपनि ठ्याक्कै साथी जस्ता ।

महेन्द्रको त झन आफ्नै पारा । उनी पाँच तल्ला माथि बस्ने रहेछन । लिफ्ट बिग्रेको सात आठ दिन भयो बनाइदिएकै छैन, क्या बोर ! भनेर सुनाए । अनि रबिनले भने-म त जति पटक आउँदापनि बिग्रिने कस्तो थाह पाउने लिफ्ट रहेछ भने । अरु साथिहरुले पनि थपथाप गरेपछि महेन्द्र गले- दुइ वर्ष भयो, बनाउँदा बनाउँदा हैरान परेर बनाउँनै छोडिदिएको रे । अनि फेरी जोक शुरु भयो । रबीनका दाजुभाइले त पालै नदिने हत्तपत्त । गैडालाई र गोली हानेपछि तिन वर्षपछि मात्रै दुख्छ रे भने रबिनले । किन भनेको त उसको छाला बाक्लो हुनाले त्यो छिचलेर दुख्ने छालामा पुग्नै तिन वर्ष लाग्छ रे । 
 
dscf1935.jpg

 (देब्रेबाट सपनाजी र रबीनका जोडी)।

रबिन स्याङ्जालीहरुले छोरीको बिहे कसरि गरिदिन्छन भनेर पनि सुनाउँदै थिए । आफ्नी छोरीलाई कान्छी बनाउन सौतामाथि दिन्छन रे । त्यसपछि आफैले मुद्दा हालिदिन्छन रे आफ्नै ज्वाई बिरुद्द बहु विवाह गर्‍यो बनेर । त्यसो गर्नुको कारण चाहिँ धेरै श्रीमती भएपछि पाल्न गाह्रो हुन्छ भन्ने जानोस। आफ्नी छोरी भन्दा पछाडी अरु सौता नलागुन अनी ज्वाईलाई परिपक्का र बाठो बनाउन रे ।

स्याङ्जाली जोक त्यतिमै रोकिएन रबीनको । उनले सुनाए-
धेरै श्रीमती भएपछि मुद्दापनि परिरहने भयो । जेठी माइलीका सन्तानले अंश माग्ने भए । अनि झुक्क्याएर ल्याप्चे ठोकाउँछन भनेर बुढी औंला अन्य चार औंलामुनी लुकाएर सुत्ने गर्छन रे स्याङ्जाली ज्वाइँहरु । त्यति गर्दापनि निदाएको मौकामा ल्याप्चे लगाइदिएपछि त दुबै हातमा पञ्जालगाएर सुत्न थाले रे ।
 
जोक रोकिने छाँटकाँट आएन । रबीनले अरुलाई पालोपनि दिएनन । कुकुरहरु प्राय पर्खाल देख्नासाथ पिसाब गर्छन । उनले सोधे-किन त्यसरि पिसाब गर्छन त कुकुरहरु ? बैज्ञानिक कारण दियौं-अरुलाई आफ्नो उपस्थिती जनाउन, आफ्नो क्षेत्रको रेखांकन गर्न, पिसाबको गन्धले आफ्नो परिचय अरुलाई दिन । उनले फेरी सोधे-किन खुट्टा उचाल्छन त ? उत्तर दिन सकिएन । उत्तर उनी आफैले दिए-पर्खाल भत्किन्छ भनेर खुट्टाले रोक्नलाई । सबैले हाँसोका फोहोरा छुटाए ।

dscf1958.jpg

(१२ लिटरको बोत्तल बोक्ने कमल, खस्यो भने बर्बाद हुन्छ भनेर होला; हेर्ने चाहिँ महेन्द्र र मुनाका जोडी ) ।
महेन्द्र थरी थरीका वाइन, स्याम्पेन, हुस्की र जुत्ताका सौखिन रहेछन । साथीहरु सुनाउँदै थिए । “ए दाई, यो घरमा तपाई के खाने त्यहि छ, कहाँ सकिनु नी रक्सी त ” । त्यति भनेका कमल महेन्द्रले जम्मा पारेका थरी थरीका रक्सी यता र उती देखाउँदै थिए । महेन्द्रले राखेका  रहेछन एउटा अचम्मको वाईन । आठ वर्ष भयो रे किनेर राखेको । अब दुइ वर्ष पछि एक दशक पुग्छ अनि फोर्ने रे । किनभने वाइन जति पुरानो भयो उती मिठो मानिन्छ । वाइनको बोत्तलपनि बडा सुरक्षित तरिकाले उचाल्नुपर्ने । १२ लिटरको एउटै बोत्तल । खुब हेरियो । महेन्द्र त्यो एकदिन फोर्नु पर्छ सबै मिलेर त भन्ने रहेछन। तर कहिल्यै नफोरिने । राम दाई चाहिँ “यो फोर्न भनेर कति कोसिस गरियो, कति पटक आइयो, कति आँखा गाडियो तर सकिएन ” भनेर गुनासो गर्थे । यो फोर्ने दिन त जागिरबाट एक दिन बिदा लिएरै बस्ने हो पनि भन्दै थिए ।

तपाइँको प्रतिक्रिया