मैले सुन्दै आएका जादूमय कोइराला
राजनितिक नेताहरु प्राय एकाध बर्ष वर्चस्वमा देखापर्छन् । अनि ति सुस्ताउँछन्, अस्ताउँछन् । कि आफैं थाकेर, वाक्क दिक्क भएर बिश्राम लिन्छन् । कि त ति असाध्यै बदनाम भएर पाखा लाग्छन् । तर कोइरालाले बेला बेलामामा केहि उतार चढावबाहेक ६ दशक भन्दा लामो राजनितिक समयलाई आफ्नै सेरोफेरोमा घुमाईरहे । सानोतिनो क्षमता, चलाखि, ज्ञान र हिम्मतले त्यो पक्कै संभव छैन । के थियो त त्यस्तो क्षमता कोइरालामा ?
खासमा मैले कहिल्यै राजनितिक समाचारलाई मूल रिपोर्टिङको क्षेत्र बनाइन । म सधैं जिवजन्तु, ताल तलैया, चराचुरुङ्गी र प्राक्रितिक विषयमा केन्द्रित रहें । त्यसैमा चाख दिएँ । त्यसैमा सानोतिनो भएपनि आफ्नो पहिचान बनाएँ । त्यसैले राजनितिक पार्टी र तिनका नेतासित मेरो त्यति हिमचिम, चाख र ज्ञान रहेन । त्यहि भएर मैले नेपालका राजनितिक नेताका बारेमा उति टिप्पणी गर्न सक्ने हैसियतपनि नराखौंला ।
तरपनि राजनितिकलगायत अन्य विषयमा कलम चलाउने अन्य साथीहरुसित एकै थलोमा काम गर्दा, रिपोर्टिङ गरेको देखिन्थ्यो । कोइरालालाई भेटेर र अन्तर्वार्ता गरेर आएपछि तिनले उनीसितका प्रसंग सुनाउँदा चाख दिएर सुनिन्थ्यो । तिनले कस्तो लेखे भनेर पढिन्थ्यो । आफुले नलेखेपनि समग्ररुपमा देशको राजनितिबारे चाख दिइन्थ्यो नै । त्यहि साथ, सहयोग, सुने बुझेका आधारमा मलाई स्वर्गिय गिरिजाप्रसाद कोइरालाका केहि स्वभावबारे टिप्पणी गर्नु अन्यथा हुने छैन ।
कोइरालासित अन्तर्वार्ता गर्न असाध्यै मुस्किल थियो । साथीहरु कोइरालासितलाई अन्तर्वार्ताकालागि मनाउनुनै निकै ठूलो सफलता ठान्थे । पत्रकार भनेपछि बोलाई बोलाई अन्तर्वर्ता गराउने, रेडियो, टिभी र पत्रकारका वरिपरि ढल्किराख्ने नेता जस्ता थिएनन् उनी । त्यसको कारण के थियो भने उनी आत्मविश्वाशी थिए । उनमा आफुले गरेको काम, निर्णय र योजनामा आत्मविश्वास थियो । ठिक काम गरेपछि त्यसको प्रचारप्रसार आफैं हुन्छ, नतिजा सकारात्मकनै आउँछ भन्ने उनको द्रिढ विश्वास थियो ।
उनी कहिल्यैपनि अरुलाई साथ लिएर होइन कि आफु, आफ्नो संगठन र राजनितिक परिस्थितिका बारेमा एक्लै निर्धक्कक साथ प्रस्तुत हुन्थे । कहिल्यै घुमाउरो पाराले, कुरो चपाएर र तर्किने ढंगले जवाफ दिँदैनथे । अनूकुल परिस्थितिमा लाभ लिने र प्रतिकूल परिस्थितिमा तर्किने स्वभाव थिएन । अनूकुल होस् कि प्रतिकूल ति दुबै अवस्थामा उनी निर्धक्कले प्रस्तुत हुन्थे र जिम्मेवारी लिने गर्थे । त्यहि कारणले गर्दा पार्टीमा उनले शुरुदेखिनै वर्चस्व कायम गरे ।
संगठन बनाउन उनी त्यत्तिकै कुशल थिए । कार्यकर्तालाई निक्कै माया गर्थे कोइराला । जहाँ मनमुटाव छ, द्वन्द छ, गुनासाहरु छन् त्यहाँ निर्धक्कले जान्थे । कार्यकर्ताहरुका कुरा सुन्थे । जस्तोसुकै परिस्थितिमापनि म छु, तपाईहरु अगाडि बढ्नुस् भन्थे । जिल्ला जिल्ला भ्रमण गरेर पार्टीको तल्लो निकायसम्म भावना बुझ्ने कोसिस गर्थे । अप्ठेरा परिस्थितिहरुमा कार्यकर्तालाई साहस दिन्थे, जुधारु बन्न प्रेरित गर्थे । कार्यकर्तालाई माया गर्ने र जस्तोसुकै परिस्थितिमपनि साथ दिने उनको त्यहि स्वभावले गर्दा उनले आव्हान गर्नासाथ सारा कार्यकर्ता जुरुक्कै उठ्थे । खासगरि कार्यकर्तालाई फकाउन, फुर्क्याउन र काममा लगाउन, चित्त बुझाउन सक्ने जादूनै थियो उनमा । कुनै बिवाद, असन्तुष्टि, झैझगडालाई कसैले मिलाउन सकेन भने उनै पुग्थे ।
अनि महिला, वालवालिका, किसान, मजदूर जहाँ पुग्यो तिनको भावनासँग तालमेल मिलाउन सक्ने अनौठो क्षमता थियो उनमा । महिलाहरुलाई अवसर दिनुपर्छ, सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सोचपनि थियो उनमा । जसले गर्दा उनले आम महिलाहरुको भावनालाईपनि जितिरहे । त्यसैले उनी किसान कहाँ पुग्दा आफुपनि किसान को छोरो, मजदूर कहाँ पुग्दा आफुपनि पहिले दुख पाएको मजदूर बनेको बताएर तिनको भावना जित्थे । त्यसरि प्रस्तुत हुन उनको मजदूर आन्दोलनदेखिको प्रिष्ठभूमीले साथ दिएको पनि थियो ।
उनको अर्को सकारात्मक पक्ष के भने उनी स्वयं नीजि सम्पत्ती, ऐस आराम र मोजमस्तीका लागि डुबेनन् । नेपालका नेताहरुमा आर्थिक मामलामा शुद्द निकै कम देखिन्छन् । उनको पालामा आर्थिक काण्ड नभएका होइनन् नै । तरपनि कोइराला आधा दर्जन पटक देशको सर्बोच्च पदमा पुग्दापनि उनले आफ्नैलागि भने आर्थिक लाभ लिएनन् । उनकी छोरी सुजाता राजनितिमा आएपछि भएका केहि अनुचित आर्थिक घटनाले उनलाई आलोचित बनाएपनि उनको अधिकांश राजनितिक जिवनमा उनी अनुचित आर्थिक लाभबाट परै रहे । अन्तिम अवस्थासम्मपनि आफ्नालागि आर्थिक लाभ नलिइ जिवन भतिजका घरमा बिताए। अनि अन्तिम बिसौनी समेत छोरीको घरलाई बनाए।
कुनैपनि विषयका बारेमा आम कार्यकर्ता र पार्टी पंक्तिमा छलफल गराउने । तिनका तर्क ढुक्कले सुन्थे । तर आम कार्यकर्ता र पार्टीमा छलफल गराएरपनि एकल निर्णय गराउनसक्ने गज्जबको क्षमता थियो । उनमा आँट अदम्य थियो । जस्तोसुकै परिस्थितिमापनि उनी डगमगाउँदैन थिए । आफ्नो आस्था, बिचार र सोच अनुसार त्यसमा निर्णय गरेर अगाडि बढ्ने अदम्य आँट थियो । उनको त्यहि आँटकै कारणले गर्दा उनले अरु नेतालाई सधैं पछाडि पारिरहे । अरुका कुरा सुनेर ए ए भनेपनि आफुले जे सोच्यो, जे उपयुक्त ठान्यो त्यसलाई लागू गराउन सक्ने, निर्णय गर्न सक्ने हठि स्वभाव थियो ।
उनी भन्थे-म कहिल्यै पछाडि फर्केर हेर्दिन ।भूतकालको मूल्यांकन गरेर भविष्यकालागि केहि सिक्न नसकिने त होइन नै। तरपनि भूतकाललाई पछाडी फर्केर हेर्ने र अनेक तर्क बितर्क गरेर समय फाल्ने होइन कि सधैं अगाडि बढ्ने सोच थियो उनमा । बितिसकेका कुरामा किन अल्झिने भन्ने तर्कले होला उनी सधैं अगाडि बढ्थे । अगाडिका सफलता, असफलता र तागाराकाबारेमा सोच्थे । आफुले बोलेका कुरा गरेरै छोड्ने अडान उत्तिकै थियो । र उनी हाकै भन्थे- गिरिजाबाबु जे बोल्छ त्यो गरेरै छोड्छ। त्यहि कारणले गर्दापनि आम कार्यकर्ताहरुले उनलाई सधैं साथ दिए। कोइराला जे बोल्छन् त्यो गरेरै छोड्छन् भन्ने पार्टीको तल्लो तहसम्म बिश्वास थियो ।
उनमा जोखिम लिने क्षमता थियो । उनले राणा शासनदेखि पञ्चायति ब्यवस्थालाई हुत्याउने देखि देशमा गणतन्त्र भित्र्याउने बेलासम्म पटक पटक जोखिम लिए । नेपाली कांग्रेसको नीति अनुसार संबैधानिक राजतन्त्र हुँदा हुँदै पार्टी नीति बिरुद्द गएर उनले माओवादीसित देशमा गणतन्त्र ल्याउन सहमती गरे । यदि कोइराला जोखिम लिन आँट नगर्ने, साहशी र हठी स्वभावका नभैदिएको भए आफ्नै पार्टी नीति बिरुद्द गएर यत्रो निर्णय गर्न सक्ने थिएनन् ।
उनी कतिसम्म एकोहोरो र हठि थिए भने उनमाथि भारतीय सत्ताका अगाडि झुकेको आरोप लाग्दै आएपनि अन्तिममा शान्ति संझौतापछि भारतले उनलाई सत्तामा आउन दिन चाहेन । यो कुरो कोइरालाले स्पष्ठै बुझे । यो बुझेका कोइरालाले एक पटक सिधै भने-भारतले मलाई धोका दियो, मपनि देखाइदिन्छु अब भारतलाई। त्यसपछि उनले नेपालमा भारतीय चलखेल हुने देखेर अडान लिइराखे, त्यहि चलखेल रोक्न उच्च स्तरिय राजनितिक संयन्त्र बनाए । तरपनि भारतीयका अगाडि उनले आफ्नो अडान छोडेनन् । यसमा उनको केहि हदसम्म दूरदर्शितालेपनि काम गरेको हुनुपर्छ । माओवादीलाई शान्ति संझौताबाट लखेट्ने, देशमा फेरी रक्तपात मच्चाउने भारतीयको भित्रि मनशाय र योजनालाई अन्तिम अवस्थामा आइपुग्दापनि सफल हुन दिएनन । अन्तिम अवस्था सम्मपनि सहमती, सहकार्य र छलफल बाटै देशको हित गर्न सकिन्छ भन्ने मान्यतामा थिए उनी। जुन असाध्यै सकारात्मक सोच हो ।
कम्सेकम हाम्रा दल र नेताहरुले उनले नेत्रित्व लिएको राजनितिक संयन्त्रलाई सहि गती दिएर शान्ति संझौतालाई टुंगोमा पुर्याउन्, गणतान्त्रिक संबिधान संबिधान बनाएर देशलाई अब आर्थिक क्रान्ति गर्ने आधार स्रिजना गरिदिउन् । यहिनै कोइरालाप्रतिको सच्चा श्रदान्जली हुने छ !!!!!!!




