यूरोपमापनि कहाँ रहेछ त महिलाको स्थान ?
-शुसिला राना मगर / अष्ट्रिया
म अष्ट्रिया आएको डेढ वर्ष भयो । यो डेढ वर्षमा मैले थुप्रै संघ संस्थासँग समन्वय गर्ने, वातचित गर्ने मौका पाएको थिएँ । तर यहाँ चाहिँ मैले महिलाहरु प्रति कस्तो धारणा र अवस्था पाएँ त भनेर छोटो चिन्तन मनन गर्न चाहन्छु । म बिद्दार्थी भएकाले म बिद्दार्थीकै विषयतिर केन्द्रित हुन चाहन्छु । म गएको एउटा कार्यक्रममा महिला र पुरुष सबै मिश्रित थिए । एउटा संस्थाको चाहिँ चार जना प्रमुख ब्यक्तित्वहरु त्यहाँ हुनुहुन्थ्यो । त्यो चार जना मध्ये तिन जना महिला र एक जना पुरुष। त्यो चाहिँ यूरोपको एउटा संस्था हो । विशेष त अष्ट्रियाको हो जहाँ चाहिँ महिला र पुरुष बराबर हो भनेर कानुनत लेखिएको छ । त्यसैले यो देशमा कस्तो रैछ त महिलाको अवस्था भनेर थोरै विश्लेषण गर्न चाहन्छु ।
उनीहरुमा निर्णायक तहको चार जनामा एक जना पुरुष हुँदा कार्यक्रम सकिएपछि अनौपचारिक तरिकाले छलफल गर्न बस्यौं । अनि त्यहाँ भएको पुरुषले भन्नु भयो “हामी चार जना छौं निर्णय तहमा तर यहाँको निर्णय चाहिँ म एक्लैले गर्छु । ” यहाँको थुप्रै काममा त्यो झल्किन्छपनि । पुरुष चाहिं हैकम चलाउने (डोमिनेटिङ) हुन्छ । यहि यूरोपमा हामीले हेर्यौं भने यूरोपमा वर्षौं वर्ष देखि महिला पुरुष बराबरी भन्दै अभ्यास गरेर आईराखेका हुन् । तर यहिँपनि यस्तो छ भने हाम्रो नेपाली समाजमा त महिला पुरुषबिचमा भेदभाव छ भन्छौं भने त्यस्तो समाजमा कस्तो होला, कति भेदभाव होला ? हामी कल्पना गर्न सक्छौं ।
अब विश्व विद्यालयको कुरा गरौं । हुन त कस्तो पेशा भन्ने कुरालेपनि फरक पार्छ होला । त्यो विश्व विद्यालयले धेरै क्षेत्रलाई समेटेको छ जहाँ म अध्ययन गर्छु । वन बिज्ञानमा म पढ्ने भएकोले त्यो विश्व विद्यालयमा मैले २५, ३० जना प्राध्यापकको कक्षा लिने अवसर पाएँ । तर त्यसमा मैले जम्मा एक जना मात्रै महिला पाएँ । त्यो स्तरमा पुग्ने महिला एक जना त्यहिपनि सह प्राध्यापिका । तब तपाइहरु भन्नुस्, महिलाहरुको स्थान कहाँ र कुन अवस्थामा रहेछ यहाँ ? अरु देशको म भन्न सक्दिन । तर अष्ट्रियामा चाहिँ कहाँ रहेछ त महिलाहरुको स्थान ? यूरोपमा त यस्तो छ भने नेपालमा कस्तो होला त ?
त्यसैले महिला हक हित र समानताका कुरा कानुनमा मात्रै भएर नहुँदो रहेछ । कार्यान्वयन तहमा पनि तदारुकताकासाथ लैजानु पर्छ । र हामीले गरेको काम कत्तिको सफल भाएको छ भन्ने अनुगमन र मूल्यांकनपनि उत्तिकै गर्नुपर्छ भन्ने मलाई लागेको छ ।
म एउटा बिद्यार्थीको अर्को उदाहरण दिन चाहन्छु । म त्यतिखेर भिसाको लागि भिसा काउन्सुलरकहाँ गएको थिएँ । त्यहाँ एक जना महिला आउनु भयो । उहाँले एकदम राम्रो छात्रब्रित्ती पाउनुभयो । त्यो चाहिँ एकदमै प्रतिस्पर्धी विद्यार्थीले मात्रै पाउँछ । तर बिडम्बना के भने उहाँ चाहिँ बच्चाको आमा हुनुहुन्थ्यो । अनि बच्चाको आमाले “मेरो बच्चा सनो भएकोले सँगै लान चाहन्छु ” भनेर सोध्नु भयो त्यहाँको संबन्धित प्रशासकसँग । अनि प्रशासकले भन्यो “ल छान्नुस्, बच्चा कि पढाइ” ।
तपाईहरु भन्नुस त के भन्थिन होला ति महिलाले अब ? बच्चा अवश्यै । किनभने एउटा आमाको लागि बच्चा भन्दा ठुलो अरु केहि हुनै सक्दैन । उहाँले बिदेशमा पढ्न पाएको छात्रव्रित्ती छोडेर बच्चा हेरेर बस्नुभयो । ल भन्नुस त चुनौती कहाँनिर रहेछ त अब ? यदि त्यो ठाउँमा पुरुष भैदिएको भए उहाँले त्यो समस्यालाई सहर्ष स्विकार गरेर पढ्नुहुन्थ्यो वा त्यो समस्यानै पर्दैनथ्यो । त्यो चाहिँ महिलाको लागि समस्या हो । हामीले यस्तो समस्यालाई सिधै हल गर्न सक्छौं भन्न सक्दैनौं । तर यस्ता समस्यालाई कहाँबाट हुन्छ । कुन निकायलाई छोएर हुन्छ सायद हामीले अगाडि बिचार गर्नुपर्छ होला । म आफु बिद्यार्थी भएकोले एउटा महिला बिद्यार्थीले भोगेको समस्या यहाँ उजागर गर्न चाहेको हो ।
महिलाहरुलाई घरभित्र मात्रै सिमित गर्ने होइन । अब महिलाहरु अगाडि बढ्नुपर्ने समय आएको छ भनेर अगाडिका बक्ता साथीहरुले निकै राम्रा कुरा राखेर जानु भएको छ । जस्तो हामी शास्त्रका कुरा गर्छौं कि महिलाहरु लक्ष्मी भनेर । तर महिलाहरु लक्ष्मी होइन की महिलाहरु सशक्त भएर काँधमा काँध मिलाएर काम गर्न सक्नुपर्छ, सक्छन् । महिलाहरुले बाहिरको काम गर्दा दुखिको जिवन होइन कि हामीले हाम्रो अस्तित्वको लागि गरेका छौं भनेर बुझ्नुपर्यो ।
यस्ता आवाजहरु यस्तो हल भित्र भएका डेढ सय जनामा मात्रै होइन कि हाम्रो देशका डेढ करोड जनतामा पुग्न सक्नुपर्यो । हामी यति जागरुक छौं, अब हाम्रो परिवर्तन् गर्ने ठाउँ छैन होइन कि हामीले परिवर्तन गर्ने ठाउँ धेरै छन् भन्ने बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।
एउटा रुख राम्रो बनाउनको लागि वरिपरिको वातावरण मात्रै होइन कि रुख आफैंमापनि वातावरणसँग लड्न सक्ने क्षमता चाहिन्छ । त्यसैले हामी महिलालाई अरुले गर गर गर मात्रै होइन कि हामीलेपनि आत्मबल निकाल्नुपर्छ । र हामीलेपनि यो चिजलाई यसरि गर्न सक्छौं भनेर अगाडि ल्याउन सक्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले हाम्रो समाज पूनर्संरचनाकोलागि हामीले जिम्मा लिँदै एकजुट भएर अगाडि बढ्नुपर्छ । र परिवर्तन उ बाट होइन, अरुलाई देखाएर होइन कि आफैंबाट गर्नुपर्छ भन्ने भावना बोक्नुपर्छ ।
(गत सालको मार्च ८ मा पेरिसमा भएको प्रथम यूरोपस्तरिय महिला सम्मेलनमा अष्ट्रियाबाट प्रतिनिधित्व गर्दै आएकि रानामगरले सम्मेलनमा राखेका बिचार । आज बेल्जियमको एन्त्रोपेन शहरमा दोस्रो यूरोप स्तरिय महिला सम्मेलन भइरहेको छ । त्यहि सन्दर्भलाई पारेर रानामगरले गत साल ब्यक्त गरेका बिचारहरुलाई यहाँ स्थान दिईएको हो-नेपालप्लस ) ।





