डेनमार्कको सडकमा “झण्डीवाल” नेपाली
डेनमार्कको राजधानी कोपनहेगनमा हरिया नोट कट्कटाउँदै गनौंला भन्नेका सपना राम्ररि खान पनि नपुगेर दूर्घटनामा परेका छन् । डिग्री गर्ने आकांक्षा चकनाचुर भएका छन् । बाबु आमा र परिवारका आशाहरु चुडिएका छन् । खुट्टा हल्लाउँदै कुर्सीको काम गरौंला, विश्वबिद्यालयमा हल्ली हल्ली अध्ययन गरेर फर्कौंला भन्नेहरु अहिले सडकका किनारामा पुगेका रहेछन् । त्यस्तै अनेक अभिलाशा बोकेर पुगेकाहरुले गर्ने के ? गतिलो काम त्यहिँका नागरिकलाई पुगेको छैन । अरु काम गर्नपनि नेपालीलाई त्यहाँको डेनिस भाषा आउँदैन। नेपालमा निक्कै पढेको भनेपनि आङ्ल भाषाको हालत उहि हो कपाल कन्याउँदै काम चलाउ बाहेक हुँदैन । भाषा सिक्नपट्टी लागौं यूरोप छिर्दा काढेको ऋणको संझनाले सताउँछ । त्यहिँ बसेरपनि खाने के ? अनि तिनले गर्ने एउटा कम रहेछ बिच बाटोमा बसेर झण्डा उचाल्ने ।
यो पर्यटिक घुइँचो लाग्ने सडक भएर हिँड्दा यि दुई नेपाली एक आपसमा कुरा गर्दै थिए । तर जब हामीलाई देखे तब गलबन्दिले मुख छोपेर नचिन्ने बने । सायद कोहि चिनेको मान्छेले देख्ला र सडकमा यस्तो काम गरेको भन्ने पर्छ भनेर पो हो कि !! त्यहाँ कोपनहेगनमा यस्तो झण्डा जस्तो प्लेकार्ड उचालेर बस्ने भएकोले नेपालीहरुले “झण्डीवाल” भन्ने रहेछन् ।
यो दोस्रो तस्बिर चाहिँ भारतीय वा पाकिस्तानीको हो । टाउको निहुर्याउँदै “अरे भाइ, जि हें” गर्दै मोबाइलमा कुरा गर्दै थियो यो मान्छे । भाषा नजान्ने, काम गर्ने र बस्ने कानुनी कागजपनि नभएका नेपाली,भारतीय, पाकिस्तानी र बंगालीलेहरुले त्यहाँ पाउने एउटा काम रहेछ, बिभिन्न रेष्टुरेन्ट, पसल र नाक कान छेड्ने बिज्ञापन लेखिएको झण्डा जस्तो ठुलो प्लेकार्ड बोकेर सडकमा बस्ने । त्यो पसल जता छ त्यता एरो फर्काएर उभिने र ग्राहकलाई देखाउने । यस्तो काम गर्न कुनैपनि भाषा जान्नु परेन । स्वदेशीले हत्त पत्त कम तलब पाइने, चिसो, घाम, पानी र हिउँमा उभिएको उभियै गर्ने यो काम गर्दैन । त्यसैले नेपाली, पाकिस्तानी, बंगाली र भारतीयले गर्ने रहेछन् ।







