नेपालीले छोड्नथाले, बिदेशीलाई प्यारो

nepali-community-in_paris-nepalplus_com.jpg

हामीलाई फलामको ताईमा पकाएको गिलो रोटी (पानी रोटीपनि भन्छन क्यारे) मन पर्दैन । तर त्यसैलाई बिदेशीले पान केक भनिदिएपछि हारालुछ चल्छ । भुटेको मकै र भटमास पाखण्डीले खाने ठान्छौं। तर बिदेशी रेस्टुरेन्टमा पप कर्न भन्दै डालीमा ल्याएपछि बल्ल मन पर्छ । भट्टि भन्दा जँड्याहाको थालो ठान्छौं तर बार भन्नासाथ प्रिय लाग्छ । अंग्रेजी भाषा नमिसाइ बोले त अशिक्षित र पाखेनै बनिन्छ। हाम्रा पुर्खाले गर्दै आएको योग झण्डै लोप हुन लागेको थियो । बिदेशीले त्यसैलाई योगा भनिदिएपछि बल्ल हामि त्यसको पछाडी कुद्दै छौं । त्यसैले त हामीले छोडेका सबै कुरा बिदेशीले सिक्दै छन । हाम्रा ज्ञान, तथ्य, संस्क्रिति र संस्कार बिदेशीलाई प्यारो लाग्दै छ र त उनीहरु हाम्रोतिर बाट भकाभक ओसार्दैछन आफ्नोतिर । नपत्याए यो तस्बिरमा राम्रोसित हेर्नुस त यि बिदेशी कसरि खाँदैछन नेपाली दालभात ?
 
तस्बिरमा पेरिसस्थित अशोक न्यौपानेको घरमा १४ नोभेम्बर २००६ का दिन हामी खाना खाँदै थियौं । त्यो दिन नेकपा (एमाले) का बिदेश बिभाग प्रमुख भिम रावल (तस्बिरमा दाहिने तिर सबैभन्दा पल्लोपट्टि) पनि थिए। भिम रावलसँगको सानो राजनितिक जमघट सकिएर खाना खाँदै थियौं । त्यहाँ एक जना फ्रान्सेली टुप्लुक्क आइपुगे । उनको नाम रहेछ फ्रेदेरिक प्रिओरे ( देब्रेपट्टिको फोटोमा  शुरुमै)  । उनको संस्थाको नाम रहेछ आसोसियासियो  अँ फँ द तु पेई । बिदेशमै भएपनि घरमा आइसकेपछि नेपालीहरु पाहुना भनेपछि सत्कारनै गर्न खोज्छन अझैपनि । कम्सेकम नेपाली संस्कार रुचाउनेहरुले भन्नु पर्‍यो। उनीपनि हामीसँगै खाना खाने भए।
 
उनी नेपाललगायत अन्य मुलुकका असहाय वालवालिकालाइ सहयोग गर्ने रहेछन । नेपालमा सहयोग लैजाने क्रममा बिभिन्न प्रशासनिक झमेला पर्ने गरेकाले रावलबाट भविष्यमा केहि सहयोग पाइन्छ कि भनेरपनि उनी आएका रहेछन भेटघाटगर्न । खाना खाने बेला भएपछि भिम रावलले काँटा र चम्चा मागे “मलाई त काँटा चम्चाले सजिलो लाग्छ” भन्दै । अरुले त हातैले खान खोजेकै थिए । काँटा र चम्चा ति बिदेशीलाई दिइयो हातले खान जान्दैन भन्ने ठानेर । तर त्यो अनुमानलाई उनले गलत साबित गर्दै भात नेपाली चलन अनुसार हातैले खानुपर्छ भन्ने देखाइदिए।

“होइन म पनि हातैले खान्छु। दाल भात त हातले नखाए खास स्वाद नै हुँदैन, खाएको जस्तै हुँदैन” भन्दै काँटा र चम्चाले खाने संस्कार रहेका उनले भकाभक हातैले खाए । र सबैलाई रमाइलो पारिदिए । तर हातैले खाने बानी र संस्कार रहेको हाम्रो देशका प्रतिष्ठित नेता भिम रावल भने काँटा चम्चाले सजिलो लाग्छ भन्दै थिए ।  अनि मलाई यसो लाग्यो-कतै हामीले काँटा र चम्चा खोज्ने, पश्चिमाहरुले हातैले दन्काउने। हामी सिसाका गिलास (ग्लास) खोज्ने, यिनिहरु क्लक क्लक पार्दै करुवाले ठाडो घाँटी लगाएर पानी पिउने, हाम्रा चरेस र स्टिलका थालमा यिनिहरुले खाने, हामी चाहिँ माटाका साँघुरा प्लेट खोज्दै हिँड्ने त हुने होइन बिस्तारै ?

तपाइँको प्रतिक्रिया