नमस्ते गरेका घर हेर्दै जर्मनीको यात्रा
गत हप्ता केहि अन्तर्वार्ता लिनकै लागि भनेर जर्मनीको सुदूर पूर्वी भाग पुगियो । त्यहाँका कहिल्यै नदेखिएका, नजानिएका मित्र नेत्रप्रसाद पौडेलले बिजुली पत्रमार्फत निम्तो दिएका थिए गत दशैंमै । त्यति बेला म पुस्तककै लागि अन्तर्वार्ता लिन भनेर गएको प्रसंग नेपालप्लसमा देखेपछि उनले आफ्नो क्षेत्रमापनि अन्तर्वार्ता लिन लायक केहि पात्र रहेको जानकारि दिँदै निम्ता दिएका थिए। त्यो बेला म अष्ट्रियाको राजधानी भियनामा थिएँ । अहिले मेसो मिल्यो । अनि यस्सो विमानको टिकटका लागि चक्कर मारेको मुस्किल पर्यो सस्तो पाउन । फेरी रेलको टिकट बुझेको त रातभरि लगाएर जाँदापनि जाते आते झण्डै ४०० यूरो रे ।
म नेपालकालागि केहि होला भनेर नेपाली भाषामा पुस्तक लेख्न भन्दै आफ्नो पैसा खर्चेर जान लागेको। त्यत्रो पैसा कसरि तिर्ने एउटै शहर पुग्नैकालागि ? अनि गईयो बसमा १७ घण्टा लगाएर । बसमा जम्मा १०० यूरो बर्लीनसम्म पुगेको र बर्लिनबाट पेरिससम्म आएको । बर्लीनबाट फेरी उता लाइपजिख भन्ने ठाउँमा पुग्न १७२ किमी जति रहेछ । यात्रा लामो हो बसको । तर त्यहि लिनुको बिकल्प भएन ।
बर्लिन त पुगिने भयो, त्यहाँबाट लाइपजिख पुग्ने कसरि ? केमा ? कति तिरेर ? ईन्टर सिटी एक्सप्रेस भन्ने त्यहाँको छिटो दौडिने रेलमा एका तर्फीकै करिब ४० यूरो पर्ने रहेछ । आउन जान पर्ने भो ८० यूरो । योपनि महँगो भयो । “ददिजी तपाई यत्रो शहर घुम्नेले कसरि यत्रा यत्रा पैसा तिर्ने हरेक शहरै पिच्छे ? म खोज्छु सस्तो बिकल्प” नेत्रजीले आस्वासन दिए । त्यहाँ के सुबिधा रहेछ भने शनीबार ३७ यूरो तिरेपछि पाँच जना यात्रा गर्न पाइने रहेछ । शनीवार पारिवारिक घुमघाममा जान सरकारले त्यस्तो ब्यवस्था गरेको रहेछ । लाइपजिख बस्ने आफ्नी प्रेमीकालाई भेट्न जाँदै गरेका एक यूवकसित (सेबास्तियाँ भन्थ्यो उ आफ्नो नाम ) । ईन्टरनेट मार्फत सम्पर्क गरेर उसको टिकटमा जम्मा १० यूरो तिरेर त्यहाँसम्म पुग्ने ब्यवस्था मिलाईदिए नेत्रले । कस्तो गज्जब !! बर्लिनको बस पार्कबाट फेरि त्यो रेल स्टेशन पुग्नै आधा घण्टा लाग्ने रहेछ । दुई पटक भूमिगत रेल बदलेर झोला घिस्याउँदै जाँदापनि पुगें ९।३० तिरै । । उ आउने थियो रेल स्टेशनमा ११।३० मा । अब कहाँ जाने दुई घण्टा ?
जर्मनीमा एउटा के नराम्रो रहेछ भने त्यस्तो चिसोमापनि रेल स्टेशन भित्र हिटर नहुने । यस्सो कतै जाउँ उ आएर खोज्ला र नभेटे अर्को मान्छे लैजाला । वा छोडिदेला । खाली विश्वासकै भरमा हो, अग्रिम केहि दिएको छैन। स्टेशनबाट उसको नम्बरमा फोन गरेर “म तिमीलाई पर्खेको छु । तिमिले भनेकै रेल को त्यहि नंबरमुनी” भनें। उसले “हुन्छ” भनेपछि ढुक्क भएँ । तैपनि धुकचुक धुकचुक भयो मन र कतै नगई त्यहिँ उभिरहें । अनि त्यहिँ चिसो खाएर बसें । यस्सो किताब पढ्छु भनेर निकालेको त हात कठ्यांग्रिएर के झिक्न सक्नु !
एक घण्टा १० मिनेटको रेल यात्रापछि पुगियो लाईपजिख । नेत्रजी म उत्रिएको केहि बेरमै टुप्लुक्क देखा परे । त्यो त पूर्वी जर्मनी रहेछ जहाँ पहिले कम्युनिष्टहरुको शासन थियो । पूर्वी र पश्चिम जर्मनी भनेर बिभाजित त्यति बेला । अनि यो लाइपजिख शिक्षाको क्षेत्रमा जर्मनीमा निकै प्रसिद्द ठाउँ रहेछ । कलकारखानाहरु पूर्वी र पश्चिमी जर्मनी एकै भएपछि पश्चिम क्षेत्रतिर हिँडेछन् बढि नफा हुन्छ भन्दै । त्यहि कारणले यहाँ अहिले जागिरकालागि अलि गाह्रो रहेछ ।
विकास र प्रविधीमा पछाडी परेको पूर्वी जर्मनीलाई जर्मनहरुले निक्कै मेहनत गरेर विकास गर्दै रहेछन् । ठाउँ ठाउँमै देखिन्थ्यो- विशाल भवन बनाउँदै गरेको, सडक बनाउँदै, कतै फराकिलो पार्दै त कतै अन्य प्राविधिक काम गर्दै रहेको । कम्युनिष्ट शासनका बेला यहाँ निक्कै विशाल विशाल घरमा बस्ने रहेछन् मानिसहरु । ठूला भवनमा धेरै परिवार बस्ने । भवनै पिच्छे गाउँ जस्तो । त्यो संस्कार अझै रहेछ यो ठाउँमा ।
नमस्ते गरेका घर
अनि यो ठाउँमा अति धेरै पर्ने रहेछ हिउँपनि । बाटोमा जाँदा जाँदै म त छक्कै परें । सडक भरि पुरै हिउँनै हिउँ । रुखमा पुरै सेताम्मे हिउँ नै फले जस्तो । गाडीको छतमा पुरै हिउँले गर्दा हिउँको थुम्को हिँडे जस्तो लाग्ने । त्यहि भएर हिउँ जमेर घरको छत नलच्कियोस, छानो नभत्कियोस भनेर यहाँका घरहरुले नमस्ते गर्छन् भनेर सुनाए नेत्रजीले । यूरोपमा हिउँ खसोस भनेर छाना घोप्टिएका हुन्छन् अधिकांश घर । अनि यो लाईफजिखका घरका छाना झन बढि कोप्रिएका हुने रहेछन् बढि हिउँ पर्ने भएकोले होला । नेत्रजी त्यसलाई नमस्ते गरेका घर भन्दै हसाउँथे ।
(कम्युनिष्ट शासनकालकै यस्तै छोटा रेल गुडेको देख्न पाइन्छ अझै)
पश्चिम जर्मनीको तुलनामा पुर्याउन जर्मन सरकारले यहाँ तिब्रताका साथ विकास निर्माणका काम गरेपनि पुराना संरचना प्रशस्तै देख्न पाइन्थ्यो । त्यतिबेलाकै मसिना रेलहरु (ट्राम) गुडेको देखिन्थ्यो । भवनहरुपनि सबै भत्काउने कुरै भएन । जर्मनीको अन्य भागमा भन्दा यहाँ विशाल विशाल भवन देखिन्थे । हिउँनै हिउँले गर्दा उराठ देखिन्थ्यो ठाउँ । रुखमा पात छैनन् । वस्ति पुरै हिउँको कब्जामा छ ।
मानिस हत्त पत्त निस्कँदैनन् काम नपर्दा । अनि के रमाइलो हुने ? नत्र यो लाईफजिख सन् २०११ मा भ्रमण योग्य विश्वकै ३५ ठाउँ मध्ये एक गन्तब्यस्थलमा परेको रहेछ । यो शहरको बनावट र संरचना सुन्दर रहेछ र नै त्यो कोटीमा परेको रहेछ ।
एउटा अतिनै ऐतिहासिक ठाउँ के रहेछ यहाँ भने नेपोलियनले युद्द त्यागेको घोषणा यहिँबाट गरेका रहेछन् । भोल्केर्स्लाख्त डेंकमाल (Völkerschlachtdenkmal) भनिने यो स्मारकमा आएर युद्द अन्त्य भएकैले यसलाई मोनुमेन्ट टु द ब्याटल अफ द नेशन भन्ने रहेछन् । यो स्मारक यूरोपकै सर्वाधिक ठुलो रहेछ । यो स्मारकले खासगरि नेपोलियनले लाईपजिखमा हार खाएको र जर्मनहरुको बिजयको प्रतिक रहेछ । शनीबार त पुग्नै ठिक्क भयो। त्यसदिन त्यहाँका एक विशेष कथा बोकेका नेपाली रामु भुसालसित अन्तर्वार्ता गरें। भोलि पल्ट आईतवार त्यहि डेंकमाल हेरियो ।
(त्यहि डेंकमाल जाँदा बाटोमा देखिएको हिउँनै हिउँ ठड्याएर बनाइएको मानव आक्रिति) ।
बाघ र गैंडाले जुराएको जोडी
(माथिल्लो तस्विर विष्णु पाठक र तल्लोमा उनैकी पत्नी र छोरो)
डेंकमाल घुमाइदिने र त्यस रात आतिथ्य दिने काम विष्णु पाठ्कजीले गरे । उनकी पत्नी रहिछिन जर्मन नागरिक । क्रिष्चिन पाठक । चार वर्ष जति भएछ विष्णुजी यता आएका बिहेवारी भएर । उनकी पत्नीसित गफ हुँदा सोधें-कहाँ भेट भयो यस्तो जोडी ? हाँस्दै भनिन-चितवनमा । चितवनमा उनी बाघ, भालु, गोही र चरा हेर्न अनि हात्ती चढ्न गएकि । तर जिवनमा कस्तो उपहार पाइन ? सिंगै नेपाली जिवन साथी । त्यहिँ उनीहरुको देखाभेट, चिनजान र मन मिल्यो । अनि माया प्रिती र प्रेमको गाँठो कस्सिँदै, झ्यांगिँदै गयो । हुँदा हुँदा बिहेवारीमै बाँधिए। मैले क्रिष्चिनलाई भनें-तपाईका जोडी त बाघ, भालु र हात्ती गैंडाले जोराइदिएका रहेछन् हगि ? चित्त घमाईलो भएछ मज्जाले हाँसिन उनी । ओहो चितवनका ति बाघ भालुले कतिको जोडी मिलाइदिएको होला हगि यसरिनै ?
(पुस्तकको आकारमा बनाएको भवन। पहिले यो त्यहि लाइपजिख विश्व बिद्यालयको भवन रहेछ । अहिले विश्वविद्यालयले त्यहिँको एमडी आर रेडियोलाई बिक्रि गरेको रहेछ । जे होस बेचेपनि अर्को शिक्षाकै भण्डारलाई दिएछ ।)
सोमबार त अन्तर्वार्ता लिनु थियो । नेत्रजीले साथ छोड्ने कुरै भएन । त्यहाँ एउटा अनुसन्धान गर्ने संस्था रहेछ लाइपजिख विश्व बिद्यालयमा नेपाल संबन्धि । उनीहरुले नेपालका राई, लिम्बुका भाषामा अनुसन्धान गर्दै रहेछन् । हाम्रा तिनै जनजातिय भाषा लगायतका विषयमा यूरोप भरिनै चर्चित प्राध्यापक बाल्थासार बिकेल सित अन्तर्वार्ता लिईयो । उनको नेपालका भाषा, नेपालमा कस्ता भाषालाई कसरि संरक्षण गर्ने, प्रान्तिय राज्यमा कस्तो नीति बनाउने, जातिय राज्य बनाए कस्ता समस्या आउँछन्, त्यस्ता समस्याका समाधान कसरि गर्न सकिन्छ भन्ने बाँकि विश्वका उदाहरण दिई दिई ब्याख्या गरे । नेपालको विषयमा निपुँण रहेछन् उनी । नेपालको विषयमा उनको ज्ञान देखेर म छक्कै परें । यसको बारेमा म केहि लेख आगामी दिनमा लेख्ने नै छु ।
मेरो अन्तर्वार्ताको अर्को पात्र थीइन डायना स्शाक्को । उनी फेरि याक्खा भाषामा लिप्त । त्यहि भाषाको अनुसन्धानमा लागेकि । ति दुई जनासित अन्तर्वार्ता गरें । अनि भाषा संबन्धि त्यहाँको अनुसन्धान गर्ने थलो हेरियो। यहाँ दुई दिनमै देखे भेटेका धेरैनै चाखलाग्दा सामाग्रि भए । तिनको बारेमा फेरी फेरीपनि लेख्नु छ ।
(दाहिनेपट्टी भुसालजीको र देब्रेतिर नेत्रजीको परिवार। यो लाईपजिख शहरमा करिब १५, १६ जनाजति मात्रै रहेछन् नेपाली)।
मैले यहाँ भेटेका यि नेत्र जी र भुसालनै एकदम प्रेरणादायी पात्र रहेछन् । यिनको अनुभवबाटपनि धेरैले पाठ सिक्न सक्छन् । त्यसका बारेमा लेख्दै गरौंला । आजलाई चाहिँ यतिमै बिटमार्ने हो की !!!














