वस्तीभरि लटरम्मै हिउँ
-ददि सापकोटा
नेपालका पहाडी जिल्लामा अहिले हिमपातले जनजिवन ठप्प पारेको छ । त्यस्तैगरि हिमपात भएको थियो अघिल्लो साता यूरोपभरिनै । बाटाघाटा निकै बन्द भए । साराका सारा हिउँ, सेताम्मे । कतै हिउँकै वस्तीमा मान्छे पो झुक्किएर पुगे जस्तो । हिउँले बाटोलाई कब्जामा लिएर कतै सवारि साधन बाटोमै थुनिए । कत्रै यात्रुको बिचल्ली पर्यो । हिउँमा चिप्लिएर दुई वटा ट्रक जुध्दा मपनि फ्रान्स र बेल्जियमको सिमा क्षेत्रमा तिन घण्टा भन्दा बढि थुनिएँ । तर हिउँ सबैका लागि सधैं कष्ट मात्रै भने होइन यूरोपमा । क्रिशमसको पूर्व सन्ध्यामा सधैं हिउँ पर्ने मान्यता छ क्रिष्चियालीहरुमा । हिउँ परेको वर्ष शुभ ठान्ने र रमाउनेहरुपनि हुन्छन् निकै । यहि हिउँ परेको मौका पारेर यहाँका हिमाली भागमा हिउँमा खेल्नेहरुको भिडले पर्यटन ब्यवशाय निकै चम्कन्छ । त्यहि हिमपात भएका बेला खिचेका केहि तस्बिर हेर्नुस है त ?
रुखमा यसैगरि लटरम्मै हिउँ परेको जस्तो देखिन्थ्यो ।
वास्तवमा यो सानो भुईको झाडी हो । क्यामरामा चलाखि गरेर खिच्दा ठूलो रुख जस्तो देखिएको हो । भूईका यस्ता सबै झारपात हिउँमय थिए ।
हिउँनै हिउँले ढाकिएको एउटा फूलवारी । राती क्यामराको प्रकाश नबालीकन खिच्दा यस्तो देखिने रहेछ ।
ठ्याक्कै अघिल्लो तस्बिर हो । तर त्यहि तस्बिर यसमा क्यामराले प्रकाश दिएर खिच्दा यस्तो देखिने रहेछ ।
हिउँनै हिउँले ढाकिएको जमिनपछि देखिएको एउटा वस्तीलाई क्यामराले बत्ती नबाली रातको अँध्यारोमा खिच्दा यस्तो सुन्दर देखिने रहेछ ।
हिउँनै हिउँले ढाकिएको एउटा घर
नहरको दायाँबायाँ चारैतिर हिउँले ढाकिएपछि जाने कहाँ ? खाने के ? यस्तो बेला खाने कुराको खोजीमा केहि निलसर (नेपालीमा निलटाउनेपनि भनिन्छ र आङ्ल भाषामा Mallard Ducks) चरा पानीमै धुइँपत्ताल लगाउँछन्। जाडो मौसममा यूरोपको चिसो छल्न र उपयुक्त वासस्थान खोज्दै यि चराकै केहि प्रजाती नेपालसम्म बसाई सर्छन् । अनि जाडो याम सकिएपछि पुन: यतैतिर फर्किन्छन् । नेपालदेखि यूरोपको दूरी कम्तिमा ७००० किलोमिटर पर्छ ।
हिउँ परेर जमिन पुरै ढाकिएका बेला माथि आकाशमा सायद बसाईसराई गर्दै हाँस प्रजातीका चरा । हाँस प्रजातीहरु यसरि अङ्रेजी अक्षर भि (V) जस्तो बनाएर उड्छन् । यसरि उड्दा अघिल्लो भागमा उड्नेले हावाको बहाव केहि रोकिदिने हुनाले पछिल्लालाई कम शक्ति लाग्छ र सजिलो हुन्छ । त्यसैले अघिल्लो पंक्तिमा बलिया र बढि अनुभवी रहेका हुन्छन् । पछिल्लोमा कमजोर र हुर्कँदो उमेरका ।
सडक छेउको एउटा नहर पुरै हिउँको कब्जामा । राति सडक बत्तीको भरमा खिचिएको हो यो तस्बिर क्यामराको बत्ती प्रयोग नगरि ।
भुइँमा जाउँ पुरै सेताम्मे, रुखमा पनि सुख नपाउनु ?: हिउँ पर्न रोकिएका बेला फलफूल खोज्न हतारिएका चरा चिसोले कठ्यांग्रिएर चुपचाप ।
फोटो खिच्ने हो ? : हिउँले सडक ढाकेर हिँड्न र सवारी चलाउन मुस्किल परेपछि हिउँ सफा गर्दै एक डच नागरिक ।
यस्तरि साराका सारा वस्तीलाई कब्जामा लिन सक्ने नाथे हिउँ कसरि पर्दो हो ? जिज्ञासा त हो नि ! हिउँ परिरहेका बेला क्यामरालाई आकाशतिर फर्काएर क्लिक्क गर्दा त तारामण्डल जस्तो पो देखिने रहेछ ।
यि तस्बिरसहित सबै मित्र, पाठक, शुभचिन्तक र सहयोगिहरुलाई नयाँ वर्षको शुभकामना !!!!!!!!!!! !!





