जनावरको जुनीबाट मान्छे बनाएपछि बिहेकालागि पक्का

-रुपेन्द्र कर्माचार्य / चितवन

photo10[1]

उपरदाङगढि क्षेत्र । चितवन भएपनि धेरैलाई यो चितवनमा पर्छ भन्ने हेक्का हुँदैन। चितवन समथर र विकसित ठाउँमा पर्छ भन्ने सोच्छन् धेरैले । तर यो उपरदाङ गढि कुनै पहाडी जिल्ला जस्तो लाग्छ । यहि क्षेत्र घुम्न जाँदा एकदिन अनौठो द्रिष्य देखे आँखाले । सयौं मानिसहरु वरिपरि छन् । एउटा वालक वरिपरि केहि मान्छे झुम्मिएका छन् । अनि उसलाई उता गाईको गोठमा लगेर दाम्लोले बाँधिएको छ ।

photo9[1]

कुनै ठुलै अपराधीलाई सजाएँ दिन लागे झैं । मुखमा दुबो र तितेपाती कोचिएको छ । के होला यस्तो ? आखिर यो त मगर केटोको ब्रतबन्ध पो रहेछ ।

coverphoto[1]

मगर जातिको क्षेवर (ब्रतबन्ध भन्न सकिन्छ) गर्दा मामाले भान्जाको कपाल काटिदिने, नयाँ लुगा लगाईदिने जस्ता विधिहरु सम्पन्न गरिसकेपछि केटो मानिसको जुनीमा बदलिन्छ । अनि बल्ल बिवाहकालागि योग्य हुन्छ भन्ने चलन रहेछ । त्यो भन्दा केटो जनवारको जुनीमा रहन्छ भनिँदो रहेछ र विवाहकालागि अयोग्य ठानिँदो रहेछ ।

photo16[1]

डाँडाकाँडा भिर पाखा उसै त रमाइलो । झन् त्यसमाथि मादलको तालमा दोहोरी भाखामा छमछम नाच्दा त सुनमा सुगन्ध थपिए झैं लाग्छ । 

नाच्न र गाउन खेत, बारी, आँगन, चौर कुनै ठाउँ बाँकि रहेन । बच्चादेखि बुढासम्म सबै खप्सिस । कोहीभन्दा कोही कम थिएन नाच्न र गाउन । गणेश बहादुर मगरको छोराको छ्वरमा उपरदाङगढी पुग्दा हामीलाई पनि यस्तै अनुभव भयो ।

photo6[1]

ओहो मगरको छ्वर त साच्चै भब्य हुँदोरहेछ । कुनै विवाह समारोह भन्दा कम थिएन। पाहुना सत्कारकोलागि घर दुलही झैं सिंगारिदैपनि थियो ।

photo5[1]

आगाको लप्कामा सहभागिहरुलाई मासु भात पकाउनेको आफ्नै संसार थियो ।

photo3[1]

भोजकोलागि काउलेबाट ल्याएको सिंगो राँगो नै ढल्यो । राँगो नचल्नेहरुकोलागि खसीको पनि व्यवस्था हुदैथियो ।

photo1[1]

गुरुङ मगर समूदायले गर्ने छ्वरको तयारी त हप्तौं अगाडिदेखि पो हुने रहेछ । जाँड र रक्सी का घ्याम्पा त पहिले देखि कति हो कति तयार पार्ने रहेछन् ।

photo12[1]

छेवर सम्पन्न भैसकेपछि मामाले भाञ्जालाई बोकी घर पुर्‍याउनुपर्छ । “हामीले भाञ्जो लिएर आयौं है । लिने हो कि होईन ?” मामाले सोध्छन् । बाबुआमाले स्विकृति दिए पछि बल्ल दुलाहा घर भित्र प्रवेश गर्छ ।

photo11[1]

तर, त्यती सजिलै कहाँ जान पाउँछन् र ?बाटो छेकिनेगरि राखिएको सेलरोटी, तरकारी र जाँडरक्सीको उचित मुल्य तिरे पछि मात्र बाटो खुल्छ । आफन्त र पाहुनाहरु सबैले दुलाहा र कन्याहरुलाई टिका लगाइदिएर भेटी चढाउँछन् ।

photo8[1]

सोलीभरी सेलरोटी, जाँडरक्सी जस्ता कोशेली बोकेर आउने रहेछन् पाहुना र चेलीबेटीहरु । कुखुरा, खसी, बोका पनि कोशेलीको रुपमा भित्रिए । चलन अनुसार यस्ता कोशेलीहरुको मुल्याङ्कन गरि त्यसको दोब्बर नगद वा जिन्सीको रुपमा चेलीबेटीहरुलाई दिनुपर्नेरहेछ । “चेलीबेटीहरु सबैलाई बराबर दिन्छौं ।” दुलाहाको काका श्यामले भने । कसैले कम पाएको महशुस भएमा पछि उनीहरुलाई अर्को पटक आउँदा थप गरिने उहाँले बताउनुभयो ।

photo14[1]

त्यसपछि भोज शुरु भयो । दुलाहाले खान शुरु गरेपछि मात्र अरुले खान पाउने रहेछन् । मासुभात मात्र हो र ? खानासँगै जाँडरक्सी पनि पस्कियो । छ्वरमा त जाँडरक्सीको खोलो नै बग्ने रहेछ । बेलुकी म पनि भोजमा सामिल भएँ । सिलावरको ठूलो बड्को भरि रक्सी अगाडि तेर्सियो। यत्रो बड्कोमा त जाँड मात्र पिउँछन् भन्ठानेको त ……. । “गिलासमा दिन मिल्दैन ?” मैले सोधें । “हाम्रो त चलन नै यस्तै हो ।” गणेशले भन्नुभयो । मलाई त रुउँ कि हाँसौं जस्तो भयो । हाम्रो नेवारी चलन अनुसार त अझ प्यालामा पिउने गरिन्छ ।

photo17[1]

आँगनमा दोहोरी चलिरहेको थियो । रक्सीको रन्कोमा दशपन्ध्र फन्को नाचेँ । नाचगान त रातभरि नै चल्यो । लोकभाखा पनि कति कति । एकजना युवा कलाकारले सुरीलो भाखामा गित गाए ।

            “भिरैमा चढ्यो मालिगाई

            रुवाउँदै रुवाउँदै किन छुटायो दैवले

            चोखो माया लाउनेहरुलाई”

-रुपेन्द्रका अघिल्ला ब्लगपनि हेर्नुस-

सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन

मान्छेलाई खान्की छैन गिद्दलाई रेष्टुरेस्ट

के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङगढिमा ?

हात्तीपोलो: जति फुच्चे उति तगडा

गाउँ हेर्दै परदेशी संझिँदा रोएको मन

भर्खरै उड्लान जस्ता सञ्जु शाहीका चरा कला

तपाइँको प्रतिक्रिया