यस्तो पो रैछ लक्जमवर्ग
लामो समयको प्रतिक्षापछि म लक्जमबर्ग पुगें । पाँच तारिख लक्जमबर्गमा एउटा नेपाली जमघट रहेछ । त्यसमा भाग लिउँला, थुप्रै नेपाली साथीभाई, ब्यापारी र बिद्दार्थीसित गफगाफ गरौंला, नेपालीका कथाहरु यस्सो साझेदारी गरौंला भन्ने थियो । तर रेल ४५ मिनेट विशेष कारणले ढिला भैदियो र म त्यसमा सहभागि हुन सकिन । मन असाध्यै अमिलो बनाई बनाई बसें । त्यसदिन लक्जमवर्गका नारायण गुरुङ दाईसित बातचित भयो । भोलिपल्ट ढिला उठेर यस्सो घुमाघाम गरियो । साँझ एकजना नेपाली संबन्धि विशेषज्ञ, नेपाल र नेपालीकी मित्र क्लोरिन हान्ससित अन्तर्वार्ता गरें । कार्ल मार्क्सको जन्मथलोपनि घुमियो । यात्राका क्रममा देखे भोगेका धेरै कुरा तपाई पाठकहरुसित साझेदारी गर्न मन छ। बिस्तारै लेख्दै जाउँला । अहिले चाहिँ लक्जमवर्गमा मैले खिचेका केहि फोटोहरु हेर्नुस है त ?
(अहिले क्रिसमसकालागि भनेर शहर पुरै दुलही झैं सिंगारिएको रहेछ । सडक, भवन पुरै सुन झैं टल्काएका बत्ती नै बत्तीले) ।
यत्रो दरबार कुर्ने खोइ सुरक्षाकर्मी ? यो दरबार हो लक्मबर्गका अहिलेकै राजाको। यत्रो दरबार कुर्ने यहि एकजना हुन् सुरक्षाकर्मी । हाम्रो जस्तो गरिव देशका राजाको दरबारकालागि त झण्डै आठ सय थिए क्यारे नेपाली सेना ।
हिटलरका सैनिकलाई छक्काउने सुरुङ। पर भित्तामा हेर्नुस त साना दुल्क देखिन्छन् । हिटलरका सैनिकले आक्रमण गर्न आउँदा भित्तामा देखिने यस्तै दुल्कामा लुकेर ज्यान बचाएका रहेछन् लक्जमबुर्जुवा (लक्जमबर्गका नागरिक) हरुले ।
हिटलरका सैनिकबाट बच्न उनीहरुले बनाएका सुरुङ अहिले कुनै पसल, कुनै पार्किङ, कतै अन्य ब्यापारिक केन्द्र वा पर्यटकिय आकर्षणका केन्द्र बनाएका छन् । चार तले यो सुरुङको चट्टान भित्र भित्रै छेडेर लिफ्टबाट उक्लिने बनाएका छन् । यो सुरुङमा अति महँगा र स्तरिय पसलहरुपनि प्रशस्तै छन् ।
नेता लुकाउने भवन। यो भवनले विश्व युद्दका बेला धेरै नेता, साहित्यकार, कलाकार र अन्य उच्च पदस्थ राष्ट्रिय ब्यक्तित्वहरुलाई सुरक्षा दिएको रहेछ । बलिया चट्टानबाट बनेकाले यो भवन हत्त पत्त नभत्किने हुँदा यसमा धेरै राष्ट्रिय ब्यक्तित्वहरु लुकेर बचेका रहेछन् । अहिले यो भवन पर्यतिक आकर्षणको थलो बनेको छ ।
सानो भएर के भो त ? अहिले सेङगेन भिसा भनेर यूरोप भरिकै जुन भिसा दिईन्छ त्यहि सम्झौता भएको ठाउँ रहेछ यो । फ्रान्स र जर्मनी अनि लक्जमबर्ग भएर ब्रिहद यूरोपेली परिषदको कल्पना गरेर सेङगेन सम्झौता गरेका रहेछन् । अहिले २५ भन्दा बढि देश सम्मीलित भैसके यो सेङगेन भिसा प्रणालीमा ।
छिमेकी ठुला हुँदैमा दुखै पाइन्छ र ? हामी नेपालीलाई भारतले पेलेर, हेपेर, हस्तक्षेप गरेर हैरानी पाएकाले ठुला देश छिमेकि भएभने दुख पाइन्छ जस्तो लाग्छ । तर होइन रहेछ । यो लक्जमवर्गको सिमामा राखिएको नक्सा हो र लेखिएको छ-तिन सिमा भएको देशमा तपाईलाई स्वागत छ । दुई तिर जर्मनी र फ्रान्स जस्ता बिशाल देश भएपनि लक्जमवर्गले दुख पाएको छैन बरु झन फाईदा उठाएको छ ।
आँगन आँगै, करेसा करेसै बग्छ यो सानो खोलो । तर अहँ यसमा ए उटा कगजको टुक्रो त के फेला पर्नु ! बरु अंजुलीले उठाएर सुरुप्प पिए पनि होला जस्तो सफा देखिन्थ्यो यसको पानी ।
यो चाहिँ लक्जमबर्गकालागि नेपाली महावाणिज्यदूतको कार्यालय हो । राजधानी शहरको एकदमै आकर्षक ठाउँमा रहेछ ।
रातो पूल त जहाँपनि हुने रहेछ कि के हो ? यहाँपनि ए टा रातो पूल नै भनिने पूल छ । यो देख्दा नेपालकै रातो पूलको याद आउने रहेछ । यो पूल बनाउँदापनि यसमुनी पुरै घर नै घर रहेछन् । तर पूल बनिसकुन्जेलपनि तल एउटा ढुंगोसम्म पनि खसेन रे । कस्तोप्रविधी ! कति बिघ्न सुरक्षा नगरिकको !
यस्तो रहेछ लक्जमबर्गको सर्बोच्च अदालत ।
मित्तलको कार्यालय रहेछ यो । लक्जमबर्गलाई अर्को स्विजरल्याण्ड भन्ने गरिँदो रहेछ । किनभने यहाँ कर कम लाग्ने, कालो धनलाई सेतो बनाउन सहज हुने, सुरक्षा राम्रो । यस्तै यस्तै के के फाईदा रहेछन् । त्यहि भएर स्विजरल्याण्डपछि धेरै बैंक र धेरै नाम चलेका ब्यापारिका कार्यालयपनि रहेछन् यहाँ । त्यहि भएर होला मित्तललेपनि यहाँ यत्रो कार्यालय खोलेको ।






