सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन

रुपेन्द्र कर्मचार्य/उपर्दाङ्गढी (चितवन)

 IMG_0596

                              (गरिब विद्दार्थीहरुलाई झोला बाँड्ने कार्यक्रम)

पूणिर्माको दिन । दशैंको अन्तिम दिन । हामी कोल्हारको डाँडा उक्लँदै गर्दा निधारभरि रातो टिका अनि कानमा जमरा सिउरेर एक हुल मानिसहरु तल झर्दै थिए । कोही आफ्नै संसारमा झुम थिए । ठाडो उकालो उक्लेर चुनपोलेभञ्ज्याङ्गको ढिक आइपुग्दा बुढी आमैले माछा र रक्सीले स्वागत गर्नुभयो । ‘तल रिग्दी खोलाको माछा हो, दाई । मगमग बास आउँछ ।’ निरज भन्दै थिए । आमैको स्नेहपूर्ण  आग्रहलाई अस्विकार गरौं पनि कसरी ? सबैले माछाको चोक्टासँग एकएक घुट्को लगाए । 

upardanggadi_village

  (यो हो उपरदाङगढि गाउँ जुन चितवन जिल्लामा भएर पनि अति बिकट पहाडमा अवस्थित छ)

fixing_bags

                                       (झोला तयार गरिँदै)

चितवनको पहिलो सदरमुकाम र ऐतिहासिक किल्लाले सजिएको उपरदाङगढी, घुम्न मात्र होइन, यहाँको प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला, जुत्ता, किताब, कलम आदि शैक्षिक सामग्रीहरु वितरण गर्ने उद्देश्य थियो हाम्रो । त्यसैकालागि हामी ६ जनाको टोली यहाँ आइपुगेका थियौं ।

scenefromgadi

                                          (गढि बाट देखिने द्रिष्य)

अघिल्लो भ्रमणको क्रममा म यस विद्यालय पुग्दा एकजना विद्यार्थीलाई जुकाले टोकेर खुट्टाबाट रगतको भेल बगिरहेको देखें । मन साह्रै खिन्न भयो । “के गर्ने सर, वर्षाको बेला विद्यार्थीहरु यसरी नै रगताम्य भएर आउँछन् । साह्रै मायाँ लागेर आउँछ ।” थापा सरले भन्नुभयो ।

मैले तुरुन्त अमेरिकामा भएका हेमु दाईलाई यसबारे इ-मेल लेखें, ‘दाई यहाँका विद्यार्थीहरुलाई जुत्ता, मोजाको खाँचो छ।’हेमु र उ उहाँका साथीहरु मिलेर अमेरिकामा स्थापना गरिएको बुक्स फर नेपाल संस्थाले चितवनका विद्यालयहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चितवनको खैरहनी माविमा थुप्रै किताब वितरण गरिएको छ भने किरनटार स्कुलमा विद्यार्थीहरुलाई खाजाका रुपमा सातु खुवाउने कार्यक्रम भइरहेको छ ।

 उहाँले जवाफ पठाउनुभयो, ‘जुत्ता सँगै झोला र किताव पनि दिउँला। म सहयोग खोज्छु । म दशैंमा आउँछु अनि सगैं गएर बाँडौंला।’ सहयोग पनि जुट्यो । रोबर्ट-रबको संस्था ग्लोबल एक्सन कोलिसनले जुत्ता र झोलाको लागि आर्थिक सहयोग उपलब्ध गरायो । शालिकराम दाईले ३ बाकस किताब निःशुल्क उपलब्ध गराउनुभयो ।

 sceneontheway

              (बाटोमा हामीले यस्तो रमणिय द्रिष्यपनि देख्यौं)

बुक्स फर नेपाल शुरु गर्ने अक्किल कसरी आयो नि दाई ?’ मैले हेमुदाईसंग जिज्ञासा राखें । एकरात उहाँले आफ्नो छोरा सन्देशलाई पढाउने क्रममा भन्नुभएछ, ‘हेर छोरा, मैले स्कुल पढ्ने बेलामा पुस्तकालय थिएन । यस्ता रंगिन किताबहरु थिएनन् । मैले पढ्ने स्कुलमा अझै पनि यस्ता सामग्रीहरुको अभाव छ । ‘सन्देशले एकछिन सोचेर भनेछ, ‘लेट्स बिल्ड अ लाइब्रेरी ओभर दिएर ‘ अर्थात् त्यहाँ पुस्तकालय बनाऔं ।’

 अमेरिकाको ब्यस्त र संर्घषमय जीवन । एकातिर काम । अर्कोतिर आफ्नै पर्ढाई । फूर्सद पाउन दूर्लभ । आफ्नो पाँच वर्षे छोरोको उच्च विचारलाई नकार्नू पनि कसरी ? उहाँ रातभर सुत्न सक्नु भएनछ । भोलिपल्ट बिहान उहाँले बाउछोरा मिलेर आफुले पढेको खैरहनी माविमा पुस्तकालय खोल्ने निर्णय गर्नुभएछ । सन्देश पढ्ने स्कुलमा गएर यसबारे सल्लाह र सहयोग माग्नुभयो । अरु साथीहरु र संस्थाहरुसँग पनि छलफल गर्नुभयो । सबैले हृदय खोलेर सहयोग गरे । विशेषगरेर सन्देशका सहपाठीहरुका अभिभावकहरुले धेरै कितावहरु उपलब्ध गराए । किताबहरुको चाङ लाग्यो । ढुवानीकोलागि खर्च पनि जुट्यो । यसरी खैरहनी माविमा २६ बाकस कितावहरु आइपुग्यो । 

chudka_dance

उपरदाङगढी पुग्दा सबैजना थकाइले लखतरान पर्‍यौं । तर, गढीवासीले हामीलाई त्यसै किन छोड्थे ? हाम्रो स्वागतमा रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको आयोजना गरे । चण्डिभञ्ज्याङ्गबाट आएका टोलीले बेजोड चुड्का नाच प्रदर्शन गरे । थकाई बिर्सेर सबैजना खैंजडीको तालमा कम्मर मर्काउन थाले । नाच्न र गाउन खप्पिस पर्वतेदाई शालिकराम निकै अबेरसम्म नाचगानमा सरिक हुनुभयो । भोलिपल्ट विहान उहाँ भन्दै हुनुहुन्थ्यो, ‘यार, मैले त दोहोरी गाउने जोडी नै पाइन ।’

IMG_0600

गाउँले दाजुभाई, दिदीबहिनीहरुको भब्य उपस्थितिमा विद्यार्थीहरुलाई सामग्रीहरु वितरण गरियो ।

IMG_0585

जुत्ता झोला पाएर विद्यार्थीहरु दङ्ग परे । अभिभावकहरु खुशी थिए । केही सहयोग गर्न पाएकोमा हाम्रो छाती पनि पहाड जस्तै उच्च भएको थियो । 

hemu_speech

हेमुले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘हेर, तिमीहरुले राम्रोसँग पढ्नु पर्छ । पढाइ नै सबैभन्दा ठूलो कुरा हो । पढ । ज्ञान, शिक्षा, शिप हासिल गर । काम गर । कमाऊ । देश विदेश जाऊ । तर, आफ्नो देश, आफू जन्मेको ठाउँलाई कहिल्यै नविर्स । यो ठाउँलाई बनाउने, विकास गर्ने तिमीहरु नै हो ।’

 चुड्का नाचसंगै कार्यक्रम समापन भयो । सबैलाई त्यो दिन नै घर फर्किनु पर्ने बाध्यता । गाउँलेहरुले भारी मनले विदाई गरे । चुनपोलेभञ्ज्याङ्गको ढिकबाट तल ओर्लने क्रममा हामीलाई स्वागत गर्ने उनै बुढी आमैले विदाईको हात हल्लाउँदै भनिन्, ‘फेरि पनि आउँदै गर है नानी हो’

तपाइँको प्रतिक्रिया