बन्दूक तेर्स्याएपछि रक्सी छ्वाङ्ङै
मसँग एउटा लगभग लगभग रमाईलो लाग्ने घटना छ। रमाइलोपनि हो र दुर्घटनापनि। न्युयोर्कमा हुँदाको कुरा । सन २००१ को प्रसँग । नेपालीहरुले स्वागत कार्यक्रम राख्नुभएको थियो। नेपालीहरु भेट भएपछि त्यहि हो, मादल सादल बजाइन्छ। लोकगित सोकसित गाइन्छ। नाचिन्छ। रमाईलो गरिन्छ। हल्का पिइन्छपनि। नेपाली साथीहरुले लौ है पुष्करजी यो मेरो तर्फबाट भन्ने। अर्कोले त्यसै भनेर अर्को बोत्तल दिने। फेरि अर्को आउँछ ल है मैले दिएकोपनि पिउनुपर्छ भन्छ। बियरको क्यान त दिएको दियै गर्न लागे मेरो तर्फबाट चाहिँ नपिउने ? भन्दै । त्यहाँ सबैको मन राख्नै पर्यो। खाईयो अलिअलि। बस्दा बस्दै मध्यरात भयो। झुमझुम भइएछ। साईकलको हालत देखिहाल्नु भो त्यहि हो। बस्ने ठाउँ त्यस्तै आधा घण्टाजति टाढा थियो साईकलमा पार्टी गरेको ठाउँबाट । मैले सोचे- यो मध्यरातमा साइकल चलाउन सुरक्षित नहोला झन झुमझुमपरेका बेला।
म पैदलमार्गी हिड्ने डोरेटोबाट हिड्न थाले। दश मिनेटजति अगाडि बढेपछि कुनाबाट कोहि अकस्मात निस्कियो। र भन्न थाल्यो-पर्ख पर्ख! साईकल रोक ! त्यो कुनै अफ्रिकि मुलको थियो कालो वर्णको। रोक रोक भन्छ। रातको बेला छ। रोक्नै पर्यो भनेर म रोकिएँ। अनि उसले भन्यो-ए मान्छे तिमिसित दश डलर छ ?
मैले “माफ गर्नुस मसित छैन त दश डलर” भने।
उ जंगियो-ए के हो तिमिसित दश डलरपनि छैन ?
“माफ गर छैन त मसित। यि हेर त म पनि साइकल पेल्छु। म पनि हरेक दिन मागेर हिँड्छु। मसँग कहाँबाट हुनु दश डलर। मपनि तिमिले झैं माग्छु” भनें।
यसै त काले । मेरो उत्तर सुनेर झन कालो भयो। अनि त उसले यसो शरिर खोतल्यो आफ्नै। अनि बन्दूक झिकेर कन्चटमा तेर्स्याउँछ बा मेरो। बन्दूक कन्चटमा तेर्स्याउँदै केहि भन्न खोजेझैं गर्यो । के के न भन्ला भन्ने सोचेको त “दश डलरपनि नहुने मान्छे त संसारमा के बाँच्नु रे”। लौ बित्याँस परेन त ! खत्तम पार्ने भो कि के हो ? केहिबेर पहिले खाएको बियर त छ्याङङै भइहाल्योनी ! “फ्रेस” भएँ म। अनी पख पख ए पख भन्दै हत्त न पत्त हात रोकें उसको।
म जहिलेपनि एउटा झोला बोक्थें कम्मरमा । आजकल बल्ल बोक्न छोडें। झोलामा हात हालें। थैली निकालें। खोजखाज गरेझैं गरेर २० डलर थुतें। भने “मसँग दश डलर पो छैन त, २० डलर त छ नी”। २० डलर देखेपछि काले मुसुक्क मुस्कुरायो। फुत्त तान्यो त्यो २० डलर मेरो हातबाट। अनि लुसुक्क आफ्नो गोजीमा हालेर “धन्याबाद मान्छे धन्याबाद” भन्दै गयो बजिया त। मैले भनें-“पख कहाँ हिडेको ? तिमिले दश डलर पो मागेका थियौ त। मैले त २० डलर दिए नि। बाँकि दश डलर त चाहियो ने फिर्ता भनेको त मोरो “आ मान्छे ठिकै छ, भैगो नी अब” भन्दै पो लम्किन्छ। के भन्ने ? के गर्ने मैले ? कचटमा बन्दूक तेर्स्याईसक्यो, केहि भने खत्तम पार्ला त्यहिँ भन्ने डर । बरु उसले “यदि मैले तँलाई यो शहरमा फेरि कतै देखे भने अब कहिल्यैपनि माग्नेछैन दश डलर” रे। त्यस्तो पो भन्छ। अर्को पटक भेट्दा सित्तै छोड्दिन्छ रे मलाई उसले। (पुष्कर शाहका दैनिकीहरु क्रमश प्रकाशित हुँदै जानेछन-नेपालप्लस) ।






