रिबन बाँधेर रतुवाको काल

(यसैको पहिलो भाग  हेर्न यहाँ क्लिक गर्नुहोला)

barking-deer-in-chitwan-national-park-nepal-012123प्रसङ्ग उही चितवन   जाँदाको   हो काठमाडौबाट । खाना खाएपछि बसको सिटमा टाउको अड्याएका रामु दाई फ्वाँ, हुस्, हुर्, हेंर्, ङ्यार् गर्न थाले । बस र मान्छेको त्यत्रो हल्ला छ। उनी त घुर्न पो थाले । थाहा भ इगो यिनी बडा सन्तोषका मान्छे रहेछन् । मनमा कुनै हुटहुटी, पिर, चिन्ता खासै नभएका । नत्र त्यस्तरी हुँकिएको बसमा त्यत्रो हल्लाबिच कोहि फँसफँसी निदाउन सक्छ ? त्यति बेला रामनगरको जंगल आइपुगेको थियो । घुर्ने रामु दाई अनि गोरेहरु पल्याक र पुलुक गर्दै तिनका आँखाको तारो मलाई पो बनाउँछन बा !!

 उनको टाउको लत्रेर सिटले छोप्यो । अनि टाउको तन्काउँदै पल्याक र पुलुक आँखा नचाउने, घाँटी बटार्ने मलाई देख्ने रहेछन् । अनि गोरेहरु त मै घुरेको भन्ने ठान्दै आँखा सोझ्याउने रैछन् मतिर । सुतेर मोज गर्ने रामु दाई । मलाई एक्लै पार्ने पनि उनै । अनि सुतेर मोज गर्‍यो भन्ने गोरा आँखा म माथि खनिने ? यो त अत्ति भएन ? र्‍याकै भो यार लौ भएन । झस्काएर उनलाई ‘ए दाई के गरेको यस्तो’ भनेको त जंगल आयो नी त हेरन, त्यहि भएर बाघ घुरेको नी’ रे । हुनपनि बस ठ्याक्क रामनगर आइपुग्ने बेलाको जंगलमा थियो ।

 बस आफ्नो गतीमा त्रिशुली नदीको पानीसँगै दौडी रहेछ । छेउका बुट्यान आफ्नै गतीमा रफ्तारले कुदिरहेछन । रामु दाई गफ सुनाउँदै छन । म यसो आँखा नचाउँछु वरिपरिका गोर्खेहरु के सोच्दैछन । कता हेर्दै छन । हामी खित्खिताएको देखेर तिनलाई कति डाह लागेको होला ? कोहि हाँसेर रोकिन्न, कसैका मुख फिस्स सम्म खुल्न पाउँदैनन । रामु दाईले अब भने सूर्तीको पाकेट झिके । काली गेडीको दाना जत्रो भाँडोबाट चुना झिके । चोर औंलाले खोस्र्याक खोस्र्याक कोतरेर हत्केलामा धसे । एकछिन सूर्तीको दोहोलो काढेपछि ओंठ च्यातेर लुसुक्क घुसाए एक फाँक ।

 सूर्तीले साँच्चिकै फूर्ती थपेछ क्यारे । अनि फेरि शुरु भयो उनको रफ्तार ।  भने ‘ददि’ ।  हजुर दाई । ढाड त्यसै बांगो भएको हो र ? किन र दाई ? कसरि भाको त ? जिज्ञासा लाग्नेनै भयो । दिनभरी भाँडा माझेर यार । कुप्री पर्‍यो भाँडा धस्कायो । धस्काको छ धस्काको छ । थोरै हो र भाई ? कति कति, दिनदिनै त्यहि गर्दा त ढाडै बांगिने रैछ । पैसा कमाउन त्यसै सजिलो छ र ?

 बिदेशी मुलुकमा परिश्रम गरेर त्यति बेला सौराहा होटेल किनेका थिए उनले । केहिबेर बन्द ब्यापारका कुरा सुनाए । म हो कि हो लगाउँदै गएँ । बाटो कटेको के थाह पाउनु ? बरु कति छिटो काटे यिनले भनेर बाटो पो रिसाउँदै थियो कि ! रामुदाईका यति धेरै थिए बिदेशी साथीपनि कि यिनले भाँडै माझेको त ज्यान जाला होइन । त्यत्रो परिश्रमको काम गर्ने न त यिनको बानी थियो । यिनले सायद बिदेशमा जे देखे त्यो पो सुनाएका हुन् कि भन्ने लाग्यो । अनि जुनसुकै कामपनि सानो हुन्न भन्ने उनको आशय ।

 ‘सौराहा तिरको नौलो सुनाउनुस न त दाइ’ भनें । ‘सुन्छौ त आजकालका संरक्षणवादीले कसरि जिवजन्तु संरक्षण गर्छन्’ भने । किन नसुन्ने त दाइ ? ल सुनाउनुस । टिसर्टको कल्लर ताने । पाईन्टको पेटी अलि माथि तानेर शरिर तिनिक्क पार्दै उनी जोस्सिए । त्यस्तै ६ महिना अघिको घटना हो यो । खसोखास घटना रहेछ फेरि । मध्यवर्ती क्षेत्रका स्थानिय जनताले एउटा रतुवा म्रिग फेला पारेछन । लौ यसलाई निकुञ्जको जिम्मा लगाउनुपर्‍यो भन्ने सल्लाह गर्दागर्दै राष्ट्रिय प्रक्रिति संरक्षण कोषका प्रवेश राणा संयोगवस गाडीमा आउँदै रहेछन । गाउँलेले चिनेपनि उनलाई । ओ सर, ल पख्नुस पख्नुस । हामीले रतुवा म्रिग फेला पारेका छौं, हामी त्यति टाढा आफैं किन जानुपर्‍यो र ? हजुर नै त्यत्रो संरक्षण संस्थामा सौराहामै काम गर्ने भएपछि सरलाई नै जिम्मा लगाउँछौं । सरले निकुञ्ज प्रशासनलाई बुझाइदिनुपर्‍यो ।

 रतुवाको जिन्दगी अब झन संरक्षणवादीको हातमा सर्ने भो । यहि भनेर गाउँलेले उनलाई रतुवा म्रिग बुझाए । उनले गाडीमा राखे म्रिग । त्यति बेला खुब उत्साहका साथ बुझाउने मनशायलेनै ल्याएका रहेछन । आउँदा आउँदै बाटोमा उनको कति जनासित भेट भयो । उनलाई चिन्ने कति जनाले त्यो रतुवा देखे । रामु दाई ‘ बाटोमा आउँदा आउँदै मोरोको मन बिग्रिएछ ‘ भन्छन ।

 उनलाई त्यसबिचमा कसैले उचाल्यो-हेत्तेरि सरपनि, हातमा परेको जंगली रतुवा कहिँ काम नपाएर बुझाउने ? जंगली रतुवाको मासु ख्याल मिठो हुन्छ सर ? यसलाई मर मसला लगाएर रक्सीसित नखाएर के बुझाउने सर ? सरले बुझाएपनि यो अरु हाकिमले खान्नन् भन्ने के छ र ? आ सर, चप्काउँ यसलाई यतै टाँडी बजारतिरै । फेरि यो हामीले बुझायौं कि बुझाएनौं गाउँलेले खोज्दै आउने पनि होइन क्यारे ! हतियारलाई सास्ती दिएर रतुवाको घाँटीमा म्रित्युको घण्टी बजाउने दाउ गरेछन । अनि जंगलमा दौडिने उसको शरिरमा मर मसला घसेर टेबलमाथि पुर्‍याउने । अनि सोमरसलाई सितन बनाउने ।

 सौराहा हान्निनुपर्ने त्यो गाडी संरक्षणबादीको मन बिग्रिएपछि त्यहिँ टाँडीको एउटा रेस्टुरेन्टतिर हानियो । त्यहि उनका निकट जम्मा भए । रतुवाको इहलिला त्यहिँ समाप्त पारियो । रातभरि जंगली रतुवाको चोक्टाले सोमरस खुब घुट्क्याए संरक्षणवादीसितै मिलेर थुप्रैले ।

 दिन बिते, हप्तापनि गए। महिनापनि कट्यो । काइँ कुइँ त चल्यो तर त्यो हावा त्यत्तिकै हराएझैं भयो । हुँदा हुँदा विश्व वातावरण दिवस आयो । अरु दिन वातावरणको व नसुनेपनि त्यो दिन खुब ताईँझाइँ, नारा र जुलुस, नाचगान, भाषण र अनेक गरिन्छ । यसो पुरष्कार पनि दिइटोपलिन्छ वातावरणमा यस्तो यस्तो उदाहरणिय काम गरेको भन्दै । पुरष्कार पाउने कारण र पाउनेका नाम हेरे गाउँलेले । कन्सिलीका रौं ठाडा भएछन । ए हामीले झन जंगली रतुवा म्रिग समातेर देको निकुञ्जलाई, हाम्रो चाहिँ संरक्षणवादीमा नाम पनि नआउने ?

 गाउँले भेला भएर उजुरी गरे निकुञ्ज बिभागमा । बिभागले ‘तपाईहरुले कहिले दिनु भो, नभएको कुरो भन्ने’ भन्दै चर्किएपछि गाउँले झन ताने । त्यसपछि गाउँले सारा जुटेर फलानो मितिमा, यस्तो म्रिग, यसरि यसरि फलानो फलानोको रोहवरमा यो मान्छेलाई बुझाएका थियौं । उक्त रतुवा म्रिग कहाँ,  कहिले,  कसलाई जिम्मा लगाईयो बुझि पाउँ भनेर निबेदन हाले गाउँलेले । निकुञ्जले त्यस्तो मितिमा कसैले पनि नबुझाएको जवाफ दियो गाउँलेलाई । गाउँले झन आगो भए ‘ए हाम्ले बुझाको रतुवा निकुञ्जलाई दिन्छु भन्दै लगेर काटेर खानी ? त्यल्लाई छोड्नुहुन्न’ भन्दै ।

 घटना चर्किँदै गयो । गाउँलेले बजारमा काटेर खाए रे भन्ने हल्ला सुनेपछि झन छोडेनन । उनमाथि कारवाही गरिपाउँ भनेर माग गरे । निकुञ्जले प्रवेश राणालाई पक्रेर निकुञ्जको प्रधान कार्यालय कसरामा जेल हाल्यो । अब परेन फसाद ?

 उनी त्यसमा संयोगले पो परे त । त्यसरि उनीसितै बसेर कति संरक्षणवादीले खाएका थिए त्यस्ता नाथे रतुवा, चित्तल, जरायो र बँदेलका मासु । शाह साँच्चिकै फस्ने भएभने के एक्लै फस्लान ? उनले अरुलाई पो बाँकि राख्लान ? जंगली जनावर मारेर खाने धेरै संरक्षवादीको निन्द्रा भाग्यो, होस गुम्यो । उनलाई जसरिपनि निकाल्नु पर्‍यो । अक्किलपनि निकाल्नुपर्‍यो जथाभावी त्यत्तिकै रिहा गर्नपनि मिल्दैन । निकुञ्ज र संरक्षण केन्द्रकै अधिकारीहरुले गज्जबको अक्किल निकालेछन ।

 प्रवेश राणालाई बचाउन उनीहरुले निकुञ्जकै गेम स्काउटहरु प्रयोग गरेर रतुवा म्रिगको एउटा बच्चा समाते । त्यसको घाँटीमा रातो रिबन बाँधेर छोडिदिए । अनि शाहलाई पक्राउ गरिएको घटना बिरुद्द अर्को जाहेरी बनाए । जाहेरीमा ‘फलानो मितिमा यसरि ल्याइएको रतुवा फलानो दिन, फलानो ठाउँमा सकूशल छोडिएको हो । त्यसैगरि गाउँलेले कहाँ गयो हामीले बुझाएको रतुवा भनेर सोधखोज गर्लान भनेरै घाँटीमा रातो रिबन बाँधेर छोडिएको थियो । त्यो रतुवा म्रिग अहिलेसम्मपनि त्यहि क्षेत्र वरिपरि चर्ने गरेको देखिएको छ’ ।

 एकदिन वरिपरिका केहि ब्यक्तिलाई लगेर रिबन बाँधिएको रतुवा देखाए । र हामीले घाँटीमा रातो रिबन भएको रतुवा देख्यौं भन्दै प्रत्यक्षदर्शीमा सहिपनि गराएछन । त्यो लगेर निकुञ्ज कार्यालय बुझाइएछ । “त्यत्रा वर्षदेखि अनवरत रुपमा निस्वार्थ भावनाले प्रक्रिति र जिवजन्तुको संरक्षणमा लागेको ब्यक्तिलाई राष्ट्रले पुरष्क्रित गर्नु पर्नेमा उल्टो बेइज्जति, मान मर्दन, हतोत्साही पार्ने  र यातना दिएकाले क्षतीपूर्ती पाउँ’ भन्दै उन्जुरी हाल्न लगाइएछ प्रवेश राणाका नामबाट । अनि त्यत्रो नाटक गरेर उनलाई छुटाइएछ ।

तपाइँको प्रतिक्रिया