अष्ट्रियामा फहराउँदै नेपाली झन्डा
छोटो समय भएपनि अष्ट्रियाको चिडियाखाना जाउँ जस्तो लाग्यो । गएँ एक्लै । भित्र पस्न झन्डै १५ यूरो लाग्ने रहेछ । त्यहाँ गएर चराचुरुंगी र जीवजन्तुको शाखामा छिरें । यसो हेरेको त आफैंलाई कतै नेपालको कुनै ठाउँ गए जस्तो लाग्यो । नेपालका बुद्द गुम्बामा झैं तोरण झुन्दिएका रंगी र चंगी । अनि कतै माने झुण्डिएका । झलक्क हेर्दा कतै स्वयम्भू गुम्बा पुगे जस्तो लाग्ने । यसो हेरेको त झन तिनकुने हाम्रो नेपाली झण्डा हावामा फरार फहराईरहेको ।
केहि बेर झण्डा छेउ बसेर नियालें । असाध्यै रमाईलो लाग्यो । अनि केहि बेर बस्दा यति धेरैले त्यो झण्डा नियाले कि म आफैं छक्क परें । बिद्दार्थीहरु चाहिं आफ्ना गुरुहरुलाई सोध्थे- किन भयो यस्तो तिन कुने ? त्यो तारा र जून को अर्थ के होला ? कुन देश हो त्यो ? किन त्यस्तो बानाका त्यो झण्डा ?
शिक्षकहरुले जे जे जान्दछन सुनाउंदै थिए । त्यो झण्डाले हरेक मिनेट मिनेटमा नेपाल र नेपालीको परिचय दिईरहेको थियो । नेपाललाई नयाँ पिढीमा परिचय गराइरहेको थियो । त्यो एक देशकालाई मात्रै हो र ? अनेक देशबाट त्यहाँ घुम्न आउनेलाई । हाम्रो झण्डा बदल्नुपर्छ भन्ने हाम्रा नेता सम्झिन्दा के भन्ने ? रिस पनि उठ्यो । यिनलाई देशको आर्थिक अवस्था बदल्नु छैन । नेपालीको भलो कसरि हुन्छ सोच्ने फुर्सद छैन । तर जुन नेपाल चिनाउने चिनारी छ । विश्वमा कतै कसैकहाँ नभएको जुन एक्लो विशेष चिनो छ नेपालको त्यहि बदल्नु पर्ने ? जनताका दिनका समस्या हाल गर्नु, आर्थिक विकासका काम गर्नु, शिक्षा स्वास्थ्य र रोजगारलाई ध्यान दिनु छैन । झण्डा बदल्न हतारो ? यस्ता नेताबाट के आशा गर्ने खोइ ?
त्यहीं एउटा पार्टीमा नेपालको बुद्द स्तुपा र त्यहाँको माने देखाउने पोष्टर छ । त्योपनि चिडियाखाना अवलोकन गर्न आउनेहरुकालागि आकर्षण बनिरहेको छ ।
नेपाल र नेपाली जनता: अर्को पोष्टर छ जहाँ पाटन दरबारमा रहेको मुजुरको आकृतिको आँखी झ्यालको तस्बिर छ । त्यसैमा सायद नेपाली वालवालिका देखाउन होला एक वालिकाको ठूलो तस्बिर छ । योपनि निकैले आँखा लगाउने रहेछन ।
भियना शहर मजाले घुम्न म सित एक बिहान थियो । चिडिया खाना घुम्दा घुम्दै मध्यान्ह भैगयो । त्यसपछि चिडियाखाना नजिकैको सुरबुर्न भन्ने दरबार हेर्न गएँ । भब्य रहेछ । प्राकृतिक धरोहरलाई असाध्यै जतनले राखेका । त्यसमा पर्यटकहरु भिड्पनि उत्तिकै लाग्ने रहेछ ।
अष्ट्रीयालीहरुको पुष्प मोह । यिनीहरुकोपनी असाध्यै हुने रहेछ फूलमा मोह र आकर्षण । पार्कहरुमा असाध्यै सुन्दर तरिकाले लगाइएका हुने फूलहरु ।
त्यसपछि भियना शहर पुरै कस्तो रहेछ त भन्ने उत्सुकता लाग्यो । त्यहाँ एउटा धरहरा रहेछ २५० मिटर अग्लो । त्यहाँ पुग्न लिफ्टमा जम्मा ३५ सेकेन्ड लागे रहेछ । त्यहाँ गएर हेर्दा भियना शहर पुरै देखिने रहेछ । शहर वरिपरी पानीको स्रोत । चारैतिर फूलवारी । चट्ट मिलेका साना साना घर । व्यवस्थित वस्ती । असाध्यै सुन्दर रहेछ भियना शहर।





