विमानस्थलमा झलनाथको त्यो बबाल

{ उनी ” म यो देशको नेता हुँ, कहाँ सामान्य मानिस हुँ। म जस्तो मान्छे कहिँ सर्वसाधारण निस्कने बाटोबाट निस्कन्छ? मलाई त भिआईपीहरु निस्कने ढोका खोल्नुपर्छ” भन्दै जंगिएछन। उनी त्यो ढोका नखोलेसम्म निस्कन्न भन्दै अत्तो थापेर भिआइपी ढोका बाहिर उभिइरहेका रहेछन। } 

मिति ठ्याक्कै त मलाई संझना छैन। तर हुनुपर्छ ५७ वा ५८ साल साउनको अन्त्यतिर वा भदौको शुरु। पानी निकै परेको थियो। सडक हिलो। पोखरा नगरीले लोभ नमानी देखाउने सुन्दर हिमालहरुपनि छिनछिनमा बादलमुनी लुकेका। गर्मि उस्तै थियो। नेकपा (माओवादी) का अध्यक्ष (त्यो बेला महामन्त्री) प्रचण्डको जन्मथलो कास्कीको ढुकुरपोखरी जाने निधो गरियो। म कामना प्रकाशनमा थिएँ। प्रचण्डबारे उति धेरै कुरा बाहिर आएका थिएनन। उनको वाल्यकाल, आफन्त, गाउँठाउँबारे रिपोर्टिङ गरौं भनेर समाचारपत्रका अर्का साथी लेखनाथ अधिकारी र म हिड्यौं। उनका आफन्तहरुलाई भेटेर रिपोर्टिङ गरेर पोखरा फर्किइयो।

होटलमा फर्किदै गर्दा बाटैमा मालपोत कार्यालय पर्ने रहेछ। मालपोत कार्यालय मा छिरौं भनेर जाँदा कसैले भन्यो-पोखरा विमानस्थलको जग्गा मिचेर सुकुम्बासीका नाममा भू गिरोह र ठगहरुले हैरान पारेका छन। विमान दौडिनुपर्ने जग्गामा झाप्रा हालेपछि कसरि विमान उडाउने? लौ त्यसो भए गज्जबको विषय पाइयो। ब्रेकिङनै हुने भो। अझ फोटोपनि आफैले खिच्नपाएपछि त के ! विमानस्थलभित्र सुकुम्बासीका छाप्रा हालेको समाचार आफैमा भयकर भो भन्दै विमानस्थल गइयो।

सोधखोज गर्नासाथ विमानस्थल कन्ट्रोल टावरका प्रमुख सानुभाइ श्रेष्ठ आए। बडा बफादार, सोझा, जिम्मेवार जस्तो लाग्यो हामीलाई उनी। परिचय दिएर एकछिन काम छ भनियो। खुशि भए। समाचारपत्रबाट भन्नासाथ सुबिद गुरागाईको नाम लिए। खुब प्रशंसा गरे। सुबिद त्यतिबेला समाचारपत्रमै थिए। सानुभाई काठमाडौमा रहेछन अलि पहिले र उनीसँग सुबिद थुप्रै समाचार फुत्काएका रहेछन।

लागियो कुराकानि गर्न। उनले पोखरा विमानस्थलको हविगत सुनाए। खासगरि केहि पार्टीका नेताहरुले कोहि सुकुम्वासी त कोहि हुकुम्बासीलाई उक्साएका रहेछन। अन्त जग्गा नदिएसम्म हामी यहाँ छोड्दैनौं भनेर विमानस्थलको जग्गाभित्र छाप्रो हालेर बस भन्दै। अनेक हार गुहार, स्रोत, चलाखि र प्रशासन लगाएर धपायो फेरि केहि महिनामा छाप्रो हाल्न आइपुग्ने रहेछन। फेरि टाउको खाने रहेछ विमानस्थलमा। केहि गरे कर्मचारीलाई नेता र छाप्रो हाल्ने सबैले थर्काउने रहेछन। बिचरा मारमा कर्मचारी। जे होस त्यो विषयमा हामी खोतल्दै थियौं। हामी माथिल्लो तल्लामा थियौं उनको कार्यकक्षमा। एक्कासि फोनको घण्टि बज्यो। 

उनले भन्न त अन्य कर्मचारिलाई सकभर मलाई नअल्झाउनु फोन गरेर। म केहिबेर पत्रकारहरुसँग भुल्छु । आपतकालिन अवस्थामा मात्रै बोलाउनु भनेका रहेछन। कुराकानीको मध्यतिर पुग्दा फोन बज्यो। तलबाट उनीभन्दा तल्ला कर्मचारीले उनलाई फोनमा लौ तु आ उनुपर्‍यो सर। यहाँ एकजना नेता आउनु भएको छ हवाइजहाजमा काठामाडौंबाट। हामीलाई थर्काउनुभाछ, आपत पर्‍यो भन्दै बोलाएका रहेछन। उनी हामीलाई आफ्नै कार्यकक्षमा एकछिन है भन्दै छोडेर तल झरे। रहेछन झलनाथ खनाल। उनी काठमाडौंबाट विमानमा आफ्नै निजि काममा खासगरि घुम्न आएका रे। उनी आउँछन भन्ने कुनै खबर पनि रहेनछ। उनी त्यो बेला मन्त्रीपनि थिएनन। सामान्य सांसद मात्रै। विमानस्थलमा आएपछि सबै सामान्य ढोकाबाटै निस्किए। उनले भने मानेनछन सामान्य मानिस वा नागरिकहरु निस्कने ढोकाबाट निस्कन।

उनी ” म यो देशको नेता हुँ, कहाँ सामान्य मानिस हुँ। म जस्तो मान्छे कहिँ सर्वसाधारण निस्कने बाटोबाट निस्कन्छ? मलाई त भिआईपीहरु निस्कने ढोका खोल्नुपर्छ” भन्दै जंगिएछन। उनी त्यो ढोका नखोलेसम्म निस्कन्न भन्दै अत्तो थापेर भिआइपी ढोका बाहिर उभिइरहेका रहेछन। सामान्य कर्मचारीलाइ त्यो भिआइपी ढोका खोल्ने अधिकारपनि नहुने रहेछ। यो ढोका तुरुन्त खोल भनेछन। कर्मचारीले “सर हामी त साना कर्मचारी। न हाम्रो अधिकार छ न त हामीसित चाबी नै छ सर भनेर बिन्ति जोडे। तैपनि हुन्छ भनेर खुरुक्क निस्कनुको साटो उनि जंगिएछन-कोसँग छ त चाबी? कहाँ छ त त्यो कर्मचारि? तुरुन्त बोलाउ भनेर। त्यहि भएर सानुभाइ चाबीसहित तल ओर्लिएका रहेछन।

उनले ढोका सोका खोलेर बाहिर निकालेपछि आए उनी हामीकहाँ। र घटनाको विस्तार गरे। सानुभाई भन्दै थिए-लौ हेर्नुस त यि नेताको ताल। जनता निस्कने ठाउँबाट यिनलाई बाहिर निस्कनपनि नहुने रे! न ति कुनै मन्त्री हुन नत भिआइपी ढोकाबाट निस्कने हैसियत नै छ। शक्तिको दुरुपयोग गरेर थर्काउँछन के गर्ने? हामीले केहि बोल्न पाईन्न।  नेतालाई केहि भन्यो भने जागिर खाइदिन्छु भन्छन। कार्यकर्ताले उस्तै धम्कि दिन्छन।

त्यो समाचार किन छापिएन तत्यहि बेला भन्ने लाग्ला? स्पष्ठ भनौ। त्यतिबेला समाचारपत्रमा वरिष्ठ भनिने, रात्रि डेस्कमा बसेर सम्पादन गर्नेहरु पत्रकार भन्दापनि छद्मनामका एमाले कार्यकर्ता सरह थिए। उनीहरु एमालेको कुनै आलोचना देख्यो कि त्यो लेख र समाचारमा हतियार चलाउँथे। त्यो समाचारपनि तिनैको छप्काईमा परेको हो।

यस्तो मानसिकता र संस्कारका झलनाथ खनालमाथि एमाले पार्टीले अहिले ठुलो जिम्मेवारी सुम्पेको छ। अब यिनले एमाले पार्टीलाईपनि आफ्नै मानसिकतामा पुर्‍याउलान कि आफु सुध्रिएर पार्टीलाईपनि सुधार्लान त ?

तपाइँको प्रतिक्रिया