भियनामा हाम्रो दशैं
(फोटोमा अगाडी दाहिने तिरबाट अनामिका दाहाल, वासना सापकोटा र पछिल्लो लहरमा दाहिनेबाट म आफैँ, शिशिर गौतम र कल्याण गौली)
निकै समयपछि सोच बिचार गर्दा यूरोपेली मूलूक घुमेर तेस्रो पुस्तक लेखौं भन्ने निर्णय गरें । घुम्नु पर्र्यो यूरोप । महँगो त बेपत्तै छ । सजिलोपनी छैन । तर जति कठिन काम गर्र्यो उति मजा होला भनेर निर्णय गरें । यूरोप भरिको नेपाली समूदायका सफलता असफलता । हाँसो र खुशी । पिर र बेदना सबै समेटेर लेखेको पुस्तक कस्तो होला ? योजना बन्यो अष्ट्रिया र हंगेरीबाट शुरु गर्ने । सम्पर्क पहिलो कुरो थियो । अष्ट्रियामा वन बिज्ञानमा स्तातकोत्तर गर्दै गरेकी बहिनी वासना सापकोटा थिईन सहयोग गर्ने । अनि हंगेरीमा कहिल्यै नदेखेका, नभेटिएका एन आर एन हंगेरीका अध्यक्ष मित्र सुरेन्द्र श्रेष्ठले सहयोगको हात फैलाए । पहिलो यात्रा अष्ट्रिया र हंगेरीबाट गर्ने योजना बन्यो ।
अनि डेढ महिना अगाडिनै मैले बसको टिकट किनें । टिकट किन्दा दशैंको ख्याल गरेनछु । सुरेंद्रजीले “ए ददिजी के गरेको यस्तो ? दशैमा सारा नेपाली चाडमा ब्यस्त भएका बेला तपाई यात्रा गर्ने पुस्कका सामाग्री खोज्दै ” भनेपछि बल्ल झसङ्ग भएँ । तर टिकट सार्न मिल्ने थिएन । त्यसैले लागें जे सुकै होस् भनेर । बस गज्जबको थियो । टिलिक्क टल्किएको बस भित्र नेपालको स्थानीय बिमान भन्दा सफा र फराकिला सिट । अगाडी फोहोर राख्ने झोला । चिया नास्ता राखेर खान सानो टेबल जोडिएको । तनक्क तन्काउन मिल्ने सिट आफ्ना गोडाको लम्बाई अनुसार । टाउकामाथि फ्यान र बत्ती बाल्न निभाउन मिल्ने आआफ्नो इच्छा अनुसार । ड्राइभरले सेतो कमिजमा हाफ स्विटर लगाएर टाई बाँधेका । देख्दै बोईंग चलाउने जस्ता लाग्ने ।
बस निर्धारित समय भन्दा ढिलो त के बरु ५ मिनेट चाँडै हिंड्यो । बाटो एकनासको छ । कहीं कतै हल्लिएको जस्तोपनि लाग्दैन । सुत्ने सुतिरहेका छन् । किताब पढ्ने पढिरहेका छन् । गफ चुट्नेको आफ्नै ताल छ । सबै आआफ्नै संसार । मेरो मन मा एउटै हुटहुटी छ-हंगेरी र भियनामा जस्ता पात्रसित अन्तरवार्ता लिन खोजेको हुँ सफल होला कि नहोला ? किताब बोकेर पनि केहि पढ्न सकिन त्यहि हुटहुटीले ।
भोलि पल्ट बिहान पुगियो भियना । सिधै म बासना सापकोटा कहाँ गएँ मेट्रो चढेर । दशैंको गफगाफ भएको सुन्दै थिएँ । त्यहाँ वन बिज्ञानमै पिएचडी गर्दै रहेका शिशिर गौतम, वन विज्ञानमा स्नातकोत्तर गरेर नेपाल फर्किने तरखरमा रहेकी प्रगती सापकोटा र वन विज्ञानमा स्नातकोत्तर गर्न त्यहि दिन आइपुगेकी अनामिका दाहालासित भेट भयो । त्यसदिन मैले भियना बस्ने एकजना नेपाली मित्र सित नयाँ पुस्तककालागी अन्तरवार्ता लिएँ । त्योपनि वासना बहिनीको सहयोग थियो मुलत ।
(अष्टमीको दिन हंगेरीको राजधानी बुढापेस्ट्मा दाहिनेतिरबाट नेपाल संबन्धि विशेषज्ञता हासिल गरेका गाबोर, उनकी नेपाली पत्नी रेबिका, कौशिला गुरुङ, म, सुरेन्द्रजी, आफ्नो बच्चासित पुष्पा तामांग र उनका पती)
अनि भोली पल्टै हंगेरी जाने योजना बन्यो । म हंगेरी तिर लागें । हंगेरीको बारेमा छुटै फोटो फिचर र ब्लग फेरी लेख्ने नै छु । गएको दिन सुरेन्द्रजीको सहयोगमा त्यहाँका केहि सातीहरुसित भेट भयो । गफ गाफ गरियो । मैले नेपाल संबन्धि बिशेषज्ञता हासिल गरेका एक हंगेरियन र एकजना नेपाली सित अन्तरवार्ता लिएँ । अनि सांझ पर्र्यो । त्यहाँका साथीहरुसित गफगाफ गर्दा गर्दै सुरेंद्रजीले ” ल ददीजी अब रातको बुढापेस्ट शहर हेरौ ” भनेकोले हेर्न लागियो । राती ढिलो आएर सुतियो ।
सुरेन्द्रजी ओछ्यानमै हुँदा म उठेर मेल हेर्न लागेको त अष्ट्रियामा रहेकी एक नेपाल संबन्धि बिशेषज्ञले ” तपाईलाई मिल्छ भने आज म तपाईकै लागि भियना विश्व बिद्दालायामा आउंछु अन्तर्वार्ताको लागि ” भनेर मेल पठाएकी रहिछिन । उनलाई मैले एक हप्ता पहिले मेल पठाएको थिएँ अन्तरवार्ताको लागि । तर जवाफ आएको थिएन । त्यसदिन बुढापेस्ट दिनभरि घुमेर नेपाली केहि साथीभाईसितपनी भेट्ने । अनि साँझ भियना फर्किने योजना थियो । त्यो अनतर्वार्ताकालागी भनेर तु फर्किने योजना बन्यो । अनि फर्किएँ सुरेन्द्रजीकै सुझावमा ।
यो खबर पठाएँ वासना र अरु बहिनीहरुलाई । अनि म फर्केर अन्तर्वार्ताका लागि गएँ । भियना विश्वबिद्दालयमा अन्तर्वार्ता लिएँ । यसकोलागी सहयोग गरेकी थिईन रेडियो टिभी पत्रकार अलका चुडालले । उनी अहिले भियना विश्व बिद्दालयमा प्राध्यापन गर्ने रहिछिन ।
बेलुका शिशिरजीकोमा जाने योजना बन्यो अकस्मात । एक कान दुईकान गर्दा गर्दै म, वासना, अनामिका र कल्याण गौली । कल्याण जी पनि वन विज्ञानमा पी एच डी गर्दै रहेका त्यहि विश्वबिद्दालयबाट । शिशिरजीकोमा गयौं । टीकाकै दिन परेछ । नेपाली मन न हो टिका लगाउने योजना बनाए बहिनीहरुले । टिका त लगाउने तर कसले कसलाई लगाउने ? अरु बहिनीहरु जति सबैले वासनालाई दिदी मानेका । अनि कल्याणजीलाई वासनाले भिनाजु मानेकी । शिशिरजी पनि उमेरमा सायद मेरो भाइ जस्तै ।
लौ नाता लगाऊँदापनी टिका मैलेनै लगाइदिने भएँ । जिन्दगीमा पहिलो पटक एक्लो अभिभावक भएँ । मलाई चाहिं कसले लगाइदिने त टिका ? शिशिरजीले भित्तामा मनकामना मन्दिरको पोष्टर टाँसेका रहेछन । त्यसैको छेउमा बसेर पहिले मैले टिका लगाएँ । मनकामनालाई साक्षी राख्दै भान्नुपर्र्यो ।
अनि आफ्नो निधार रंगाएपछी अरुलाई टिका लगाउने । दशैंको टिका जेठोबाट लगाउनु पर्र्यो । पालो आयो कल्याण जीको ।
सबैका घर घरमा फोटो पठाउनु छ । नेपालमा बाबु आमा दाजु भाई सबैले चासो राख्छन । मनाउंदै मनाएनछन भन्दापनि नेपालमा बस्नेको मन खल्लो हुन्छ । फोन र ईन्टरनेट्ले साँघुरो बनाएको संसार । फेस्बुकले गर्दा झन कुन देशमा बस्ने साथी भाईले कसरि मनाए सारा देखिने । अरुको निधार रातो । आफ्नो खाली हुँदापनि मन अमिलिनु स्वाभाविक हुने रहेछ । मन हँसाउने मेसो न हो जे जस्तो थियो टिका लगाईयो । अनि पोज मिलाई मिलाई फोटो खिचियो । कोठामा उही नेपाली पाराको खाना तयार थियो । भित्तामा नेपाली झण्डा हाँसेको थियो । मनकामना मन्दिर साथैमा थियो भितामा नियाल्दै गरेको । शिशिराजीले नेपालबाट ल्याएको शुद्द घ्युले दाल झ्वाईय पारेर झानियो । ५० किमी टाढा गएर ल्याएको खसीको मासु पनि रहेछ । असाध्यै रमाएर बित्यो त्यो साँझ । कल्याणजी असाध्यै हँसाउने । वासना पनि उस्तै । शिशिरजी सुस्त बोल्ने तर हाँस्न र हँसाउन उस्तै । सोचे भन्दा रमाईलो भयो ।
(भोली हंगेरीको फोटो फिचर हेर्नुहोला-नेपालप्लस) ।




