साईकल हराएपछि हिलारीले बोलाउनुभयो
अहिले मेरो अनुभवले के देखायो भने पैसाले संसार घुम्ने होइन रहेछ वास्तवमा। हाम्रै नेपालमा करोडौंपतिहरु छन। अझ अरबौंपतिहरु नै छन। तिनले अझै संसार घुम्न सकेका छैनन। त्यसैले पैसाले संसार घुम्ने होइन रहेछ भन्ने लाग्छ मलाइ। ।
हुन त म आफ्नै पैसाले घुम्छु भन्न खोजेको होइन। मेरो भ्रमणका लागि हरेक दिन म सहयोग माग्छु। माग्ने भन्नाले दुई छाक खाने। त्यसैकालागि हरेक दिन बिहान उठेर म प्रार्थना गर्छु ईश्वरलाई-हे ईश्वर आज एकजना असल मानिस भेट गराईदिनुस ! एउटा असल मानिस भेटिएको दिनमा त्यो असल मानिसले गरेको सहयोगले मेरो दिन भरिको यात्रा पूरा हुन्छ।
मलाई चाहिन्छ नै के र ? आखिर म पैसा कमाउन हिँडेको होइन। दुई छाक खान पुगे भयो। त्यसरिनै यात्रा चलिराखेको छ मानिसहरुको सहयोगमा। प्रत्येक दिन भेटिएका असल मानिसहरुनै मेरा यात्राका सहयोगिहरु। यात्राको रहस्य भन्नुनै हरेक दिन भेटिएका मानिसहरुले गरेको सहयोगले नै मेरो यात्रा निरन्तर अगाडि बढ्नु हो। र यात्रा आफैंमा रहस्य रहेछ। हरेक दिन चुनौति छ। कथा छन। व्यथा छन। र छन तिता मिठा अनुभवहरु। धेरै रोमाञ्चक कथाहरु छन। धेरै घमाईला कथाहरुपनि छन। यात्राको क्रममा म धेरै पटक म्रित्युको मुखमा पुगेर फर्केको छु जस्तो लाग्छ। यात्रामा क्रममा घटेका र भोगेका कथाहरुलाई यहाँहरु समक्ष मैले किन नबाड्ने?
साइकलमा घुम्ने मान्छे। साइकलबाटै शुरु गरौ कि ! अहिले मैले कुदाईराखेको साईकल तेस्रो हो। पहिलो साईकल हङकङमा सव वे पार गर्दा भाँचियो। त्यसपछि दोस्रो साईकल त्यहिँकै नेपालीहरु मिलेर किनिदिएका हुन। र त्यो दोस्रो साईकल चाहिँ न्युजिल्याण्डमा पुगेर हरायो। नेपालीहरुले एउटा कार्यक्रम गर्नुभएको थियो। म त्यो कार्यक्रम हेर्न गएको थिएँ साईकल बाहिर पार्किङ गरेर। त्यहिँबाट कसैले डोहोर्याएर लगिदिएछ।
त्यो बेला मसँग शरिरमा लगाइरहेको लुगा बाहेक केहिपनि थिएन। साईकल चोरि भएपछि त्यहाँका पत्रपत्रिका र टेलिभिजनहरुमा त्यसको समाचार आयो। त्यो समाचार सुन्नु भएछ प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले जो तेन्जिङ नोर्गे शेर्पासँग सगरमाथा चढ्नु भएको थियो । त्यो सुनेपछि उहाँले मलाई तुरुन्तै फोन गरेर भेट्न बोलाउनुभयो। भोलि पल्ट बिहान मेरो घरमा चिया खान आउ भन्दै।
साँच्चिकै उहाँ मेरो सपनाको हिरो हुनुहुन्थ्यो। “माई ड्रिम हिरो”। उहाँलाई भेट्न पाउँदापनि एकदमै खुशि लाग्यो। विश्व प्रसिद्द मान्छे । सम्मानित व्यक्ति। न्युजिल्याण्डमा बरु त्यहाँ वालवालिकाहरुले प्रधानमन्त्रि चिन्दैनन आफ्नो देशको। सर एडमण्ड हिलारी भनेपछि सबैले चिन्ने। त्यस्तो प्रसिद्द।
दुखको कुरा उहाँ बित्नु भयो। उहासँग बसेर कफी खाईयो। उहाँको घर हेर्दानै नेपालप्रतिको मोह देखिन्थ्यो। घर हेर्दा यस्तो लाग्ने कि बाहिरबाट पस्नासाथ त्यो माटोको गमलाहरु, त्यो हात्ती, घोडा चित्रहरु भएको। भित्र पसेपछि नेपाली कार्पेट, भित्तामा नेपाली पेन्टिङ र गलैंचाहरु। र चुलोमा डोको, डालो, नाम्लो, दाम्लो, ताप्के, डाडु, पनियो, गाग्री हरेक चिज नेपालको देखिन्थ्यो। उहाँको त्यो नेपालप्रतिको मोह देखेर म यति प्रभावित भएँ कि !
उहाँसँग बसेर चियासिया खाईयो। गफसफ गरियो। अनि उहाँले “डन्ट वरि यु विल गेट अ न्यु बाइसिकल” (धन्दा नमान तिमिले नयाँ साइकल पाउनेछौ) भन्नु भो। तुरुन्तै नयाँ साईकल किनिदिनु भो। अहिले मैले कुदाईरहेको साईकल उहाँले किनिदिनु भएको हो। उहाँ संसारबाट बिदा हुनु भएपनि हिलारी अहिलेपनि मसँगै दौडिरहनु भएझैं लाग्छ साइकलसगै।
एउटा दुखको कुरा भन्नु पर्छ-संसार प्रसिद्द मान्छे। सर एडमण्ड हिलारी जस्तो मान्छेको देशमा मेरो साईकल चोरी भयो। दुखद कुरो । र सुखद कुरो के लाग्छ भने हिलारी जस्तो मान्छेले किनिदिएको साईकल मैले दौडाउन पाएँ। र हरेक दिन, हरेक कार्यक्रममा हिलारीको नाम लिएर बोल्न पाउँदा मलाई गर्व लाग्छ।(पुष्कर शाहका दैनिकीहरु क्रमश: प्रकाशित हुँदै जानेछन-नेपालप्लस) ।






