कमर्श पढेर बिदेशमा पाईलोट !

Ramu Daiअनुभव केहि वर्ष अघिको हो । काठमाडौंबाट भोलिपल्टै चितवन हानिनु पर्ने भो । बाटाघाटामा बस ठोक्किए । त्रिशुलीमा चोबलिए । यति मरे, यति घाईते । यति चाहिँ बेपत्ता । यस्तै घटना सुनिने धेरै । अनि लोकल बसमा चढ्ने भन्नासाथ हड्डीपनि काम्ने रैछन डरले । ठमेलका साथीभाईलाई पर्यटक बस बुक गर्न भनेको अन्तिम अवस्थामा के पाउनु ? साथीभाईले लौ टुल सम्म भएपनि ब्यवस्था गर्दिनु है भन्दै बाबा ट्राभललाई झ्याँक्क झुक्क पारेछन । सबेरै आँखा मिच्दै दगुरियो कान्तिपथ । त्यहाँ भेटिए सारा चितौने साथीभाई । ठमेलका पुराना मित्र, चिनेजानेका, देखे भेटेका । त्यहि मध्ये थिए सौराहाको ट्राभलर जंगल लजका सञ्चालक दाई रामु रिजाल । ओ हो ! काँबाट…कति समय… के…कसो हँ… तिमी त खुब… यस्तै सोधे ।”दाई घर जान लाको छैन यार सिट । अब उठेर जानी हो । लोकल बसको सिट र माईक्रोमा आँखा लगाउनुभन्दा यो टुरिस्ट बसमा उभिएर गए सुरक्षित त भइएला ” भनें । ‘कि त सकिन्छ भने एउटा कुइरेलाई लघारेर गर्नुपर्‍यो मेरोलागि ब्यवस्था’ भनेर पनि जिस्काएँ । कसो कसो हाट्ट हुट्ट गरेर उनले एउटा सिट निकाली छोडे । उनीपनि आए मेरै सामुन्ने ।

रामु दाई (तस्बिरमा टाई लगाएका हुन् रामु दाई) सित अब गफ जम्ने भो । यि दाई कस्ता छन भने कहिल्यै ठट्टा गरेर नथाक्ने । उनको ठट्टाको भकारीपनि कहिल्यै रित्तिँदैन, जति सुनाएपनि । खोइ यि तत्कालै च्याट्ट रचिहाल्छन् कि भण्डारमै हुन्छ कुन्नी ! मेसो पाईन्न । भन्नथालेपछि बुरुरु झरिराख्ने जाबा ठट्टा त । उमेरले अब छोरा छोरीको बिहेबारी, पढाइ लेखाईले यिनको दिमाख थिच्नु पर्ने हो । तर पारा यिनको कस्तो छ भने आफ्नै वालवच्चालाईपनि उछिनेर ठट्टा गर्नुपर्ने । पुरा कुकुरको पुच्छर हेर्दै हाँस्ने ठिटौले पारा । टाउकोमा शरिर फुलेर के भो ? त्यसलाई उनको पाराले उमेरले फुलाएको मान्न तयार छैन, बरु बसन्तले हरियाली थपेको वन जस्तो पो त । बुढो होइन जति फूल्यो उति अनुभवी ।

 उनी त्यहि २४, २५ को हुँदा सारा गोरे मुलुक चहारीसकेका थिए । बेलायत, जर्मनी, जापान, आयरल्याण्ड, स्कटल्याण्ड, अष्ट्रेलिया कता कता भो कता कता । हामी “लौ रामु त सारा बिदेश चहारेको छ रे” भन्ने सुन्दा कसरि होला आम्मैनी, त्यस्तो देशमा कसरि नहराएको होला है भन्दै गोठाले गफ गर्थ्यौं । स्कूल छुट्टि भएर भैसी बाख्रा चराउन जाँदा रामु दाईले बिदेश चहारेका गफ खुब सुनाउँथे दाईहरुले । ‘हाम्रो देख्ने जस्तो हो र ? घाम पनि अन्तैबाट उदाउँछ रे, पानी मुनीबाटपनि गाडी चल्छ रे’  भन्थे । रामुले त्यो सब हेर्छ, त्यहि देशमा काम गर्छ, डलर कमाउँछ’ भनेर मच्चि मच्चि सुनाउँथे । एकै डलरले कत्ति हुन्छ कति पैसा त भनेर गफगाफ पेल्थे । लौ पैसा त ठिकै छ, त्यो पानीमुनी चाहिँ कसरि चलाउन सक्ने होला गाडी ? कहिल्यै बुझ्न सकिँदैनथ्यो । हामी फुच्चेहरु हो र !! आम्मामा भन्दै बल्ढेंग्रा जत्रा आँखा पार्दै दंग पर्‍यो, र्‍याल काढ्यो बस्यो ।

 बसभित्र हाम्रो संसार शुरु भयो । दाईले आफु बिदेश हुँदाका कहानी सुनाउन थाले । काम के गर्नी यार बिदेशमा ? के गफ लाउनु ? के पाइन्छ र यार ? आफ्नो कोहि छैन त्यहाँ । तिनका देशाँ पढेको होइन । आफुले त……भने । के आफुले त ? सोधें । ‘सानोतिनो काम गरिएन’ भन्छन । के त दाई ? अब चाहिँ उनले तम्तमाएको अमिलो खाँदाको मुख जस्तै बनाए आधा हाँसेर । यिनले केहि उटुङ्ग्या सुनाउने भए भन्ने त निर्क्यौल नै भै गो । ‘कपतान, पाईलोट’ यस्तै ।

 शुरुमा त मैले बुझिन । ओहो कसरि कप्तान पाए होलान ? पाईलोट त झन कहाँ कहिले सिके यिनले ? ‘ए रात्तै यहाँ त त्यस्तै कमर्श समर्श केहि पढेझैं सुनिएको थियो । यो गोराको मुलुक कस्तो रैछ हँ कमर्श पढ्नेलाई पाईलोट बनाउने भनेर मुर्छित परिन्थ्यो लोभले । आफु त गफ दिन जानिन्न यार’ भन्दै दिए यिनले मलाई गफ भन्ने सोचें । सोध्न बाँकिनै थियो । उनका कुरा असाध्यै हाँसो लाग्यो । उनको भन्ने पारा उस्तै रसिलो । हात हलाउँदै, आँखा सल्बलाउँदै, मुख रसाएर सुनाउँछन ।

 फेरि बिदेशका डेक्ची पनि साना हुन्छन र  ? बाफ रे बाफ भन्छन उनी । डेक्ची त डेक्ची उहि त होला नी, अलिकति सानो ठुलो त जतापनि हुन्छ नी । क्या यार, बिदेशमा बस्दैमा डेक्चीकोपनि गफ दिने ? उस्तै त हो ।

 तर कहाँ हुनु नी ! होइन रहेछ । एउटा मान्छे सिंगै अट्ने रे बिदेशका रेस्टुरेन्टमा भएका डेक्चीमा त । हातमा लुँडो लियो अनि डेक्ची भित्रै पसेर डेक्चीको घेरोमा खुट्टा राखेर माझ्नुपर्ने रे स्वाइँ का स्वाइँ । त्यती बडेमानका हुने रहेछन । आफ्नो समयमा रेस्टुरेन्टमा पुग्यो फटाफट डेक्ची भित्र पसेर माझ्न थाल्दा कहिलेकाहिँ त साहुलेनै नदेखेर सोध्ने रे त्यो कहाँ छ भनेर । मान्छे नै हराउने त्यत्रा डेक्ची ।

 कुन्नी कल्ले हो खुब दुख दियो बा, भन्दै हाँसे उनी । दुख पाउँदा कोहि हाँस्छ, शंका लाग्यो । कस्तो दुख दाई भनेर सोधें । एउटा बजियाले पहिले ल्याउनै नहुने परिवारकि केटी लिएर भूमिगत भएछ रे । भएन परिवारमा टाउको दुखाई ? बल्ल बल्ल खोजेर ल्याएछन । अनि दुबैतिरका परिवार बसेर क्षतीपूर्ती स्वरुप कति हो रकम दिएर मिलाए रे । केटी फिर्ता भइ, दुबै चोखा मानिए । लौ अब त ठक्कर खायो होला, चेते होला, बुझक्कि भयो होला भनेको त झन गोठै भित्र्याएछ रे । अनि झगडा मिलाउँदा मिलाउँदा हैरान ।

 अर्काले कति दुख गरेर खेतीपाती गर्छ । पानी लाउँछ, मलजल गर्छ । गोड्छ । चुट्छ, भित्र्याउँछ । अनि भकारीमा हालेको अर्कोले खुसुक्क झिकेर लाने ? यस्तो खरो बोल्ने रामु दाईको कहाँबाट आयो साहित्य ? कुरकुरे बैंश लागेको कुनै मोरोले कसैको वालबच्चा सहित लिएर हिँडेछ। लौ ल्याउनेको परिवारमा बाल बच्चा सहित ल्यायो भनेर बेईज्जत भयो । लगिनेको आफुले त्यत्रा दुख गरेर बनाएको बालबच्चै लगिदिएपछि हरिबिजोक भएन ? दुबै पक्षलाई संझाएर जसको हो उसलाई जिम्मा लगाउँदा हैरान परियो भाई भन्दै थिए । गाउँमा किशोर किशोरीहरु उत्ताउला भए, ईज्जत र जिम्मेवारी हेरेनन, धेरै बिक्रिति निस्कियो भनेर चिन्ता मान्दै थिए उनी ।

 गफमा झुम्म पर्दा पर्दै मलेखु आएको पत्तै भएनछ । हाइवे गार्डेनमा बस छिर्‍यो । खाना खाने भनेर पसियो । रामु दाईले केहि लगाउने होला नी भाई है न ?-सोधे । लाउनी भए लगाइदिमतनी दाई, भनें । हुस्की, माछा, मासु र खाना मगाए । दाम तिर्ने दौड प्रतियोगितामा आफैं भाग लिएछन । लौ बसको सिट मिलाईदिए, दारु, दाना र पानी पनि ब्यवस्था गरे । खानापछि चास्स चुस्स पार्ने पान पराग र अक्णम बक्णमपनि उनैले किने । भरतपुरमा संपर्क गर्नु थियो । अब आफुसित मोबाईल थिएन । फोनपनि उनैको धस्काएँ । त्यो पनि कहिले काठमाडौंको नंबरमा त कहिले चितवनको । ‘दाई फाईनान्सर त गतिलै पाएछु नी’ भनेर जिस्काएँ । ‘तिम्रो पालोपनि आउला नी त कुनै बेला’ भने उनले । भैहाल्छ नी दाई त भन्नै पर्‍यो ।

 उनी सौराहा जानुपर्ने । म ओर्लिएँ भरतपुरमा । साथमा सुटकेश थियो । ओर्लेर दाई, आजको सारा बस देखि खानपान देखि दूरभाष यन्त्रको कष्टपनि तपाईकै भो । हेर यहिँ ओर्लिनी भएत यो सुटकेश बोक्ने रिक्साको दामपनि दाईलाईनै तिर्न लाउन हुन्थ्यो नी, भनेर जिस्काएँ । गाला झर्नेगरि हाँसे उनी। लौ त सौराहामै भेटौला । त्यहिं गफ गाफ र त्यसको सितनको ब्यवस्था सहित सिंगौरी खेलौंला भन्दै बिदाबादी भईयो । (बाँकी अर्को अंकमा पढ्नु होला )

तपाइँको प्रतिक्रिया