भर्खरै उड्लान जस्ता सन्जु शाहीका चरा कला
-रुपेन्द्र कर्माचार्य/चितवन
चराहरु स्वतन्त्र रुपमा आकाशमा उड्छन् । कोही घना जङ्गलमा बस्न रुचाउछन् त कोही नदी, नाला र ताल तलैयामा । चराहरु विविध रङ्ग, प्रकृति र आकार प्रकारका हुन्छन् । स्वच्छन्द रुपमा रमाउने प्रकृतिका यि सुन्दर रचनाहरुलाई एक्रेलिक रङ्गको सहाराले क्यानभासमा कैद गर्नुभएको छ कलाकार सञ्जु शाहीले ।
आफ्नै वासस्थानमा रमाइरहेका यि चराहरु निकै सुन्दर र हृदयस्पर्शी छन् ।
ललितकला क्याम्पसमा चित्रकारिता सम्बन्धी अध्ययन गर्नुभएका शाही विगत १० वर्षदेखि चराहरुको कै मात्र चित्र कोर्दै आएनुभएको छ । चराको पेन्टीङ्ग गर्ने प्रेरणा कलाकार विजय डंगोलबाट पाएको बताउनु हुने सञ्जु शाही निकै लगनशिल भएर चरा पेटिङ्गमा लाग्नुभयो ।
उहाँले शुरुमा पानी रङ्ग त्यसपछी तेल रङ्ग र एक्रेलिक रङ्ग प्रयोग गदै अगाडि बढ्नुभयो । फिल्डमा नै पुगेर चरा अवलोकन गर्ने मौका नपाएको र चरा सम्बन्धी कितावमा मात्र भर परेको कारण कमी कमजोरी भएको स्विकार्नु हुने शाही भन्नुहुन्छ, “कितावका तस्विर हेरेर मात्र हुदैन । वासस्थानमा नै पुगेर चराहरुको अवलोकन नै गर्नुपर्ने रहेछ ।” उहा“ प्रकृतिलाई नै एउटा क्यानभास ठान्नुहुन्छ, “चरा यथार्थमा नै राम्रो हुन्छ ।”
वर्ड एजुकेशन सोसाइटीको तेह्रो बाषिर्क साधारण सभाको अवसर पारेर सौराहाका चराप्रेमीमाझ उहा“ले आफ्ना सुन्दर रचनाहरु पस्किनुभयो । पन्छीका पारखीहरुले निकै अभिरुचीका साथ बेजोड रचनाहरुको रस्वादान गरे । सो प्रदर्शनीमा चरा अवलोकनमा पोख्त सोसाइटीका सदस्यहरुले चित्रहरुको प्रशंसा गर्दै आफ्ना धारणाहरु सुनाए । “आइविसविल निकै राम्रो छ, तर यसको ह्याविट्याट मिलेन । यो त ठुल-ठुला ढुंगा भएको बगरमा बस्छ नि ।” चरा अवलोकनकर्ता कृष्ण परियार भन्दै थिए । यस्ता सुन्दर तस्विरहरुले चरा संरक्षण प्रति जनचेतना अभिबृद्धी गर्न सहयोग गर्ने कुरा संरक्षणविद हेम सुवेदी बताउनुहुन्छ ।
चराहरुको चिरबिर आवाजले मोहित हुनुभएका कलाकार शाही भन्नुहुन्छ, “मेरा चित्रहरु मार्फ जति मैले यि चराहरु चिनाए, त्यति नै यि चराहरुले मलाई चिनायो । स्थापित गरायो । त्यसैले चराहरु प्रतिको मेरो अन्तरङ्ग सम्बन्ध गहिरो छ ।” यातायातको कारणले सञ्जु शाही ढिलो आइपुग्नु भयो । प्रदर्शनी त्यति ब्यवस्थित हुन सकेन । तथापी दर्शकहरु सबैले यि सुन्दर रचनाहरु औधी मन पराए । हुन पनि यि चराहरु साच्चै नै चिरविर गर्दै भुरुर्र उड्ला झैं लाग्थ्यो ।
–चरा पेन्टिङ्ग र एक्रेलिक आर्ट सम्बन्धी थप जिज्ञासा भए कलाकार सञ्जु शाहीलाई [email protected] मा सर्म्पर्क गर्न सक्नुहुनेछ ।





