जागिर खाने पत्नी घर निकाला
–गिता घिमिरे/अछाम
गैह्र सरकारी संस्थामा बसेर देशका बिकट बस्तीहरुमा काम गर्दै जाने क्रममा धेरै अनुभवहरु सँगालने मौका पाइन्छ । गाँउ वस्ती घुम्दै जादाँ कतिपय त कल्पना सम्म नगरेका कुराहरु सुन्ने र बुझ्ने मौका मिल्छ । मैले सुदुर पश्चिममा काम गर्दै आएकोपनि अहिले एक वर्षजति भएछ । त्यसमा पनि डोटी र अछाम जिल्ला त कार्यक्षेत्र नै पर्यो ।
केहि अघि कामकै सिलसिलामा अछाम जिल्ला पुगेकि थिएँ । अछाम जिल्लाको पनि अति विकट कुसकोट गा.वि.स.। कार्यालयको निश्चित उदेश्यका निम्ति गएकाले पहिलो प्राथमिकता त्यसैमा हुने नै भयो । काम सकेपछि दिउसोको खाना गाँउकै एक जना दाईको घरमा खाइयो । कामको शिलशिलामा म सँग गएका अन्य बहिनीहरु केहि ढिलो आइपुगे गाउँ घुमेर । मैले किन ढिला गरेको भनेर सोध्दा ‘दिदी कारण पछि भन्दै गरौंला। अहिले खाना खाउँ हुन्न र ?’ भने । उनीहरु पनि खाना खान लागे । खाना खाउन्जेल स्थानिय वातावरण, महिलाका समस्या, राजनितिक अवस्था, ग्रामिण समस्या लगायतका विषयमा गफ गाफ भए । मलाई चाहिँ ‘के होला त्यो पछि भनौंला भन्ने कुरो’ भनेर खुल्दुली लागिरह्यो ।
सबैको खानपीन सकिएपछि नुहाउन जाने कुरा भयो । बाटोमा मैले फेरी ढीला आउनाको कारण सोधें ती बहिनीहरुलाई । एक जना गाँउकै महिलाले मलाई भेट्न खोजेको उनीहरुले बताए । भेट्ने समय बेलुकाको लागि मिलाएको जानकारी दिए । सामान्य केही होला भन्ने सोचें । बेलुका भेट्न हामी तीनै जना उनको घरमा गयौ ।
घर र गोठ एकै छ । माथिल्लो तल्लामा उनीहरु बस्छन् । भुई तल्लामा गाइ गोरु बाँधिएका छन् । हामीलाई उनले माथिल्लो तल्लामा आफ्नो कोठमा बोलाईन । मैले आफ्नो परिचय दिए । उनको नाम रहेछ मिना साउद । श्रीमान् भारतमा मजदुरी गर्ने रहेछन् । २ वर्ष विति सक्दा पनि घर नआएका । सामान्य साक्षर भएकाले गाँउमा आउने विभिन्न परियोजनाहरुमा काम गरेर आफ्नो दैनीक गुजारा चलाउने रहेछिन् मिना ।
गफगाफका शिलशिलामा एउटा कागज देखाईन् उनले । त्यो रहेछ उनका पतीले भारतबाट उनलाई पठाएको पत्र । पत्रमा उनलाई तुरुन्त घर छोडेर जान धम्की दिईएको रहेछ । आरोप रहेछ – घरको काम नगर्ने । गाँउ गाँउ घुम्ने । कामका शिलशिलमा गाउँ घुम्नुलाई उसले पत्नी बिग्रनुसित जोडेर हेरेको रहेछ । साथमा तिन वर्षको छोरो छ कहाँ लिएर जाने ? कसरि जाने ? उनी चिन्तामा रहिछन् । समस्याका पोका फुकाल्दै उनी रुन थालिन् । कताकता श्रीमान् कै साथीहरुबाट उनले सुनेकी रहेछिन् , उसले अर्को विवाह गरेको ।
मिना दिदी रुदै भन्न थालिन् – गाँउमा अहिले सिपमुलक तालिम आएको छ । मैले पनि सिलाई बुनाई सिक्ने विचार गरेको श्रीमान्लाई सघाउना । तर उल्टै घरबाट निस्कीन भनिएको छ । अब मैले के गर्ने ? घरबाट निस्कीने की यहि घरमा बस्ने ? उनको प्रश्न जटिल थियो । मैले उनलाई घरबाट निस्कनु अघि कारण पत्ता लगाउने सल्लाह दिएँ। उसको आरोपकै भरमा घर छोडेर हिँड्न नहुने सल्लाह दियौं । तपाईका श्रीमान्ले वास्तवमै अर्को विवाह गरेको हो की होईन त्योपनि पत्ता लगाउनुपर्छ भन्यौं । बिना कसुर घर छोड्ने होइन बरु कानुनी उपाय खोज्नुपर्ने सल्लाह दियौं। त्यसकालागि हामी सबैले सहयोग गर्ने बचनपनि दिईयो । उनले फेरी प्रश्न गरीन् – यो सिपमुलक तालिम सिक्ने होला कि नसिक्ने होला ? मैले उनलाई अब त झन नसिकि हुन्न भनेर हौस्याएँ । । यसले आत्मनिर्भर बनाउने कुरा गरे । उनलाई निकैबेर सान्त्वना दियौं। सक्दो सहयोगको बचनसमेत दिएर फर्कियौं।
उनको घरबाट फर्किने बेला मन एकदम भारी भयो । कताकता पोले जस्तो भयो भनेर सँगैका ति बहिनीहरुलाई सुनाएँ । उनीहरुले त मैले भन्दा निकै सामान्य रुपमा लिने रहेछन् त्यस्ता घटनालाई । किनभने त्यस्ता घटना निकै हुने रहेछन् गाउँ घरमा । त्यहि प्रसंगमा उनीहरुले मलाई अर्को एउटा घर देखाउँदै थिए । त्यस घरका एक जना महिलाको पती घर नआएको १२ वर्ष भैसकेको रहेछ । ४ छोरा छोरी रहेछन् । श्रीमान्ले अर्को विवाह गरेर पारी बजारमा बसेको रहेछ । त्यति नजिकै घर हुँदापनि कहिल्यै आफ्ना वालबच्चा र पत्नीको खबर लिन सम्म नआउने रहेछ उ ।
यस्ता घटना सुन्दा कतिपयलाई सामान्य लाग्न सक्छ । तपाई हामीले सुन्दै पनि आएका छौ होला । महिला माथि हुने घरेलु हिंसालाई नितान्त व्यक्तिगत रुपमा लिई त्यसलाई लुकाउने काम मात्र हुन्छ हाम्रो समाजमा । श्रीमानले यसरी अर्की श्रीमती विवह गर्दा सजिलै घर छोडेर जाने धम्की दिन सक्छन् । अनि निर्दोश महिला पीडित बन्छन् । पारिवारिक जिम्मेवारी नलिँदापनि पुरुषलाई भने प्रश्न सम्म गर्ने आँट गर्दैन हाम्रो समाज । उसलाई जिम्मेवारीबोध गराउने हैसियत राख्दैन हाम्रो समाज ।
बिकट पहाडी बस्तीहरुमा हिँड्दा मलाई महिला स्वतन्त्रताका भाषण किताबमा मात्रै सिमित रहेको महसुस भयो । महिला अधिकार त केबल केही शहरी महिलाका लागि मात्रै रहेछ् भनेर झन प्रष्ट भएँ म । फेरी आफैलाई प्रश्न गर्न मन लाग्यो -साँच्चै समाज कता जादैछ ? भाषण, नारा, नियम र कानुनमा गरिने नारी स्वतन्त्रता र महिला अधिकारका कुरा कसकालागि होलान ?





