एनआरएनको क्षेत्रिय सम्मेलन र उठाउनुपर्ने केहि मुद्दा

nrn-logoगैह्र आवासिय नेपाली संघ (एनआरएन) को क्षेत्रिय सम्मेलन पर्सि सोमबार शुरु हुँदै छ पोर्चुगलको लिसबोन शहरमा । क्षेत्रिय सम्मेलन भनिएकाले पक्कैपनि क्षेत्रिय समस्या, क्षेत्रिय सफलता, चुनौती, भविष्यका योजनाका बारेमा छलफल होलान । आयोजकहरुले पक्कै पनि यसमा तयारि गरेको हुनुपर्छ । तर एनआरएनको यस भेलामा जति ब्यापक मात्रामा बहस र छलफल हुनुपर्ने हो त्यति भएको देखिन्न । यति ठुलो क्षेत्रिय भेलाबाट कसरि एउटा ठोस निर्णय लिने, कसरि समग्ररुपमा अगाडि बढाउने, चुनौतीहरु के के हुन् खासगरि क्षेत्रिय चुनौतीहरु । आर्थिक, सामाजिक र सांगठनिक रुपमा कसरि सफलताहरु हात पार्ने भन्ने लगायतका विषयमा पर्याप्त मात्रामा बहस र छलफल हुनु पर्थ्यो यस क्षेत्रका हरेक राष्ट्रिय सिमितिहरुमा । तर त्यसो भएको देखिएको छैन ।

 एनआरएन गठन र यसको बिस्तारसँगै निकै समस्यापनि देखिएका छन् । पछिल्लो समयमा हरेक जसो देशमा नेत्रित्वको टकराव, फुट, राजनैतिका स्वार्थका लागि एनआरएन प्रयोग लगायतका समस्या देखिँदै आएको छ । एनआरएनले कतिपय देशमा जुन मुद्दाहरु उठाउनुपर्ने हो त्यो उठाउन सकेको छैन । क्षेत्रिय रुपमा भन्नु पर्दा यि क्षेत्रका मुद्दाहरुलाई उठाउन सकेको देखिएको छैन ।

 त्यसो भए यो क्षेत्रिय भेलामा उठाइनुपर्ने साझा मुद्दा के के हुन् त ? पहिलो त एनआरएनले यो क्षेत्रका नेपालीहरुको उपस्थितिलाइ पहिचान गर्न सक्नुपर्छ । हरेक दिन नेपालीहरु अनेक देश र बिभिन्न माध्यमले भित्रिएको भित्रियै छन् । ति नेपालीहरुलाई संगठित गरिनु आवश्यक छ । यूरोपका कुनैपनि देशमा भित्रिने नेपालीहरुलाई कसरि सम्पर्क गर्ने ? कुन माध्यमले गर्ने ? अहिलेसम्म कति नेपाली भित्रिए ? र ति कुन देशमा कति छन् ? ति कहाँ के गर्दै छन् ? तिनको अवस्था के छ ? एनआरएनको क्षेत्रिय भेलामा यसमा छलफल हुनु जरुरी छ । किनभने जबसम्म नेपालीहरुको उपस्थितिको स्पष्ठ जानकारि हुन्न, उनिहरुको अवस्थाबारे जानकारि हुन्न तबसम्म नेपालीहरुलाई संगठित गर्नै सकिन्न ।

 नेपालीहरु हरेक दिन भित्रिएका त छन् । आउनेहरुले अनेक तहले जतिसुकै दुख र पिडा भोगेपनि आउने क्रम रोकिएको छैन । बरु बढेको छ । नयाँ आउनेहरुका समस्या त हुने नै भए । लामो समयदेखि अनेक समस्या भोगिरहेकाहरु पनि छन् । ति नेपालीका अनेक समस्या छन् । कुनै यहाँको सामान्य कानुन नबुझेर भोगिरहेका छन्। कुनै भाषाको कारणले पाउने सुबिधापनि लिन नजानेर, जानकारि नभएर भोगिरहेका छन् ।

 सामान्य चिठिपत्रका लागि ठेगाना दिने सुबिधा नपाएर समस्या भोग्नेहरुपनि उत्तिकै छन् । आफु आइपुगेको देशको चालचलन, भाषा, कानुनी प्रावधान, संस्थागत सुबिधाका बारेमा जानकारि नहुँदा अनेक दुख कष्ठ भोग्ने नेपालीपनि प्रशस्तै छन् । पक्कैपनि भर्खर विकास हुँदै गरेको नेपाली डायस्पोराले यूरोप आउने सबै नेपालीका सबै समस्या हल गर्न सक्दैन । एनआरएनसँग अहिल्यै त्यत्रो स्रोत र साधनपनि नहोला । तर पनि अगाढि भनिएझैं ति साना तिना समस्याहरुलाई भने एनआरएनले पुरा गर्न सक्छ र सक्नुपर्छ । त्यसको लागि यो भेलाले यूरोपस्तरमै एउटा नीति बनाउनु जरुरि छ । सकेसम्म त यूरोपस्तरिय यस्तो छरितो र काम गर्ने इच्छा शक्ति भएको समिति बनोस जसले यूरोप भरिका नेपालीको अवस्था, समस्या, समाधानका उपाय पत्ता लगाओस । समन्वयकारि भूमिका खेलोस । संबन्धित देशका नेपालीसित समन्वय गरोस । समाधानका उपायहरुको खोजि गरोस । कम्तिमा नेपालीहरुलाई कानुनी, समाजिक र सांस्क्रित परामर्शसम्म देओस संबन्धित देशको ।

 एनआरएन जति फैलिँदो छ उतिनै बिभिन्न स्वार्थ र नेत्रित्वको कमजोरीका कारण कतिपय देशमा कमजोरपनि भएको छ । शसक्त भैसकेको ठाउँमा कमजोर हुने, कतै प्रतिद्वन्दि एनआरएन गठन हुने त कतै शुरुमै विवादित बन्ने । टाढा किन जाने ? फ्रान्सकै उदाहरण दिने हो भनेपनि एक पटक सशक्त भैसकेको एनआरएन केहि ब्यक्तिको सामाजिक हैसियत बढाउन, पारिवारिक नाम चम्काउन र ब्यक्तिगत महत्वकांक्षाका कारण विवादित मात्रै बनेको छैन कि पछाडि हटेको र हटाइएको छ । हाकै सक्षम ब्यक्तिहरु आए आफ्नो हातबाट फुत्किन्छ भनेर एनआरएनलाई खुम्च्याएर राख्ने दुष्प्रयास भएको छ । नेत्रित्व तहको यस्तो समस्या इटाली, स्पेन, बेल्जियम, पोर्चुगाल लगायत यूरोपका धेरै देशमा देखिसकिएको छ ।

 एनआरएनका राष्ट्रिय समितिहरु गठन भएको भइ छन् । एनआरएन एउटा शसक्त अन्तर्राष्ट्रिय संस्था र नेपालीको एक बलियो सांगठनिक शक्तिका रुपमा उपस्थित भैरहेको छ । अहिले प्रारम्भिक चरणमा छ । नेपाल सरकारबाट एनआरएनलाई कानुनी पहिचान दिन पुरा गरिनुपर्ने केहि प्रावधानपनि बाँकिनै छन् । अहिले राष्ट्रिय समन्वय समितिका रुपमा रहेको एनआरएनका देशै पिच्छे थुप्रै शाखाहरु गठन हुन सक्छन् । किनभने नेपालीहरु सबै राजधानी शहरमा मात्रै बसेका छैनन् । त्यसैले एनआरएनलाई सस्थागत रुपमा एक ढिक्को बनाएर लैजान अहिले देखिनै गम्भिर हुनु जरुरि छ । त्यसैले यो क्षेत्रिय भेलाले त्यस्ता समस्याहरु देखिएको खण्डमा हस्तक्षेप गरेरै भएपनि एनआरएनलाई डुबाउने त्यस्ता गलत काम तह लगाउन सक्ने संयन्त्र बनाओस । त्यस्तो संयन्त्र बनोस जसले एनआरएनलाई सांगठनिक रुपमा क्षती पुग्नासाथ हस्तक्षेप गर्न सकोस् । त्यो संयन्त्रले हरेक देशका समस्या, गतिबिधी, उपलब्धि, नेत्रित्वका कमजोरीहरुको निरन्तर जनकारि लिउन् । अनि बिग्रनु अगावै निराकरण गरुन् । नत्र सारा नेपालीको दुख, मेहनत र बलमा लोकप्रिय भैसकेको संस्था सिमित ब्यक्तिको निहित स्वार्थमा प्रयोग हुन्छ भने, त्यो त फलानो देशको आफ्नै समस्या हो भनेर एनआरएन अन्तर्राष्ट्रिय समिति चुप लागेर बस्ने हो भने कसरि उँभो लाग्न सक्छ दिर्घकालिन रुपमा ?

 पछिल्लो अनुभवले के देखायो भने एनआरएन राष्ट्रिय गठनकै बेलामापनि आफ्नो वा केहि ब्यक्तिको निहित स्वार्थ सिद्द हुने ढंगले बिधान बनाइएको रहेछ । अर्थात बिधान बनाउँदै यस्ता कतिपय प्रावधान राखिएको रहेछ कि जसले समग्र समिति भन्दा कतै आइसिसि सदस्यलाई बढि शक्तिशाली बनाउने त कतै अध्यक्षलाई बढि शक्तिशाली बनाउने । अर्थात राष्ट्रिय समिति भन्दा एक्लो ब्यक्ति वा पद बढि शक्तिशाली । उदाहरणकै लागि एनआरएन फ्रान्सको बिधानमा समग्र राष्ट्रिय समिति भन्दा आईसिसी सदस्यलाइ बढि शक्तिशाली बनाइएको छ । आज को छ र भोलि को रहने छ त्यो पदमा भन्नु भन्दापनि एक ब्यक्ति वा एक पदप्रति बढि जिम्मेवार रहने यस्तो प्रावधानले समग्ररुपमा संस्थालाई हित गर्दैन ।

 यूरोपमा यूरोपेली परिषदले सकेसम्म यूरोपभरिका देशमा कानुन र परिपाटी समान गराउन खोजिरहेको छ । भए र सकेसम्म एकै कानुन, उहि परिपाटी । त्यसैले एनआरएनको यो क्षेत्रिय भेलालेपनि यूरोप भरिकै देशमा न्युनतम यो यो बिधि अपानाउनुपर्ने, यि प्रावधान हटाउनुपर्ने, यि प्रावधान राख्नु पर्ने भनेर एउटा साझा सहमती बनाओस । संबन्धित मुलुकको स्थानिय कानुनले दिने हकसम्म साझा धारणा बनाएको खण्डमा एआरएनको बिधान एकातिर यूरोपेली परिषदको अवधारणा जस्तै मिल्न जान्छ भने अर्कोतिर बिधानमै केहि अनेक बुँदा घुसाएर स्वार्थ सिद्द गर्न खोज्नेहरुको प्रयासलाई बिफल पार्न सकिन्छ ।

 भेलाले निर्णय लिनु पर्ने महत्वपूर्ण पक्ष के हो भने आर्थिक लगानीको क्षेत्र । एनआरएनको कुरा हुनासाथ लगानीका चर्का चर्का प्रसंग उठ्ने गर्छन् । एनआरएनले कस्तो ठाउँमा लगानी गर्ने ? कति लागनी गर्ने ? कसका लागि गर्ने ? कसले गर्ने ? अहिले नेपाली दुखजिलो गरेर जति कमाएका छन् । तिनले साँच्चै भन्ने हो भने लगानी गर्ने उपयुक्त ठाउँ, क्षेत्र, माध्यम र उपाय पाएका छैनन् । त्यहि कारणले गर्दा यूरोपमा अलि लामो समय बस्नेहरुको सुरक्षित लगानीको ठाउँ घर जग्गा किनबेच भएको छ । यूरोपमा घर जग्गा किन्नु तुलनात्मक रुपमा सुरक्षित भएतापनि व्यवसायिक लगानीको तुलनामा अवश्यै नाफामुलक होइन ।

 थुप्रै नेपालीलाई परेको समस्या के हो भने हातमा पैसा छ तर कहाँ केमा लगानी गर्ने ? यूरोपमा एक्लै लगानी गरौं एक दुई जनाको पूजीले धान्दैन । बिभिन्न व्यवसायिक र कानुनी झमेला पार गर्न पनि सहज हुँदैन । नेपालमा पनि एकाध ब्यक्तिले लगानी गर्दा सुरक्षाको सुनिश्चित छैन । ब्रिहद लगानी गर्न सकिन्न । बिदेशमा बसेर नेपलमा लागनी सानो तिनो ठाउँमा । एकाध ब्यक्तिले ब्यवस्थापन गर्नु सहज छैन । त्यसैले नेपालीको निकै ठुलो रकम  ब्यर्थमा घरजग्गा खरिद बिक्रिमा गैरहेको छ । यदि एनआरएनले त्यस्ता आर्थिक लगानीको क्षेत्रमा लगानी गर्नतिर सोच्ने हो भने छरिएर रहेको नेपालीको लाखौं करोडौं रकम लागनी गर्न सकिने अवस्था छ ।  त्यस्तो लगानी नेपालमा गर्ने हो भने एकातिर बिदेशमा लगानी नपाएको रकम सदूपयोग हुन्छ भने अर्को तिर स्वदेशमै हजारौंलाई रोजगारी दिन सकिन्छ । स्वदेशमा उत्पादित त्यस्तो सामाग्रि फेरि बिदेशकै नेपालीको सम्पर्क र पहुँचलाई प्रयोग गरेर लाखौं कमाउन सक्ने अवसर पनि हुनसक्छ ।

 लगानी त गर्ने तर कस्ता ब्यक्तिले ? एनआरएनका कतिपय डा उपेन्द्र महतो जस्ता ब्यक्ति छन् जो अन्तर्राष्ट्रिय स्तरका ब्यापारी । कोहि नीजि बिमान चढेर तत्कालै नेपाल ओर्लन सक्नेपनि छन् । लाखौं लाख बिदेशी रकम लगाउन सक्ने ब्यापारी र सय डलर हाल्न नसक्ने दुबै खाले एनआरएनको छातामुनी । लगानीको कुरा आउँदा लाखौं लगानी गर्ने सक्नेले त गर्ला । तर सय डलर भन्दा बढि लगानी गर्न नसक्नेले के गर्ने ?

 कि त्यो सय डलर भन्दा बढि लगानी गर्न नसक्ने सधैं चाउरीएर बस्ने ? एउटै संस्थामा आवद्द छन् । सम्पन्नशालीले एनआरएनकै नाममा लगानी गरेर फाईदा लिन्छ । वा देशको लागि केहि लगानी गरें भनेर खुशि हुन्छ । तर थोरै हुने हेरेको हेर्‍यै हुन्छ भने त्यस्ता सामान्य खालका नेपालीहरु एनआरएन भन्दै हिँड्नुको औचित्य के हुन्छ ? उल्टो सम्मान र हैसियत पाउनुको साटो कतै सम्पन्नहरुको समूहमा लगानी गर्न नसक्दा उसले आफुलाई हेलित र कमजोर महसुस गर्दै बाहिर निस्कनु त पर्दैन ? त्यसैले यो भेलाले एनआरएनको लगानीका क्षेत्रमा हरेकले सहभागि हुन पाउने बाटो खोलोस जसले गर्दा बिदेशमा भएका सबै नेपालीले एनआरएन मेरोपनि हो भनेर आत्मैदेखि आफ्नो ठान्ने वातावरण बनोस ।

-एन आर एन संग संबन्धित तलका रिपोर्टपनि हेर्नुस-

पाठकलाई प्रश्न, एन आर एन फ्रान्समा कसको भूमिका कस्तो ?

अवैधानिक महाधिवेशन गर्दै एनआरएन फ्रान्सको नयाँ कार्य समिति

सापकोटाको अध्यक्षतामा एन आर एन डेनमार्कको नयाँ समिति

तपाइँको प्रतिक्रिया