स्वर्गकै एक टुक्रा खसे जस्तो रारा
–अनिल रुपाखेती (राराबाट फर्केर)
रारा तालको ब्याख्या, चर्चा र परिचर्चा मैले के गरौं ? स्वर्गको एक टुक्रा खसेको त धेरै पहिले नै भनिसकेका हुन् । साच्चै केहि समयअघि म त्यहाँ पुग्दा मैले पनि त्यस्तै अनुभव गरें । राराको सुन्दरता । मुगुबासीको त्यो निर्दोश मन । आर्थिक रुपमा बिपन्न भएर पनि सम्पन्न हाँसो । राराको निश्छल पानीमा माथिबाट खसेको निलो आकाश । राराको छकल्किँदो छालको सुस्त आवाजसित स्वरमा स्वर मिलाउँदै गाउने चराका गित । वरिपरिका फूलसँग मितेरि लगाउँदै गुन्गुनाउने भमरा र माहुरी । उत्तरतिर हेर्दा आकाश चिर्दै हाँसेका चाँदी जस्ता हिमाल । वरिपरी तिनै हिमालसित मितेरी लगाउँला झैं अग्लिन खोज्ने ति हरिया डाँडा । तिसँगै गजधम्म परेका थुम्का । तिनले लुट्पुट्याएर राखेका हरिया फाँट । पारी पाखाभरि सिंगौरी खेल्दै चरेका गाइवस्तु । उफ् के छैन ? एउटा मन हसाउने । आत्म हौस्याउने । कौतुहलताले आँखा नचाउने । खुशीले मन बौलाउने सब थोक रहेछ, साँच्चै सबै बोकेर बसेको रहेछ रारा । अनि पो भनिएको रहेछ त रारालाई स्वर्गको एक टुक्रा खसेको भनेर !! त्यहि भएर मलाई लाग्यो-म यति बिघ्न रमाएको, हौसिएको रारालाइ तपाईहरुसित किन केहि साझेदारी नगरौं ? तपाईहरुलाईपनि किन नघुमाउँ तस्बिरमै भएपनि ?
घामका किरणले राराको पानीमा ठक्कर खाँदा यस्तो देखिने रहेछ ।
राराका जति भिन्न छेउ कुना गयो उति फरक देखिने, उस्तै रमणिय लाग्ने ।
राराको कुनै थुम्कोबाट आँखा नचाउँदा आकाश वर्लिँदै यसरि आइपुग्ने रहेछ राराको पानीसित मितेरी लगाउन । राराको पानी फेरि उस्तै, आकाशसँगै मिले जस्तो पानी पनि निलो न निलो ।
आफ्नो दुख र पिडा अनि कष्ट र भोगाई । हाँसो र रोदन सबै छ यि ७५ वर्षे मुगाली बासित । म सित यि बा तिनै कथा ब्यथा र जवानीका कुरा निर्धक्क सुनाउँदै थिए ।
मेरो एउटा सपना थियो रारा हेर्ने, मुगु छिचोल्ने। आँखा भरि साँचेको थिएँ ति ठाउँलाई फन्को लगाउने । जब म आइपुगें, लाग्यो ति पुरा भए । अनि राराको त्यो सुन्दरता देख्दा आफैं त्यहाँ हराउन लागेंकि जस्तो भएँ।
हो, मुगु पुगेपछि घर्लप्पै डाँडा ढाक्ने हिमाल हेर्न पर्वतारोहण गर्नु पर्दैन । वरिपरिबाटै देखिन्छन् यसैगरि ताल्चा परेको डाँडा र तिनमाथि जमेको हिउँ ।
अनि निकै पर लाग्ने हिमालहरु यति नजिक गजधम्मै परेर बसेको देखिन्छन् मुगुबाट ।
ओहो हो, हिउँपनि कम्ति पर्ने हो र ! जमिन त पुरै हिउँनै हिउँको जस्तो । रुखका पात पात, हाँगा बिँगामापनि हिउँले ढाक्ने रहेछ । वरिपरि हेर्दा लाग्ने एउटा सेताम्मे मुलुक जस्तो ।
म धादिङ निवासी । कहिले पाउने हिउँसित सिंगौरी खेल्न रमाउन ? अनि साथीपनि उस्तै । अनि लागियो हिउँका डल्लासित खेल्दै, रमाउँदै र हातैले स्पर्श गर्दै गर्न ।
यो हो मुगुको ताल्चा विमानस्थल । अनि यसमा सल्बलाउने, हराउनेहरु हुन् मुगाली । आफ्नै परिहन, छुट्टै आशा । आफ्नै दैनिकि अनि फरक पहिचान ।
आकाशको आगो पातालको पानी, म्वाई खान जाँदा कराउने बानी के हो ? तमाखु खाएको । स्कूले जिवनमा हाजिरी जवाफ प्रतियोगितामा हामी यसैगरि प्रश्नोत्तर गर्ने गर्थ्यौं । हो यि मुगाली दाई छेउको यो वालकको जिज्ञासु आँखालाई यहि देखाउँदै थिए, सायद बताउँदै थिए । उनी यहि हुक्काको सहारामा आफ्नो बुढ्यौलीपनि काट्दै थिए ।
लौ मुगु पनि घुमियो । रारापनि देखियो । स्थानिय जनजिवनसित भेटघाटपनि गरियो । आफ्नै कार्य क्षेत्र, आफ्नै गाउँ फर्किनुपर्ने वास्तबिकता त छँदै थियो । अनि यहि मुगुको ताल्चा विमानस्थलबाट यति एयरको विमानका झ्यालबाट नजर लगाउँदै हिँडियो मुगुलाई छोडेर । हेर्न पाएकोमा हाँस्दै, घुम्न पाएकोमा रमाउँदै अनि छोड्नुपरेकोमा मन अमिलो पार्दै ।
-अनिलका अघिल्ला रचनापनि हेर्नुस-












