पाठकलाइ प्रश्न, एनआरएन फ्रान्समा कसको भूमिका कस्तो ?

मैले केहि दिन अघि “अवैधानिक महाधिवेशन गर्दै एनआरएन फ्रान्सको नयाँ कार्य समिति” शिर्षकमा एउटा समाचार छापें । स्वभाबिकै हो, सबैले आफ्नो ईच्छा, स्वार्थ, कामना, सद्भाव अनुसार फरक फरक ढंगले लिए। केहिलाई खुशि लाग्यो लौ अब वास्तबिक कुरो बुझिँदै छ भनेर । केहिलाई नयाँ कार्यसमितिलाई असहयोग हुने भो भन्ने परेछ, जुन पटक्कै होइन नै । कसैलाई अहिलेसम्म एनआरएनको क्षेत्र र केन्द्र सम्म ढाँटेर बताएका कुरा बाहिर आउने भए भनेर पिरलो भयो होला । कसैले एनआरएन फ्रान्स बिरोधी समाचार ठाने । त्यो त अबुझनै भैहाल्यो । किनभने एनआरएन बिरुद्द त्यो समाचार होइन बरु एनआरएनलाई भसाउने भए भनेर गलत ब्यक्ति, गलत चिन्तन, गलत परिपाटी, गलत तरिका, स्वार्थ केन्द्रित क्रियाकलापका बिरुद्द हो । एनआरएनकै बिरुद्दमा त्यहाँ कहिँ कतै एक शब्द पनि छैन । समग्र एनआरएनलाई अब कसैले हल्लाउन सक्दैन । विश्वभरि छरिएका नेपालीको साझा संस्था एकाध स्वार्थले हल्लिँदैन यो । कुनै देशमा केहि समय कसैको राजनितिक, सामाजिक, पारिवारिक स्वार्थमा भासिएला। तर एक न एक दिन यसलाई माया गरेर नेत्रित्व लिन सक्ने सफल मानिस निस्कन्छ्न्। त्यसैले पनि एनआरएनलाई कसैले, कुनै क्षेत्रिय संस्थाले, कुनै ब्यक्ति विशेषको मरिहत्तेले दिर्घकालसम्म पञ्जामा पार्न सकौंला भनेर सपना नदेखे हुन्छ ।

 अघिल्लो समाचार निस्किएदेखि बिभिन्न गन्थन मन्थन भए केहि साथीहरुबिच । कसैले ‘फ्रान्समा बस्नेको समाचार अरु जुनसुकै पत्रीकामा निस्किएपनि फ्रान्समा बस्नेलाई नेपाल प्लसमा ननिस्किएसम्म अर्थै लाग्दैन। धितै मर्दैन। मनलेनै मान्दैन’ भने। त्यसैले एनआरएन फ्रान्समा कसले के गर्नुपर्छ ? अहिलेसम्म कसका के कमजोरी रहे ? अध्यक्षको भूमिका के ? कस्तो अध्यक्ष हुनुपर्छ ? को छ त्यस्तो सक्षम ? आसिसी सदस्यका बारेमा निकै प्रश्न उठ्छन् । आइसिसी सदस्यको अन्य देशमा भूमिका के ? एनआरएन फ्रान्समा भूमिका के ? किन अर्को ब्यक्ति हुन सक्दैन ? कसैले मन नगरेर हो कि ?

 एनआरएन फ्रान्सलाई सबै नेपालीले यो मेरो हो, त्यहाँ मेरा आवाज सुनिन्छन्। आफ्ना भनाई राख्न पाइन्छ । सुझाव दिँदा डराउनु पर्दैन । कसैको कर कर सुन्नु पर्दैन । कसरि धेरै भन्दा धेरै नेपालीलाई समेट्ने ? केहि मित्रहरुसितको अन्तरंगपछि उहाँहरुले मलाई यो विषयमा बहस चलाउन नेपाल प्लसले सहयोग गर्नु पर्‍यो भनेर आउनुभयो । त्यसैले मैले यो हप्ता लेख्न खोजेको एनआरएन संबन्धि विषयलाई थाँती राखेर उहाँहरुको भावनालाई कदर गर्दै यो ब्लग लेखेको हुँ । मैले लेख्छु भनेको विषय अर्को हप्ता लेख्ने छु ।

 त्यसैले तपाईहरुले आफ्ना भनाईहरु राखिदिनुस। तपाईका सुझावले नयाँ कार्य समितिमा आएका नयाँ साथीहरुलाई एनआरएन फ्रान्सबारे बुझ्न सजिलो पर्ने छ । एनआरएनलाई अगाडि बढाउन मद्दत पुग्ने छ । पुरानाका कमजोरि केलाउन सहयोग हुने छ । आफ्ना भनाई राख्दा कसैको नितान्त निजि कुरा उल्लेख नगर्नुहोला । एनआरएन एउटा सामाजिक संस्था भएकाले त्यसमा भएका कमजोरी र त्यसमा बसेर काम गर्नेको संस्थागत गल्ति कमजोरी राख्न छुट सबैलाई छ । तर शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुहोला । एनआरएनलाई संस्थागत रुपमा क्षती पुग्ने ढंगका प्रतिक्रिया यहाँ राखिने छैनन् । र नितान्त निजात्मक प्रसंगपनि हटाइने छ ।

नयाँ साथीहरुको बिरोध हो कि भन्ने सोचेका र एनआरएनलाई असहयोग हुन्छ कि भन्ने ठानेकालाई एक पटक सम्झाउँ ? किरण केसी, घनश्याम पौडेल, रामहरी खकुरेल, प्रकाश पाठक र भक्त वाग्ले जस्ता नयाँ र केहि नयाँ सोच भएका साथीहरु पुगेकोमा खुशि लागेको छ । झन पद बाँडफाँड गर्ने बेलामा शुरुमै घनश्याम पौडेल, मुकुन्द अमात्य र किरण केसीले कुनै पदबिना सदस्यमै बसेरपनि काम गर्छौं भनेर पदलोलुपता बिरुद्द उभिएछन् । यो त झनै प्रशंसनियनै भयो । एक दुई जना पुराना र केहि अहिले थपिएका कम्तिमा यि साथीहरुले एनआरएनलाई केहि गती दिन पक्कै भूमिका खेल्नेछन् । एनआरएनको संस्थागत भलोकालागि धेरै नेपालीले सहयोग र साथ दिन्छन्। मेरो त झन प्रश्नै रहेन । तर सिमित र निहित स्वार्थ पूरा गर्न, कसैको पारिवारिक ईज्जत बढाउन र नाम चम्काउन मात्रै हो भने बुझे हुन्छ, यस्ता आलोचना सबैबाट दशौं गुणा बढि हुन्छन् ।

 स्मरण गराउँ, म अब नेपालप्लसको मुख प्रिष्ठमा सधैं रहने गरि एउटा लेख एनआरएन संबन्धि राख्ने छु । त्यसमा एनआरएन फ्रान्स र समाचारको भोकाहरु, एनआरएनमा संलग्नता-सामाजिक हितका लागि कि ब्यक्तिगत नामकालागि मात्रै ?, एनआरएन फ्रान्समा कसको छ राजनितिक स्वार्थ, को छ फूर्सदिलो ?,  एनआरएन फ्रान्स र संस्थागत हित, एनआरएन फ्रान्स र फ्रान्सबासी नेपालीको अपेक्षा लगायत पहिले त एनआरएन फ्रान्स संबन्धि विषय नै प्राथमिकताका साथ लेख्ने छु । अनि बिस्तारै एनआरएन र आर्थिक, सामाजिक लगायतका बिभिन्न विषयमा देखे लागेका विषय उठाउने छु ।

तपाइँको प्रतिक्रिया