अवैधानिक महाधिवेशन गर्दै एनआरएन फ्रान्सको नयाँ कार्य समिति

NRN-France-General-Assembly-1

नेत्रित्व लाचार, असफल र स्वार्थ प्रेरित भयो भने संस्थाको कतिसम्म अधोगति हुन्छ भन्ने उदाहरण बनेको छ एनआरएन फ्रान्स । अस्ति आइतबार एनआरएन फ्रान्सको ‘महाधिवेशन’ भयो । तर पुरै अवैधानिक । एनआरएन फ्रान्समा अहिले सय जना जति (महाधिवेशनमा कति सदस्य छन् पनि यकिन भनिएन) भनिन्छ । तर त्यहाँ नयाँ कार्य समितिको नाम पढ्दा हलमा ३५ जना थिए । ति मध्ये पाँच जना दुतावाससित संबन्धित कर्मचारी र परिवार । अनि एक जना जानकी गुरुङ त एनआरएन महाधिवेशनका लागि प्रतिनिधी भईन । सदस्यनै नभएका अन्य केहि पक्कै थिए। यसरि आम प्रचलन अनुसार त्यस्तो महाधिवेशन हुनको लागि कम्तिमा सदस्य संख्याको एक तिहाई उपस्थित हुनुपर्नेमा त्योपनि नपुर्‍याइकन एनआरएन फ्रान्सको नाम मात्रको महाधिवेशन गरियो ।

 हलमा उपस्थित हुँदा शुरुमा सहभागिहरु आउँदै होलान, आउलान भन्ने भयो । तर अहँ खासै थपिएनन् । हरि सापकोटाले कार्यक्रम सञ्चालन गर्न लाग्दा सदस्य संख्या देखेर अधिकांशले मुखामुख गरे । हलमा भएका छक्कै परेका थिए । भएकालेपनि निकै खल्लो माने। कोहि साथी ‘ल यसमा त प्रश्न उठाउनु पर्ने नी अरु सदस्यले भएन भनेर’ भन्दै थिए।  प्रतिनिधीका रुपमा बेल्जियमबाट आएकि जानकी गुरुङ ‘त्यत्रा त्यत्रा कार्यक्रम गरेको एनआरएन फ्रान्सको के भयो यस्तो ? ‘ भनेर सोध्दै थिईन म सित। मैले परिवारवाद र नालायकहरुको नेत्रित्व अनि कार्यक्षमता शुन्यताबारे केहि कुरा राखें । कोहि साथी ‘ल अब जम्ने भएछ एनआरएन फ्रान्स’ भनेर ब्यंग्य गर्दै थिए।

एनअरएनमा जो पायो त्यसलाई राख्दापनि आफ्नो बर्चस्व उम्किने । त्यहि भएरपनि एनआरएन फ्रान्समा को को बस्ने भनेर अग्रिम मिलाईसकिएको रहेछ । हलमा उमेरदवारहरुको नाम भित्तामा टाँसियो देखाउनकालागि । अनि चुनावको नाटक गरियो । चुनाव कसरि हुने ? ११ जनाको हुनुपर्ने समितिमा १० जना मात्रै भए । समितिको आकारनै पुर्‍याउन सकेनन् । अझ त्यहि दश जना मध्येपनि केहिलाई त कर गरेर ल्याइएको थियो भन्नेपनि सुनिएको हो । यो भन्दा असफल के हुन्छ नेत्रित्व ?

NRN-France-General-Assembly-2(महाधिवेशनमा सहभागि हुनेहरुको भिड यहि हो । एकाध जना बाहेक यहाँ खासै छुटेका छैनन् मञ्चमा बस्ने बाहेक)

चुनाव नहुने पक्का थियो । किनभने आईसिसि सदस्यको हस्तक्षेप, पारिवारिक पकड, हालिमुहाली र बुझेर वा नबुझेर केहि हदसम्म अध्यक्षको शिकार हुन र छायाँ बनेर काम गर्न कोहि तयार थिएन । त्यहि भएर एनआरएन फ्रान्सको महाधिवेशनमा कसैको चाख रहेन। कतिसम्म भने कार्य समिति भित्रैका सदस्य समेत महाधिवेशनमा आएनन् । जबकि महाधिवेशन सफल पार्ने नै तिनैले हो । कार्य समितिको आकारै पुर्‍याउन नसकेपछि निर्वाचन हुने त प्रश्नै रहेन । तैपनि दिदी कल्पना घिमिरे र किरण प्रधानलाई निर्वाचनकालागि तोकियो। अनि त्यहाँ आइसिसी सदस्य हरिहर अर्याल र अध्यक्षका रुपमा अशोक न्यौपानेको नाम भनियो । बाँकिको उम्मेदवारका रुपमा । यसबारे म छुट्टै बलग लेख्ने छु । अहिले त्यतातिर नलागौं ।

 पूर्व राजा ज्ञानेन्द्र प्रजातन्त्रको कति नाटक गर्थे विश्वभरि तानाशाहका रुपमा चिनिँदापनि । त्यसैले जहाँ प्रजातन्त्र, स्वतन्त्रता हुँदैन त्यहाँ बढि नाटक हुन्छ । सत्य तितो हुन्छ, एनआरएन फ्रान्समापनि गरिएको त्यहि हो । समितिमा बस्ने सदस्यनि पुगेको छैन तर निर्वाचन रे ।

साह्रै हाँस्यास्पद त के भने आइसिसी सदस्यले ‘हामीले पाँच सात जना साथी भाई मिलेर गठन गरेको एनआरएनलाई आज यहाँसम्म विकास गरेर ल्याइपुर्‍याइयो’ भने । एनआरएन निकै अगाढि बढाइयो भन्दै थिए । त्यतिबेलै पछाडिबाट एनआरएनका एक सदस्य ‘हो वाफ रे ल हेर कति धेरै सहभागि, ल विकास भएकै हो, अझै विकास गर्नु ल’ भन्दै थिए । एनआरएनको समितिकै केहि साथीहरु ब्यंग्यात्मक हाँसो हाँस्दै थिए ।

अनि नयाँ अध्यक्ष अशोक न्यौपाने चाहिँ ‘मलाई निर्वाचन गरेर यो गरिमामयपदमा बिजयी गराउनु भएकोमा तपाई सम्पूर्ण साथीहरुमा धन्यावाद। मैले गौरवको महसुस गरेको छु’ भने । त्यत्रा त्यत्रा यूरोप स्तरिय महिला भेला, एनआरएन ब्रिहद भेला लगायतका खचाखच मानिस भरिने गरेका कार्यक्रमलाई बिर्सेर एनआरएन फ्रान्सको महाधिवेशननै अवैधानिकरुपले सम्पन्न गराउँदापनि गौरव ? सिलो टिपे जसरि सदस्य संख्या उपस्थित भएर महाधिवेशन भैरहेको छ। असफल भइयो । अब के गर्ने ? कमजोरी कहाँ रह्यो ? सच्याउने र अब कसरि अगाढि बढाउने एनआरएन प्रति आकर्षण भनेर घोत्लिनु त कहाँ हो कहाँ उल्टो गौरब रे । उँटमा चढेर यात्रा गरेको मानिस ओर्लेर बोकामाथि चढ्दापनि हात्तीमाथि चढेको छु भनेर गौरव गर्नेलाई के भन्ने ?

जानकी गुरुङले के भन्ने ? नेत्रित्व राम्रो आओस, एनआरएन फ्रान्सलाई अगाढि बढाउनुस भनिन् । उनले एनआरएन यूरोप आगामि दिनहरुमा अन्य क्षेत्रमा भन्दा अझ बढ्ने संभावना रहेकाले झन गम्भिर भएर काम गर्नुपर्ने बताईन । अनि एनआरएनको आगामि विश्व सम्मेलन जुन् काठमाडौंमा हुँदै छ, त्यसमा सहभागि भएर सहि नेत्रित्व छान्न आग्रह गरिन् ।

बिचरा हाम्रा राजदूतले के भनुन् ? के गरुन् । एनआरएनकालागि भनेर खट्नु खट्थे । सक्ने सम्मको सहयोग गर्थे, उनको परिवारै लाइमिली गर्थ्यो। गर्नु गर्थे । कूटनितिज्ञ न परे । दुई देशको सिमामा सैनिक लडाई गर्न तयार हुँदा पनि राजदूतहरुले हात मिलाउँदै ‘हाम्रो एकदम राम्रो दौत्य संबन्ध छ, मित्रता छ’ भन्नु पर्ने स्थानमा उनी परे। एनआरएन फ्रान्सको सराहाना गर्छु भने भन्न त । तर खचाखच भरिने कार्यक्रम हुने त्यहि दुतावास भवनमा त्यस्तो पाराको कार्यक्रमलाई राम्रो भन्दै संबोधन गर्नुपर्दा साँच्चिकै उनको मनले के सोचे होला ?

यसपाली किरण केसी, रामहरि खकुरेल, घनश्याम पौडेल, भक्त वाग्ले लगायतका केहि नयाँ अनुहार आए कार्य समितिमा । अनि एनआरएन फ्रान्स भनिएपनि एनआरएन पेरिस जस्तो थियो। सधै पेरिस भित्रका नेपाली मात्रै हुने गर्थे । यस पटक पेरिसबाट बाहिर नत भन्ने ठाउँमा बस्ने मेरा पुराना मित्र प्रकाश पाठक पनि आए ।

जे होस अहिले यति बिन्ति गरौं, एनआरएन फ्रान्समा भए गरेका धेरै पक्षबारे प्रश्न उठाउनुपर्ने छ । बहस गर्नुपर्ने छ । यो सबैको साझा हो बिदेश बस्ने नेपालीको मुलत । त्यसैले यसको हितका बारेमा सबैले सोच्नुपर्छ । र पनि यसलाई कसैको चंगुलमा पार्ने काम, नियत र दुस्साहसका बारेमा सक्नेले आवाज उठाउनै पर्छ । त्यसैले म आजबाट नेपालप्लसमा एनआरएन बारे सामाग्रिहरु राख्नकालागि छुट्टै शिर्षक खडा गरेको जनकारि गराउँछु । यसमा अब तत्कालकालागि एनआरएन फ्रान्सका बारेमा भएका कमजोरी, हस्तक्षेप, एकमनावाद, नेत्रित्वको नालायकिपन आदिका बारेमा कलम चलाउने छु । गत मार्चमा भएको कार्यक्रममापनि म माथि एनआरएन फ्रन्सकै खाता सम्हाल्न बाहेक अरु कामलाई महत्व नठान्ने मित्रले केहि प्रश्न उठाएका थिए । त्यसको पनि म यहाँ चिरफार गर्ने छु । त्यसैले एनआरएन फ्रान्सका बारेमा बुझ्न मनलाग्ने मित्रहरुले हेर्दै गर्नुहोला । अनि तपाईलाइ पनि स्वागत छ समग्ररुपमा एनआरएनका बिभिन्न पक्षबारे बहस र छलफल चलाउन मन लागे ।

तपाइँको प्रतिक्रिया