भवन भट्ट कार्यकालका एन आर एन ए नेताले कस्तो भात खाए ? दुई वर्षमा एन आर एनको खर्चमा दालभात खाएको साँढे दुई करोडभन्दा बढि

‘नेपालीद्वारा नेपालीकालागि’ नारा दिएर नेपाललाई सहयोग गर्न जाने एन आर एन ए नेताहरुले नेपाल जाँदा कस्तो खाना खान्छन् होला ? सुनको भात ? हिरा र मोती गालेर बनाइएको झोल ? पित्तलै पित्तल कुटेर बनाएको दाल ? कि नेपाली दालभात, तरकारी, सागपात र मासु ? भवन भट्ट अध्यक्ष रहेको गत दुई वर्षे कार्यकालमा दालभात खाएको मात्रै साँढे दुई करोड भन्दा बढि रकम एन आर एनएको खाताबाट खर्च गरिएको छ ।

भूकम्प पिडितलाई सहयोग गर्ने, बाढि पहिरोमा परेकालाई उद्दार गर्न भन्दै नेपाल जाने अभियन्ताहरुले एन आर एन एको खाताबाट एक वर्षमा दुई करोड ५५ लाख ८५ हजार तिन सय १० रिपुयाँको त दालभातनै खाएछन् । डेढ करोड भन्दा बढिको दालभात कुन र कस्तो होटेलमा खाए होलान् ?

दुई वर्षमा यति महँगो दालभात खाएपछिपनि फेरि लजिग एण्ड फुडिङमा १२ लाख २० हजार ७९ रुपियाँ खर्च गरेका छन् । दालभातमा यत्रो रकम पचाईसकेपछिपनि फेरि लन्च एक्स्पेन्सेस भनेर दुई लाख ८३ हजार आठ सय ५५ रुपियाँ खर्च देखाइएको छ ।

यति रकम दालभातमा खर्च हुन दिनमा कति जनाले कति मूल्य बराबरको दालभात खानुपर्ला ? दुई वर्ष अर्थात् ७३० दिननै भात खाँदा दिनको ३५ हजार ४८ रुपियाँ ३७ पैसा पर्छ । दिनमा एक जनालाई एक हजार लागेपनि दिनको ३५ जनाले दालभात खानुपर्छ । के दिनमा ३५ जनाले एन आर एन एको खाताबाट खाना खान्छन् ? लजिङ फुडिङ र  लन्च एक्स्पेन्सेस भनेर गरिएको खर्च त अलग्गै छ । के यस्तो संभव हुन्छ ?

हामीलाई लाग्छ, हाम्रा केन्द्रिय नेता आफ्नो काम छोडीछोडी नेपाल र नेपालीको सेवामा दगुर्छन् । आफ्नै गोजीको पैसो खर्च गर्छन् । आफ्नो ब्यापारलाई लथालिंग छोडेरपनि मात्रिभूमीको सेवामा खटिन्छन् । तर कहाँ हुनु ? नेपालको सेवामा खटिन गएबापत एक करोड १९ लाख चार हजार आठ सय १३ रुपियाँको त इन्धनमै खर्च गरेका छन् ।

सानातिना लाख लाखका खर्च त के हेर्नु ? त्यस्तो हेर्यो भने त कति छन् कति । कुरियर एक्स्पेन्सेस भनेर दुई लाख ७६ हजार तिन सय ८२  रुपियाँ छ । के र कुन ठाउँमा कसलाई पठाएको कुरिएर खर्च होला यो ? कस्ता सामान पठाएको होला ?

बगैंचाका नाममा गरेको खर्चको शिर्षकपनि अचम्मैको छ । पहिले गार्डेन कन्स्ट्रक्सन शिर्षकमा ५० लाख खर्च गरिएको छ । त्यसपछि गार्डेन डेभलपेन्टमा १६ लाख ५४ हजार पाँच सय ५४ रिपुयाँ खर्छ छ । त्यसपछि फेरि गार्डेन एक्स्पेन्सेस शिर्षकमा १५ हजार साय सय छ । यसरि गार्डेनका नाममा कूल ६६ लाख ७० हजार दुई सय ५४ रुपियाँ खर्च भएको छ ।

मिटिङ बस्दा चार लाख ४५ हजार आठ सय ९८ रुपियाँ खर्च छ । रिफ्रेसमेन्ट खर्च नौ लाख सात हजार पाँच सय ५२ रुपियाँ बराबर छ । अभियन्ताहरु थाकेको बेला यस्सो रिफ्रेसमेन्ट गरिएको होला । विश्व सम्मेलनमा एन आर एन एको ब्याच बाँड्दा लागेको हुनुपर्छ, चार लाख पाँच हजार एक सय ६९ रुपियाँ ।

यहि र यस्तै हिनामिनाको राग आएकोले हुनुपर्छ, भवन भट्टको कार्यकालको समितिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दा पास भएन । आर्थिक प्रतिबेदनमाथिको छलफलमा पूर्व अध्यक्ष शेष घले आफैं उपस्थित थिए । उनले यो प्रतिबेदनलाई ठाडै अस्विकार गरिदिएका थिए । कुमार पन्तको अध्यक्षतामा गठित नयाँ समितिलेपनि यो प्रतिबेदन अस्विकार गरेको छ । नवनियुक्त कोषाध्यक्ष महेश श्रेष्ठले यि खर्चहरुमाथि छानबिन नभै स्विकार नगर्ने अडान राखेको स्रोतले बतायो ।

तपाइँको प्रतिक्रिया