एन आर एन ए को महिला संयोजकमा मरहट्टानै किन ?

एन आर एन ए को केन्द्रिय निर्वाचन हुनै लागेको छ । केन्द्रिय सम्मेलन शुरुपनि भैसकेको छ । उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । त्यसमा महिला उमेदवारहरुको संख्या कम छ । केन्द्रिय निर्वाचनमा हुने दुई दर्जनभन्दा बढि पदमा महिलाको संख्या किन कम भयो ? किन महिलाहरुको एन आर एन एमा नेत्रित्वका लागि चाख बढेन ? पक्कैपनि बिगतका महिला नेत्रित्वकर्तालेपनि त्यो चाख बढाउन सकेनन् । महिलाहरुलाई एन आर एन एको चाख र चासो नेत्रित्वकर्ताका रुपमा बढाउन सकेनन् । त्यसकालागि अहिलेको नेत्रित्व छान्दा कम्तिमा  मतदाताहरुले ध्यान दिनु जरुरी छ ।

अहिले मैदानमा उत्रिएका महिला उमेदवारहरु मध्ये संगिता मरहट्टा महिला संयोजकमा केहि गर्न सक्ने, नेत्रित्व लिन सक्ने महिला हुन् । किन त ?

उनी धेरै समय सक्रिय पत्रकारिता गरेकि महिला हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो — रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । यसअघि उनी छापा पत्रकारितामा संलग्न थिईन् ।

बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । यसरि हेर्दा उनको भाषामापनि दखल छ ।

बिबिसी नेपाली जस्तो प्रतिष्ठित संचार माध्यममा कार्य गरेकाले उनी यसैपनि क्षमतावान महिला हुन् भन्ने प्रमाणित हुन्छ । उनले धेरै मानिसहरुलाई देख्ने, भेट्ने र तिनका चाख अनि समस्याहरु सुन्ने र बुझ्ने गरेकि छन् । त्यसैले उनलाई अहिला नेत्रित्व चुन्दा उचित हुन सक्छ ।

उनको अर्को सकारात्मक पाटो भनेको उनी एन आर एनएको लगभग शुरुवाती देखिनै यो संस्थामा आबद्द छिन् । त्यसैले महिलाहरु नेत्रित्वमा आउन नचाहनुका कमजोरीहरु उनलाइ बढि जानकारि हुन सक्छ । बेलायतमा बसेर ब्यवशायमापनि सफल देखिएकले उनले प्रवाशमा महिला उद्दमी बन्न र् बनिसकेकालाई यो संस्थामा आबद्द गराउन, महिला उद्दमी बनाउन, ब्यवशायमा संलग्न गराउन अनेक उपाय, अक्किल र सुझाव दिन सक्छिन् ।

त्यसो त मरहट्टालाई महिलाको नेत्रित्वकर्ताका रुपमा मात्रै सिमित राखेर हेर्नु उचित हुन्न । किनकि उनी कुनै पुरुषहरु भन्दा कम र कमजोर छैनन् । उनी महिला संयोजक बनेपनि उनले समग्र एन आर एन् एलाईपनि उचाईमा पुर्‍याउन अर्को योगदान गर्न सक्छिन् । केन्द्रिय पदमा दाबेदारी गर्ने पुरुषहरु भन्दापनि अझ सफल नेत्रित्व दिन सक्ने अनुभव, आँट र ज्ञान मरहट्टामा छ ।

एक हिम्मतिली, विश्वभरका महिलाहरुमा अन्यको भन्दा दह्रो पहुँच, परिचय र आँटिलीपनि भएकाले उनले सफल नेत्रित्व दिन सक्छिन भन्ने आशा र विश्वाश धेरैको छ । समग्रमा हेर्दा एन आर एन एको महिला नेत्रित्वकर्तामा मरहट्टा भन्दा उचित उमेदवार अर्को देखिँदैन ।

त्यसो त आफू किन महिला संयोजक बन्ने ? यस विषयमापनि उनले आफ्ना स्पष्ठ धारणा सार्वजनिक गरेर नेत्रित्वका लागि सहि मार्ग कोर्न सक्ने छनक दिएकि छन् । उनले घोषणा गरेका नौ बुँदा हेर्दापनि सजिलै बुझ्न सकिन्छ । हेर्नुहोस संगिता मरहट्टाले सार्वजनिक गरेका नौं बुँदे घोषणा पत्र !!

संक्षिप्त घोषणापत्र

विश्वभर छरिएर रहनुभएका प्यारा आदरणीय दाजु भाइ दिदी बहिनी , अग्रज तथा मिडियाकर्मी साथीहरु,

आफ्नो अनुभव, सीप र आत्मविश्वासका साथ आगामी अक्टोबरमा काठमाण्डौमा हुने नवौं विश्व सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजकका रुपमा मैले उम्मेदवारी घोषणा गर्न लागेकी छु ।
गैरआवासीय नेपाली संघले बोकेको १६ बर्ष लामो गौरवान्वित ईतिहास कुनैं एकजना व्यक्तिको निजी लगानी वा त्यागको प्रतिफल होईन । तपाईंहरु सबैको स्रोत, साधन र समयबाट यसले हालको उचाई प्राप्त गरेको हो । त्यसैले पदमा रहेका अरु कुनैं व्यक्ति, म वा तपाईं समान छौं । सिनियरहरुको योगदानको कदर, हरेक गैरआवासीय नेपालीले गरेको योगदान अनि त्याग र तपस्याको म शिर ठाडो पारेर सलाम गर्न चाहन्छु ।

नेपालीका लागि नेपाली भन्ने पवित्र र गर्विलो नारा बोकेर अभिछिन्न रुपमा देश तथा डायस्पोरमा रहेका नेपालीहरुका लागि केही गर्ने हेतु राखेको यस संस्थामा झन्डै एक दशक समय बिताउंदा मैले महिला संयोजक तथा सचिव, आइसिसि सदस्य, मिडिया उपसंयोजक र हाल महिला उपसंयोजक भएर भिन्न भिन्न क्षेत्रमा आफुलाई समर्पित र प्रमाणित गर्दै आएकी छु भन्ने लागेको छ । यो मैले भन्दा पनि तपाईंहरुले मुल्यांकन गर्ने कुरा हो ।

सन् २०११ मा एनआरएनए युकेको महिला संयोजक हुंदा महिला फोरमको आइडिया बिल्कुल नयां थियो । पहिलोपटक २० सदस्यीय महिला फोरम गठन गरेर सो कार्यकालमा बेलायत एनआरएनएको इतिहासमैं हामीले महिला दिवस कार्यक्रम सम्पन्न गरेर ५ हजार पाउन्डभन्दा बढी रकम उठाएका थियौं । आज ती क्षणहरु मिठो र गौरवान्वित ईतिहास बनेका छन् । एनआरएनए युकेको महिला फोरम आज उचाइमा पुग्दै गर्दा ती अविस्मरणीय क्षणहरु अवश्य मेरा लागि सम्झन योग्य बनेका छन् । त्यसपछि कार्यसमितिको सचिवका रुपमा मैले सक्रिय भुमिका निर्वाह गरें र अर्को कार्यकालमा आइसिसि सदस्य तथा मिडिया सहसंयोजकका रुपमा कार्य गरें । हाल म महिला क्षेत्रीय उपसंयोजक रहेकी छु ।

एनआरएनएमा समय, साधन, स्रोत धेरै खर्चिनु पर्दछ भन्ने कुरा तपाईं हामी कसैसंग पनि छिपेको छैन । मैले एक दशकको आफ्नो कार्यकालमा एनआरएनएको सम्मेलनकै लागि नेपाल समेत हल्याड, जर्मनी, इटली, लक्जेम्बर्ग, अष्ट्रेलिया, स्पेन, जापान, अष्ट्रिया, बेल्जियम, फा्रन्स लगायतका मुलुकहरुको भ्रमण गरी कतिपय अवस्थामा एक्लै पनि युकेको तर्फबाट महिलाहरुको प्रतिनिधित्व गरेकी छु । कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन सघाउने र कार्यक्रमहरु प्रभावकारी सन्चालन गरी आफ्नो जिम्मेवारी पुरा गरेकी छ ु । यी देशहरुमा भएका क्षेत्रीय सम्मेलनहरु तथा नेपालमा भएका विश्व सम्मेलनहरुको प्रभावकारी ढंगले सन्चालन गरेको अनुभव पनि मसंग छ ।

सन् २००५ देखि गैरआवासीय नेपाली संघमा अन्तराष्ट्रिय महिला संयोजक राख्ने प्रचलन शुरु भएको हो । त्यस मितिदेखि लिएर आजसम्ममा महिला फोरमले व्यापक रुपमा कोल्टे फेरेको छ र हाल ६५ देशमा महिला फोरम सन्चालन भैरहेका छन् । अझै कयौं देशहरुमा महिला फोरमहरुको गठन गर्न बांकी नैं छ भने अब महिला फोरमलाई नयां दिशा दिनु आजको टड्कारो आवश्यकता पनि बनेको छ । एक किसिमको शुरुवाती क्षणबाट हामीले पार पाईसकेको छौं । नयां निती र कार्ययोजनाको शुरुवात चुनौंतीको रुपमा देखा परिसकेको छ ।

महिला उपसंयोजक भैसकेपछि यस अभियानमा निरन्तरता दिन अब आइसिसि महिला संयोजकको भुमिकामा खरो उत्रिन म आत्मादेखि नैं तयार छु । विश्वभरका एनआरएनए अभियन्ता, अग्रज, मेरा समकक्षी सबैजना संग सकेसम्म मैले सरसल्लाह गरेर आफ्नो योजना अघि बढाउने निधो गरेकी हुं ।

धेरै लामो र संभव हुन नसक्ने योजनाहरु कागजमा मात्र सुन्दर लाग्छन् । त्यसैले संस्थाको विधि, विधान र सिमाभित्र रहेर अग्रजहरुले अघि सार्नुभएका राम्रा कामहरुलाई निरन्तरता दिंदै मैले निम्न अनुसारका योजना बनाएकी छु । यी कार्यहरु ६ वटा क्षेत्रबाट छानिने क्षेत्रीय महिला संयोजकहरुसंगको विस्तृत छलफल र सहकार्यबाट पुरा हुनेछन् ।

१. महिला फोरमहरुको बिस्तार विश्वभरका एनसिसिहरुमा सकारात्मक हिसाबले भैरहेको अवस्थामा पनि अन्तर्राष्ट्रिय महिला संयोजक तथा क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारको स्पष्ट खाकालाई अझै चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता मैले देखेकी छु । महिला फोरम गठनका क्रममा पनि कतिपय अवस्थामा द्धिविधा देखिएको छ । मेरो पहिलो प्राथमिकता आइसिसि महिला संयोजक, क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्ने कुरामा रहनेछ ।

२. समुद्रमा हजार किसिमका माछाहरु भएजस्तै संसारभर रहेका महिलाहरुको आर्थिक, सामाजिक परिस्थिति एकै किसिमको छैन । अमेरिका, युरोपमा रहेका महिलाहरु र खाडी क्षेत्र तथा अन्य मुलुकमा रहेका महिलाहरुका अनेकन् साझा सवालहरु हुंदाहुंदै पनि खाडी, मलेशिया तथा युरोपकै कैयन देशमा कामका लागि आएका महिलाहरुको अवस्था फरक छ । वैदेशिक रोजगारीमा देश बाहिर जान चाहने महिलाहरुलाई सकेसम्म त हामी देशमैं आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछौं । तर जानैं पर्नै खण्डमा सो देशका बारेमा पुर्ण जानकारी लिएर मात्र जान र सीप सिकेर जान अत्यन्त जरुरी छ । मेरो कार्यकालमा एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीका लागि प्रोत्साहन र विदेश जानेहरुका लागि चेतनामुलक कार्यक्रमको शुरुवात गर्नेछ ।

३.महिलाहरु आर्थिक हिसाबले स्वाबलम्बी नभई खासै कुनैं परिवर्तन हुन असंभव छ । युरोप, अमेरिका तथा सम्पन्न देशहरुमा त ससाना र कम लगानीका व्यवसायहरु घरमै बसेर गरेर पनि महिलाहरु आर्थिक रुपमा स्वाबलम्बी हुने अपार संभावनाहरु छन् । हरेकको हातमा एक बिशेष सीप हुन्छ र युनिभर्सिटिको डिग्री मात्र कुनैं ठुलो कुरा होइन । मैले आफै व्यवसायी भएको नाताले विभिन्न देशमा कसरी महिलाहरु उद्यम, व्यवसायमा संलग्न हुने र आर्थिक रुपमा स्वाबलम्बी हुने भन्ने बिषयलाई सशक्त रुपमा अघि बढाउनेछु । डायस्पोरामा रहेका सफल महिला व्यवसायी तथा अन्य विभिन्न पेशामा संलग्न महिलाहरुलाई एकै ठाउंमा ल्याउने र उहांहरुका अनुभवहरु साटासाट गर्न महिला फोरमले सक्दो पहल गर्नेछ ।

४. एनआरएनए भित्र महिला फोरमको आवश्यकताको टड्कारो महशुस हुनुको कारण संस्थामा महिलाहरुको संख्या नगन्य मात्रामा रहनु थियो । डेढ दशकको समयमा एनआरएनएमा महिला सहभागीताले कांचुली फेरेको सत्य तपाईंहरुका सामु प्रष्ट नैं छ । कैयन् राष्ट्रिय समितिहरुमा अध्यक्ष, महासचिव, उपाध्यक्ष्यजस्तो उच्च पदमा महिलाहरु निर्वाचित भैसकेका छन् । महिला फोरममा काम गरेर सीप, ज्ञान बटुलिसकेका महिलाहरुलाई महिला फोरममै सिमित भैरहन जरुरी छैन । उहांहरुलाई एनआरएनएका मुख्य धारका पदहरुमा संलग्न हुन र अन्य महिलाहरुलाई प्रोत्साहन दिन मेरो नेतृत्वको महिला फोरमले सक्दो कार्यक्रम तथा छलफलहरु अघि बढाउनेछ ।

५. हरेक राष्ट्रिय समन्वय परिषदमा महिलाहरुको सशक्त सहभागीताका लागि आवाज उठाउने र नेतृत्व तहमा समेत महिलाहरुको सहभागीताका लागि विश्वव्यापी रुपमा नैं आवाज उठाउने काम महिला फोरमले गर्नेछ ।

६. नेपालमा मात्र होईन, युरोप, अष्टे्रलियाजस्ता अति विकसित देशहरुमा समेत महिलाहरु घरेलु हिंसाको शिकार भैरहेका छन् । आत्महत्या, डिप्रेशनजस्ता घटनाहरु बढेका छन् । यी कुराहरुलाई कम गर्न सम्बन्धित देशमा महिलाहरु त्यहांको समाजसंग घुलमील हुनु, भाषा सिक्नु अति जरुरी छ । हाल कयौं विकसित मुलुकहरुमा निशुल्क सिप तालीम, भाषा कक्षा र निशुल्क कानुनी परामर्श दिने गरिन्छ । तर कयौं हाम्रा दिदी बहिनीहरु थाहा नभएर वा डरले त्यहांसम्म पुग्न हिच्किचाउनुहुन्छ । प्रत्येक देशका महिला फोरमहरुले दिदी बहिनीहरुलाई त्यहांसम्म पहुंच पुर्याउन पुलको काम गर्नेछन् । हरेक एनसिसिका महिला फोरमहरुमा घरेलु हिंसाको लागि कमिटि बनाउन महिला फोरमले जोडदार माग गर्नेछ ।

७. गैर आवासीय नेपाली संघका मुख्य उद्देश्यहरु र नेपाल तथा डायस्पोराका सन्चारकर्मीहरुबीच सौहार्दपुर्ण सम्बन्ध नभएसम्म हामीले हाम्रा योजनाहरु अघि बढाउन सहज छैन । म आफैं लामो समय पत्रकारितामा संलग्न भएको नाताले पत्रकार साथीहरु र अझ महिला पत्रकार साथीहरु, अभियन्ताहरु, महिला सरोकारका सवालमा कार्य गर्नै सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर महिला फोरमले आफ्ना अभियानको प्रचार प्रसार र विदेश तथा नेपालमा रहेका महिलाहरुको लागि बिशेष कार्यक्रमहरु ल्याउन पहल गर्नेछ ।

८. डायस्पोरामा रहेका कैयन नेपाली डाक्टर, इन्जिनियर, वकिल, नर्श , व्यवसायी, पत्रकार मध्ये महिलाहरुको संख्या पनि कम छैन । गैर आवासीय नेपाली संघले नेपालमा विज्ञ सम्मेलन गरेर विश्वभरका विज्ञहरुलाई आफ्नो सीप र अनुभव बाड्न आव्हान गर्ने परम्पराको शुरुवात गरिसकेको छ । महिला फोरमले विश्वभर छरिएर रहेका महिला विज्ञहरुलाई पनि आफ्ना सीप र अनुभव साटासाट गर्न अनुरोध गर्दै त्यसको लागि पहल गर्नेछ ।

९. अन्तर्राष्ट्रिय महिला फोरमले हाल नेपालका दुर्गम क्षेत्र लगायत विभिन्न ठाउंहरुमा नियमित रुपमा सन्चालन गर्दै आईरहेको महिलाहरुको पाठेघर खस्ने समस्या लगायतका महिला स्वास्थ्य क्षेत्रमा भैरहेका कार्यहरुलाई महिला फोरमले अझ प्रभावकारी रुपमा अघि बढाउनेछ । त्यसैगरी नेपाल सरकारसंग वैदेशिक रोजगारीमा जान लागेका वा फर्किएका महिलाहरुसंगको अवस्थाबारे घनिभुत छलफल र सीपमुलक तालिमजस्ता अग्रजहरुले शुरुवात गरेका कार्यहरुलाई महिला फोरमले भावी दिनहरुमा निरन्तरता दिनेछ । त्यसैगरी महिलाहरुसंग प्रत्यक्ष्य सरोकार भएका श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, महिला तथा बालबालिका मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसंग विगतमा पनि महिला फोरमले सहकार्य गर्दै आईरहेकोमा त्यसलाई अझ राम्रो ढंगले अघि बढाउंदै सहकार्य गर्ने र महिलाहरुका सवालहरुमा आवाज उठाउने कार्य एनआरएनए महिला फोरमले गर्नेछ ।

तपाईंहरुको सहयोग र साथको आशा सहित

संगीता मरहट्टा
उम्मेदवार, महिला संयोजक, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

तपाइँको प्रतिक्रिया