एन आर एन ए स्पेनमा कसले मार्ला त बाजि ?

-बिजय शर्मा दर्पण / बार्सिलोना, स्पेन

यतिखेर स्पेनमा रहेका नेपालीहरुबिच एनआरएनको चुनावी माहोल साँच्चिकै तातेको छ । सामाजिक सञ्जाल या विभिन्न अनलाइन मिडियामा उम्मेद्वारी दिएकाहरुको घोषणापत्रसहित चुनावी प्रचारप्रसारले तिब्र गति लिएको छ । उमेदद्धारहरु आआफ्नो पक्षमा मतदाता नामावली संकलन गर्न लागिपरेका छन् । आफ्नो पक्षमा मत तान्ने भरमगदुर कोसिस गरिरहेकापनि छन् । चुनावी माहोलले स्पेन तातेको छ ।

यहि सेप्टेम्बर ९ मा बार्सिलोनामा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ स्पेनको  छैठौं महाधिबेशनका लागि कार्य समितिको बिभिन्न पदमा उमेद्वारी दर्ता भैसकेको छ । दुई बर्षे कार्यकालको लागि एक अध्यक्ष पदमा दुई जनाले उमेदवारी दर्ता  गरेका छन् । अन्य पदका लागि पनि धेरै जनाको उमेदद्धारी परेको छ ।

सबैले आआफ्नो उम्मेद्वारी दर्ता गरेसँगै  विभिन्न बुँदे घोषणा पत्रपनि जारी गरेका छन् । एनआरएन स्पेनलाई दिगो र संस्थागत रुपमा विकास गरी पारदर्शी र प्रभावकारी बनाउनुका साथै विभिन्न संघसंस्थाको रुपमा हातेमालो गरेर एनआरएनलाई साझा संस्थाका रुपमा विकास गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन् । साथै स्पेनमा रहेका नेपालीहरुको हकहितमा काम गर्ने लक्ष्य रहेको सबै उम्मेद्वारको भनाई छ । तर यो चुनावभरीलाई मात्र सिमित हुने हो कि ? पदमा पुगेपछि पनि साँच्चिकै कार्यनयन हुन्छ त्यो त अहिले भन्न सकिने विषय भएन ।

छैठौं एनआरएन महाअधिबेशनमा अध्यक्ष पदका लागि दावेदार गर्ने दुई  प्रतिष्पर्धी उमेद्वारहरु को को हुन् त ? जिज्ञासा लाग्नु स्वभाविकै हो ।

अध्यक्षका प्रत्यासी  गुरुङ  गैर आवासीय नेपाली संघमा सदस्य हुँदै  सन् २००९- २०११ को कार्यकालमा महासचिब थिए । उनी संस्था प्रति अनुभबी र सामाजिक व्यक्तित्व पनि हुन् । एनआरएन स्पेनको अध्यक्ष पदमा जिते स्पेनमा रहेका नेपालीहरुको हितमा काम गर्न र एनआरएन स्पेनलाई अझ व्यवस्थित तवरले अगाडि बढाउन पहल गर्ने  घोषणा गरेका छन् । गुरुङले घोषणा पत्रमा  नेपाल भ्रमण बर्ष २०२० लाई दूताबाससँग सहकार्य गर्दै सफल पार्न आफूले सक्दो प्रयत्न गर्ने बताएका छन् ।

त्यस्तै, एनआरएन स्पेनको कार्यालयलाई थप ब्यबस्थित गर्नुकासाथै दिर्घकालिन सोचका साथ संघ संस्थाहरु र नेपाली समुदायको सहयोगमा आफ्नै स्वामित्वमा कार्यालय स्थापना गर्ने र त्योपनि सहकारी अवधारणा अनुरुप  बिस्तार र बिकास गर्ने भन्दै प्रतिबद्दता गरेका छन् । एक कार्यकाल  महासचिब  भएर काम गरेको अनुभव र समाज सेवामापनि निरन्तर सक्रिय भएको हैसियतले आफुले उम्मेद्वारी दिएको जानकारी उनले दिए । स्पेनमा भएका  सबै संघ संस्था नेपाली समुदायसँग पनि राम्रो सम्बन्ध भएका कारण उनको शुभचिन्तक र समर्थकको संख्या प्रभावकारि रहेको  दाबी गर्छन् उनी । उनलाई स्पेनबाट नेकपाको भात्रि संगठनले समर्थन गर्ने भएको छ ।

उता एन आर एन स्पेनको सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका पेशल कोइरालाले आगामी कार्यकालका लागि एनआरएनए स्पेन अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् ।

कोइरालाले गैह्र आवाशीय नेपाली संघ स्पेनमा लामो समयदेखि लगातार सदस्य (२०१३–२०१५), कोषाध्यक्ष (२०१५–२०१७), उपाध्यक्ष (२०१७–२०१९) मा रही  जिम्मेवारी बहन गरिसकेका छन् । आफू उपाध्यक्ष भएकोले सहमतिको आधारमा अध्यक्ष हुनुपर्ने दाबी गरेता पनि सर्वसम्मत हुन नसकेपछि प्रतिस्पर्धामा उत्रन परेको बताउँदै आएका छन् उनले ।

सरल, सहयोगी र समाज सेवालाई निरन्तरता दिँदै आएका कोइरालाले विगतको अनुभवलाई थप उर्जाकासाथ संस्थामा समर्पित गर्ने बताएका छन् । स्पेनस्थित नेपाली समुदायको एकता र हितमा अनवरत रूपमा लाग्ने प्रण गर्दै बिगतमा काम गरेको अनुभव र निरन्तर समाज सेवामा पनि सक्रिय भएको हैसियतले आफुले उम्मेद्वारी दिएको कोइरालाले बताए ।

बिदेशमा नेपालीहरू एकजुट भएमा जस्तोसुकै अफ्ठ्यारो आईपरेपनि समस्याहरू समाधान गर्न सकीन्छ भन्ने उनको बुझाई छ । साथै संघमा भैरहेका गतिविधिहरूलाई निरन्तरता दिदै संघको आफ्नै भवन बनाउन पाए आफु निकै खुसी हुने समेत बताए । यसको लागि स्पेनमा रहेका गैह्र आवासीय नेपालीहरू एकजुट हुन आवश्यक रहेको र आफूले त्यसमा दिलोज्यान दिएर लाग्ने उल्लेख गरे ।

गुरुङ र कोइरालाको उम्मेदवारी घोषणासँगै स्पेनका नेपालीहरुपनि कसलाई मत दिने भनेर घोत्लिनु स्वभाविक छ । एन आर एन ए स्पेनको संस्थागत विकासमा लागेका यि दुबै पात्रले अतदाताहरुको मत आफ्नो पक्षमा कसरि बहुमत पार्लान् ? स्पेनमा सबैको चासोको विषय रहेको छ ।

तपाइँको प्रतिक्रिया