चुनावी लडाइमा पन्तका लडाकू तयार, प्रतिद्वन्दी ‘पर्ख र हेर’मा

‘भवनजी (भवन भट्ट) संस्थाको एक जिम्मेवार व्यक्ति रहेकाले उहाँले मलाई विगतको सहमतिअनुसार समर्थन गर्नुहुन्छ भन्नेमा म ढुक्क छु’गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको लागि नेतृत्वमा दौडधूप शुरु हुँदै गर्दा उपाध्यक्ष कुमार पन्तले विभिन्न सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा भन्दै आएका थिए । गत महिना पन्तको स्वरमा स्वर मिलाउदैं भट्टले पन्तलाई ढाडस् दिँदै फेसबुक टाइमलाइन मार्फत जवाफ दिए ‘साथीहरु भवन भट्ट पदको लोभी होइन् । आगामी चुनाव लड्दैन् । मैले यो गाडीको ड्राइभिङ सिट मात्र छोडेको तर गाडी भित्रै छु ।’ भट्टले सर्वजानिक रुपमै आफ्नो सिट कुमार पन्तलाई छोडिदिएको घोषणा गरेपछि उनको चर्चा हुवात्तै बढ्यो । पन्त र भट्ट नाताले मामा भान्जा हुन् ।

आन्तरिक सहमति पछि पन्त चुनावी दौडमा सकृय भए । आगामी १५ देखी १७ सम्म काठमाण्डौंमा हुने अधिवेशनको लागि वर्तमान अध्यक्षले काँधमा धाप दिए पछि पन्त अझ हौसिए । सँगसँगै अर्का उपाध्यक्ष कुल आचार्यले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएको भन्दै नेतृत्वमा भिड्ने मनस्थिति बनाए । त्यसले गर्दा एनआरएनको नवौं विश्वसम्मेलन रोचक बन्ने निश्चित छ ।

मैदानमा अहिले पन्त खुलेरै आइसकेका छन् । आचार्य भने रणनीतिक रुपमा प्रस्तुत हुँदै पर्ख र हेरको अवस्थामा देखिन्छन् । शनिवार मलेसियामा एनआरएनएको अधिवेशनलाई सम्वोधन गर्दै कुमार पन्तले दुई कार्यकाल उपाध्यक्ष भएको हुँदा आफु अध्यक्षमा जाने बाहेकको विकल्प नभएको तर्क प्रस्तुत गरे । उनीसँगै रहेका आचार्यले ‘म उपाध्यक्ष भएकोले अध्यक्षमा जान चाहे हुँला’ भन्ने खालको अस्पष्ट अभिवव्यक्ति दिए । आचार्यले अझैपनि अध्यक्ष दावी गर्नुको दरिलो आधार दिन सकेका छैन् । कुमार पन्तको सामु उनले आफूलाई बलियो भएको प्रस्तुत गरेकोपनि देखिन्न ।

आचार्यलाई कांग्रेसको एक पक्षले उचालेपनि विदेशस्थित नेपाली जनम्पर्क समिति भित्र कुमार पन्त आचार्य भन्दा बढि लोकप्रिय देखिन्छन् । पन्त पक्षमा विदेशस्थित कांग्रेस नेताहरुनै खुलेर लागेको देखिएको छ । त्यति मात्रै होइन, एनआरएनको निर्वाचनको लागि पूर्वअध्यक्ष शेष घले समूह निर्णायक हुने आंकलन धेरैको छ । गत अगष्ट पहिलो साता रोमको एनआरएनए क्षेत्रीय बैठकमा सहभागी घले दम्पतीले कुमार पन्तसँग लामो छलफल गरेका थिए । उनीहरुको छलफल पछि पन्तले आफ्नो प्यानललाई अन्तिम रुप दिने तयारीमा छन् ।

घले अध्यक्ष हुँदा संघको महासचिव कुमार पन्त थिए । घले र पन्तको समधुर सम्वन्धकै कारणले घलेको पहिलो कार्यकाल चर्चाको शिखरमा पुगेको थियो । घले र पन्तबिच कहिँकतै बिबादपनि देखिएको थिएन । बरु पन्तले घलेका हरेक एजेन्डामा साथ दिएका थिए । घलेले ल्याएको भिजन २०२० को मुद्दालाई पन्तले कार्यन्वयन गर्ने बताँउदै आएका छन् ।

त्यसो त, पूर्वअध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पन्तकै पक्षमा छन् । महतोसंग रोममा भेटेका आचार्यलाई महतोले प्रस्ट रुपमा अहिले हतार नगर्न सुझाएका थिए । आचार्यले विश्वभ्रमण गरेर साथीहरुको सुझावका आधारमा निर्णय गर्ने जवाफ डा। महतोलाई दिएका थिए ।

अध्यक्ष पदका दाबेदार पन्तले आफूले औपचारिक रुपमा कुनै टीमको घोषणा नगर्ने बताएपनि आन्तरिक तयारीनै पुरा गरेका छन् । गत शुक्रवार कतारमा आयोजित एनआरएन कार्यक्रममा बोल्दै पन्तले महासचिवमा डा। हेमराज शर्मा र कोषाध्यक्षमा महेश कुमार श्रेष्ठलाई अघि सार्नेगरि कार्यक्रममै बोलेका थिए । संघको महत्वपूर्ण मध्येका दुई महासचिव र कोषाध्यक्ष पद बाहेक अन्य पदमा खुल्लै राख्ने योजना पन्तको छ । पन्तले गैरआवासीय नेपाली संघका पूर्वप्रवक्ता तथा सल्लाहकार डा। हेमराज शर्मा र कोषाध्यक्षमा जापान कर्मथलो बनाएका सकृय व्यवसायी महेश कुमार श्रेष्ठलाई टिममा लिएर जाने भएका छन् । अन्य पदमा खुल्ला राखिए पनि सोनाम लामा, डा। बद्री केसी पन्तकै टिममा रहने बताईएको छ ।

उता त्रिलोक गुरुङ, जानकी गुरुङ र एसी शेर्पालाई समेत पन्तले आफ्नो गाडीमा राख्ने योजना बनाएका छन् । तर जानकी गुरुङ भने कुल आचार्यको चुनावी क्याम्पेनमा हिँडेकोले उनी पन्तको टिममा पर्ने सम्भवना न्युन हुँदैं गएको छ ।

निर्वाचनको अर्को चाखलाग्दो पाटोपनि छ । आचार्यको एक समुहले बापन्थिधारलाई समेट्नको लागि डिबी क्षेत्रीलाई महासचिवमा ल्याउने तयारी गरेको छ । सो समुहले गुरुगंलाई महिला उपाध्यक्षमै धन्काउने प्रपन्च रचेको छ । कार्की वर्तमान अध्यक्ष भवन भट्ट र गुरुगं शेष घले समुहसंग नजिक रहेको संकेत दिएर तिनको सर्मथन देखाउन आचार्य समुहले गुरुगं र क्षेत्रीलाई प्यानलमा प्रयोग गर्ने रणनिती लिएको हो ।

अन्य पदमा ककसको दावी ?

उपाध्यक्ष पदमा वर्तमान महासचिव डा। बद्री केसी, सोनाम लामा, आरके शर्मा, किरणविक्रम थापा, नरेन्द्र भाट, हिक्मत थापा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, रजनी प्रधान छन् । महासचिवमा जानकी गुरुङ, डिबी क्षेत्री, केशव पौडेल लगायतको चर्चा छ । सचिवमा आरके शर्मा, गौरीराज जोशी र शिव वरुवालले दावी गरिसकेका छन् । सहकोषाध्यक्षमा एसी शेर्पा र कोषाध्यक्षमा सोम सापकोटा (डेनमार्क)ले इच्छा देखाएका छन् । संघको अन्य पदाधिकारीको आकांक्षीमा खगेन्द्र जिशी (अमेरिका), भूषण घिमिरे (जापान), संगीता मरहठ्टा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), श्याम तामाङ (अमेरिका), किरण थापा (जापान), एकराज गिरी (स्पेन), गोविन्द गौतम (रसिया) रामशरण सिम्खडा (युके), कृष्ण तिमल्सिना (युके), छन् । अगामी १५ देखि १७ अक्टोवरसम्म काठमाडौमा एनआरएनको नवौं विश्व सम्मेलन गर्ने तय भएको छ ।

तपाइँको प्रतिक्रिया