पद्दतीमा चल्ने मुलुकका एन आर एन पद्दतीबिहिन

-सन्तोष न्यौपाने / बेल्जियम

सीताले आशीर्वाद दिँदै अर्जुनलाई भनिन् “मेरो आशीर्वाद छ उपाध्यक्ष पक्का “।

माथिको वाक्यांश हेर्दा झट्ट महाभारत र रामायणका पात्र र त्यसका गतिविधिको प्रतिबिम्बित भएको भान हुन सक्दछ । तर नझुक्किनुस् है ! न सीता रामायणको जस्तो पात्र हुन् न त अर्जुन नैं महाभारतको जस्तो स्वच्छ पात्र । यी दुवै एन आर एन बेल्जियमसंग सम्बन्धित मात्रै हुन् ।

नेपाली जन सम्पर्क समिती बेल्जियमकी अध्क्षय सीता सापकोटाले कुनै कार्यक्रममा यसै गरेर आशीर्वाद दिइन् । अर्जुन श्रेष्ठले ग्रहण गरे । श्रेष्ठ एन आर एनको केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिँदैछन् । गत निर्वाचनमा बद्री केसीसंग पराजित भएका थिए उनी । अझ उनलाई चिन्न सजिलो हुने विषय हो” एसेन्टा काण्ड २०१३”| उक्त काण्डले अर्जुनलाई पूर्ण रूपमा दलालको संज्ञा दियो । उनले उसको चित्तबुझ्दो खण्डन गर्न सके न नैतिक रूपमा माफी माग्न नै सके । मिडियाहरुले उनको हैसियत नरहने सम्म कलम द्वारा मानव तस्करी बारे विरोध गरिरहे । पछि युवराज गुरुङ र जानकी लगायतको टिमले छानबिन गरेर दोषी देखाए पनि कारबाही केही हुन सकेन । तिनै युवराज अहिले एन आर एन को कृषि विभागका छन् भने जानकीले सचिव पद खाएर पनि अब आउने निर्वाचनमा महासचिवको लागि उम्मेदवारी दिँदै छिन् ।

सीता सापकोटाबाट आशीर्वाद पाएका अर्जुनले विजयी हासिल गर्छन् वा गर्दैनन् त्यो चाहिँ हेर्न बाकी छ । तर कस्ता व्यक्तिलाई कस्तो आशीर्वाद सार्वजनिक रुपमा दिने भन्ने सापकोटा जस्ता व्यक्तिहरुलाई हेक्का छैन । यहाँ व्यक्तिको विरोध भन्दा पनि प्रवृत्तिको विरोध गर्न खोजिएको हो । हामी कस्तो प्रवृत्तिलाई अंगलिरहेका छौं र अगाडि बढाइरहेका छौं भन्ने तीतो यथार्थ माथिका उदारहण हुन ।

अब केही प्रसङ्ग बदलौं । एन आर एन बेल्जियम अहिले सहमति सहित निर्माण गरिएको छ । अर्थात् आफूखुसी विधान परिवर्तन गरेर आफ्नो मन खुसी गराइएको छ । प्रवक्ता दीपेन्द्र केसीले सचिव पद घटाएर २ बनाइएको सह कोषाध्यक्ष नरहने व्यवस्थाको सूचना निकालेका थिए । तर सहमतिमा यो मिचेर आफूखुसी निर्माण गरियो । सहमतिमा निर्माण गरिएको उम्मेद्वारहरू अर्थात् चयन गरिएका पदाधिकारी तथा सदस्यहरूले रकम दाखिला नगरेको विषयले चर्चा पाएको छ । आइसिसी सदस्य समेत उधारोमा बनाइएको समिति भित्रकै पदाधिकारी बताउँछन् ।

एन आर एन बेल्जियममा अहिले सम्म १५ सय भन्दा बढि सदस्य छन् । तर आइसिसी सदस्यआ दुई पदको घोषणा गरिएको छ । यदि सेप्टेम्बर १५ सम्म दुई हजार एक सदस्य बनाउन नसके कमल पन्थी आसीसी पद खोसिनेछ । अर्को तर्फ वरिष्ठ र महिला कोटासहित पाँच उपाध्यक्ष हुनुपर्नेमा बढाएर सात पुर्याइएको छ । यो पनि सिस्टम पद्दती रहेको छ । उम्मेदवारको रकम सार्वजनिक गर्दा एउटा तोकियो । तर सहमति गर्दा घटाएर कम गराइयो । जुन एन आर एन को पद्दती विपरीत देखिन्छ ।

अर्को तर्फ सहमति द्वारा एन आर एन मा प्रवेश गराउन नमिल्ने व्यक्तिहरू प्रवेश गराइएको छ । आइसिसी सदस्य भएका कमल पन्थीले केही समय पनि अञ्जना नामकी एक महिलालाई स्पोन्सर गरेर बेल्जियम ल्याएको र पोर्चुगल पुर्याएको आरोप उनीमाथि छ । स्पोन्सर गरेर ल्याएपछि बेल्जियम निवासी एक नारीको परिवारमा किचलो आएको र केही समय मानसिक तनाव भोगेको ति महिला बताउँछिन् । उनका अनुसार पन्थीले स्पोन्सर नगरेको वा गर्नु भन्दा अगाडि खबर गरेको भए उनको परिवारमा यो स्थिति आइपुग्ने थिएन ।

उता कार्यसमिति सदस्य बनेका कमल सिटौलाको पनि एन आर एन भित्र पस्न लायक ब्यक्ति भने होइनन् । पारिवारिक विषयमा उनी विवादित ब्यक्ति हुन् । जुन बेल्जियमबासी धेरैलाई अवगत नै छ । जन सम्पर्क समिति बेल्जियमले सिटौलालाई कारबाही गरिसकेको छ । तथापि राजनैतिक सिन्डिकेटको कारण दुवै अहिले एन आर एन भित्र छन् । उनीहरू जानु ठीक हो या हैन त्यो बेल्जियम स्थित नेपाली समाजले निर्णय गर्ने कुरो थियो । कस्तो निर्णय गर्यो त्यो भनिराख्नु जरुरी पनि भएन ।

बेल्जियम मात्रै होइन पोर्चुगलको अवस्था पनि उस्तै छ । पोर्चुगलले नयाँ कार्यसमिति निर्वाचन द्वारा चयन गरेको छ । अधिकांस नेपाली कांग्रेस पार्टीका प्रतिनिधि छन् । तर पदाधिकारी पदमा सबै विवादित छविका देखिन्छन् । अर्थात् कुनै दलाली, कुनै नेपालीलाई शोषण गरेर बदनाम बनेका छन् पोर्चुगलकोमा ।

पोर्चुगलका नेपाली पत्रकारहरुको आधार मान्ने हो भने अहिले निर्वाचित अध्क्षय तिलक गैरे स्वच्छ छविका उम्मेदवार होइनन । उनलाई दलाली गरेको र नेपालीहरुलाई ठगेको आरोप छ । त्यस्तै, महासचिव हेमराज सुवेदी विवादित पात्र हुन् । कमल केसी अध्क्षय हुँदा उनी प्रवक्ता थिए । विभिन्न काण्डमा मुछिएकोले उनलाई बर्खास्त गरिएको थियो । सुवेदीले पत्रकार गणेश पाण्डे माथि आक्रमण गरेका थिए । घरमै गएर कुटपिट गर्नेहरू पदाधिकारी पदमा निर्वाचित भएको बुझिएको छ । जुन निकै घृणा लाग्ने र लज्जास्पद देखिन्छ ।

युरोपमा अधिकांस देशहरू सिस्टममा चलेका छन् । सरकार सञ्चालनमा फेरबदल भएपनि त्यसले कर्मचारी तन्त्रमा कुनै असर गर्दैन । सबै कार्यहरू नियमित रूपमा संचालन हुने गर्छन् । तर यिनै देशहरूमा रहेका एन आर एनमा बेतिथि छ । पद्दती छैन । पद्दती अनुसार चल्ने कुरा त धेरै परको भयो । विधि विधान मा चल्ने ठेगान छैन । एन आर एन भित्र कस्ता ब्यक्ति राख्ने त्यसको कुनै लेखा जोखा नै छैन । जसले गर्दा एन आर एन युरोपका अधिकांस समितिहरू सिस्टम विहिन छन् । सुधारको लागि कहिले लाग्ने ?

तपाइँको प्रतिक्रिया