एन आर एन बेल्जियम- झुटो प्रशंसा लिने की साँचो आलोचना ?

-सन्तोष न्यौपाने / बेल्जियम

“झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ ”

माथिको वाक्यांश पढदा जति आनन्द लाग्ने खालको देखिन्छ त्यति नै ब्यवहारमा  ल्याउन कठिन देखिन्छ । सामान्य मानिस होस वा कुनै पदिय जिम्मेवारी बहन गरेको ब्यक्ति नै किन नहोस् । अझ पदिय जिम्मेवारी लिएको व्यक्तिलाई आलोचना सहन निकै कठिन नै हुने गर्दछ ।

एन आर एन बेल्जियमका अध्क्षय लोक दाहालले दुई वर्षे कार्यकाल सम्हाले । अब उनी केन्द्रमा प्रतिष्पर्धा गर्दै छन् । यो दुई वर्षे कार्यकालमा लोक दाहालको कार्यविधि माथि आलोचना गरेकै कारण उनले यो पंक्तिकारलाई फेसबुकमा ब्लक गरे । ब्लक गर्नु सामान्य नै हो । मन नपरेपछि ब्लक गर्नु मात्रै होइन साथी बाट हटाउन नी सकिन्छ । तर आलोचना गरेकै भरमा यस्तो गर्न कत्ति पनि सुहाउँदैन । अर्थात् दाहाल झुटको प्रशंसा चाहन्थे । तर मैले साँचो आलोचना गरिदिएँ। त्यो उनलाई पचेन ।

दाहाल एउटा उदारहण मात्रै हुन । उनीजस्ता धेरै व्यक्ति यो समुह भित्र पर्दछन । जसले प्रशंसा मात्रै रोज्छन् आलोचना खप्न सक्दैनन् । त्यसलाई सकारात्मक तरिकाले लिन सक्दैनन् । जुन पदिय जिम्मेवारी बहन गर्नेको हकमा पचाउन नसकिने हुन्छ ।

भर्खरै एन आर एन बेल्जियमले सहमति गरेर नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्क्षय चित्र सुवेदी महासचिव, तीर्थ धमला र सचिव दीपक न्यौपानेलगायतका साथीहरु छन् । यी तिन जना साथीहरु हेर्दा न्यौपाने र धमला आलोचनालाई परिवर्तनको रूपमा लिँदै कार्य गर्न सक्ने खुबी भएका छन् । अझ भन्दा कुटनैतिक हिसाबले कार्य गर्न न्यौपाने खप्पिस देखिन्छन् । तर अध्क्षय सुवेदीमा त्यो क्षमता देखिँदैन । विगतमापनि सुवेदीमाथि आइपरेका धेरै आलोचनात्मक टिका टिप्पणी सहज रूपमा लिन नसकेको यो पंक्तिकारले देखेको छ । अब अध्यक्ष भइसकेपछि संस्थागत विकासको लागि उनी परिवर्तन हुन जरुरी छ ।

एन आर एन बेल्जियम मात्रै होइन, बेल्जियममा रहने सबै संस्थामा यो हावी छ । यसका साथै नामको प्रचार प्रसार उत्तिकै चाहन्छन् । केही दिन अगाडि एन आर एन बेल्जियम सम्बन्धी समाचार प्रकशित भएपछि एक जना दिदीले ‘समाचारमा मेरो नाम खै ?’ भनेर गुनासो गर्नु भयो । अर्थात् आफ्नो नाम आएन भनेर उहाँलाई चिन्ता थियो । तर संयोगवश सहमतिको आधारमा अहिले नयाँ कार्यसमितिमा उहाँ चयन हुनु भएको छ ।

त्यस्तै, यही पंक्तिकारले केही दिन अगाडि फलानो फलानो लाई सहमति मार्फत एन आर एन मा ल्याउनु पर्दछ भनेर फेसबुकमा स्टाट्स हाल्दा एक वरिष्ठले ‘तपाईंले समाचार कसले भनेर लेख्नु भयो ? पत्रकार एक गिलास बियरमा बिक्छन्’ भन्नु भयो । अफसोच अहिले तिनै ब्यक्ति नयाँ कार्यसमितिको वरिष्ठ पदमा आसिन छन् । आगामी दुई वर्षे कार्यकाल यिनीहरूले कसरी चलाउँछन् त्यो हेर्न बाँकी छ ।

एन आर एन बेल्जियमको नयाँ कार्यसमितिमा केही आशालाग्दा व्यक्तिहरूको पनि प्रवेश भएको छ । तर उनीहरूमा आलोचना लाइ सकारात्मकरुपमा लिएर काम गर्ने र नामको प्रचारप्रसारमा कत्तिको मोह छ भन्ने अबको दुई वर्षले मूल्यांकन गर्नेछ । यसले उनीहरूको संस्थागत कार्यशैलीलाई झन उजागर गर्नेछ । र संस्थामा रहेका खराब सोच जसको बारेमा केही पहिला सञ्चार माध्यममा आइसकेको छ  त्यस्ता व्यक्तिहरूलाई हावी हुन दिनु हुँदैन । तर उनीहरूले ल्याएका सकारात्मक एजेण्डालाई छाड्नपनि हुँदैन ।

उम्मेदवार सिमित भएपछि नयाँ कार्यसमिति सहमति अनुरूप चयन भएको यथार्थ  हो । यदि उम्मेदवारको लावा लश्कर लाग्ने थियो भने यो सहमति सम्भव थिएन । उम्मेदवार नहुनु भनेको एन आर एन प्रतिको मोह घट्दै जानु हो । अब नयाँ कार्यसमितिले एन आर एन प्रतिको माया जगाउन बेल्जियममा उपलब्धिमूलक कार्य गर्नु जरुरी छ । युवाहरुको क्षेत्रमा उनीहरूको मर्म अनुरुप कार्य गर्न सक्नुपर्दछ । नेपाली भाषा संरक्षणको लागि प्रत्येक क्षेत्रमा नेपाली विध्यालय खोल्नु जरुरी छ । बेल्जियममा कती नेपाली छन् त्यसको लेखा जोखा हुन सके धेरै राम्रो हुनेछ । बेल्जियममा हुने नेपालीहरुको लागि एउटा अक्षयकोष खडा गर्न सके भैपरिआउने समस्याहरुलाई निराकरण गर्न सकिन्छ । यो दुई वर्षे कार्यकालमा यस्तै यस्तै दीर्घकालीन कार्य गरिनुपर्दछ ।

भागवत गीतामा भनिएको छ ‘कर्म गर्दै जाउ, फलको आसा नगर ।’ हो, यो कार्यसमितिले आफ्नो प्रचार प्रसार भन्दा पनि काम गर्दै जानु पर्दछ । दुई वर्षको अन्तमा नतिजा आफैं आउनेछ । हैन भने धेरैले गरेको “अपेक्षा” ले बाटो विराउनेछ । यसतर्फ सबै सजग हुनु जरुरी छ ।

तपाइँको प्रतिक्रिया