एन आर एन बेल्जियममा नयाँ नेतृत्वका लागि ‘सर्वसहमति कि निर्वाचन’ ?

  • सन्तोष न्यौपाने / बेल्जियम

बेल्जियमको लुभेन सहर निवासी चिरन कुमार खवास एन आर एन बेल्जियमको नयाँ नेतृत्व निर्वाचनद्वारा चयन गर्नुपर्ने मत जाहेर गर्दछन । उनको बुझाइमा एन आर एन  हामी सबैको विश्व व्यापी संजाल बनाउन सफल साझा संस्था भएकोले कार्यसमिति चयन गर्न केहि ब्यक्त विशेष मात्रै बसेर निचोड निकाल्दा उपलब्धिपूर्ण नहुने रहेको छ । नेपाली ब्यबसायी बेल्जियमका उपाध्क्षय समेत रहेका खवास निर्वाचन प्रजातान्त्रिक पद्धती भएकोले पराजित हुनेले समिक्षा गर्दै आगामी दिनहरुमा कसरि बढ्ने भनेर रणनीति तयार गर्ने सक्नेमा जोड दिन्छन । तर सहमति गर्दा पछाडी छुटनेहरु पराइ हुँदै जाने उत्तिकै सम्भावना रहेको उनको तर्क छ ।

त्यस्तै, आन्तर्प निवासी योगेन्द्र श्रेस्ठ सकेसम्म सर्वसहमतीमा कार्यसमिति चयन हुनुपर्ने मान्यता राख्दछन । खर्च तथा सामाजिक एकताको लागि सहमतिमा नै जानुपर्ने भएपनि बेल्जियमको विषयमा विगत देखि वर्तमानसम्म आइपुग्दा यो सर्वसहमती भन्ने शब्द वाचन मात्रै गर्ने तर प्रयोगमा नआउने भैसकेको श्रेस्ठ प्रस्ट पार्छन् । त्यसैले यसपाली पनि सहमति हुनेमा उनि ढुक्क छैनन ।

लुभेनका खवास र आन्तर्पका श्रेस्ठ भन्दा बेग्लै मत मदन दवाडीको रहेको छ । दवाडी यदि सहमति भएर नयाँ नेतृत्व चयन भएमा उनीहरुले आफ्नो दायित्व सम्झने उनको तर्क रहेको छ । नेपाली  ब्यबसायी संघ बेल्जियमका महासचिव रहेका दवाडीले आफ्नो उदारहण दिँदै भने ‘ब्यबसायी संघमा पनि मैले चुनाब जितेर आएको भए मैले त् जितेर आएको नि भन्ने अलिकति उन्माद हुन्थ्यो । तर सहमतिमा चयन हुँदा म लगायत हामीमा केहि गर्नु पर्दछ भन्ने छ । मलाई अनुजा प्रधानले सहमतिमा छाड्नु भयो । अब मैले उहाँको अगाडी केहि गर्नु पर्दछ भन्ने छ ।” दवाडी चुनाबमा हार्ने ब्यक्ति आत्तिने र जित्ने मानिस मात्तिने हुने तर्क गर्छन् । तर सहमतिद्वारा जांदा खर्च समय बचत हुनुका साथै सबैको जित हुने उनको भनाई छ ।

माथिका विचार हेर्दा एन आर एन बेल्जियममा सहमति गर्दा राम्रो देखिने भएपनि अन्तमा निर्वाचन नै हुने देखिन्छ । एन आर एनको समयमा मिलेको जन सम्पर्क समिति बेल्जियम भित्र भित्र दुइ चिरा देखिन्छ । समितिले सन्तोष जोशीलाई अदक्ष्यको रुपमा अगाडी सारेको छ । जोशी सीता सापकोटा पक्षका उम्मेदवार हुन् । त्यस्तै, पदम गुरुङ, अनुजा प्रधान र कमल पन्थी गंगाधर गौतम पक्षका उम्मेदवार हुन् । अनुजा अहिलेको कार्यकालमा रहेपनि दुई वर्ष निस्क्रिय जस्तै रहेको कमिटि भित्रका एन आर एन बताउँछन | पन्थीको ब्यबसायको किचलो र सामाजिक मदभेद हेर्ने हो भने उनलाई एन आर एन भित्र छिर्न नैतिकताले दिँदैन । तसर्थ समितिबाट गुरुङ र जोशी मात्रै जाँदा केहि हदसम्म मिल्न सक्ने देखिन्छ ।

त्यस्तै, प्रवासी नेपाली एकता मंचबाट अहिले चित्र सुबेदी, गंगा शर्मा, खडग केसी र तिर्थ धमला चुनाबी मैदानमा छन । धमला र शर्मा गत निर्वाचनमा पराजित हुन् । सहमतिबाट जाने हो भने सहानुभूति र कार्यगत शैलीको आधारमा दुबैलाई स्थान दिनु पर्दछ । केसीपनि उत्तिकै सक्रिय रुपमा कार्य गर्ने ब्यक्ति हुँदा मिलाएर लैजानुपर्ने देखिन्छ । तर जसस बेल्जियमका सन्तोष जोशी र चित्र सुबेदीलाई दाज्ने हो भने जोशीलाई एक कार्यकाल दिँदा अझ फलदायी हुनेमा दुइमत छैन । सुबेदी आइसीसीको लागि सुहाउँदो उम्मेदवार हुन् ।

सचिवको लागि अगाडी सरेका दिपक न्यौपाने पनि एन आर एनमा केहि गर्नुपर्दछ भन्ने उर्जाशील युवा हुन् । तर उनको सैक्षिक क्षमता अनुसार जाने हो भने उनलाई कोषाधक्ष्य पद सुहाउने पद हो । उनले आफ्नो पदलाई पद्दतीमा लैजान सहयोग मिल्छ । सहमति भएमा यसतर्फ पनि ध्यान दिनु पर्दछ । अर्को तर्फ कासी दनैले पनि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन । ब्यबसायी संघमा दनै भएकोले एन आर एन को महत्वपूर्ण पदमा उनले हात नहालेको उचित देखिन्छ । यस बाहेकका कोहि क्षमतावान उम्मेदवार वा इच्छुक भएमा त्यता पनि ध्यान दिनु जरुरि देखिन्छ ।

‘सहमति’ आफैंमा सकारात्मक शब्द हो । बेल्जियमको एन आर एनको आगामी कार्यकाल सहमति मार्फत भएको खण्डमा युरोप भरिका एन आर एन मा यसको सकारात्मक सन्देश जान सक्दछ । सहमतिले माथि भनेझैं खर्च समयको बचत हुन्छ नै, निर्वाचन गराउनु पर्ने झन्झट पनि टर्छ । तर सजिलै सहमति हुनेमा ढुक्क भने हुन सकिँदैन ।

यसको लागि गत निर्वाचनलाई हेरौं । अहिलेका अध्यक्ष लोक दाहालले जित्नुमा सबैभन्दा ठूलो हात गंगाधर गौतम, जानकी गुरुङ र पदम गुरुङको थियो । जसको कारण जन संपर्क समितिमा अन्तर्घातको ट्याग गौतमलाई लगाइएको थियो । हो, अहिलेपनि सहमतिको बाधक गौतम नै बन्नेछन् । उनको रणनीति असफल भएमा सहमतिको झिनो आसा राख्न सकिन्छ । अनुजा प्रधान र कमल पन्थी गौतमले उठाएका उम्मेदवार हुन । यी दुवै गौतम कै इसारामा अहिलेसम्म चल्दै आएका छन् भने भोली पनि हुने त्यही नै हो । उता मञ्चले सजिलै छाड्ने पनि देखिँदैन । देशमा नेकपाको वर्चस्व रहेको बेलामा त्यसको प्रभाव बेल्जियमको समितिमा देखिनु कुनै नौलो होइन । त्यसको फाइदामा मंच लाग्ने निश्चित देखिन्छ ।

अब सहमति भएन भने निर्वाचन गर्नुपर्ने हुन्छ । निर्वाचन गर्दा मतदाता र उम्मेदवार दुवैलाई एउटा कुरा चाहिँ फाइदा हुने देखिन्छ । मतदाताले उम्मेदवार चिन्न पाउँछन् । अलि बाठो मतदाताले उम्मेदवार संग प्रश्न सोधपुछ गर्न सक्छन् । उम्मेदवारको मतदातासँग निकट सम्बन्ध स्थापित हुन सक्दछ । तर निर्वाचनले सही व्यक्ति चयन गर्न भने सक्दैन । जसले गर्दा संस्था धरासायी बनाइराख्न सहज तुल्याउँछ । आफैं सदस्यता लिएका सदस्यहरूले आफ्नो विवेकले मतदान गरेतापनि बनाइएका सदस्यहरूले आफू निकट र ठेकेदार उम्मेद्वारहरुलाई मतदान गर्ने निश्चित हुन्छ । जसले केही गर्न खोज्ने उम्मेदवार सधैं पछि पर्दछन् । एन आर एन मा तिनैको हावी हुन्छ जसको आवस्यकता हुँदैन ।

एन आर एन बेल्जियममा यसपाली १४४१ सदस्य रहेका छन । अनलाइन द्वारा सदस्य भर्ने नयाँ नियमको कारण गत सालको भन्दा सदस्य संख्या केहि कम भएको छ । तर यो संख्या आफै सदस्य हुनेहरुको भने हैन । आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले आफूखुसी सदस्यता बनाउँदै गर्दा मात्रै यो संख्यामा सदस्यता बन्न सफल भएका हुन् । धेरैले सदस्यताको रकम बुझाएका छैनन । अर्थात् उनीहरुको रकम भावी उम्मेदवारहरुले दाखिला गरिदिएका छन । जुन निकै विडम्वना र लज्जास्पद देखिन्छ । यसरि बनेका सदस्यहरुले निर्वाचन भैसकेको खण्डमा कस्ता उम्मेदवारहरुलाई मतदान गर्ने हुन् भनेर अहिल्यै आडकाल काट्न सकिन्छ ।

तसर्थ आगामी नेतृत्व सकभर सहमति तर्फ चयन गर्न लाग्नु पर्दछ । यसको लागि सबैले एकबद्ध भएर छलफलमा लाग्नु पर्दछ । यदि साँच्चै एन आर एनलाई सुधारेर लैजाने र यो संस्थामा नयाँ उत्साह ल्याउने हो भने समावेशी रूपमा जानु आजको आवश्यकता हो । एन आर एन ए बेल्जियममा क्षमतावान उम्मेदवार, व्यक्तिहरू समावेस हुनुपर्दछ ।

तपाइँको प्रतिक्रिया