राजनिति निषेध एन आर एन कि सुझबुझपूर्ण राजनितिक संलग्नतासहितको एन आर एन ?

-सन्तोष न्यौपने / बेल्जियम

“अब बेल्जियममा राजनीतिक हस्तक्षेप रहित गैह्र आवासीय नेपाली संघ निर्माण गर्न जुट्नुपर्दछ ।” केहि दिन अगाडी एक मित्रले यस्तै प्रस्ताव अगाडी सारेर यूवा पंक्ति अगाडी बढ्नुपर्नेमा सुझाव दिएका थिए । यो सुझावमा धेरैको राय सकारात्मक नै देखियो । तर विडम्बना यसरि सुझाव दिने र आफ्नो राय दिनेहरु कुनै न कुनै रुपमा राजनतिक पार्टीमा आस्थावान देखिन्थे । अर्थात् राजनतिक हस्तक्षेप भनियातापनि युवापंक्ति कुनै न कुनै रुपले राजनीतिको अल्झन भित्र रुमल्लिएको देखिन्छ ।

अबको केहि समय पछि एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । अहिलेसम्म केहिले फेसबूकमा आफ्ना उम्मेदवारी घोषणा गरिसकेका छन । ति उम्मेदवारको क्रियाकलाप हेर्ने हो भने केहि बाहेक सबै एन आर एन बेल्जियम भित्र राख्न नमिल्ने ब्यक्तिहरु देखिन्छन । तर यस्तै ब्यक्तिहरुको हाबी एन आर एन बेल्जियममा भैराखेको छ । र भोलीका दिनमापनि हुने देखिन्छ । यसमा कुनै दविधा नै छैन | यो प्रक्रियालाई रोक्न न व्यक्तिले सक्छ न त संस्थाले नै । बरु राजनैतिक हस्तक्षेपको प्रतिफल स्वरुप नै त्यस्ता ब्यक्तिहरु एन आर एन भित्र आफ्नो डेरा जमाउँदैछन ।

एन आर एन भित्र राजनीति हाबी भयो भनेर धेरैले चिन्ता ब्यक्ति गर्दछौं । राजनीति हाबी हुनु नौलो कुरो होइन । तर त्यो हाबीले कस्ता व्यक्तिलाई नेतृत्वमा लैजादैछ भन्ने कुरो मुख्य पाटो हो । राजनैतिक संस्था भित्रपनि समाजमा केहि गर्न सक्ने खुबी भएका ब्यक्तिहरु छन् । उनीहरुलाई अगाडी सार्न सक्नुपर्दछ । कुनै पनि ब्यक्तिमा संस्थागत अनुभब छैन भने उसले एन आर एन बेल्जियमको कार्यकारी पदमा गएर के गर्ने ? कमसेकम न्युनतम संस्थागत अनुभव नेतृत्व पंक्तिमा हुनुपर्ने देखिन्छ । जुन व्यक्तिले समाज नकारत्मक दिशा तर्फ लगिरहेको छ त्यस्तै ब्यक्तिहरुलाई एन आर एनमा स्थान दिँदा नतिजा कस्तो अपेक्षा गर्ने ? सबैले एकपटक सोच्नुपर्ने देखिन्छ ।

एउटा उदारहण दिउँ । केहि समय अगाडी नेपाली ब्यबसायी संघ बेल्जियमको नयाँ नेतृत्व सर्वसहमतीका साथ् गठन भयो । गठन गर्दा सबै राजनैतिक पार्टीमा  आस्थावान ब्यक्तिहरु नै कमिटि भित्र आउँन आतुर थिए । जति पनि कमिटि भित्र छन उनीहरु कहिँ न कतै राजनीतिमा अग्रसर नै छन । चाहे नेकपा होस् वा नेपाली कांग्रेस वा अन्य । उनीहरुको चयन पनि सोहि रुपमा नै गरिएको थियो । तर उनीहरुमा केहि गर्ने जोश जाँगर पनि देखिन्थ्यो । सोहि अनुरुप नयाँ नेतृत्व चयनपनि भयो । र अहिले सक्रियताका साथ् कार्य गर्दैपनि छन ।  हो, एन आर एन बेल्जियममा पनि यसै गरेर नयाँ नेतृत्व चयन गरिनु पर्दछ | राजनीतिलाइ पाखा लगायर होइन कि त्यसलाई साथमा लिएर उत्कृस्ट ब्यक्तिहरुलाई अगाडी सार्नुपर्दछ ।

बेल्जियममा केहि समय अगाडी एउटा घटना घट्यो । आफ्नै श्रीमतीलाई एक नेपालीले अलपत्र पारे । पछि एन आर एन बेल्जियमका तत्कालिन महासचिव हाल अध्यक्ष लोक दाहालको टोलीले उनको सकुसल उद्दार गरेर युरोपको बसोबासलाई सहज बनाइदियो । तर तिनै पुरुष जसले श्रीमतीलाई अलपत्र पारे अहिले बेल्जियमकै विभिन्न संस्थामा हाबी हुँदै हिँडेका छन । बिभिन्न कार्यकर्ममा निर्लज्ज तरिकाले आफ्नो रवाफ देखाउन मस्त छन् । अब आफै अनुमान गर्नुस यो कसको कारण ? तपाई हाम्रै कारण हो जसले आफ्नो स्वार्थको लागि खराब र नैतिक हिनतालाई प्रश्रय दिइराखेको छ । उनलाई प्रश्रय दिनेहरुमा राजनैतिक स्वार्थका ब्यक्तिहरु पनि उत्तिकै छन् । र उनलाई बहिस्कार गर्नेहरुमा राजनीति गर्ने ब्यक्तिहरु पनि छन् । अब यिनी जस्तै ब्यक्तिहरु एन आर एन वा कुनै संस्थाको नेतृत्व पंक्तिमा आए भने संस्थाको स्वरुप र कार्यशैली कस्तो होला ?

अब अर्को उदारहण बेल्जियमकै लिउँ । केहि समय अगाडी बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिले नेपाली कलाकारहरु बेल्जियम बोलायो । सांस्कृतिक कार्यक्रम पनि बिभिन्न सहरहरुमा सम्पन्न गर्यो । तर उक्त कार्यक्रममा एक महिला पनि आएकि थिइनन् जो अहिले पोर्चुगल छिन । उनलाई समिति भित्रकै एक सक्रिय कार्यकर्ताले स्पोन्सर गरेका थिए । समिति भित्रकै अर्का सक्रिय कार्यकर्ताको अनुरोधमा उनलाई यहाँ झिकाएर पोर्चुगल पुर्याएको थियो । घरमा यो कुरो थाहा भयपछी अहिले श्रीमती र छोराछोरी छाडेर उनी बेल्जियम बाहिर छन् । परिवारले यसमा मुख्य दोषी स्पोन्सर गर्ने सक्रिय कार्यकर्तालाइ लगाइरहेको छ । ति सक्रिय कार्यकर्ता आगामी एन आर एन बेल्जियमको नेतृत्व पंक्तिमा जानको लागि रस्साकस्सीमा देखिन्छन ।

माथिका दुइ उदारहण हाम्रो सामु काफी छन । बेल्जियम स्थित नेपाली समाज र एन आर एनमा कस्ता ब्यक्तिहरुको हाबी हुँदैछ भन्ने कुरा । यस्ता ब्यक्तिहरुको पहिचान गरेर जबसम्म्म राजनैतिक संगठनहरुले हस्तक्षेप गर्न सक्दैन् तबसम्म यो प्रक्रिया चलिराख्दछ ।

यस्ता अस्विकार्य घटनालाई निर्मुल पार्नको लागि संगठन भित्रका नैतिकवान ब्यक्तिहरु अगाडी सर्नुपर्ने देखिन्छ । होइन भने हिजोको कार्यकालमा पनि दलाली गर्ने होस् वा समाजमा बिखन्डन सिर्जना गर्नेको हाबी नहोला भन्न सकिँदैन । यसको लागि सबै सतर्क हुनुपर्ने देखिन्छ । त्यसो त्, एन आर एन बेल्जियममा जानेहरु सबै खराब छन भनेर यो लेखमा भन्न खोजिएको भने कदापी होइन । माथि नेपाली ब्यबसायी संघको उदारहण दिएजस्तै तरिकाले अगाडी बढ्न पनि सकिन्छ । एन आर एन भित्र जान खोज्ने जोश जाँगर भएका युवा पिढी अहिले प्रशस्त देखिन्छन । उनीहरुलाई प्रयोगमा ल्याउन सक्नुपर्दछ जसलेगर्दा संस्था लगायत नेपाली समाज सुध्रिढिकरण तर्फ अगाडी बढ्न मद्दत पुग्दछ ।

अब थोरै समिक्षा अहिलेको कार्यसमितिको गरौं । लोक दाहालको टिममा रहेको यो समितिले बिगतका समिति भन्दा खासै नौलो र उपलब्धिमुलक कार्य भने गर्न सकेको देखिँदैन । बरु जम्मो कार्यसमिति निर्माणमा भने अगाडी नै रहयो । कमिटि भित्र कोषाध्क्ष्यको कार्यशैली लाजमर्दो देखियो जसको जिम्मेवारी कमिटि बाहिरका ब्यक्तिहरुले गरिदिए । प्रवक्ता बरु महासचिव भन्दा बढि हाबी देखीए । पत्रकारको विरुद्ध प्रेस नोट निकाल्दा उनको हाबी प्रस्ट देखिन्थ्यो । महासचिव अगाडी सर्नुपर्ने ठाउँमा प्रवक्ता अगाडि देखीए । जुन निकै लज्जास्पद देखिन्थ्यो । कमिटि भित्र आफ्ना सदस्यले राखेको प्रस्तावलाइ वास्ता नगर्दा ति सदस्यले पोखेको पिडा उस्तै नमज्जाको अनुभव गर्न सकिन्छ ।

दाहालको कार्यकालमा जुन कार्यको अपेक्षा थियो, त्यो हुन् सकेन । यो हुन् नसक्नुमा उनको आफ्नै दोष पनि देखिन्छ । निर्वाचनमा बिजयी हुनको लागि धेरै जनासँग धेरै थरिका डिल गरे र अन्तत त्यही डिलको भुमरीमा फसे । त्यसको करण व्यक्तिगत रुपमा आफुलाई फाइदा मिलेपनि संस्थागत र सामाजिक कार्यको सिलसिलामा सोचेजति सफलता मिल्न सकेन । राजनतिक हस्तक्षेपले पनि उत्तिकै भूमिका यसमा निर्वाह गरेको देखिन्छ । उनको कार्यकालमा उनकै पार्टीले सोचे जति सहयोग गर्न सकेन । फलस्वरूप अन्य ब्यक्तिहरु उनीमाथि हाबी हुन् सहज बनिदियो ।

तसर्थ एन आर एन बेल्जियममा राजनैतिक हस्तक्षेप हुनुहुँदैन । तर राजनैतिक तौरतरिका जानेकाहरु नेतृत्वमा जानुपर्दछ जसलेगर्दा संस्था अगाडी लैजाने मात्रै नभएर नेपाली समाजलाई उपलब्धिमुलक कार्य गरेर अगाडी बढाउन सक्दछन । सकारात्मक सोच भएका र विशेष बेल्जियम स्थित नेपाली समाजको लागि कार्य गर्ने व्यक्तिको खाँचो रहेको छ अहिले एन आर एन ए बेल्जियममा । एन आर एन भित्र गएर सचिवको पद सम्हालन नसक्ने होइन कि सचिवले महासचिवलाई अगाडी बढाउन सक्ने नेतृत्व चाहिन्छ । पद लिईसकेपछी पदीय जिम्मेवारी सहज र अर्थपूर्ण रुपमा बहन गर्न सक्नु नै ठुलो कुरा हो । यसको लागि बेल्जियम स्थित बिभिन्न बैचारिक संगठनले त्यस्ता आफ्ना उम्मेदवारहरुलाई छानेर अगाडी बढाउनु पर्दछ ।

कुनै पनि ब्यक्ति पूर्णरुपमा स्वतन्त्र हुन् सक्दैन । प्रत्येक ब्यक्ति राजनीतिको धरातल भित्र समेटिएको हुन्छ । चाहे घरमा होस् वा बाहिर राजनीति हुन्छ । केवल बाटो र सिक्ने कला मात्रै फरक हुन् । संस्था भित्र खराब पात्रलाई बहिस्कार गर्न सकेमात्रै हामीले खोजेजस्तो संस्था प्राप्त गर्न सक्दछौं । यस तर्फ सबैले ध्यान दिने कि ?

तपाइँको प्रतिक्रिया